डा रुना झा स्वास्थ्य क्षेत्रमा गहकिलो पर्सनालिटी बनाएकी महिलाको रुपमा चिनिन्छन्। कडक स्वभाव, प्रस्ट बोल्ने शैली र बोल्ड रुपमा प्रस्तुत हुने उनको बानीले कार्यक्षेत्रमा हेपिएको महशुस गर्नुपरेको छैन।
उनी भन्छिन्, ‘मेरो पछाडी केही भन्नेहरु भए त थाहा छैन, तर मेरो कुरालाई वास्ता नगरेको वा बीचमै काटिएको छैन, अहिलेसम्म हेपिनुपरेको छैन।’
स्वास्थ्य क्षेत्रमा महिलाको सहभागिता धेरै (अनमी तथा नर्ससमेत) देखिन्छ। तर नेतृत्व तहमा महिला कम नै छन्। डा झाले महिलाको कमी मन्त्रालयको विभिन्न बैठकमा महशुस गरेकी छन्।
उनले भनिन्, ‘अहिले बरु डा संगिताहरु हुनुहुन्छ। पहिला त मन्त्रालयको बैठकहरुमा महिला त म एक्लै हुन्थ्यें।’
मन्त्रालयमा नेतृत्वतहमा महिला कम हुँदा त्यहाँको वातावरण नै महिलामैत्री नभएको उनले सुनाइन्। कतिपय अवस्थामा कार्यालय समयभन्दा बाहिर र उपत्यकाबाहिर समेत कार्यक्रमहरु राख्दा महिला कर्मचारी कम हुँदा फिमेल फ्रेन्ड्ली नहुने पनि देखिन्छ।
कार्यालयदेखि घर परिवारको समेत जिम्मेवारी सम्हाल्दै आएकी उनले विभिन्न समस्या र चुनौतीलाई सामना गर्दै आइरहेकी छिन्। परिवारबाट पनि साथ र सहयोग पाउँदै आएकी छिन्।
जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको रुपमा उनी नीतिगत काममा पनि उत्तिकै सक्रिय रुपमा लागिरहेकी छिन्। कोभिड महामारीको समयमा आफ्नो बच्चा र परिवारसँग दुरी कायम गरेर उनी निरन्तर प्रयोगशालामा खटिएकी थिइन्।
उनको यही सक्रियताको मुल्यांकन गर्दै संयुक्त राष्ट्रसंघको यूएन वुमेनले डा झालाई कोरोना भाइरस नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलाको सूचीमा समावेश गरेको थियो।
डा रुना झाले एमबिबिएस अध्ययन पुरा गरेको २२ वर्ष भयो। उनले सन् २००५ मा एमडी अध्ययन पुरा गरेकी हुन्। उनले सन् २०१६ सम्म त्रिवि शिक्षण अस्पतालमा काम गरिन्। त्यसयता उनी स्वास्थ्य सेवा अन्तर्गत राष्टिय जनस्वास्थ्य प्रयोगशालामा सक्रिय छिन्।
कार्यलयको समयपछि उनको जिम्मेवारी बच्चाको पालन–पोषण, पढाइ र घरको काममा हुन्छ। घरको जिम्मेवारी पनि रहेकाले उनले कतिपटक त कार्यलय समयपछि आयोजना हुने मिटिङमा समय दिन सक्दिन भनेकी छन्।
‘कतिपय नीतिगत कुराहरुको छलफल तथा कार्यालयसँग सम्बन्धित कामहरु अफिस टाइममा हुँदैन। अफिस टाइमपछि हुन्छ। हाम्रो सामाजिक परिवेशका कारण यस्ता काममा पुरुषलाई सहज हुन्छ। तर हामी महिलाहरुमा घरको कामको पनि जिम्मेवारी हुने भएकाले कार्यालय समयपछि हाम्रालागि घरको टाइम महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘एकपटक महानिर्देशकले बोलाउदा मैले जवाफ नै दिनुपरेको छ, यो मेरो किचन टाइम हो। समय दिनै सक्दिन।’
उनलाई लाग्छ– कार्यलयको काम कार्यलयको समयमै पूर्णरुपमा जिम्मेवार भएर गर्नुपर्छ।
उनले भनिन्, ‘राष्ट्रिय इमर्जेन्सी होइन भने के पुरुष के महिला कार्यालय समयपछि दुःख दिनु हुँदैन। कार्यालय समयमा काम सिध्याउन नसक्नु क्षमतावान भएन, कार्यालयको समयमै दन्तचित्त भएर काम गर्ने हो।’
उनले शिक्षामा अझैपनि महिला पुरुषको समान सहभागिता नदेखिएको बताइन्।
‘शिक्षामै समानता छैन, जागिरको प्रवेश गर्ने अवस्थामा पनि समानता देखिदैन,’ उनले भनिन्, ‘कार्यक्षेत्रमा भएकाहरु पनि क्षमता, योग्यताले नेतृत्वमा पुग्ने अवस्था नै छैन।’
शिक्षामा महिलाको पहुँच भएर मात्रै नेतृत्व तहमा पुग्न नसक्ने उनले सुनाइन्। नेपालमा योग्यता र क्षमताको आधारमा भन्दापनि भनसुन र निकटताको आधारमा नेतृत्व पाउने प्रवृत्तिले महिलाहरु नेतृत्व तहमा कम देखिएको उनको बुझाइ छ।
‘हाम्रो अहिलेको अवस्था हेर्दा क्षमता, योग्यता हुँदाहुँदै पनि धेरै महिलाहरु माथि पुग्न नसक्ने खालको छ,’ उनले भनिन्, ‘यसमा महिलाले आफ्नो पहिचान परिवर्तन गर्न पर्दैन। पुरुषको सोच र नेतृत्वमा पुग्न आफ्नो मान्छे, चापलुसी गर्ने मान्छेलाई प्रोमोट नगर्ने हो भने महिलाहरु माथि आउन थाल्छन्।’