काठमाडौं– चिकित्सा शिक्षा आयोगको म्याचिङ प्रणाली मार्फत काठमाडौं विश्वविद्यालय (केयू)ले सम्बन्धन दिएको नोबेल मेडिकल कलेजमा भर्नाका लागि छनौट भएका एमबिबिएस पहिलो वर्षका विद्यार्थीहरुले पहिलो किस्ताको रकम केयूको खातामा जम्मा गराए।
चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि काठमाडौं उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ।
विद्यार्थीहरुले सोही रकमको पहिलो किस्ता बापत १४ लाख ७८ हजार केयूमा बुझाए।
पहिलो किस्ता बुझाएपछि केयूले उनीहरुलाई नोबेल मेडिकल कलेजको विद्यार्थी भएको कन्फर्मेसन लेटर दियो।
सोही लेटर र थप प्रमाणपत्र तथा कागजात बुझाएर अध्ययनका लागि विद्यार्थीहरु नोबेल मेडिकल कलेजमा पुगे। तर कलेज प्रशासनले थप शुल्कहरु पनि बुझाएपछि मात्र पढ्न पाउने सुनायो।
शिक्षण शुल्क भित्र नै समावेश हुने शिर्षकहरु केयू रजिष्ट्रेसन, केयू सम्बन्धन, केयू परीक्षा शुल्क, भर्ना फारम लगायतको शिर्षकमा पुनः शुल्क तिर्न कलेज प्रशासनले भन्यो। आयोगले यी शिर्षकमा थप रकम लिन नपाइने र यी सबै शिर्षकका शुल्क शिक्षण शुल्कमा नै समावेश हुने भन्दै सार्वजनिक सूचना नै निकालेको छ।
तर कलेजले भर्ना फारम शिर्षकमा ३ हजार, केयू रजिष्ट्रेशनमा २२ हजार ५००, केयू सम्बन्धन ९८ हजार ५७९, केयू परीक्षा शुल्क ११ हजार प्रतिवर्ष र ४ वर्षको ४४ हजार वैकल्पिक रुपमा तिर्नुपर्ने, इन्टर्नसिप शुल्क २ लाख ४० हजार र नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रेशन शुल्क ५ हजार रुपैयाँ तिर्नुपर्ने भनेको एक विद्यार्थीले बताए।
केही विदार्थीहरुले ती शुल्कहरु अतिरिक्त शुल्कभित्र पर्छ भन्ने जानकारी नहुँदा तिरेका समेत छन्। तर अधिकांश विद्यार्थीहरुले बढी शुल्क लिन खोजेपछि त्यसको विरोध गर्दै आएका छन्।
बढी शुल्क लिएको भन्दै बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र केयूमा समेत गुनासो लिएर पुगिसकेका छन्।
विद्यार्थीको गुनासो पछि आयोगले शिर्षक सहित उल्लेख गर्दै शुल्कको विषयमा थप प्रस्ट पा¥यो। गृह मन्त्रालय, शिक्षा मन्त्रालय र केयूले सूचना जारी गर्दै बढी शुल्क नलिन कलेजलाई निर्देशन दियो र बढी शुल्क नतिर्न विद्यार्थीलाई सजक गरायो।
त्यसपछि कलेज प्रशासनले शुल्क तिरिसकेका विद्यार्थीसँग लिएको शुल्कबाट इन्टर्नसीप शुल्क वापत लिएको २ लाख ४० हजार फिर्ता ग¥यो।
तर भर्ना फारम शिर्षकमा ३ हजार, केयू रजिष्ट्रेशनमा २२ हजार ५००, केयू सम्बन्धन ९८ हजार ५७९, केयू परीक्षा शुल्क ११ हजार प्रतिवर्ष तिरेको शुल्क भने फिर्ता गरेन।
