काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोपको तुलनामा त्यसलाई लगाउन आवश्यक पर्ने सिरिन्जको मौज्दात निकै कम रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन्।
तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलब ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ। कोभिडविरुद्धको फाइजर खोप लगाउन शून्य दशमलब ३ र अन्य खोपका लागि शून्य दशमलब ५ एमएलका सिरिन्ज आवश्यक पर्छ।
सरकारले खोप अभियान चलाइरहेको समयमा अबको केही दिनमा नेपालमा बाहिरबाट सिरिन्ज नआउने हो भने कोभिड खोप लगाउन सिरिन्जको अभाव हुने देखिएको छ।
तर, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले भने सिरिन्जको अभावको अवस्था आउन नदिन थप सिरिन्ज ल्याउने लागिएको बताए।
उनका अनुसार अबको एक साताभित्र ७३ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुग्ने छ। चीनबाट १० लाख वटा सिरिन्ज मंगलबारसम्म रसुवा नाकामा आइपुग्ने डा मरासिनीको भनाइ छ। यस्तै यूनिसेफबाट प्राप्त हुने १२ लाख ९६ हजार वटा सिरिन्ज कलकत्तामा आइसकेको डा मरासिनीले जानकारी दिए।
यसैगरी, सरकारले खरिद गरेको २ करोड वटा सिरिन्जमध्ये पहिलो चरणमा ५० लाख वटा सिरिन्ज पनि अबको एक सातामा नेपाल आइपुग्ने डा मरासिनीले बताए। ‘हामीले खरिद गरेको सिरिन्जमध्ये ५० लाख वटा दुई साताभित्र आइपुग्ने गरेर एक साताअघि नै सम्झौता भइसकेको थियो। सम्झौता अनुसार अबको एक सातामा त्यो पनि आइपुग्ने कार्यतालिका रहेको छ’, डा मरासिनीले भने, ‘त्यसपछि क्रमश: खरिदको बाँकी रहेको १ करोड ५० लाख डोज सिरिन्ज पनि आइपुग्ने छ। यो खोप पाइपलाइनमा नै भएकाले सिरिन्जको समस्या हुँदैन।’
उनले चीनबाट अहिले १० लाख सिरिन्ज आएपछि केही समयपछि थप १० लाख सिरिन्ज पनि आउने जानकारी दिए।
कुन खोप कति भण्डारणमा?
तथ्यांक अनुसार नेपालमा अहिले भेरोसेल खोप १३ लाख ६८ जार ९२४ डोज, जोन्सन ११ लाख ७३ हजार ९४०, कोभिसिल्ड ४९ लाख ७१ हजार ८५०, फाइजर ३ लाख ९९ हजार ९० र मोडर्ना १६ लाख ४३ हजार ८४० गरी देशभर ९५ लाख ५७ हजार ६४४ डोज खोप स्टकमा छ।
खोप र सिरिन्ज कहाँ कति?
प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ६ लाख ६७ हजार ९५० डोज कोभिडविरुद्धको खोप स्टकमा रहेको छ भने २ लाख ९५ हजार २०० वटा सिरिन्ज स्टकमा छ।
प्रदेश २ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ७ लाख २६ हजार खोप भण्डारणमा छ भने ७५ हजार ६०० वटा मात्र सिरिन्ज भण्डारणमा रहेको छ।
यस्तै, हेटौंडामा २ लाख ६ हजार खोप छ भने ३ लाख ६२ हजार ८ सय वटा सिरिन्ज भण्डारमा छ।
खोप सम्बन्धी विस्तारित कार्यक्रमका लागि छुट्याइएका १० वटा जिल्लाका लागि टेकुस्थित केन्द्रमा ३ लाख १६ हजार ३३० डोज खोप र ६ लाख ९८ हजार ८०० वटा सिरिन्ज भण्डारणमा रहेको छ।
गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ लाख ५३ हजार ९६५ डोज खोप भण्डारणमा छ भने केन्द्रमा सिरिन्ज स्टकमा छैन। खोप केन्द्रमा यसअघि नै पठाइएको सिरिन्जले काम चलाइरहेको अवस्था रहेको छ। सरकारले अहिले केन्द्रमा रहेको र अब आउने सिरिन्ज प्राथमिकताका आधारमा त्यहाँ पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ९ लाख ८३ हजार ५७१ डोज खोप रहेको छ भने ४ लाख ५ हजार २ सय वटा सिरिन्ज भण्डारणमा रहेको छ।
कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ लाख ४९ हजार १९८ डोज खोप र ४ लाख वटा सिरिन्ज भण्डारणमा छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ५७ हजार ९५० डोज खोप र १ लाख ९१ हजार ८ सय वटा सिरिन्ज स्टकमा छ।
यस्तै, पथलैयामा रहेको केन्द्रीय भण्डारणमा ५ लाख ४७ हजार ५०० डोज खोप र एक लाख २९ हजार ८०० वटा सिरिन्ज रहेको छ भने केन्द्रीय भण्डारण टेकुमा ५३ लाख ४९ हजार १८० डोज खोप मौज्दात रहेको छ।
दैनिक औसतमा ३ लाखले लगाउँछन् खोप
नेपालमा दैनिक औसतमा ३ लाख जनाले कोभिडविरुद्धको खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खोप अभियान तीव्र भएको दिन ५ लाख जनाले पनि खोप लगाएको मन्त्रालयको तथ्यांक छ। यो आधारमा हेर्दा सरकारसँग स्टकमा रहेको सिरिन्जले अझै एक साताभन्दा बढी खोप लगाउन पुग्ने देखिन्छ। यो अवधिमा युनिसेफ, चीनबाट र खरिदको सिरिन्ज आइपुग्ने भएकाले खोप कार्यक्रममा समस्या नहुने डा मरासिनी बताउँछन्।
कतिले लगाए खोप?
नेपालमा आइतबारसम्म २ करोड ७९ लाख ६५ हजार ५०० मात्रा खोप लगाइसकिएको छ। तीमध्ये एक करोड ५८ लाख ३७ हजार ६७१ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् भने एक करोड २१ लाख २७ हजार ८२९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। खोप अभियान सुरु भएयता नेपालमा हालसम्म ४ करोड ३ लाख ८८ हजार ८४० मात्रा खोप नेपाल ल्याइएको छ। नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप आएको हो।
मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ५२ दशमब १ प्रतिशतले खोपको एक मात्रा र ३९ दशमलब ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले आगामी चैतभित्र खोप लगाउने लक्षित समूहका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ।