काठमाडौं– चिकित्सा पेसालाई सेवा मुलक पेसा भनिन्छ। तर चिकित्सा अध्ययनपश्चात काठमाडौं उपत्यका बाहिर गएर चिकित्सा पेसा गर्न रुचाउने चिकित्सकहरु भने कम नै भेटिन्छन्। ती कम चिकित्सक मध्येका एक हुन् डा अनिल आचार्य।
जो ललितपुरमा आफ्नै घर नजिकको जागिर छाडेर काठमाडौं उपत्यका बाहिर बिरामीको उपचारमा खटिएका छन्।
डा आचार्य चितवनको चितवन मेडिकल कलेजमा वैशाखदेखि कार्यरत छन्। उनी चितवन जानुको एउटै उद्देश्य छ– काठमाडौंमा मात्र सीमित रहेका विशिष्टिकृत सेवालाई काठमाडौं बाहिर विस्तार र विकास गर्ने।
उनको विशेषज्ञता हो, कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी (सिटिभिएस) अर्थात मुटु, फोक्सो र रक्तनली सम्बन्धी समस्याको शल्यक्रिया गर्ने। उनले चितवन पुगे लगत्तै यी विषयमा सेवा समेत सुरु गरिसकेका छन्। यही सेवा लिन काठमाडौं पुग्नुपर्ने बाध्यतालाई उनले केही हदसम्म कम गरेका छन्।
भन्छन्, ‘उपचार कहाँ गराउने भन्ने बिरामी तथा आफन्तको छनोटको कुरा हो। तर, चितवनमा सेवा नै नहुँदा काठमाडौं नै पुग्नुपर्ने बाध्यता भने अब रहेन,’ उनले भने, ‘हामीले चितवनमा नै मुटु, फोक्सो तथा नशाको शल्यक्रिया सेवा दिन थालेका छौं। हामी टिमवर्कमा काम गरिरहेका छौं।’
आचार्यको शैक्षिक यात्रा
ललितपुरको चापागाँउमा जन्मिएका डा आचार्यले ललितपुरमै स्कुले शिक्षा आरम्भ गरे। २०४९ सालमा एसएलसी दिएपछि उनले अस्कल क्याम्पसमा साइन्स पढे।
प्लस टु सकिएपछि उनको सोच चिकित्सा शिक्षा अध्ययन गर्ने थियो। तर त्यतिबेला एमबिबिएस अध्ययनका लागि धेरै कलेजहरु थिएन।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को महाराजगञ्ज क्याम्पस, पोखरामा मणिपाल मेडिकल कलेज थियो। कोहलपुरमा खुलिसकेको मेडिकल कलेज भने बन्द भएको अवस्था थियो।
नेपालमै रहेर चिकित्सा शिक्षा अध्ययन गर्ने चाहना पुरा नहुने देखेपछि आचार्य २०५३ सालमा बंगलादेश गए। त्यतिबेला बंगलादेशमा अध्ययन गरेपनि नेपालमै आएर इन्टर्नसीप गर्न पाइन्ने व्यवस्था थियो। आचार्यले पाटन अस्पतालमा आएर इन्टर्नसीप सुरु गरे।
त्यतिबेला उनी आफ्नै घरबाट आउजाउ गर्ने गर्थें। इन्टर्नसिप सकिएपछि उनले गंगालाल अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्डियाक सर्जरी युनिटमा काम गर्ने अवसर पाए। २ वर्ष गंगालाल अस्पतालमा काम गरेपछि आचार्य फेरि बंगलादेशमै स्नातकोत्तर (एमएस) अध्ययन गर्न गए।
एमएस अध्ययन गरेर फर्किएपछि उनी गंगालाल अस्पतालमा काम गर्न थाले। उनले गंगालाल अस्पतालमा १० वर्ष काम गरे।
सन् २००८ देखि २०१७ सम्म गंगालाल अस्पतालमा कार्यरत रहँदा नै उनी सिंगापुरमा कार्डियाक सर्जरीमा फेलोसिप गर्न गए। त्यसपछि २०१७ मा गंगालाल अस्पताल छाडेर उनले मेडिसिटी अस्पतालमा काम गर्न थाले। मेडिसिटी अस्पतालमा कन्सलटेन्ट कार्डियाक सर्जनको रुपमा ३ वर्ष काम गरेपछि गत वैशाखदेखि उनी चितवन मेडिकल कलेजमा कार्यरत छन्।
उष्कृष्ट पढाइले डोराएको मेडिकल शिक्षाको यात्रा
