काठमाडौं– नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। काठमाडौंको कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको क्लिनिकल ट्रायल गरिएको हो।
‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’ भनेको टाइफाइडको किटाणुको भिआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणु बीच संयोजन गरेर बनाइएको संयोजित खोप हो। यो खोप कोरियामा इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युटद्वारा बनाइएको हो।
क्लिनिकल ट्रायलबाट भिआइडिटी खोप एक मात्रा दिएपछि सुरक्षित र प्रभावकारी रहेको पाइएको विज्ञहरुले बताएका छन्।
वरिष्ठ बाल रोग विशेषज्ञ प्राडा गणेश राई प्रमुख अनुशन्धानकर्ता रहेको उक्त ट्रायलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बाल रोग विशेषज्ञ डा शिप्रा चौधरी, धुलिखेल अस्पतालका डा दिपेश ताम्राकार, नेपालगञ्ज मेडिकल कलेजका डा पियुष कनोडिया, कान्ति बाल अस्पतालका डा विष्णुरथ गिरी, धुलिखेल अस्पतालका डा राजिव श्रेष्ठ अनुसन्धान टोली सदस्य थिए भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरेन्द्र उराउ सहअनुसन्धानकर्ता थिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप ट्रायलका लागि अनुमति दिएपछि सन् २०१९ नोभेम्बर २० देखि २०२० मार्च १० को बिचमा १८ सय जनामा खोपको क्लिनिकल ट्रायल गरिएको हो।
खोप लगाएको चार हप्तामा उपयुक्त मात्रामा प्रतिरक्षात्मक प्रतिक्रिया उत्सर्जन गर्ने र यसअघि मान्यता पाइसकेको र बजारमा उपलब्ध भएको टाइफाइड विरुद्धको खोप, भिआइटिटी भन्दा कमजोर नरहेको अनुसन्धानले देखाएको छ।
नेपालमा गरिएको तेस्रो चरणको क्लिनिकल ट्रायलपछि विज्ञहरुले सो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर सम्बन्धी पूर्व योग्यता स्थापित भएपछि संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरुलाई खरिदको लागि विकल्प हुनसक्ने बताएका छन्।
सो खोपलाई विश्व स्वास्थ्य संगठनको गुणस्तर सम्बन्धी मापदण्ड र पूर्व योग्यता प्राप्त गरोस र टाइफाइडको संयोजित खोपको विश्वव्यापी आपूर्तिमा टेवा पुग्ने उद्देश्यले नेपालमा सो खोपको क्लिनिकल ट्रायल गरिएको जनाइएको छ।
भिआइडिटी कञ्जुगेट भ्याक्सिन लगाएपछि विभिन्न उमेर समूहका व्यक्तिहरुमा विकास हुने प्रतिरक्षत्मक प्रक्रिया विश्व स्वास्थ्य संगठनबाट स्कीकृत पाइसकेको टाइफाइडको अर्को खोप भारत बायोटेक इन्डिया भारतले बनाएको भिआईटिटी खोपको तुलनामा कम हुँदैन भन्ने प्रमाणित गर्नु रहेको विज्ञहरुले बताएका छन्।
इन्टरनेसनल भ्याक्सिन इन्च्टिच्युटको मुख्यालय दक्षिण कोरियामा बनेको यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल फिलिपन्समा गरिएको थियो। अहिले फिलिपिन्समा पनि यही भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ।
भ्याक्सिनको क्लिनिकल ट्रायलका टोली सदस्य डा विष्णुरथ गिरीका अनुसार नेपालमा प्रत्येक वर्ष १५ सय देखि २ हजार व्यक्तिको मृत्यु टाइफाइडका कारण हुने गरेको छ।
नेपालमा हरेक वर्ष डेढ लाख व्यक्तिमा टाइफाइडको समस्या देखिने गरेको छ भने एक व्यक्तिले उपचारका लागि औषतमा ३० हजार रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ।
शुद्ध पिउने पानी तथा स्वच्छ खानेकुराका साथै सरसफाइ कायम गराउन सके टाइफाइड रोग नियन्त्रण गर्न सकिने भएपनि नेपालमा अझै व्यवस्थित रुपमा सरसफाइ र स्वाच्छता नभएकाले टाइफाइड विरुद्धको भ्याक्सिन आवश्यक रहेको डा गिरीको भनाइ छ।
खोपको क्लिनिकल परीक्षणमा नेपाली चिकित्सकसँगै इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट साउथ कोरियाका डा तरुण सलुजा लगायत दक्षिण कोरियाकै एसके बायोसाइन्सका अनुसन्धानकर्ताहरु सहभागी थिए।
कसरी गरियो खोपको क्लिनिकल ट्रायल? के छ नतिजा?
