काठमाडौं– यतिबेला विश्वभर नै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको छ। तर विश्वभरको तथ्यांकलाई हेर्दा यसअघिको भेरियन्ट डेल्टाभन्दा ओमिक्रोन कमजोर देखिएको छ।
ओमिक्रोनले स्वासप्रस्वासको माथिल्लो भागमा बढी असर पार्ने तर गम्भीर असर भने कमैमा देखिएको पाइएको छ। ओमिक्रोन फैलने दर भने यसअघिका भेरियन्टहरु भन्दा बढी छ।
ओमिक्रोन भेरियन्ट फैलिँदै गएपनि यसको फैलावट अनुसार गम्भीर हुने बिरामीको संख्या र मृत्युदरमा भने यसअघिका भेरियन्टमा भन्दा धेरै कम पाइएको छ।
यो कुरालाई अहिलेको नेपालको कोभिड तथ्यांकले पनि पुष्टि गर्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले विश्वका अन्य देशमा जस्तै नेपालमा पनि ओमिक्रोनको फैलावट बढी भएपनि यसको असर भने डेल्टाको तुलनामा कम भएको बताए।
डा पौडेलका अनुसार ओमिक्रोन भेरियन्टले संक्रमण भएकाहरुको आइसीयूमा भर्ना हुने दर डेल्टाको भन्दा ४ गुणा कम छ। यस्तै भेन्टिलेटरमा भर्ना हुने दर डेल्टाभन्दा ५ गुणा कम छ भने संक्रमण भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पनि डेल्टाको भन्दा ओमिक्रोनमा ५ गुणा कम छ।
नेपालमा मात्र होइन विश्वका विभिन्न देशहरुमा पनि यसअघिका भेरियन्टको तुलनामा ओमिक्रोनको असर निकै कम देखिएको विज्ञहरुले बताउँदै आएका छन्।
अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्ड यूसीएचको संक्रामक रोग विभागका प्रमुख फहेम यूनुसले पनि कोरोना भाइरसलाई पराजित गर्दै गइरहेको कुरा सामाजकि सञ्जाल ट्वीटरमा लेखेका छन्। उनले खोपका कारण अहिले धेरैमा भाइरसको कम असर देखिएको बताएका छन्।
उनी लेख्छन्– 'एक महिनामा मेरा करिब एक सय साथी तथा आफन्त कोभिड संक्रमित भए।
तर, कति अस्पताल भर्ना भए त?
– शून्य।
कतिले खोप पाएका थिए?
– शत प्रतिशत।
यसरी हामी अब यो अनौठो र रहस्यमय भाइरसलाई कमजोर बनाउन सक्छौं।'
अमेरिकाको एउटा विश्वविद्यालयका चिकित्सक मात्र होइन विश्व स्वास्थ्य संगठनको युरोप क्षेत्रीय निर्देशक डा ह्यान्स क्लुगले पनि युरोपियन देशहरुमा ओमिक्रोनले कोरोना महामारीलाई नयाँ चरणमा लगेको र चाडै महामारी अन्त्य हुने विस्वास व्यक्त गरे।
यस्तै, अमेरिकाका संक्रामक रोग विज्ञ डा एन्थोनि फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाट घट्दै जाने विश्वास व्यक्त गरे।
उनीहरुको भनाइ सार्वजनिक भएसँगै विश्वबाट कोरोना भाइरस छिट्टै अन्त्य हुनसक्ने प्रचार भए।
तर विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यालयले भने अधिकारिक धारणा सार्वजनिक गर्दै अझै पनि कोरोनाको नयाँ रुप आउन सक्ने भन्दै हतारिन नहुने भन्दै सचेत गराएको छ।
संगठनले ओमिक्रोनलाई नै अन्तिम भेरियन्ट हो भनेर सोच्नु खतरनाक हुने बताएको छ।
डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेयससले कोरोना महामारी कसरी अन्त्य हुन सक्छ र यसको द्रुत फैलावट कसरी समाप्त हुन सक्छ भन्ने विषयमा विभिन्न परिदृश्य रहेको बताए।
तर, ओमिक्रोन पछि कोरोना अन्त्य हुन्छ भन्नु खतरनाक रहेको उनले स्पष्ट पारेका छन्। उनले भने,‘यो पछि कोरोनाको अन्त्य हुन्छ भनेर सोच्नु खतरनाक हो। अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने कोरोनाका थप रूपहरू देखा पर्न सक्छन्।’
ओमिक्रोन भेरियन्ट कमजोर देखिएपछि नेपालमा पनि पछिल्लो समय विभिन्न हल्ला र भ्रम समेत फैलिरहेको अवस्था छ।
के कोरोना भाइरस छिट्टै अन्त्य हुने अवस्थामै पुगेको हो? के कोरोना भाइरस पनि यसअघि महामारीको रुप लिएर पछि कमजोर बनेका अन्य भाइरस जस्तै कमजोर हुँदै जान्छ त? लगायतका विषयमा स्वास्थ्यखबरले सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन, भाइरोलोजिष्ट डा सुदीप खड्का र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलसँग विस्तृतमा कुराकानी गरेको छ।
प्रस्तुत छ उनीहरुले व्यक्त गरेको धारणा उनीहरुकै शब्दमाः
निमिट्यान्न हुँदैन, महामारीका रुपमा फैलिने सम्भावना कम छ
डा सुदीप खड्का, भाइरोलोजिष्ट
भाइरस म्युटेसन हुँदा ३ कुराहरु हुन्छन्। पहिलो कुरा भाइरस म्युटेसन हुँदाहुँदै पनि त्यसको गुणहरुमा कुनै परिवर्तन हुँदैन। जसले गर्दा भाइरसले गराउने संक्रमणदर जस्ताको जस्तै नै रहन्छ।
अर्को सम्भावना के रहन्छ भने भाइरस कमजोर हुँदै जान्छ। कमजोर २ किसिमले हुन्छ। एउटा भाइरस सुस्त गतिमा सर्न सक्छ। अर्थात एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने तीव्रता कम हुन्छसक्छ वा यसले लगाउने रोग कम असर पार्ने खालको हुनसक्छ।
तेस्रो सम्भाव्यता के छ भने म्युटेसनहरुले गर्दा भाइरस झन् भन्दा भन् चाँडो बढ्न सक्ने र झन् खतरा रोग लाग्न सक्ने अवस्था हुनु हो।
कोरोना संक्रमणको सुरुवाती चरणदेखि हालसम्म भाइरसहरुमा विभिन्न किसिमका परिवर्तन आइरहेका छन्। एउटा मात्र होइन, पटक पटक थुप्रै भेरियन्टहरु देखिएका छन्। जसमा डेल्टा भेरियन्ट सुरुको भाइरस भन्दा खतरनाक निस्कियो।
ओमिक्रोन भेरियन्टको केसमा हेर्ने हो भने डेल्टाभन्दा खतरनाक होइन तर डेल्टाभन्दा चाँडो फैलिने चाँही देखियो।
अहिले धेरै देशहरुमा ‘यो भाइरस अन्तिम हो, अथवा अब महामारी हुँदैन’ भन्ने अनुमान लगाउन थालिएको छ। यसो भनिरहँदा के बुझ्न जरुरी छ भने यो ओमिक्रोनबाट पनि नयाँ भेरियन्ट निस्किने सम्भावना रहन्छ। त्यसैले त्यो भेरियन्टको प्रकृति कस्तो हुन्छ त्यसले नै अब कोरोनाले महामारीको रुप लिन सक्छ वा सक्दैन भन्ने कुरा निक्र्यौल हुन्छ।
पहिलो कुरा त अब नयाँ निस्किने भेरियन्टहरु ओमिक्रोन भन्दा झन् चाँडो फैलन सक्ने र ओमिक्रोन लागिसकेका व्यक्तिलाई पनि फेरि लाग्न सक्ने खालको निस्कियो भने यो महामारी अन्त्य हुँदैन।
