काठमाडौं– चिकित्सा शिक्षा आयोगको स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षामा नक्कली परीक्षार्थीले परीक्षा दिने तयारी गरेको खुलेको छ।
शनिबार हुने पिजी प्रवेश परीक्षामा करिब ५० जना नक्कली परीक्षार्थीले परीक्षा दिन नक्कली परीक्षार्थीको फोटो मिलाएर फारम भरेको खुलेको छ।
उनीहरु भरतीय र नेपाली विद्यार्थी दुवै भएको स्रोतको दाबी छ।
आयोगले एकीकृत प्रवेश परीक्षाका लागि परीक्षार्थीहरुलाई बायोमेट्री नराखेको फाइदा उठाउँदै केही बिचौलियाहरुले सक्कली परीक्षार्थीसँग रकम असुल गरी उनीहरुको ठाउँमा नक्कली परीक्षार्थीलाई परीक्षामा सामेल गराउन लागिएको स्रोतको दाबी छ।
परीक्षामा नक्कली परीक्षार्थीको फोटो मिलाएर एक जनाको स्थानमा अर्कैलाई परीक्षा दिन लागिएको विवरणहरु स्वास्थ्यखबरले प्राप्त गरेको छ। (यही समाचारको तल नक्कली परीक्षार्थीको फोटो कसरी मिलाइएको छ भन्ने तस्बिरहरु छन्।)
‘आयोगको परीक्षाको व्यवस्थापकीय कमजोरी समातेर यो काम गरेको बुझिएको छ, त्यसैले यो सबै विषयमा छानविनको दायरामा आउन जरुरी छ,’ स्रोतले स्वास्थ्यखबरसँग भन्यो ।
शनिबार हुने पिजी प्रवेश परीक्षाको प्रश्नपत्र समेत बाहिरिएको र नक्कली परीक्षार्थीहरुलाई सो प्रश्नपत्र घोकाइएको स्रोतले जानकारी दियो।
प्रश्नपत्र आउट गराउन नेपाली एजेन्ट र केही आयोगकै कर्मचारीको संलग्नता रहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार आयोगले प्रश्नपत्र तयार पार्दा विभिन्न अध्ययन संस्थानबाट मगाइएको प्रश्नहरु बाहिरिएको हो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकका छोरा मार्फत विभिन्न समूहमा प्रश्नपत्र पुगेको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार एजेन्टले १२ जना भारतीय र २४ जना नेपाली विद्यार्थीहरुलाई विभिन्न होटल तथा रिसोर्टमा राखेर प्रश्न र उत्तर घोकाइरहेका छन्।
स्रोतका अनुसार मनिष प्रधान, प्रदिन न्यौपाने, रविन्द्र चौधरी, कासी, राजेश राय यादव र रामजी महतोले फोटो मिलाएर परीक्षा दिने तयारीमा छन्।
यस्तै, ओम चौधरी र अभिषेकको नाममा नक्कली प्रवेशपत्र तयार गरिएको छ।
स्रोतका अनुसार नक्कली परीक्षार्थी मार्फत परीक्षा दिलाउन बिचौलीयाहरु सुदीप नायक, शिव रेग्मी, ससांक साह, सन्तोष चौधरी, अजय यादव, सुशिल मण्डल, सुरज दास छन्। उनीहरुले यसअघि आयोगले लिएको स्नातक तहको एकिकृत प्रवेश परीक्षामा पनि करिब ९० जना नक्कली परीक्षार्थीलाई परीक्षामा सामेल गराएको स्रोतले बतायो।
यसरी नक्कली परीक्षार्थीले दिएको परीक्षापछि उत्तीर्ण भएका विद्यार्थीहरु अहिले केमएसी र एनएमसी अध्ययन गरिरहेको स्रोतको दाबी छ।
नक्कली परीक्षार्थी मार्फत परीक्षा दिलाउने खेल भइरहेको भन्दै चिकित्सा शिक्षा आयोगमा विद्यार्थीहरुले उजुरी समेत दिएका थिए।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले पिजी प्रवेश परीक्षामा नक्कली परीक्षार्थीले परीक्षा दिन लागेको जानकारी आफूले पनि पाएको बताए।
सोही विषयमा आयोगले अनुसन्धान सुरु गरिसकेको उनको भनाइ छ।
नक्कली परीक्षार्थीले परीक्षा दिन लागेको जानकारी प्राप्त भएपछि आयोगले पिजी प्रवेश परीक्षा सञ्चालन गर्दा बायोमेट्री गराउने व्यवस्था गर्न लागिएको पनि बताए।
उनले पिजी परीक्षा भने नसर्ने जानकारी दिए। आयोगले यसअघि नै निर्धारण गरिसकेको परीक्षाको मिति भने तोकिएअनुसार नै हुने डा गिरीले बताए।
नक्कली परीक्षार्थीले परीक्षामा सामेल हुन लागेका छन् भन्ने जानकारी हामीले पनि पायौं, यो विषयमा आयोगले अनुसन्धान सुरु गरिसकेको छ,’ डा गिरीले स्वास्थ्यखबरसँग भने, ‘अब बायोमेट्री हुन्छ, परीक्षा सर्दैन।’