काठमाडौं– क्यान्सरका बिरामीको उपचारका लागि भरपर्दो केन्द्रको रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई लिइन्छ। चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पतालमा देशभरका बिरामीहरु क्यान्सरको उपचारका लागि पुग्ने गर्छन्।
तर पछिल्लो समय भने क्यान्सर अस्पतालमा बेथितिहरु बढ्दै गएको छ। अस्पतालमा सेवा सुविधा थप हुँदै जानुपर्नेमा झन् भएका सेवा पनि बन्द हुँदै गइरहेका छन्।
अस्पतालमा क्यान्सरको पहिचान र उपचारका लागि प्रयोग हुने उपकरण तथा मेसिनहरु बिग्रिएको छ। बिग्रिएका मेसिन तथा उपकरणहरु समयमा मर्मत नहुँदा बिरामीहरु सेवाबाट बञ्चित भइरहेका छन्। जसका कारण बिरामीले महँगो शुल्क तिर्दै निजीमा जानुपर्ने बाध्यता आएको छ।
प्रयोगशालामा रिपोर्ट लिन लामो समय कुर्नुपर्ने बाध्यता छ। सेवा विस्तारमा अस्पताल प्रशासनले चासो नदिँदा विगतमा भएका सेवा समेत बन्द हुँदै जाँदा अस्पतालको सेवा झनै खुम्चिँदै गएको छ।
अस्पतालको मेमोग्राम मेसिन, पोर्टेबल एक्स लगायतका उपकरण बिग्रिएको लामो समय भइसकेको छ। मेमोग्राम मेसिन बिग्रँदा स्तन क्यान्सर पहिचान गर्नुका लागि अस्पतालमा आएका महिला निजी अस्पतालमा जान बाध्य भएको अस्पतालका एक कर्मचारीले बताए।
अस्पतालका निर्देशक डा देजकुमार गौतमले पोर्टेबल एक्सरे र मेमोग्राम मेसिन लामो समयदेखि बिग्रिएको स्वीकार गरे। ‘मेमोग्राम मेसिन बिग्रिएको तीन महिनाभन्दा बढी भयो, त्यो बनाउन मिल्दैन। हामीले नयाँ खरिद गर्न प्रक्रिया अगाडि बढाउँदै छौं,’ उनले भने, ‘बिग्रिएको मेसिन बनाउन बढी खर्च लाग्ने भयो, पुरानो मोडेलको पनि भयो। त्यसैले नयाँ खरिद गर्न लागेका छौं।’
उनले बिग्रिएको मेसिन बनाउन एक करोड भन्दा बढी खर्च हुने देखिएकाले नयाँ नै खरिद गर्न लागिएको बताए। मेमोग्राम मेसिन बिग्रिदा बिरामीहरु सेवाबाट प्रभावित भएको उनले सुनाए।
उनले भने, ‘मेमोग्राम गर्नुपर्ने बिरामीहरु बाहिर वा काठमाडौं जान्छन्।’
पोर्टेबल एक्सरे मेसिन पनि बिग्रने र बनाउने क्रम चलिरहने गरेको बताए।
‘मेसिनरी सामाग्री हो, बिग्रिने बन्ने क्रम चलिरहन्छ,’ उनले सुनाए।
शल्यक्रिया गर्नुपर्ने क्यान्सरका बिरामीले समेत अस्पतालमा लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको एक चिकित्सकले जानकारी दिए। नाक, कान तथा घाँटी लगायत विभिन्न थरिका अप्रेसन गनुपर्ने बिरामीहरुको सूची लामो रहेको छ।
अस्पतालमा मोडुलर अप्रेशन कक्ष आठ ओटा बनाइएको भएपनि सबै अप्रेसन कक्ष सञ्चालनमा नरहेको अस्पतालका कर्मचारीहरु बताउछन्। ‘क्यान्सरका बिरामीको संख्या बढ्दै गएको छ तर अस्पतालको सेवा भने झन् खुम्चिँदै गएको देखिन्छ,’ अस्पतालका कर्मचारीहरु भन्छन्, ‘अस्पताल प्रशासनको ध्यान यो अस्पतालको विकास गर्नेतर्फ भन्दा पनि बाहिरका निजी अस्पताल तिर भएकाले बिग्रँदै गएको हो।’
प्रशासनले चाहने हो भने तुरुन्तै धेरै समस्या हल हुन सक्ने कर्मचारीहरु बताउँछन्। तर अस्पताल प्रशासनको ध्यान समस्या समाधान गर्नेतर्फ नभएको उनीहरुको गुनासो छ।
‘अस्पतालले चाहने हो भने मेमोग्राम लगायतका मेसिन बनाउन सक्छ, शल्यक्रिया सेवा थप्न सक्छ। बिरामीले यही अस्पतालमै धेरै सेवा पाउन सक्छन्,’ एक कर्मचारीले भने, ‘तर, भएका पुराना मेसिन नबनाउने र कमिसनका लागि नयाँ नयाँ खरिद गर्न तर्फ अस्पतालको ध्यान छ। भएका शल्यकक्ष समेत चलाइँदैन।’
विगतमा अस्पतालमा विस्तारित सेवा (इएचएस) लागू गरिएको थियो। तर अहिले अस्पतालमा उक्त सेवा पनि बन्द भएको छ।
बन्द भयो प्यालेटिभ सेवा
क्यान्सरले अन्तिम अवस्थामा पुगेका बिरामीहरुका लागि प्यालेटिभ केयर सेवा आवश्यक पर्छ। अस्पतालमा पनि हस्पिसले प्यालेटिभ केयर सेवा दिँदै आएको थियो। तर विगत डेढ वर्षअघि देखि प्यालेटिभ केयर सेवा नै बन्द छ। कोभिडको समयमा यो सेवा बन्द गरियो। तर अझैसम्म सञ्चालनमा ल्याइएन।
प्यालेटिभ युनिट बन्द भए पनि सेवा बन्द नभएको अस्पताल निर्देशक डा गौतम बताउँछन्। उनले युनिट बन्द भएपनि प्यालेटिभ केयर आवश्यक पर्ने बिरामीलाई वार्डमै राखेर सेवा दिइरहेको दाबी गरे।
बायोप्सीको रिपोर्ट आउन ४ महिना लाग्ने!
अस्पतालको प्रयोगशालामा परीक्षणका लागि लामो लाइन बस्नुपर्ने अवस्था छ। अस्पतालमा बायोप्सी रिपोर्ट आउन ३/४ महिना लाग्छ। क्यान्सरका बिरामीको रिपोर्ट ३/४ महिनासम्म नआउँदा के होला? अस्पतालका एक चिकित्सकले प्रश्न गर्दै भने ‘प्रयोगशालाको विकास र विस्तार गर्ने तर्फ प्रशासनको ध्यान नै पुगेको छैन। जसका कारण बिरामीले समस्या भोग्नुपरेको छ।
अस्पतालका निर्देशक डा गौतमले भने बायोप्सी रिपोर्ट माइनर केसको २ महिनासम्म लाग्ने र मेजर केसहरुको एकसाता भित्र आउने दाबी गरे। तर स्वास्थ्यखबरले अस्पतालमा गरेको अध्ययनका क्रममा तीन महिना भन्दा बढी समयपछि रिपोर्ट आएको बिरामी समेत फेला पारेको थियो।
बायोप्सी रिपोर्ट आउन समय लागेपनि बिरामीमा क्यान्सर फैलन नदिन रिपोर्ट आउनुअघि नै उपचार सुरु गर्ने गरिएको डा गौतमको भनाइ छ।
‘बायोप्सी रिपोर्ट आउन समय लागेपनि हामीले उपचार सुरु गरिसकेका हुन्छांै,’ उनले भने, ‘तरपनि रिपोर्ट चाँडो गर्ने प्रयास हामीले गरिरहेका छौं।’
इन्डोस्कोपी, इसिजी सेवा लिन समेत ५ दिनसम्म पालो कुर्नुपर्ने अवस्था रहेको बिरामीको गुनासो छ।
विशेषज्ञ चिकित्सक हाजिर गर्दै हिँड्दै
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरु हाजिर मात्रै गरेर फर्किने गरेको र ओपिडिमा बिरामीहरुले विशेषज्ञ चिकित्सक भेट्न समेत मुस्किल हुने गरेको अस्पतालकै कर्मचारीहरु बताउँछन्।
‘ओपिडिमा विशेषज्ञ चिकित्सक भेट्न निकै गाह्रो छ, बिहान ९ बजेबाट अस्पताल सुरुहुने भए पनि हाजिर गरेर क्वार्टर जान्छन्, १२ बजेसम्म ओपिडिमा डाक्टर आउँदैनन्, यदी आइहाले भने पनि मेडिकल अफिसरलाई काम दिएर हिँड्ने गर्छन,’ अस्पतालका एक कर्मचारीले भने, ‘दिउसो तीन बजेतिर फेरि आउँछन्, एकछिन बस्छन्, हाजिर गर्छन् अनि निजी अस्पताल तिर काम गर्न जाने प्रचलन छ।’
चिकित्सकहरु बिरामीको सेवाप्रति जिम्मेवार नहुँदा अस्पताल प्रशासनले नियमन नगरेको ती कर्मचारीको बुझाइ छ।
फार्मेसीमा औषधि पाइँदैन
बिरामीलाई आवश्यक पर्ने औषधि अस्पताल फार्मेसीमा सहज रुपमा पाइनु पर्ने हो। तर क्यान्सर अस्पतालमा भने बिरामीलाई आवश्यक पर्ने सबै औषधि नै पाइँदैन। अस्पताल फार्मेसीमा औषधि नपाएपछि बिरामीका आफन्तहरु निजी फार्मेसीमा औषधि लिन पुगेको भेटिन्छ।
अस्पताल निर्देशक डा गौतम भने अस्पतालको फार्मेसीमा किमोथेरापी बाहेका सबै औषधिहरु उपलब्ध रहेको बताउँछन्।
उनले भने, ‘फार्मेसीमा ९५ प्रतिशत औषधिहरु उपलब्ध छन्।’