काठमाडौं– नेपालमा पछिल्लो समय ओमिक्रोन भेरियन्टको कोरोना भाइरस संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताएका छन्।
पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको र त्यसमा ओमिक्रोन भेरियन्ट बढी देखिएको डा अधिकारीले जानकारी दिएका हुन्।
स्वास्थ्य मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा ओमिक्रोन भेरियन्ट फेला परेको डा अधिकारीको भनाइ छ।
१ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ पत्ता लागेको र एस जिन नेगेटिभ पत्ता लागेका मध्ये २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको डा अधिकारीको भनाइ छ। यसले पनि नेपालमा ओमिक्रोनको संक्रमण बढी रहेको पुष्टि गर्ने डा अधिकारीले बताए।
ओमिक्रोनसँगै नेपालमा यसअघि देखिएको डेल्टा भेरियन्ट पनि कायमै रहेको डा अधिकारीले जानकारी दिए।
ओमिक्रोन संक्रमणदर बढेपनि अहिले फैलिएको हो वा होइन भन्न नसकिने डा अधिकारीले बताए। यस्तै नयाँ भेरियन्टको संक्रमणदर बढ्दै गएपनि अहिले नै तेस्रो लहर हो भनेर भन्न नसकिने डा अधिकारीले जानकारी दिए। संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भनेर पत्ता लगाउन संक्रमणको अवस्थालाई थप अनुसन्धान र मुल्यांकन गर्नुपर्ने डा अधिकारीको भनाइ छ।
हाल नेपालमा बढ्दै गएको ओमिक्रोन भेरियन्टले स्वासप्रस्वासको माथिल्लो भागमा असर पुर्याएको उनले जानकारी दिए।
ओमिक्रोनबाट संक्रमण भएकाहरुमा डेल्टा भेरियन्टको तुलनामा अस्पताल भर्ना हुने दर कम देखिएपनि यो फैलिने दर भने डेल्टा भेरियन्टभन्दा बढी रहेको डा अधिकारीको भनाइ छ।
नयाँ भेरियन्ट सहितको संक्रमण दर बढ्दै जादा स्वास्थ्य मन्त्रालयले पूर्व योजना अनुसार नै स्वास्थ्य प्रतिकार्यका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको र सबै सरकारी तथा निजी अस्पतालसँग नियमित समन्वयमा रहेको डा अधिकारीले जानकारी दिए।
संक्रमितको उपचारका लागि अस्पतालमा आइसोलेसन वेड, एचडीयु, आइसीयु तथा भेन्टिलेटर तयारी अवस्थामा रहेको र थप गरिएको बताए।
तर संक्रमणले भयावह अवस्था लिए स्रोत साधानले धान्न नसक्ने भएकाले संक्रमणलाई नियन्त्रण गर्न सबैले सरकारले बनाएका नियम तथा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा अधिकारीको भनाइ छ।
हाल नेपालमा कोरोना विरुद्धको खोप अभावको अवस्था नभएकोभन्दै सबैलाई नजिकको खोपकेन्द्रमा पुगेर खोप लगाउन पनि डा अधिकारीले सुझाव दिएका छन्।
नेपालमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएको हो? वा होइन? नेपाल अहिले कोरोना संक्रमणको अस्तो अवस्थामा छ? अहिले देखिएको संक्रमणमा कुन भेरियन्ट बढी देखिएको छ? नेपालमा ओमिक्रोन फैलिएको अवस्था हो वा होइन? अन्य भेरियन्ट र ओमिक्रोनमा के फरक छ? के छ अब स्वास्थ्यको तयारी? के नेपालमा फेरि लकडाउन हुनसक्छ? लागायत संक्रमणको पहिलो र दोस्रो लहरको अवस्था आउन नदिन के गर्नुपर्छ लगायतका विषयमा कुराकानी गरेका छौं।
प्रस्तुत छ डा अधिकारीसँग गरिएको भिडियो वार्ताः