टाइफाइड विरुद्धको खोप भिआइडिटीको क्लिनिकल ट्रायलका लागि नेपालमा प्रमुख अनुशन्धानकर्ताको भूमिका निर्वाह गरेका कान्ति बाल अस्पतालका पूर्व निर्देशक वरिष्ठ बाल रोग विशेषज्ञ डा गणेश कुमार राईका अनुसार विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त टाइफाइड विरुद्धको भ्याक्सिन नेपालमा हाल एउटा कम्पनिको मात्र उपलब्ध छ। अर्को एउटा भ्याक्सिन प्रत्येक ३ वर्षमा फेरि लगाउनुपर्ने खालको छ।
कोरियामा उत्पादन भएको भिआइडिटी भ्याक्सिन कञ्जुगेट भ्याक्सिन भएकाले एक पटक लगाएपछि लामो समय प्रतिरक्षा गर्ने खालको रहेको डा राईको भनाइ छ।
विश्वमा नै काठमाडौंलाई टाइफाइड रोगको राजधानी भन्ने गरिएकाले डा राईले कान्ति बाल अस्पतालको तत्कालिन निर्देशक हुँदा देखि नै इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युटसँग समन्वय गरिरहेका थिए। यो खोप इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युटले बनाएर एसके बायोसाइन्सलाई सर्त सहित उत्पादन गर्न दिएको हो। त्यही सर्तको कारण एसके बायोसाइन्सले व्यावसायीक उत्पादन सुरू गरे पश्चात संयुक्त राष्ट्र सँघका निकायहरूलाई सस्तो दरमा उपलब्ध गराउनु पर्दछ।
टाइफाइड खोपमा एउटा मात्र कम्पनीको एकाधिकार तोडेर मुल्य घटाइ सर्वसुलभ बनाउन नयाँ खोपको विकास अनिवार्य थियो । हाल बजारमा उपलब्ध टाइफाइड खोपलाई करिब चार हजार रूपैयाँ पर्दछ।
नयाँ खोप तयार भएपछि त्यो भन्दा दशदेखि बिस गुणासम्म कम मुल्यमा संयुक्त राष्ट्र संघीय निकायहरू मार्फत टाइफाइड खोप उपलव्ध हुने अनुमान गरिएको छ ।
इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट संयुक्त राष्ट्र संघद्वारा नेपाल लगायत ३६ देशहरू पक्ष भएर सन्धी मार्फत स्थापित अन्तराष्ट्रिय संस्था हो ।
भिआइडिटी भ्याक्सिनलाई भारतले बनाएर प्रयोगमा ल्याइसकेको भ्याक्सिनसँग तुलना गरिएको हो।
डा राईका अनुसार क्लिनिकल ट्रायल गर्दा ट्रायलमा सहभागी व्यक्तिहरुलाई खोपको विषयमा पूर्ण जानकारी दिएर उनीहरुको पहिचान गोप्य राखिएको थियो। अनुसन्धानमा ६ महिना देखि ४५ वर्ष उमेर समुहका स्वस्थ व्यक्तिहरुलाई छनोट गरिएको थियो। अनुसन्धानमा सहभागीहरुलाई ६ महिना देखि २ वर्ष, २ वर्षदेखि १८ वर्ष र १८ वर्ष देखि ४५ वर्षको समूहमा वर्गीकरण गरी हरेक उमेर समूहका सहभागीलाई नियमितता नहुने गरी ब्लक आकारमा १:१:१:१ को अनुपातमा चारवटा समूह ए, बि ,सि, डी गरेर विभाजन गरिएको थियो।