उदाहरण नै भन्नुपर्दा डेल्टा भेरियन्टको संक्रमण देखिएका व्यक्तिहरुलाई पनि अहिले ओमिक्रोनले सताइरहेको देखिएको छ। अहिले डेल्टा भन्दा ओमिक्रोन कमजोर देखिएको छ। तर अर्को आउने भेरियन्ट यो ओमिक्रोन र डेल्टा भन्दा पनि खतरा र यी दुवै भेरियन्ट भन्दा पनि चाँडो फैलिने किसिमले आयो भने त्यो निकै खतरनाक हुनसक्छ।
यस्तै, अहिले खोप बनाउँदै गर्दा, खोप उपलब्ध हुँदै गर्दा अहिले भइरहेका खोपहरु सुरुवाती चरणमा राम्रो काम गरेपनि डेल्टाको समयमा प्रभावकारीता केही कम र अहिले ओमिक्रोनमा अझै कम भएको देखिएको छ। त्यसैले अर्को नयाँ देखिने भेरियन्टमा अहिले लगाइसकेको खोपले रोग प्रतिरोधात्मक क्षमतामा कत्तिको काम गर्छ त्यसमा पनि भर पर्छ।
यी सबै कुराहरु सुरुवाती चरणमै निक्र्यौल गर्न सकिँदैन। त्यसकारण अहिले नै भविष्यवाणी गरेर अर्को भेरियन्ट यस्तो हुन्छ, त्यसपछि आउँदैन भन्न मिल्दैन।
तर नआउन सक्ने कारण किन हुन्छ भने अहिले ओमिक्रोन खोप लगाएकामा मत्थर किसिमको र खोप नलगाएकाहरुमा अलि सिभियर किसिमको संक्रमण फैलिरहेको छ। यसले गर्दा कालान्तरमा ओमिक्रोन विरुद्ध प्रतिरोध क्षमता विकास हुन जान्छ। जसले गर्दा यो ओमिक्रोन आफैं चाँही फेरि महामारीको रुपमा फैलिन सक्दैन भन्ने कुरामा केही सत्यता छ। तर नयाँ भेरियन्ट नै निस्किँदैन वा नयाँ भेरियन्ट फैलिन सक्दैन भन्ने कुरामा सत्यता छैन।
के डेल्टा, ओमिक्रोन केही वर्षपछि फेरि देखिन्छ?
हामीहरुले बुझ्नुपर्ने अर्को कुरा के छ भने कोरोना भाइरसले एकपटक संक्रमण गरिसकेपछि, नर्मल मान्छेहरुमा पनि संक्रमण निको भएपछि बन्ने रोग प्रतिरोधात्मक क्षमता केही वर्षसम्म मात्र रहने देखिएको छ। तर अरु सामान्य खालको रुघाखोकी लगाउने भाइरसले अबको ३,४ वर्षपछि फेरि लाग्ने अध्ययनले देखाएको छ।
अहिले फैलिरहेको कोरोना सार्स कोभ–२ पनि त्यही किसिमले दोहोरिने सम्भावना रहन्छ।
डेल्टा, ओमिक्रोन अहिले हराउँदै गर्दा अबको ४,५ वर्षपछि फेरि फैलिनसक्ने अवस्था पनि रहन सक्छ। यो सम्भावना छ। ओमिक्रोन र डेल्टा अहिले हराउँदै गर्दा ४,५ वर्षपछि फेरि फैलिने सम्भावना रहन्छ।
तर सबैभन्दा ठूलो सम्भावना भनेको नयाँ भेरियन्ट निस्किने र पहिलादेखि नै संक्रमण भइसकेकाहरुलाइ पुनः संक्रमण हुने सम्भावना रहन्छ।
अहिलेको जस्तो विश्वव्यापी रुपमा चाँही नफैलिन पनि सक्छ। यो के आधारमा भन्न सकिन्छ भने सुरुवाती चरणमा चीनको वुहानमाट कोरोना भाइरस निस्कियो। त्यतिबेला कोरोना भाइरसले मानिसहरुलाई ‘अट्याक’ गरेको थिएन।
तर मानिसमा संक्रमण हुन थालेपछि भाइरसले अर्को व्यक्तिको शरीरमा सहजै प्रवेश पायो। किनकी यो भाइरसविरुद्ध व्यक्तिको शरीरमा एन्टिबडी थिएन। अहिले धेरै मानिस संक्रमित भएर उनीहरुको शरीरमा एन्टिबडी बनिसकेको अवस्था छ। त्यसैले भाइरस फैलिन पनि त्यति सहज छैन। त्यसैले अबका दिनमा कुनै कुनै क्षेत्र वा स्थानमा पकेट हेरेर खोप लगाएको समय र भेरियन्टको आधारमा नयाँ पकेटमा भाइरस फैलिन सक्छ।