आचार्य स्कुल पढ्दादेखि नै उत्कृष्ट विद्यार्थीको रुपमा परिचित थिए। राम्रो पढ्ने विद्यार्थी भन्ने बित्तिकै ऊ डाक्टर, इन्जिनियर वा पाइलट बन्छ भन्ने सोच सबैमा हुन्थ्यो। त्यहि सोच भएको व्यक्ति र पारिवारिक माहोलमा हुर्किदै गरेका आचार्यलाई भविष्यमा डाक्टर बन्छु भन्ने लाग्न थालेको थियो। परिवारले पनि उनलाई डाक्टर नै बनाउने सपना बनाएका थिए।
‘हाम्रो पालोमा राम्रो पढ्ने विद्यार्थी डाक्टर, पाइलट वा इन्जिनियर बन्छ भन्ने गरिन्थ्यो, मेरो पढाइ राम्रो थियो, त्यसैले मलाई पनि डाक्टर बाहेक के बन्छु भन्ने अर्को सोच नै थिएन,’ आचार्यले सुनाए।
हुन त डा आचार्यले एसएलसी सक्ने वित्तिकै इन्जिनियरिङ कलेज पुल्चोकमा इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा पनि दिए। पहिलो नम्बरमा उनको नाम पनि निस्कियो। तर इन्जिनियरिङ अध्ययनको यात्रामा उनको मन लागेन। उनले अमृत साइन्स क्याम्पसमा प्लस टु गरे र त्यसपछि बंगलादेशमा एमबिबिएस अध्ययन गरे।
अनि बढ्यो कार्डियाक सर्जिरीमा रुचि
पाटन अस्पतालमा क्लिनिकल अभ्यास गर्न थालेपछि डा आचार्यलाई सर्जरीमा रुचि बढ्दै गयो। इन्टर्नसीप सकेर गंगालालमा काम गर्न थालेपछि उनलाई काडिर्याक सर्जरी नयाँ विषय लाग्यो।
त्यतिबेला एमबिबिएस अध्ययन गर्दा कार्डियाक सर्जरी गरेको देख्न पाउने अवस्था मेडिकल विद्यार्थीहरुका लागि नयाँ केस जस्तै हुन्थ्यो। त्यसैले उनलाई कार्डियाक सर्जरीमा रुचि बढ्दै गयो।
‘आफुले जे चिज देख्यो त्यो राम्रो भन्ने पर्ने रहेछ, एमबिबिएस पढ्दा इन्टरनलमेडिसिन गर्नुपर्छ। पाटन अस्पतालमा हुदासम्म एमएस गर्छु भन्ने लागेको थियो, गंगालालमा काम गर्न थालेपछि नयाँ–नयाँ उपकरण, ठूला अप्रेसन थ्रियटरहरु देखेपछि कार्डियाक सर्जरी पढ्छु भन्ने सोच बनाए।’
'मुटुको अप्रेसन गरेको हेर्दा पहिला त केही बुझिन'
कार्डियाक सर्जरी भन्ने बित्तिकै मुटुमा समस्या भएर सर्जरी गर्नुपर्ने केसहरु नियमित देखिने नै भए।
मेडिकल अफिसरको रुपमा अप्रेसन थ्रिएटरमा सिनियर डाक्टरले मुटुको अप्रेसन गरेको हेर्दा सुरुमा त केही नबुझेको उनले बताए।
‘सिनियरहरुले मुटुको अप्रेसन गरिरहेको हेर्दा पहिलो दिन त के गरेको के केही बुझिएन, सिनियरहरुले गरेको अप्रेसन हेर्दै गएपछि विस्तारै बुझ्दै गएँ, उहाँहरुले सिकाउदै जानुभयो,’ उनले भने, ‘त्यो बेलामा पहिलो पटक केस देख्दा छुट्टै किसिमको डर त मनमा हुन्थ्यो।’
आफैंले मुटुको सर्जरी सम्बन्धी विषय अध्ययन गरेर क्लिनिकल प्राक्टिस असिस्ट गर्दा पनि उनको मनमा नयाँ डर उत्पन्न हुन्थ्या–। ‘मैले बिगारी हाल्छु कि!’ तर काम सफल हुँदै गएपछि छुट्टै आनन्द आउथ्यो।
डा आचार्यलाई आफैंले नेतृत्व गरेर मुटुको अप्रेसन गर्दा लाग्ने डर पनि छुट्टै भएको अभुवन सुनाए। मनमा अप्रेसनको डर भन्दापनि सफल अप्रेसन गर्नसकुँ भन्ने चाहना र जिम्मेवारी बोधले अप्रेसन पुरा नहुँदासम्म ढुक्क र आनन्द महशुस गर्न नसकिने उनको अनुभव छ।
आफैंले नेतृत्व गरेको तथा आफू संलग्न भएको समेत गरी ३ हजार भन्दा बढीको मुटुको अप्रेसन गरीसकेका डा आचार्य मुटुको अप्रेसन गर्दा संवेदनशील र जिम्मेवार बोध हुने बताउछन्।
