काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक सातामा ९० जना कोरोना संक्रमित गर्भवतीले उपचार सेवा लिएका छन्।
अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले एक साताको अवधिमा ९० जना कोरोना संक्रमित महिला भर्ना भएर उपचार सेवा लिएको बताए।
डा श्रेष्ठका अनुसार माघ ३ गते देखि ९ गतेसम्ममा कोरोना संक्रमण भएका गर्भवती उपचारका लागि कोभिड युनिटमा भर्ना भएका हुन्। ती मध्ये ५४ जनाको कोरोनाको उपचारकै क्रममा प्रसूति गराइएको डा श्रेष्ठको भनाइ छ।
प्रसूति गराइएका मध्ये २८ जना कोरोना संक्रमित महिलाको नर्मल डेलिभरी र २६ जनाको सिजरियन सेक्सन (अप्रेसन) गरी प्रसूति गराइएको थियो।
यस्तै, २६ जना कोरोना संक्रमित गर्भवती उपचारत छन् भने १० जना गर्भवती कोरोना निको भएर घर फर्किएका छन्।
ओमिक्रोन भेरियन्ट देखिएपछि नेपालमा कोरोना संक्रमण बढ्दै गएको थियो। तेस्रो लहरको संक्रमण सुरु भएसँगै गर्भवती पनि संक्रमित हुने क्रम बढ्दै गएपछि अस्पतालले माघ २ गतेदेखि कुपन्डोलमा रहेको भवनमा पुनः कोभिड युनिट सुरु गरेको डा श्रेष्ठले बताए।
‘तेस्रो लहरको महामारी बढ्दै गएपछि हामीले कुपन्डोलको भवनमा कोभिड युनिट सुरु गरेका थियौं, एक सातामा ९० जना कोरोना संक्रमित गर्भवतीहरु भर्ना भए,’ डा श्रेष्ठले भने,‘ हामीले त्यो भवनमा पोजिटिभ भएका र थापाथलीमा ननकोभिड गर्भवतीलाई सेवा दियौं।’
चिकित्सक नै संक्रमित, इलेक्टिभ सेवा प्रभावित
डा श्रेष्ठका अनुसार तेस्रो लहरको संक्रमण दर बढ्दै जाँदा अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी पनि संक्रमित भइरहेका छन्।
अस्पतालमा तेस्रो लरहको संक्रमण सुरु भएयता ३७ जना डाक्टर, २७ जना नर्स, १८ जना कर्मचारी र प्रशासन तर्फका अन्य १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको डा श्रेष्ठले बताए।
स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनका आधारमा लक्षणविहिन संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमण पुष्टि भएको ५ दिनपछि सेवामा फर्किएको उनको भनाइ छ।
‘स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार लक्षण नभएका कर्मचारी ५ दिनसम्म घरमा बसेर काममा फर्किन निर्देशन दियौं, अघिल्लो साता संक्रमित भएकाहरु काममा फर्किएका छन्,’ उनले भने, ‘लक्षण भएकाहरुलाई हाम्रै अस्पतालका फिजिसियनहरुले परामर्श दिइरहनुभएको छ।’
एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा काममा खटिएका स्वास्थ्यकर्मीलाई कामको चाप बढेको उनले सुनाए।
‘हाम्रोमा अहिले २२ प्रतिशत कर्मचारी पोजिटिभ भइसके, यसले गर्दा हामीलाई चाप बढेको छ, सुरक्षा सतर्कता अपनाउन पीपीई लगाउनुपर्ने भएकाले काममा चाप बढेको छ,’ उनले भने।
कोरोना संक्रमण दर बढ्दै गएसँगै अस्पतालमा सेवा लिन आउनेको चाप भने केही घटेको डा श्रेष्ठको भनाइ छ।
उपचारका लागि आएका बिरामीमा पनि कोरोना संक्रमण देखिने गरेकाले नियमित हुने इलेक्टिभ सर्जरी सेवाहरु भने प्रभावित भएको उनले बताए।
‘तीन हप्ताको तुलनामा बिरामी अहिले कम भएको छ, अहिले ६० प्रतिशतमा झरेको छ,’ डा श्रेष्ठले भने, ‘अन्य इलेक्टिभ सर्जरी सेवा लिन आउने बिरामीहरुमा पीसीआर गर्दा धेरैजस्तोमा कोरोना पोजिटिभ आउने गरेकाले यो सेवा प्रभावित भएको छ।’