यस्तै, अतिरिक्त शुल्क नतिरेका विद्यार्थीहरुलाई इन्टर्नसीप बाहेका भर्ना फारम, केयू रजिष्ट्रेशन, केयू सम्बन्धन, केयू परीक्षा शुल्क तिर्नुपर्ने भन्दै अझैपनि दबावदिइरहेको छ।
शुल्कको विवाद चर्किर्दै गएपछि गृह मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगले बढी शुल्क नलिन सचेत गराएपनि नोबेल मेडिकल कलेजले बढी शुल्क माग्न छाडेको छैन।
‘सबैतिरबाट बढी शुल्क नलिनु भनेर निर्देशन आएपछि हामी फेरि कलेज प्रशासनमा हाम्रो नागरिकता लगायत अन्य कागजपत्र बुझाउन गयौं,’ नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थीले भने, ‘तर प्रशासनले भर्ना फारम, केयू रजिष्ट्रेशन, केयू सम्बन्धन, केयू परीक्षा शुल्क फेरि नतिरे नपढाउने भरेर शुल्क तिर्न दबावदिइरहेको छ।’
यस्तै आयोगले भनेको कम्युनिटी पोष्टिङ, फरेन्सीक पोष्टिङको शुल्क शिक्षण शुल्कमै पर्ने भनेपनि कलेजले भने अझै मागिरहेको उनले गुनासो गरे।
कलेज प्रशासनले केयूले नै शुल्क मागेको भन्दै केयूकै खातामा अतिरिक्त शुल्क बुझाउन भनेको अर्का एक विद्यार्थीले सुनाए।
उनले भने, ‘कलेजका प्रशासकहरुले यो शुल्क केयूलाई तिर्नुपर्ने हो, केयूकै बैंकखातामा हालेर भौचर बुझाउनु अनिमात्र पढ्न पाउनुहुन्छ भन्छन्।’
केयूले बढी शुल्क नलिनु भनेपनि नोबेल मेडिकल कलेजले भने केयूले नै मागेको भन्दै शुल्क तिर्न दबावदिइरहेको ती विद्यार्थीको भनाइ छ।
विद्यार्थीका अनुसार नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रेशन शुल्क भने काउन्सिललाई नै बुझाउन भनिएको र आयोगले पनि सो शुल्क काउन्सिलमा बुझाउनुपर्ने भनेको ती विद्यार्थीले बताए।
कलेजले बढी मागेको शुल्क नतिरेका ८१ जना एमबिबिएस पहिलो वर्षका विद्यार्थीहरुले अहिलेसम्म पढ्न पाएका छैनन्।
छात्रावासको शुल्कमा पनि मनपरी!
शिक्षण शुल्कका शिर्षकमा बढी शुल्क माग गर्ने नोबेल मेडिकल कलेजले शिक्षण शुल्कमा मात्र होइन छात्रावासका विषयमा पनि मनलाग्दी गरेको विद्यार्थीको गुनासो छ। आयोगले छात्रावास अनिवार्य नहुने भनेको छ। तर कलेजले भने सबै विद्यार्थीलाई छात्रावासमा अनिवार्य बस्नुपर्ने र तोकिएकै शुल्कमा बस्नुपर्ने भन्दै दबावदिइरहेको विद्यार्थीहरु बताउँछन्।
विद्यार्थीहरुले उपलब्ध गराएको विवरण अनुसार कलेजले पहिलो वर्षको २४ हजार रुपैयाँ प्रति महिनाका दरले एकवर्षको २ लाख ८८ हजार शुल्क तोकेको छ। यस्तै दोस्रो वर्षको २४ हजार २०० रुपैयाँ प्रति महिनाका दरले एकवर्षको ३ लाख २ हजार ४००, तेस्रो वर्षको प्रति महिना २६ हजार ४६० का दरले एक वर्षको ३ लाख १७ हजार ५२०, चौंथौ वर्षमा प्रति महिना २७ हजार ७८३ का दरले एक वर्षमा ३ लाख ३३ हजार ३९६, पाँचौ वर्षको प्रति महिना २९ हजार ९७२ का दरले ३ लाख ५० हजार ६५ र छैठौं वर्षका प्रति महिना ३० हजार ६३० का दरले एकवर्षको १ लाख ८३ हजार ७ ८३ रुपैयाँ गरी ६६ महिना अर्थात एमबिबिएस अध्ययन अवधिभरमा १७ लाख ७५ हजार १६४ रुपैयाँ तिर्नुपर्ने भनेको छ। यो शुल्कमा पानी, बिजुली, इन्टरनेट र लन्ड्रीको हिसाब राखिएको छैन। उक्त शुल्क थप बुझाउनुपर्ने भनिएको विद्यार्थीहरुले बताएका छन्।