यसरी विभाजन गरेपछि समूह ए, बि र सि का सहभागीहरुलाई भिआइडिटी ट्रायल खोपको तीन लटहरु मध्य लट १, २ र ३ को एक मात्रा (२५ माइक्रोग्राम, ० दशमलब ५ मिलि) मांशपेशीमा लगाइएको थियो।
यस्तै डी समूहका सहभागीहरुलाई भिआइटिटी खोपको एक मात्रा (२५ माइक्रोग्राम, ० दशमलब ५ मिलि) मांशपेशीमा लगाइएको थियो। यसरी अनुसन्धान गर्दा प्रतिरक्षात्मक प्रतिक्रियाको मूल्यांकलनमा सबै उमेर समूहको समष्टिगत एन्टि भिआइ आइजीजी सेरोकन्भर्सन दर भिआइडिटी खोप समूह ए, बि र सि मा ९९ दशमलब ३३ प्रतिशत थियो। यसमा १ हजार ३४० मध्य १ हजार ३३१ सहभागीमा सेरोकन्भर्सन देखिएको थियो।
यस्तै भिआइटिटी खोप समूह डी मा सेरोकन्भर्सन दर ९८ दशमलब ८८ प्रतिशत थियो। जसमा ४४६ मध्ये ४४१ सहभागीमा सेरोकन्भर्सन देखिएको थियो।
भिआइडिटी खोप समूह ए, बि, सि र भिआइटिटी खोप समूह डी बीच सेरोकन्भर्सन दरको फरक शुन्य दशमलब ४७ प्रतिशत थियो। जसले भिआइडिटी खोप कमजोर नभएको कुरा पुष्टि गरेको विज्ञहरुले बताएका छन्।
खोप लगाएको चार हप्तापछि एन्टि भिआइ आइजीजी एन्टिबडीको जियोमेट्रिक औसत टाइटर (जिएमटि)को अनुपात लट १ः लट २ को लागि १ दशमलब शुन्य २, लट १ः लट ३ को लागि १ दशमलब शुन्य २, र लट २ः लट ३ को लागि १ दशमलब शुन्य एक थियो। जसले विश्व स्वास्थ्य संगठनबाट सिफारिस गरिएको पूर्वनिर्धारित समानताको सिमानाको आधारमा विभिन्न लटहरुमा समानता रहेको जनाउँछ।
सो खोप परीक्षणका क्रममा खोपको दुष्प्रभाव भिआइडिटी खोप समूह ए, बि र सि का १ हजार ३५० मध्ये २६० जनामा देखिएको थियो। यस्तै भिआईटिटी खोप समूह डी का ४५० मध्ये ११५ सहभागीहरुले खोप लगाएको ७ दिन भित्रमा खोपको अपेक्षित दुष्प्रभावको जानकारी दिएका थिए।
खोप लगाए पछि ४ हप्ता भित्र भिआइडिटी खोप समूह ए, बि र सि का २०८ तथा भिआइटिटी खोप समूह डी का ७६ सहभागीहरुले अनपेक्षित दुष्प्रभावको जानकारी दिएका थिए।
२४ हप्तासम्मको फलोअपमा भिआइटिटी खोपमा एक मृत्यु सहित तीनवटा गम्भीर दुष्प्रभावहरु र भिआइडिटी खोप समूह ए,बि र सि मा चार वटा गम्भीर दुष्प्रभावका घटनाहरु भएका थिए। तर यी गम्भीर दुष्प्रभावहरु परीक्षणमा प्रयोग भएका खोपहरुसँग सम्बन्धित नभएको जनाइएको छ।
नेपालमा यो खोपको क्लिनिकल ट्रायल पश्चात देखिएको नतिजा विश्वप्रख्यात जर्नल द ल्यानसेटमा प्रकाशित गरिएको छ।