काठमाडौं– नेपालमा गत वर्षको माघ दोस्रो सातादेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भयो। पहिलो पटक खोप कार्यक्रम सुरु हुँदा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा खटिएका (फ्रन्टलाइनर)लाई प्राथमिकता दिइएको थियो।
जसले गर्दा कोरोना विरुद्धको खोप कार्यक्रममा पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारले प्राथमिकता पाए।
कोरोना महामारीको पहिलो लहरपछि सुरु भएको खोप अभियान चलिरहँदा नेपालमा दोस्रो लरहको कोरोना संक्रमण देखियो। दोस्रो लहरको संक्रमणले खोप नपाएका व्यक्तिहरुलाई बढी असर पार्यो।
खोप लगाएकाले दोस्रो लरहको संक्रमणमा स्वास्थ्यकर्मीहरु कम संक्रमित भए। तर हाल ओमिक्रोन भेरियन्ट सहितको कोरोना संक्रमण फैलिदै गर्दा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ।
गत वर्षको माघ दोस्रो साता पहिलो र बैशाखमा दोस्रो डोज खोप लगाएका स्वास्थ्यकर्मीहरु अहिले धमाधम संक्रमित भइरहेका छन्। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, भरतपुर अस्पताल लगायत देशका धेरैजसो अस्पतालहरुमा कोरोना संक्रमित चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी बढ्दै गएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलका अनुसार नेपालमा ओमिक्रोन भेरियन्ट सहितको कोरोना संक्रमण बढ्दै जाँदा ५ सय भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कोरोनाविरुद्धको दुवै डोज (पूर्ण मात्र) लगाएका स्वास्थ्यकर्मीहरुमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण किन देखिइरहेको छ?
दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मी संक्रमित हुनुको प्रमुख ३ कारण रहेको डा पौडेलको बुझाइ छ।
एउटा कारण हो स्वास्थ्यकर्मीले खोप लगाएको ६ महिनाभन्दा बढी भइसक्नु।
डा पौडेल भन्छन्,‘खोप लगाएको ६ महिना कटेपछि शरीरमा खोपले बनाएको एन्टिबडी घट्दै आउँछ, यो भन्दा अगाडि प्राकृतिक संक्रमण भएर भएको एन्टिबडी पनि घट्दै आउँछ।’
स्वास्थ्यकर्मीहरुले दुवै डोज खोप लगाएको ६ महिना पुरा भइसकेको र उनीहरुको शरीरमा खोप र प्राकृतिक रुपमा बन्ने एन्टिबडी कमजोर हुँदा स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेको डा पौडेलले बताए।
ओमिक्रोन भेरियन्ट फैलिदै जाँदा यसले खोपले बनाएको एन्टिबडीलाई पनि कमजोर बनाउने अध्ययनहरुले देखाएकाले डा पौडेलले बताए। उनी यसलाई स्वास्थ्यकर्मी संक्रमित हुनुको दोस्रो कारण मान्छन्।
'एक त स्वास्थ्यकर्मीले खोप लगाएको ६ महिना बढी हुँदा उनीहरुको शरीरमा एन्टिबडी कम छ, अर्को अहिलेको ओमिक्रोन भेरिएन्टले खोपले बनाउने एन्टिबडीलाई कमजोर बनाइदिने भएकाले स्वास्थ्यकर्मी बढी संक्रमित भएका हुनसक्छन्', डा पौडेलले भने।
दोस्रो लहरको संक्रमणदर कम हुँदै जाँदा अस्पताल तथा स्वास्थ्यसंस्थामै स्वास्थ्यका मापदण्ड पूर्ण पालना नहुनु स्वास्थ्यकर्मीमा संक्रमण बढ्नुको तेस्रो कारण रहेको डा पौडेलले बताए।
‘संक्रमणको जोखिम घट्दै जाँदा अस्पतालहरुमा स्वास्थ्यकर्मीले स्वास्थ्य सतर्कता अपनाउनमा कमजोरी रह्यो कि भन्न सकिन्छ,’ डा पौडेलले भने, ‘हामीले देख्दा नि तुलनात्मक रुपमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मी कम संक्रमित छन्, किनकी त्यहाँ पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाइएको छ।’
अस्पतालहरुमा पिपिई प्रयोग तथा स्वास्थ्यका मापदण्ड पूर्ण पालना नहुँदा तथा उनीहरु बिरामीसँग छिटो र प्रत्यक्ष रुपमा सम्पर्क हुँदा स्वास्थ्यकर्मीमा संक्रमण बढेको डा पौडेलले जानकारी दिए।
ओमिक्रोन भेरियन्ट सहितको संक्रमण नेपालमा देखिनु भन्दा दुई साता अघि स्वास्थ्यकर्मीले खोपको तेस्रो मात्रा अर्थात बुस्टर डोज पाएको भए स्वास्थ्यकर्मीमा संक्रमणदर केही कम हुनसक्थ्यो कि भन्ने डा पौडेललाई लाग्छ।
‘खोपले शरीरमा एन्टिबडी बनाउन दुईसाता जति लाग्छ, स्वास्थ्यकर्मीलाई अलिकति छिटो बुस्टर डोज दिन पाएको भए हुन्थ्यो भन्ने लाग्छ,’ डा पौडेलले भने, ‘तर बुस्टर नै लगाएपनि ओमिक्रोनले खोपले बनाउने एन्टिबडीलाई पनि ब्रेक गर्छ भनिएको छ, यो अहिलेको लेटेस्ट अध्ययनले देखाएको कुरा हो, अस्ट्रेलियाको केसले पनि यो पुष्टि गरेको छ।’ उनले खोप लगाएकाहरुमा भाइरसको असर भने नलगाएकाहरुको तुलनामा निकै कम देखिएको जानकारी दिए।
अस्पतालमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढ्दै जाँदा केन्द्रीय अस्पतालहरुमा स्वास्थ्य सेवा समेत प्रभावित हुन थालिसकेका छन्।
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका ठूला अस्पतालहरुले वार्डहरु मर्ज गरेर कम स्वास्थ्यकर्मी परिचालन गर्ने नीति लागू गरिसकेको जनाएका छन्।
स्वास्थ्यकर्मीमा संक्रमणदर बढ्दै जाँदा स्वास्थ्य सेवा नै बन्द गनुपर्ने अवस्था आउनसक्ने भएकाले समयमै पहिलो र दोस्रो लहरमा जस्तै पालो मिलाएर स्वास्थ्यकर्मीलाई ड्यूटीमा खटाउन सकिने डा पौडेलले बताए।
‘हामीले अस्पतालमा महामारीको बेलामा पहिलो र दोस्रो लहरमा आलोपालो ड्यूटीमा लगाउने मेकानिजम गर्यौं भने धेरै स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन सकिन्छ,’ उनले भने, ‘यसो गरिएन भने स्वास्थ्यकर्मी संक्रमण हुने दर बढ्दै गएर अस्पतालमा स्वास्थ्य सेवा झन् प्रभावित हुँदै जानसक्छ।’
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ।
ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ। पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ। यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ। संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गार्हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ। खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ।
ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।
यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ। सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ।