काठमाडौं - भीडभाड नगर्नु, सामाजिक दूरी कायम गर्नु कोरोना संक्रमणबाट बच्ने उपायहरु मध्ये एक हुन्।
तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा केही दिनयता जनस्वास्थ्यका यही मापदण्ड भने कतै लागू भएको देखिँदैन।
अस्पतालमा बढ्दो गएको मानिसको बाक्लो भीडले जनस्वास्थ्यका मापदण्डलाई गिज्याइरहेको छ।
सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणहरुको भीड बढ्दो छ। तिनै खोप केन्द्रमध्येका एक हो, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।
खोप कार्ड नहुँदा सार्वजनिक सेवाबाटै बञ्चित हुने भएपछि खोप लगाउन पुग्नेहरुको भीड यहाँ दैनिक बढ्दो छ। सोमबारसम्म अस्पतालको गेट भित्रसम्मै रहेको त्यो भीड बिहीबारसम्म टेकुको सडकसम्मै पुगेको छ।
त्यो भीडमा सबैले मास्क पनि लगाएका छैनन्। कोरोनाबाट बच्नका लागि भन्दै खोप लगाउन पुगेकाहरु त्यही भीडबाटै कोरोना सर्ने जोखिम बढेको छ।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन खोप केन्द्रबाटै कोरोना संक्रमणको जोखिम बढेको बताउँछन्। खोप केन्द्रमा बढ्दो मानिसको भीड नै कोरोना संक्रमणको हटस्पट हुने सम्भावना रहेको उनले बताए।
उनले भने, ‘दोस्रो लहरमा खोप केन्द्रबाटै कोरोना सरेको धेरै र मृत्यु समेत भएको अनुभवहरु धेरै छन्। हुन त त्यो बेला डेल्टा भेरियन्ट निकै कडा पनि थियो। खोप केन्द्रमा जब भीड बढ्छ, त्यो कोरोना संक्रमणको हटस्पट हुन सक्छ।’
सरकारले खोप अनिवार्य गर्नु राम्रो भएपनि खोप केन्द्र व्यवस्थापन गर्न नसकेको उनको बुझाई छ। खोप केन्द्र व्यवस्थापन र विस्तारमा सरकारले पूर्वतयारी गर्नुपर्ने उनको भनाई थियो।
ओमिक्रोन भेरियन्ट तिव्र गतिमा फैलिने भएकाले खोप केन्द्र यसका लागि हटस्पट बन्ने हो की भन्ने उनको चिन्ता छ।
‘खोपको दायरामा ल्याउनका लागि सरकारको यो कदम राम्रो हो। तर यसको व्यवस्थापनमा सरकार चुकेको देखिन्छ। जुन ठाउँमा कोरोनाबाट बच्न भन्ने भन्दै जाने अनि त्यहीबाट कोरोना संक्रमण भयो भने के गर्ने?’ उनले भने।