स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा झण्डै ३० हजार स्वास्थ्यकर्मी कार्यरत छन्। जसमध्ये नर्सिङ समूहको दरबन्दी धेरै छ। स्वास्थ्य सेवा अन्तर्गत धेरै दरबन्दी नर्सिङ समूहको भए पनि माथिल्लो तहमा भने नर्सिङ समूहको दरबन्दी निकै कम छ। जसका कारण थोरै मात्र नेतृत्व तहमा आइपुग्छन्। तिनैमध्येकी एक हुन् नर्स गोमादेवी निरौला।
निरौला स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हुन्। नर्सहरुको हकहितदेखि नर्सिङ जनशक्तिका लागि उपयुक्त नीति तथा कार्यक्रम बनाउने स्थानमा उनी अहिले छिन्।
नारी दिवसको सन्दर्भमा कुराकानी गर्न आइतबार टेकुस्थित उनको कार्यालयमा पुग्दा उनी नीतिगत काममा नै व्यस्त थिइन्। केही दिनदेखी उनी चालु आर्थिक वर्षको कार्यक्रमको मुल्यांकन, समिक्षा र आगामी आर्थिक वर्षका लागि नीति योजना तथा कार्यक्रम निर्माणमा उनी सक्रिय छिन्।
निरौला गत भदौ ४ गतेदेखि उक्त महाशाखामा निर्देशकमा रुपमा कार्यरत छिन्। तर उनी एकैपटक भने उक्त महाशाखामा आइपुगेकी होइनन्। नर्सिङ क्षेत्रमा उनी ३७ वर्षदेखि क्रियाशील छिन्।
यो ३७ वर्षमा उनले स्टाफ नर्सको रुपमा अस्पतालमा बिरामीलाई सेवा प्रादन गर्नेदेखि अस्पतालका वार्ड व्यवस्थापन, नर्सिङ विभाग प्रमुख हुँदै नेपाल नर्सिङ काउन्सिलको अध्यक्षको रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी छन्। २०३८ सालमा पिसियल नर्सिङ शुरु गरेकी निरौलाले बिएन र सामाजिक शिक्षामा स्नातकोत्तर गरेकी छन्।
उनले पिसिएल नर्सिङ अध्ययन पश्चात त्रिवि शिक्षण अस्पतालमा करिब ११ वर्ष स्टाफ नर्सको रुपमा काम गरिन्। २०५२ साल फागुनदेखि निरौलाले लोकसेवा मार्फत नर्सिङ अफिसरको रुपमा सरकारी सेवामा प्रवेश गरीन्।
सरकारी सेवामा प्रवेश गरेपछि उनको जिम्मेवारी फेरियो। बिरामीको सेवामा खटिने नर्सहरु र नर्सिङ जनशक्तिको व्यवस्थापन लगायतका प्रशासनिक जिम्मेवारी पनि उनले हेर्नुपर्ने भयो। पहिला आफूले नै बिरामीको सेवामा खटिएको अनुभवले उनलाई आफ्नो जिम्मेवारी सम्हाल्न गाह्रो भएन। उनले भरतपुर अस्पतालको मेट्रोन भएर १३ वर्ष काम गरिन्।
स्वास्थ्य सेवा अन्तर्गत रहेर उनले काम गरिरहेको २६ वर्ष पुरा भइसकेको छ। यो क्रममा उनले काठमाडौंको वीर अस्पताल, सुर्खेत, दाङ, चितवन लगायतका जिल्लाका अस्पतालहरुमा नर्सिङ अफिसरको रुपमा जिम्मेवारी सम्हालिन्।
निरौलाले २०७४ सालदेखि ४ वर्ष नेपाल नर्सिङ काउन्सिलको अध्यक्षको रुपमा जिम्मेवारी सम्हालिन्। उनीसँग फरक–फरक जिम्मेवारीमा काम गर्दा फरक अनुभवहरु छन्।
‘अस्पतालमा काम गर्दा नर्सले बिरामीलाई दिने सेवाको गुणस्तरको विषय हुन्थ्यो, नर्सिङ काउन्सिलमा गएपछि अस्पतालमा सेवा दिने नर्सहरुको गुणस्तरको विषय, शिक्षामा कसरी सुधार ल्याउने भन्ने विषयमा बढी केन्द्रित भइयो,’ उनले आफ्नो अनुभव सुनाइन्।
नर्सिङ काउन्सिलमा रहँदा देशैभरीका नर्सिङ कलेजहरुको अनुगमन, शिक्षण शैलीका स्ट्यान्डर्ड लगायतका विषयमा कामहरु गरेको उनले जानकारी दिइन्।
नर्सिङ काउन्सिलमै रहँदा नर्सहरुको लाइसेन्स परीक्षाका लागि प्रोटोकलहरु परिवर्तन तथा पहिलो पटक मिडवाइफ्री शिक्षाको लाइसेन्स परीक्षा लिएको उनले बताइन्।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा अस्पताल र काउन्सिलको भन्दा फरक जिम्मेवारी रहेको र त्यो जिम्मेवारीलाई पुरा गर्न आफू खटिएको उनले सुनाइन्।
‘यो महाशाखामा लक्ष्य हासिल गर्ने गरी नीति योजना र बजेट बनाएर काम गर्नुपर्छ,’ उनले भनिन्, ‘नर्सिङ क्षमता विकास तालिम, जेष्ठ नागरिकका लागि उपचार सहुलियत, द्धन्द्ध पिडित, हिंसा तथा एसिड पिडितलाई उपचारमा सहुलियत तथा ८ प्रकारका कडा रोगको उपचारका विषयमा विभिन्न मापदण्ड तथा कार्ययोजना बनाएर काम गरिरहेका छौं।’