अहिले भाइरसलाई परिवर्तन हुन प्रेसर परिरहेको छ। मानिसहरु कोही खोप लगाएको कोही नलगाएको छ। खोप पनि विभिन्न किसिमका लगाएका छन्। जसले गर्दा मानिसहरुको इम्युनिटी सिस्टम पनि विभिन्न चरणमा छन्। यस्तो चरणमा भाइरस समाजमा फैँलिदै गएमा भाइरसलाई परिवर्तन हुन प्रेसर पुग्छ, जसले गर्दा नयाँ नयाँ भेरियन्ट निस्किने सम्भावना पनि बढी हुन्छ। त्यसैले अब आउने भेरियन्ट पुरानो भेरियन्ट जस्तो नभइ पहिला रहेको प्रतिरोधात्मक क्षमताले काम नगर्ने खालको निस्किने सम्भावना रहन्छ।
भाइरसको परिवर्तनले मात्र महामारी कसरी फैलिन्छ भन्दा पनि यसमा मानिसको जीवनशैलीले पनि निर्धारण गर्छ।
अहिले मानिसहरुमा धेरै जानकारी भइसकेको छ। उपचार विधि र परीक्षण विधि विकास भइसकेको छ। त्यसैले कुनै क्षेत्रमा फैलिहालेको अवस्थामा अब कन्ट्रोल गर्न सहज पनि हुन्छ। त्यसैले दुवै किसिमको पाटो छ, एउटा भाइरस परिवर्तन हुँदै नयाँ नयाँ व्यक्तिमा सर्दे जाने र अर्को भाइरस रोक्न हामी पनि चुस्त रुपमा कार्ययोजना बनाइरहेको अवस्था छ।
मौसमी फ्लू वा अन्य भाइरल रोग जस्तै हुनसक्छ
अन्त्यमा हामीले बुझ्नुपर्ने कुरा कोरोना भाइरस हराएर जाँदैन। विश्वव्यापी रुपमा फैलिसकेको छ। त्यो एउटा वा अर्को भेरियन्टको रुपमा पटक पटक निस्किरहन्छ। अहिलेका विभिन्न मौसमी फ्लू, विभिन्न भाइरस तथा भाइरल ज्वरो जस्तै फैलिइरहन्छ।
यस्तै, यो भाइरस जनावरबाट आएको हो तर कुन जनावरबाट आएको हो भन्ने निक्यौल भइसकेको छैन। त्यसैले यो मानिसमा निमिट्यान्न पारेपनि जनावरबाट फेरि ‘कमब्याक’ हुनसक्छ। त्यसैले यसकोविरुद्ध हामीले पोलियो लगायत विभिन्न किसिमका खोप लगाएजस्तै खोप लगाउनपर्छ।
यो भाइरस हाम्रो जीवनमा सधैँभरी रहन्छ तर मत्थर रुपमा। यसकोविरुद्ध हामीले खोप लगाउने गरी जीवन अघि बढाउनुपर्छ। कालान्तरमा यो एउटा खोप उपलब्ध भएको रोगको रुपमा रहिरन्छ। नयाँ भेरियन्ट निस्किएर ठाउँठाउँमा कहिलेकाँही संक्रमण हुने र मान्छेको मृत्यु हुने सम्भावना रहिरहन्छ। यो रोग निमिट्यान्न नै त हुँदैन तर महामारीको रुपमा संसारभर नै फैलिरहने सम्भावना कम नै छ।
सामान्य रुघाखोकी जस्तो भइदियोस् भन्ने चाहना हो
डा कृष्ण पौडेल
निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई अन्तिम मान्नु ठूलो भूल हुन्छ भनेको नै छ। तर यसलाई हामीले अन्तिम महामारी बनाउन सक्छौं यदि सबैले सहयोग गरे भने भन्ने अपेक्षा हो।
भाइरस जति धेरै फैलियो त्यति नयाँ भेरियन्ट आउने जोखिम रहन्छ। डेनमार्क, युकेमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट आइसकेको कुरा छ।
अबका दिनमा पनि नयाँ भेरियन्ट आउने जोखिम रहन्छ।
नेपालमा अहिले ओमिक्रोन फैलिएको अवस्था छ। जति धेरै फैलियो त्यति धेरै भेरियन्ट आउने जोखिम पनि रहन्छ। हाम्रो चाहना त यो रोग नफैलियोस्, अन्त्य होस् भन्ने त हो। तर के ‘क्लियर’ छैन भने अब ओमिक्रोन पछि आउने भेरियन्ट यो भन्दा खतरनाक आउने हो वा यो भन्दा सामान्य आउने हो अहिले भन्न सकिँदैन।
हाम्रो चाहना त अब आउने भेरियन्ट सामान्य, कमजोर खालको रुघाखोकी जस्तै भइदियोस् भन्ने हो तर हामीले सोचेजस्तो नै हुन्छ भनेर यकिन गर्न सकिँदैन।
हाम्रो अहिलेसम्मको बुझाइमा पछि आउने भाइरसहरु कमजोर हुँदै जानुपर्ने हो। तर कोभिडको हकमा त्यो भइरहेको छैन। जस्तो अल्फाभन्दा डेल्टा बढी आक्रामक भएर आयो। अहिले ओमिक्रोन माइल्ड नै आएको छ। डेल्टा भन्दा ओमिक्रोनमा अस्पताल भर्ना हुने, मृत्यु हुने दरमा निकै कम छ। धेरै सक्रिय संक्रमित हुँदा अस्पतालमा भर्ना हुने, आइसीयूमा उपचार गराउनेको संख्या कम नै छ।
तर अब पछि आउने भेरियन्ट कस्तो हुन्छ अहिले अनुमान गर्न सकिँदैन। विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोनलाई नै अन्तिम मान्न हुँदैन नै भनेको छ। त्यसैले नयाँ भेरियन्ट आउने जोखिम छ, जनस्वास्थ्यको मापदण्ड सबैले पालना गर्नुपर्छ।
हामीले आवागमनलाई कम गरेका छौं, जोरविजोर लागु भएको छ यसले पनि सर्ने दर कम हुँदै आउछ। धेरै ठाउँमा भाइरस फैलिन पाएन भनेपनि नयाँ नयाँ भेरियन्ट बढ्ने जोखिम कम हुन्छ।
कोरोना त यो भन्दा अगाडी पनि थियो। कोभिड–१९ अघि पनि नेपालमै पनि एकपटक कोरोना भएको पत्ता लागेको थियो। अब सामान्य रुघाखोकी जस्तो भइदियोस् भन्ने त हाम्रो चाहना हो। तर भाइरसले कस्तो रुप लिन्छ अहिले भन्न सकिँदैन।
'प्यान्डेमिक' बाट 'इन्डेमिक' हुनसक्छ
डा शेर बहादुर पुन
सरुवा रोग विषेशज्ञ
मैले यो विषयमा सुक्ष्म अध्ययन गरेको थिएँ। त्यही अध्ययनका आधारमा मैले तीन÷चार हप्ता अगाडि नै ‘सन् २०२२ मा यो भाइरस धेरै कमजोर भइसकेको हुने’ भनेको पनि थिएँ। अहिले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले पनि त्यस्तै खालको कुराहरु गरिरहुन भएको छ। अन्यत्र कतै नदेखिने हुन्छ नै भनेको होइन, तर जुन हरेक पटक कोरोना भनेर सबैको ध्यान आकृष्ट गथ्र्यो, मानिसको आर्थिक सामाजिक जीवन र मानसिक रुपमा कमजोर बनाएको अवस्था थियो। अब यस्तो अवस्था नहोला भन्ने मेरो आकलन थियो।
यसको कारणको पछाडि मेरो ‘लजिक’ के थियो भने कोरोना भाइरस लामो समयसम्म देखिँदा शरीरमा धेरै पटक संक्रमण भयो। ओमिक्रोनले धेरैलाई संक्रमण गराउँछ भनेर विश्व स्वास्थ्य संगठनले पनि भनेको थियो।
यो जति हाम्रो शरीरमा संक्रमण गराउँछ त्यति नै यही भाइरस फर्कीफर्की आएमा शरीरले केही न केही प्रतिक्रिया जनाउछ भन्ने पहिलो आधार भयो।