यस्तै महामारी र प्राकृतिक विपत्ति लगायत अन्य कुनै कारणले ६६ महिनाभन्दा बढी समय बस्नुपरेमा सो समयको छात्रावास शुल्क पनि विद्यार्थी स्वयंले ६६ महिनाको हिसाब अनुसार करारनामा बमोजिम ५ प्रतिशत वार्षिक वृद्धिदर कायम गरी व्यहोर्नुपर्ने भनिएको छ।
विद्यार्थीहरुले भने यो शुल्क स्थानीय बजार अनुरुप निकै महंगो भएको बताएका छन्। बजार अनुरुप आफूहरुको एमबिबिएस अध्ययन अवधिभर अर्थात ६६ महिनामा २ लाख ९५ हजार ८४८ मात्र खर्च हुने अनुमान विद्यार्थीहरुले गरेका छन्। कलेजले भने यसका लागि अतिरिक्त १४ लाख ७९ हजार ३९६ रुपैयाँ लिन खोजेको उनीहरुको आरोप छ।
आयोगले अनिवार्य नभनेको छात्रावास भएकाले आफ्नो इच्छा अनुसार बस्ने वा नबस्ने निर्णय विद्यार्थीले नै गर्नुपर्ने माग छ।
‘होस्टलको शुल्कमा त ब्रम्हलुट नै देखिन्छ,’ अर्का एक विद्यार्थीले भने, ‘आयोगले यो अनिवार्य भनेको छैन, यती महंगो होस्टलमा हामी बस्न चाहदैनौं। तर हामीलाई अनिवार्य भनिएको छ।’
पढ्न नपाएका विद्यार्थीलाई विद्यार्थी संगठनहरुको सपोर्ट
एमबिबिएस अध्ययनका लागि पहिलो वर्षको किस्ता समेत बुझाइसकेका विद्यार्थीहरु सोही मेडिकल कलेजमा पढ्नुपर्छ। अध्ययनका क्रममा कलेज प्रशासनले दबावर तनाव दिनसक्ने भन्दै भर्नाका लागि छनोट भएका विद्यार्थीहरु खुलेर बाहिर आउन सकेका छैनन्।
तर उनीहरुलाई विभिन्न विद्यार्थी संगठनहरुले भने खुलेर साथ दिएका छन्।
आइतबार बढी शुल्कको विरोध गर्दै एकीकृत समाजवादी निकट अनेरास्ववियूका विद्यार्थीहरु नोबेल मेडिकल कलेजमा रिले अनसन बस्न पुगे। सोही क्रममा विद्यार्थी संगठन र कलेजका सुरक्षा गार्ड बीच झडप समेत भएको विद्यार्थीहरुले जानकारी दिएका छन्। संगठनका विद्यार्थीहरु कलेज प्रशासन प्रवेश गर्न लागेसँगै कलेज संचालकले भने कलेजभित्रका औषधि व्यवसायी तथा कर्मचारीलाई विद्यार्थी रोक्न नाराबाजी गराएका थिए।
औषधि व्यवसायी तथा कर्मचारीहरुले भने अस्पताल प्रशासन बन्द गर्न नपाइने भन्दै आइपुगेका थिए।
सोही क्रममा सुरक्षा गार्ड र विद्यार्थी संगठनका नेताहरु बीच झडप भएको थियो।
विद्यार्थीहरु प्रतिकारमा उत्रिएपछि कर्मचारी तथा औषधि व्यवसायी पछि हटेका थिए। त्यसपछि विद्यार्थी संगठनका नेताहरुले रिले अनसन बसेका थिए।