कार्यक्षेत्रमा लैगिंक हिंसा भोगेको छैन, तर असुरक्षित महशुस हुन्थ्यो
स्वास्थ्य क्षेत्रमा महिलाको सहभागिता धेरै छ। तर उपल्लो तहमा पुगेका स्वास्थ्य क्षेत्रका महिलाहरु भने अहिलेपनि कम नै छन्। निरौलाले दैनिक कार्यक्षेत्रमा ‘फेस’ गर्ने अनुहारहरु महिला भन्दा पुरुष नै बढी छन्।
एउटा जिम्मेवार पदमा रहेको र सरकारी सेवामा रहेकाले पनि कार्यक्षेत्रमा लैंगिकताको आधारमा भेदभावको महशुस गर्न नपरेको उनले सुनाइन्।
तर स्टाफ नर्स भएर काम गर्दा रात्रिकालिन सेवामा खटिनुपर्दा भने कताकता असुरक्षित महशुस भएको उनले सम्झिइन्।
‘आफ्नो क्षेत्रभित्रको काम गर्न लैंगिकताको हिसाबले भेदभाव भएको महशुस गर्न परेको छैन,’ निरौलाले भनिन्, ‘तर स्टाफ नर्स भएर काम गर्दा नाइट ड्युटीमा हुँदा कताकता असुरक्षित महशुस हुन्थ्यो, तर हिंसामै परेर पिडित भएको छैन।’
परिवारको सपोर्टले नै सफलता
पहिला–पहिला महिलाहरु घरकै काममा मात्र सिमित हुन्थ्ये। निरौलाकै पुस्तामा हुर्किएका कयौं महिलाहरु पनि घरकै काममा सिमित भएर जीवन बिताइरहेका छन्।
हुन त घरको जिम्मेवारी सम्हाल्नु सामान्य कुरा होइन। तर कार्यलयमा पनि काम गर्ने महिलाहरुमा भने घर र कार्यलय दुवैको जिम्मेवारी हुँदा कार्यभार थप भएको देखिन्छ।
घर बाहिर काम गर्ने ‘वर्किङ वुमन’लाई परिवारको साथ र सहयोग भएन भने उनीहरुले उत्कृष्ट कार्य गर्न सहज वातारण हुँदैन। घरपरिवारकै जिम्मेवारी सम्हाल्न आफ्नो ‘प्रोफेसन’ त्यागेका महिलाहरु पनि भेटिन्छन्। तर निरौलाले भने परिवारको सपोर्ट सधैं पाइरहिन्। परिवारको सपोर्टले नै आफु यो क्षेत्रमा अगाडि बढ्न सफल भएको उनको अनुभव छ।
‘सायद मेरो परिवारको सपोर्ट सुरु देखि नै नभएको भए अहिले म यो अवस्थामा पुग्दिनथिएँ होला, परिवारकै सपोर्टले म आज यहाँसम्म छु,’ उनले भनिन्, ‘मेरै कतिपय साथिहरु स्टाफ नर्स पढेर स्टाफ नर्समै अवकाश पाएकाहरु पनि छन्।’
हरेक महिलाहरुलाई कार्यक्षेत्रमा सफलता पाउन परिवारको साथ र सपोर्ट आश्यक पर्ने उनले सुनाइन्।
‘घरबाहिर काम गर्ने महिलालाई घरमा पनि सहज वातावरण भयो, सपोर्ट भयो भने सजिलो हुन्छ,’ उनले भनिन्,‘घर व्यवहार सामुहिकताले चल्ने कुरा हो, घरको कामलाई महिलाको मात्र काम वा बुहारीको मात्र काम भन्नु हुँदैन।’
संघीयतापछि नर्सहरुलाई पछि पारिएको छ
स्वास्थ्य सेवामा तह र वरिष्ठताको आधारमा जिम्मेवारी दिइन्छ। तर संघीयतापछि स्थानीय तहहरुमा नेतृत्वतहको भूमिकामा नर्सहरुलाई हेपिएको गुनासो आउने गरेको उनले सुनाइन्।
‘दरबन्दी तेरिजमा जो सिनियर छ त्यही माथिल्लो तहमा हुन्छ भनिएको छ, तर व्यवहारमा विभेद भएको गुनासो छ, ७ औं तहका नर्सिङ जनशक्तिलाई काम गर्ने मात्र अनि छैटौं तहका पुरुष अहेबलाई इन्चार्ज, कार्यक्रम प्रमुख बनाएको गुनासोहरु थुप्रै सुनिएको छ,’ उनले भनिन्।
यस्ता समस्याका विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल गर्ने गरेको निरौलाले सुनाइन्।
आफैंले काम गरेको अनुभवदेखि नेतृत्व तहसम्म पुगिसकेकी निरौला नेपालका सरकारी सेवामा मापदण्डअनुसार नर्सको संख्या न्यून रहेको बताउँछिन्। जसले गर्दा नर्सहरुमाथि कार्यभार बढेको र गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको उनको भनाइ छ।
‘कार्यभार बढी हुँदा एकातिर नर्सहरु पिडित छन् अर्कोतिर बिरामी पक्षका असन्तुष्टिका शब्दहरु पनि नर्सिङ जनशक्तिले खेप्नुपर्ने बाध्यता छ,’ उनले भनिन् ‘ठूला सरकारी अस्पतालमै पनि नर्सिङ जनशक्ति मापदण्ड अनुसार पर्याप्त छैनन्, जसले गर्दा सेवा दिन चाहेर पनि गुणस्तरिय सेवा दिन नसकिएको अवस्था छ।’