दोस्रो आधार हिजो भन्दा आज धेरैले कोरोना विरुद्धको खोप लगाइसकेको अवस्था छ। नेपालकै हकमा पनि दोस्रो लहर यता धेरैले खोप लगाइसके। कम्तिमा पनि एक डोज लगाउने अझै बढी छन्।
अर्को कुरा प्रयोगशालाको परीक्षणले पनि ओमिक्रोन श्वासप्रश्वासको माथिल्लो भागमा डेल्टा भन्दा ७० गुणा वृद्धि हुनसक्ने र असर पुर्याउने र ओमिक्रोनले श्वासप्रश्वासको तल्लो भाग श्वासका कोशिकाहरुमा तुलनात्मक रुपमा कमजोर सावित भएको थियो। म्युटेसन हुनु भनेको अझै खतरा हुनु मात्र होइन।
यसलाई मैले आफ्नो हाइपोथेसिस गरेको हो। अहिले यही कुरा प्रमाणित भइरहेको छ। म्युटेसन सधैं खराब हुँदैन भन्ने कुरा प्रयोगशालाबाट श्सावप्रश्साको माथिल्लो र भित्री भागमा कम फैलिने भनेर हङकङ युनिर्भर्सिटीले पनि जनाएको छ।
अर्को कुरा हाम्रो शरीरमा संक्रमण भइरहदा शरीरमा दोस्रो लाइन डिफेन्स सिस्टम जसलाई हामी बी सेल, टी सेल भन्छौं। यसले केही न केही याद गरिरहेको हुन्छ। पछिल्लो समय मैले के पाएँ भने यो सेकेण्ड लाइन डिफेन्स सिस्टममा अन्तर्गत पर्ने लाइनहरुमा विभिन्न अध्ययन अनुसन्धान भएको छ। जसले ओमिक्रोन विरुद्ध यिनीहरु पनि केही हदसम्म परिचालित छन् भन्ने देखिन्छ।
यस्तै अर्को खोपको कुरा छ। खोपको प्रभावकारीता डेल्टाको समयदेखि नै देखिएको थियो। डेल्टाको संक्रमण र असर खोप नलगाएकाहरुमा बढी देखिएको थियो।
दक्षिण अफ्रिकामा थेरै खोप लगाएकाहरु भएपनि अघिल्ला लहरहरुमा भन्दा अहिले कम असर गरेको देखिन्छ। यसले खोपले काम गरेको भन्न सकिन्छ।
कारोना विरुद्धको खोप, कोरोना भाइरसको संक्रमणको अवस्था, संक्रमितसँगको कुराकानी र उनीहरुको उपचार तथा परामर्श र नेपाल बाहिरका केसहरुको विषयमा आइरहेका विवरणको अध्ययनका आधारमा मैले कोरोना भाइरस यो वर्ष कमजोर हुन्छ भन्ने अनुमान गरेको थिएँ। अहिलेको अनुसन्धानका रिपोर्टहरु पनि यस्तै आइरहेको छ।
यो आधारमा हेर्दा आगामी महिना कोरोना भाइरस कम्तिमा पनि डेल्टा भेरियन्टको जस्तो परिस्थितिमा आउने छैन। डेल्टा भेरियन्टल जस्तो फेरि भयावह रुप व्यहोर्न नपर्ने हुनसक्छ। तर भाइरस म्युटेसन हुनसक्छ, भाइरसको अन्त्य हुँदैन। यो भाइरस 'प्यान्डेमिक' बाट 'इन्डेमिक' हुनसक्छ।
यसको उदाहरण के हुन सक्छ भने एच १ एन १ पिडिएन ०९ अर्थात स्लाइन फ्लू भाइरस २००९ सालमा यो कोभिडभन्दा पछिल्लो पटकको महामारी घोषणा गरिएको रोग हो। स्वाइनफ्लू अहिले पनि देखिन्छ, असर पनि पार्छ । तर यो महामारी सामान्य रुपमा समय समयमा देखिने हामीसँगै भएको रोगको रुपमा छ।
अर्को हङकङ फ्लू अर्थात इन्फ्लुएन्जा (एचवान्एनवान्)ले पनि कुनै समय विश्वव्यापी रुपमा तहल्का मच्चाएको थियो। अहिले यो रोग हरेक सिजनमा सामान्य रुपमा देखिन्छ। कोरोना भाइरस पनि स्वाइनफ्लू र इन्फ्लुएन्जाको जस्तै अवस्था आउनसक्छ।
कोरोनाले अब मान्छे नमार्ने वा संक्रमण नै नहुने भन्ने होइन तर विस्तारै कमजोर हुँदै जाने सम्भावना रहन्छ।