‘मैले चितवनमा आएर आफैंले नेतृत्व गरेर अप्रेसन गरेँ, त्यतिबेला सुरुमा कता–कता मनमा ढक्क हुन्थ्यो, नयाँ ठाउँमा अप्रेसन बिग्रिन्छ कि वा केही हुन्छ कि भन्ने डर त भयो,’ डा आचार्य भन्छन्, ‘हरेक नयाँ केसमा अप्रेसन हुने भएकाले हरेक दिन नयाँ नै हो, त्यसैले भोलि अप्रेसन छ है भन्ने मनमा आफूमा जिम्मेवारी बोध सधैं हुन्छ।’
सबै प्रयास गर्दा पनि बिरामीको मृत्यु हुँदा दुःख लाग्छ
हजारौं बिरामीलाई स्वास्थ्य परामर्श र उपचार दिने चिकित्सक बिरामी निको भएको दिन खुसी हुन्छन् नै । तर चिकित्सा विज्ञानमा पनि सबै उपचार सफल नै हुन्छ वा उपचारले मृत्युको बाटोलाई पूर्ण बन्द गरिदिन्छ भन्न सकिँदैन।
कुनै बिरामीको उपचारको क्रममा मृत्यु हुँदा तीनका आफन्त त दुःखी हुन्छन् नै। बिरामीका आफन्तजस्तै उनको उपचारमा खटिएका चिकित्सकलाई झनै दुःख लाग्ने डा आचार्य बताउछन्।
‘हामीले धेरैको अप्रेसन गर्छौं, पराशर्म दिन्छौं, सफल उपचार पछि घर फर्किएकाहरुको याद कम आउला,’ डा आचार्य भन्छन्, ‘तर, आफूले अप्रेसन वा उपचार गरेको बिरामीको उपचारकै क्रममा मृत्यु हुँदा हामीलाई पनि धेरै दुःख लाग्छ, कहिलेकाँही त २,३ दिनसम्म निद्रा लाग्दैन।’
हुन त हरेक पेशामा संलग्न व्यक्तिको काम गर्ने समय हुन्छ। चिकित्सकहरुको पनि बिरामी हेर्ने वा अप्रेसन गर्ने निश्चित समय हुन्छ। त्यसपछि आफ्नो घर, परिवार वा निजी जीवनमा पनि व्यस्त रहन सक्छन्।
तर डा आचार्यलाई आफूले अप्रेसन गरेको बिरामी आइसीयूमा उपचाररत हुँदा ड्युटी सकिएपनि बिरामीको अवस्थाबारे चिन्ता भने लागिरहन्छ। त्यसैले त उनी रातमा पनि झस्किएर ब्युझन्छन् र सोच्छन्– अप्रेसन पछि आइसीयूमा सारिएको बिरामीको स्वास्थ्य अवस्था कस्तो भयो होला?’
जब १० वर्ष अघि उपचार गरेको बिरामी घ्यु बोकेर आए
डा आचार्यले धेरै बिरामीको मुटुको अप्रेसन गरेका छन्। उपचार निको भएपछि बिरामीहरु कहाँ पुग्छन्, कस्तो हुन्छन् डाक्टरलाई पनि अपडेट हुँदैन।
तर डा आचार्यमार्फत उपचार पाउनेहरुले भने डा आचार्यलाई कहिल्यै बिर्सिदैनन्।
चितवनमा काम गर्न थालेपछि १० वर्षअघि उपचार गरेको बिरामी घ्यु बोकेर भेट्न आउँदा खुसी लागेको उनले सुनाए।
‘म यहाँ आएपछि एकजना बिरामी घ्यु बोकेर आउनुभएछ,’ डा आचार्यले भने, ‘तपाईंले मेरो १० वर्षअघि अप्रेसन गरिदिनु भएको थियो, तपाईं यहाँ चितवन आएको थाहा पाएर आएको भन्नुभयो। त्यतिबेला खुसी लाग्यो।’
चित्रमा हेरेको भन्दा प्रत्यक्ष देखेको मुटु फरक लाग्छ
डा आचार्यले १२ वर्षको चिकित्सा जीवनमा धेरैको मुटु हेरेका छन्।
आफूले पढ्दा चित्रमा बनाएको मुटु र बिरामीको उपचार गर्ने क्रममा देखिने मुटुले फरक आभास हुने उनी बताउछन्।
‘पहिलो पल्ट मुटु चलिरहेको देख्दा अनौठो लाग्छ नै, जति किताबमा पढेपनि भिडियो हेरेपनि प्रत्यक्ष देख्दा, आफूले हातले छुँदा अलि अनौठो लाग्छ,’ उनी भन्छन्, ‘हड्डि काटिसकेर मुटुको बाहिरपट्टिको पत्र खुलिसकेपछि जब मुटु देख्छौं तब भिन्न महसुस हुन्छ।’
