काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०८१ मङ्सिर ९ गते देखि मङ्सिर १२ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजनको २४ औं शिखर सम्मेलन काठमाडौं आयोजना गर्न लागेको हो। यस सम्मेलनको नारा 'म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्च रहेको छ।
सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको महत्वपूर्ण उपस्थिति रहने बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्ने कार्यक्रममा अनुसन्धान आचारसंहिताका विभिन्न पाटोहरुमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरु बीच गहन छलफल, बहस तथा प्रस्तुतिकरण हुनेछन्। झण्डै ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी विज्ञहरुको भौतिक उपस्थिति रहने परिषद्ले जनाएको छ । सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका सहभागीहरु प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीहरुले भर्चुअल सहभागिता जनाउने बताइएको छ।
सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तराष्ट्रिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीबाट निर्धारित मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतिकरण छनोट गरिएको छ। सोमध्ये ६१ वटा प्रस्तुतिकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतिकरणहरु राष्ट्रिय विज्ञहरुद्धारा गरिनेछ।