डा सन्तोष दुलाल, काठमाडौं- कोभिड १९ को तेस्रो लहरमा ओमिक्रोन भेरियन्टको प्रभुत्व बढी देखिएको थियो। यद्यपि यसमा अन्य भेरियन्टहरु पनि थिए।
दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन विस्तारै एसियाली राष्ट्रहरुमा फैलियो। भारतमा भएको ओमिक्रोन फैलिएको करिब दुई हप्तापछि नेपालमा पनि देखियो। नेपालमा माघको ५ देखि १२ गतेसम्म संक्रमण उच्च विन्दुमा थियो। त्यो समयमा परीक्षणको दायरामा आएकाहरुमा संक्रमणदर ५० प्रतिशतको हाराहारीमा थियो। प्रत्येक दिन १२ हजार नयाँ संक्रमित भेटिन्थे।
माघ १२ देखि संक्रमण विस्तारै घट्न थाल्यो। हाल संक्रमणदर १० प्रतिशतभन्दा तल झरिसकेको छ। नयाँ संक्रमितहरु पनि हजारभन्दा कम भइसकेको छ। यो तथ्यांकले पनि हामीले पूर्व अनुमान गरे जस्तै संक्रमण उच्च विन्दुमा पुगेर विस्तारै घट्दै जाने देखिन्छ। यो जति छिटो फैलिन्छ, त्यति छिटो नै कम भएर जाने देखियो। यो प्रचलन बेलायत, भारतमा पनि देखिएको थियो।
भाइरसको परिवर्तित स्वरुप नआउँदा भन्न सकिदैन
अहिले तेस्रो लहर ओरालो लाग्दै गएको छ। नयाँ संक्रमित क्रमश कम हुँदै जाने र दीर्घ रोगी, ज्येष्ठ नागरिक र खोप नलगाएकाहरु भने अस्पतालमा भर्ना गरेर उपचार गर्नुपरेको देखिन्छ। अस्पताल भर्ना भएकाहरुमध्ये कतिपय निको हुने क्रममा छन् भने कतिपयको मृत्यु भइरहेको छ। यो पनि साता दिनपछि घट्दे देखिन्छ।
परीक्षणमा संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए जोखिम न्यून भन्छौ। यो पनि करिब–करिब पुगेको छ। दुई, तीन दिन यता संक्रमणदर ६÷७ प्रतिशत छ। जोखिम न्यून छ। तर कोरोनाको भाइरस समुदायस्तरमा अझै पनि छ। यो भाइरस अप्रत्याशिल र परिवर्तनशील छ। त्यसैले भाइरसको अर्को परिवर्तित स्वरुप आएर पुनः संक्रमण फैलिने र महामारी हुँदैन भन्न सकिदैन। त्यसैले जनस्वास्थ्यका मापदण्ड अनुशासित भएर पालना गर्नुको विकल्प छैन।
लापरबाहीले निम्त्याउन सक्छ, महामारी
अहिले सबै विद्यालय, होटल तथा रेष्टुरेन्ट, बजार सबै खोलिसकेको अवस्था छ। यसलाई सधै बन्द पनि गर्न सकिदैन। तर यी सेवाहरु खोलिरहँदा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न र गराउनुपर्छ। संक्रमणदर पूर्ण रुपमा शून्य भइसकेको छैन। अहिले पनि परीक्षणमा ५ देखि १० प्रतिशत संक्रमणदर छ। त्यसैले भीडभाड, सभा, सम्मेलन हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै पर्छ।
हामीले पहिलो, दोस्रो लहर देखिसकेको छौँ। कतिपय देशले चौँथो लहरको पनि सामना गरिसकेका छन्। हामीले फेरी पनि लापरबाही ग¥यौँ भने त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेर नयाँ भेरियन्ट आउने संभावना उत्तिकै हुन्छ। अहिलेसम्म अल्फा, गामा, बिटा, डेल्टा, ओमिक्रोन लगायत भेरियन्ट देखिसकेका छौँ। भाइरस आफुलाई स्थापित गर्न आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ। त्यसैले यसले कसरी स्वरुप परिवर्तन गर्न सक्छ ? कसरी जान्छ भनेर अनुमान गर्न कठीन छ।
चीनको केही समुदायमा देखिएको कोभिड १९ दुई वर्ष भइसक्यो अहिलेसम २२० बढी देशमा फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई हे¥यौँ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार बढी छ। तेस्रो लहरमा ओमिक्रोनका कारण ८० प्रतिशतभन्दा बढी मानिस संक्रमित भएको मेरो अनुमान छ। कति त परीक्षणको दायरामा पनि आएनन्। ओमिक्रोन र मौसमी रुघाखोकीको लक्षण एउटै जस्तो भएकाले पनि धेरै मानिसहरु परीक्षणमा आएनन्।
संक्रामक रोगको जोखिम बढ्दै
इमरजिङ्ग इन्फक्सीयस डिजिज (संक्रामक रोगहरु)को जोखिम बढ्दै जाने देखिन्छ। विगत २० वर्षमा धेरै महामारी फैलिएको छ। सार्स, मर्स, एचवानएनवान, हङकङ फ्लू, कोभिड १९ लगायत महामारीले देखिसकेको छ।
मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, नियमित हात धुने जस्ता जनस्वास्थ्यका मापदण्डलाई हामीले व्यवहारमा लागू गर्न सक्यौँ भने यस किसिमको संक्रामक रोगहरुबाट बच्न सकिन्छ। किनभने यी संक्रामकहरु ड्रप लेट (थुकका छिटाहरु), श्वासप्रश्वास माध्यमबाट सर्छ। त्यसैले यो महामारीले हामीलाई धेरै ठूलो पाठ सिकाएको छ। यसबाट सिक्दै अघि बढ्न सक्यौँ भने यस किसिमको महामारीबाट बच्न सक्छौ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको ओमिक्रान नै कोरोना भाइरसको अन्तिम स्वरुप होइन। फेरी पनि अर्को चार महिना, ६ महिनामा नयाँ स्वरुप आउने संभावना उत्तिकै छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्न सक्यौ भने आफु मात्र बच्ने होइन, परिवार, समुदाय र राष्ट्रलाई यस किसिमको महामारीबाट बचाउन सकिन्छ।
विकासको नाममा विनाश नगरौँ
यस किसिमको महामारी मानिस र जनावरबीचको अन्तरद्वन्द्वले निम्त्याएको हुन्छ। यो पक्षलाई पनि हामी सबैले विचार पु¥याउनुपर्छ। विकासको नाममा विनास गर्ने चलन धेरै बढेको छ। विकास गरिरहँदा त्यहाँ रहने जनावर र भाइरसलाई हामीले असर गरिरहेका छौँ।
जंगललाई विनास गरिरहँदा त्यहाँ बस्ने जनावर र भाइरसको घर भत्काइरहेका छौँ। उनीहरुलाई जुन अवस्थामा छ, त्यही अवस्थामा रहन दिनुपर्छ। यी भाइरसहरु पृथ्वीमा करौडौँ वर्षदेखि बाँचिरहेका छन्। तर त्यसलाई उत्खनन् गर्ने काम चाँहि मानिसले गरिरहेको छ। यसरी उत्खनन् हुँदा यसले जोखिम र महामारी पनि फैलाइरहेको छ।
(सूक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलालसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)