आफूमा भएको ज्ञान अरुलाई पनि सिकाउदा रमाइलो लाग्छ
डा आचार्य ललितपुर छाडेर चितवन बसाई नै सरेको जस्तै गरी गएका छन्। ‘काठमाडौं उपत्यका छाडेर चितवनमा आउन त्यति सहज छैन, बालबच्चाको स्कुल, श्रीमतीको जागिर सबै छुटाएको छु,’ उनले नमिठो हाँसोमा भने, ‘आफन्तहरुले अझै गाली गर्नुहुन्छ।’
चितवन मेडिकल कलेजमा सिटिभिएस विभाग नै चलाउने उद्देश्यले चितवन आएका डा आचार्यलाई पश्चताप भने छैन। आफ्नो अनुभव र ज्ञान मेडिकल विद्यार्थीहरुलाई सिकाउने र चितवनमा पनि विशिष्टकृत सेवा विस्तार गर्ने उनको सपना छ।
‘नेपालमा मुटुको अप्रेसन काठमाडौंमा मात्रै भयो, हरेक क्षेत्रका बिरामीलाई काठमाडौं नै जानुपर्ने, निजी अस्पताल पनि काठमाडौं मै छ,’ डा आचार्यले भने,‘काठमाडौंमा कार्डियाक सर्जनले जागिर पनि पाउने भए, तर काठमाडौं बाहिर सेवा विस्तार भएन, काठमाडौं बाहिर नभएको सेवालाई विस्तार गरेँ भन्दा आत्मसन्तुष्टि मिल्छ। त्यही प्रयासमा जुटिरहेको छु। म एक्लैले होइन। यसमा अरु धेरै साथीहरुको साथ र सहयोग पनि छ।’
चितवन मेडिकल कलेजमा ५ वर्षअघि मुटुको अप्रेसन हुन्थ्यो। तर त्यो नियमित थिएन। काठमाडौंबाट चिकित्सक गएर कहिलेकाँही मात्र हुन्थ्यो। नियमित नभएपछि शल्यक्रिया सेवा लामो समय रोकियो पनि। डा आचार्य जानुअघि चितवनमा मुटुरोग अप्रेसन गर्ने सामाग्रीहरु थियो। तर ती स्वास्थ्य उपकरणहरुले काम गर्छ वा गर्दैन परीक्षण भने गर्न बाँकी थियो। डा आचार्य आएपछि उनले अप्रेसन थ्रिएटरका स्वास्थ्य उपकरणहरु हेरे। गत वैशाखमा कोभिड महामारीको दोस्रो लहर भएकाले उनले साउनदेखि मात्र मुटुको अप्रेसन सेवा सुरु गरे। ६ महिनाको अवधिमा मुटुको १३ वटा अप्रेसन भइसकेको डा आचार्यको भनाइ छ।
कोभिडले गर्दा सोचेजस्तो मुटुको अप्रेसन गर्न नसकिएको डा आचार्यले बताए।
‘कोभिडले गर्दा पनि मैले सोचजस्तो धेरै अप्रेसनहरु भएको छैन,’ डा आचार्यले भने,‘ हप्तामा २ वटासम्म अप्रेसन गर्न सकिन्छ। अस्पतालको क्षमता त हप्तामा ४,५ वटा नै पनि गर्न सकिन्छ। तर यो सेवा सुरु भएको छ भन्ने कुरा बिरामीलाई पनि थाहा हुनुपर्छ। बिरामीलाई विश्वास दिलाउन पनि सक्नुपर्छ।’
उनी चितवनमा मुटु, फोक्सो र रक्तनलीको शल्यक्रिया सेवा नियमित रुपमा चलिरहेस् भन्ने चाहहन्छन्। यसका लागि उनले प्रणाली नै विकास गर्ने गरी काम अगाडि बढाइरहेका छन्।
‘म वा अन्य कोही व्यक्ति आउँदा सेवा चल्ने अनि बन्द हुने हुनुहुँदैन,’ उनले भने, ‘व्यक्तिभन्दा पनि यहाँ अब यी विभाग खुलेर प्रणाली नै बलियो हुनुपर्छ। यसका लागि हामीले काम गरिरहेका छौं।’ उनी चितवनमा मात्र नभई देशका हरेक प्रदेशमा सिटिभिएस सेवा निरन्तर चलिरहेको र प्रणाली विकास भएको हेर्न चाहन्छन्। यसका लागि सरकारले पनि कदम चाल्नुपर्ने उनको सुझाब छ।
‘चितवनमा हाम्रो टिमले काम अगाडि बढाइरहेको छ,’ उनले भने, ‘तर यी सेवा देशका हरेक प्रदेश तथा ठूला सहरमा नियमित हुनुपर्छ। त्यसो भएमा मात्र काठमाडौं पुग्नुपर्ने बाध्यता क्रमश कम हुँदै जाने छ।’