काठमाडौं– पोखराको मणिपाल मेडिकल कलेजले चीनमा एमबिबिएस अध्ययन गरेका विदेशी विद्यार्थीलाई गैर कानुनी रुपमा इन्टर्नसिप गराउन लागेको खुलेको छ।
नेपाल मेडिकल काउन्सिलको नियम विपरीत मणिपाल मेडिकल कलेजले चीनमा एमबिबिएस अध्ययन गरेका बंगलादेशका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गराउन लागेको खुलेको हो।
बंगाली विद्यार्थीसँग रकम लिएर मणिपालले ‘इलेक्टिभ’को नाममा इन्टर्नसिप गराउन लागेको तथ्य फेला परेको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बताए।
‘चीनमा पढेका विदेशी विद्यार्थीहरु इन्टर्नसिप गर्न नेपाल आएका रहेछन्,’ उनले भने, ‘उनीहरुले ढाँटछल गरेका रहेछन्, इलेक्टिभको नाममा भर्ना गरेर इनटर्नसीप गर्न लागेका रहेछन्।’
विदेशी विद्यार्थीलाई इन्टर्नसिप गराउन लागेको जानकारी पाएपछि काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ। रजिष्ट्रार डा अधिकारले ती विद्यार्थीलाई इन्टर्नसिप नगराउन पत्र समेत पठाइसकिएको जानकारी दिए।
डा अधिकारीका अनुसार यसरी अवैध रुपमा इन्टर्नसिप गर्न आउने विदेशी विद्यार्थी करिब ३० जना छन्।
काउन्सिलले उक्त विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयमा समेत पत्र पठाएको छ।
काउन्सिलले ‘मेडिकल कलेजलाई किन कारबाही नगर्ने’ भन्ने प्रश्न सहितको पत्र काटिसकेको काउन्सिलका एक पदाधिकारीले जानकारी दिए।
नियमअनुसार विद्यार्थीहरुले जुन कलेजमा अध्ययन गरेको हो सोही कलेजमा इन्टर्नसिप गर्नुपर्ने हुन्छ। नेपाल मेडिकल काउन्सिलले २०६४ साल बैशाख २५ गते इन्टर्नसिप सम्बन्धी ८ बुँदे निर्णय गर्दै अध्ययन गरेकै संस्थामा इन्टर्नसिप गनुपर्ने व्यवस्था लागू गरेको छ।
‘जुन संस्थाले एमबिबिएस तथा विडिएस वा सो सरहको कोर्ष अध्ययन गराउँछ सोही संस्थाले अनिवार्य रुपमा इन्टर्नसिपको व्यवस्था गर्नुपर्नेछ’, काउन्सिलले मेडिकल इन्टर्नसिपको व्यवस्थाका विषयमा बनाएको निर्देशिकामा उल्लेख छ। (इन्टर्नसिप सम्बन्धि काउन्सिलको नियम यही समाचारको तल राखिएको छ।)
चीनमा एमबिबिएस अध्ययन गरिरहेका नेपाली विद्यार्थीको समेत कोरोना संक्रमणपछि इन्टर्नसिपमा समस्या परिरहेको छ। यही समयमा मणिपालले विदेशी विद्यार्थीलाई अवैध रुपमा इन्टर्नसिप गराउने खेल सुरु गरेको पाइएको हो।
नेपालमा पहिला–पहिला नेपाल वा विदेशका जुनसुकै मेडिकल कलेजमा अध्ययन गरेपनि विद्यार्थीले आफूले चाहेको कलेजमा इन्टर्नसिप गर्न पाउने व्यवस्था थियो।
नेपालकै विभिन्न मेडिकल कलेजमा अध्ययन गरेकाहरुले समेत वीर अस्पतालमा इन्टर्नसिप गर्ने गरेका थिए।
तर यो व्यवस्थाले विद्यार्थी अध्ययन गरेका मेडिकल कलेजहरुमा इन्टर्नसिप गर्ने विद्यार्थीहरु शुन्य अवस्थामै पुग्न लागे। यस्तै विदेशमा अध्ययन गरेर नेपालमा इन्टर्नसिप गर्न चाहने बढ्न थाले। त्यसपछि काउन्सिलले अध्ययन गरेको मेडिकल कलेजमा नै इन्टर्नसिप गर्नुपर्ने व्यवस्था लागु गरेको थियो।
तर कोभिड–१९ को महामारी पछि चीनमा लगायतका देशमा एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरु इन्टर्नसिपका लागि अध्ययन गरेका देशमा फर्किन पाएनन्। लामो समय इन्टर्नसिप गर्न नपाएपछि विद्यार्थीहरुले नेपालमै इन्नर्टसीपको व्यवस्था गर्न माग गरे।
नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयमा विद्यार्थीहरुले गुनासो गरेपछि सरकारले सन् २०१४ र १५ ब्याचका विद्यार्थीलाई अध्ययन पुरा गरेको अबस्थामा इन्टर्नसिप गर्न दिने गरी निर्णय भयो। उक्त निर्णयपछि सन् २०१६ र १७ ब्याजका विद्यार्थीहरु अनलाइन मार्फत अध्ययन गरेर नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।
काउन्सिलको इन्टर्नसिपसँग सम्बन्धित नियम हेरौं