काठमाडौं- नियमअनुसार नेपालमा टेस्टट्यूब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनिवार्य इजाजत लिनुपर्छ। तर नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रदायक संस्था इजाजत नै नलिइ सञ्चालनमा रहेका छन्।
जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजाजत लिएर सञ्चालन हुनुपर्ने सेन्टरहरु इजाजत नै नलिइ चलिरहेको तथ्य फेला परेपछि स्वास्थ्यखबरले फागुन १३ गते 'प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्यूब बेबी सेवा अवैध' शिर्षकमा समाचार प्रकाशित गरेको थियो।
उक्त समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयले सबै टेस्टट्यूब बेबी सेवा प्रदायक संस्थाहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ। मन्त्रालयले फागुन १८ गते सार्वजनिक सूचना जारी गर्दै इजाजत नलिई सञ्चालन भइरहेका टेष्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो।
तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ।
यी हुन नियमअनुसार अनुमति लिएर सञ्चालित सेन्टर
स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार अनुमति लिएर सञ्चालनमा छन्।
'हालको मौजुदा कानुन अनुसार प्रसूति गृह र नर्भिकबाहेक नेपालभर चलेका आईभीएफ सेन्टरले मन्त्रालयबाट इजाजत लिएका छैनन्' महाशाखाका प्रमुख डा मदन उपाध्यायले भने, 'यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसमा हामीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौं।'
सञ्चालन स्वीकृत नै नलिई निसन्तान दम्पतीको उपचारका नाममा गैरकानुनी रुपमा टेस्टट्यूब बेबी अर्थात ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गर्दै आएका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले लाखौं शुल्क लिँदै ठगी गर्दै आएका विषयमा पनि बाहिर आएका छन्।
यी हुन् इजाजत नलिइ सञ्चालित सेन्टर
मन्त्रालयबाट इजाजत नै नलिइ टेस्टट्यूब बेबी सेवा सञ्चालन गर्नेमा वात्सल्य नेचुरल आईभीएफ प्राली, ओम अस्पताल, अल्का अस्पताल, भेनस अस्पताल, ग्रिनसिटी अस्पताल, ग्रान्डी सिटी अस्पताल, ग्रान्डी अस्पताल, क्रियटर्स आईभीएफ नेपाल, वरदान फर्टिलिटी सेन्टर, काठमाडौं फर्टिलिटी सेन्टर, माया आईभीएफ क्लिनीक, नेपाल इन्टरनेसनल फर्टिलिटी एन्ड ल्याप्रोस्कोपिक सेन्टर, डेनिस आईभीएफ सेन्टर, सञ्जीबनी अस्पताल, पोखरा फर्टिलिटी क्लिनीक, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर लगायत रहेका छन्।
जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेन्टर सञ्चालन गर्ने सेन्टरसँग स्त्रीरोग सेवा, बहिरंग सेवा, प्रोगशाला शुक्रकिट परीक्षण सहित, यूएसजी सेवा, अप्रेसन थियटर, इम्ब्रोलोजी प्रयोगशाला, आकस्मिक सेवाका लागि कुनै एक अस्पतालसँगको सम्झौता गरेको लगायतका मापदण्ड पुरा गरेको हुनुपर्दछ।
टेस्टट्यूब बेबी सेवाका विषयमा अनुगमन गर्न तथा आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ। पानबहादुर क्षेत्रीको संयोजकत्वमा रहेको समितिमा एक जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एक जना प्याथोलोजिष्ट सदस्य रहेका छन्।
यो पनि:
गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन
प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्युब बेबी सेवा अवैध
गैरकानुनी रुपमा टेस्टट्यूब बेबी सेवा सञ्चालन गर्दै वात्सल्य
स्वास्थ्य मन्त्रालयबाट टेस्टट्यूब बेबी सेवाको इजाजत नलिएको क्रियटर्स आईभीएफको स्वीकारोक्ति