काठमाडौं– काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगको निर्देशनलाई अटेर गर्दै बढी शुल्क नतिरे भर्ना नै नलिन भन्दै विद्यार्थीलाई बढी शुल्क तिर्न दबाब दिएको छ।
बुधबार काठमाडौं मेडिकल कलेज प्रशासन र विद्यार्थीहरु बीच भएको छलफलमा कलेज प्रशासनले आयोगले निर्धारण गरेभन्दा बढी शुल्क तिर्नुपर्ने भन्दै दबाब दिएको वार्तामा सहभागी एक विद्यार्थीले बताए।
कलेज प्रशासनले आयोगको निर्णय नै नमान्ने जवाफ दिएको विद्यार्थीहरुको भनाइ छ।
‘आज हामी विद्यार्थीहरु र कलेज प्रशासनबीच छलफल भएको थियो,’ एक विद्यार्थीले स्वास्थ्यखबरसँग भने, ‘उहाँहरुले त हामी आयोगले भनेको मान्दैनौं, केयूले हामीसँग पैसा मागेको छ, तपाईंहरुले हामीलाई दिनुपर्छ, हामीले केयूलाई दिनुपर्छ भन्नुभयो।’
कलेज प्रशासनले केयूलाई रकम तिर्नुपर्छ भनेर विद्यार्थीलाई बढी रकम तिर्न दबाब दिए पनि केयूले भने आयोगको निर्णय कार्यान्वयन गर्न पत्र पठाएको छ। तर, काठमाडौं मेडिकल कलेजले भने आयोग र केयूको निर्णयविपरित विद्यार्थीलाई नियमविपरित चर्को शुल्क असुल्न दबाब दिइरहेको छ।
कलेजका एक कर्मचारीका अनुसार कलेज सञ्चालक सुनिल शर्माकै निर्देशन र दबाब अनुसार विद्यार्थीलाई प्रशासनले दबाब दिएको हो।
विद्यार्थीहरुसँग बढी शुल्क माग गरेको भन्दै उजुरी परेपछि चिकित्सा शिक्षा आयोगले मंगलबार एक सूचनाजारी गर्दै शुल्कको विषयमा स्पष्ट पारेको थियो।
आयोगले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्कलाई बुझाउने भएकाले शिक्षण शुल्क भित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्क जस्ता विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्वयक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्क समेत समावेश भएको हुनाले यी विषयमा थप शुल्क नलाग्ने जनाएको छ।
आयोगले शिक्षण शुल्कभित्र विभिन्न १३ वटा शिर्षकका विषय पर्ने प्रष्ट पारेसँगै यी शिर्षकमा विद्यार्थीले थप रकम तिनुनपर्ने जनाएको छ।
यस्तै, काउन्सिल रजिष्ट्रेशन जस्ता शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने, शिक्षण संस्थाको होस्टेल, मेश जस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने जनाएको छ।
यसैगरी, कानून सम्मत बाहेक अनिवार्य नभएका विषयमा अनिवार्य भनी अतिरिक्त शुल्क लिँदा छात्रवृत्ति तर्फ कानूनले संरक्षण गरेका अतिन्यून आयस्रोत भएका विद्यार्थी समेत पढाई बाट बञ्चित हुने स्थिति सिर्जना हुने भएकाले भएकाले अतिरिक्त शुल्क नलिन आयोगले सचेत समेत गराएको छ।
तर काठमाडौं मेडिकल कलेजले भने परीक्षा, तालिम, फिल्ड भिजिट, आवेदन लगायतका शिर्षकमा लाखौं थप रकम माग गर्दै आएको छ। काठमाडौं मेडिकल कलेजले आयोगको निर्णय नै नमान्ने बताएको विद्यार्थीहरुले गुनासो गरेका छन्।
काठमाडौं मेडिकल कलेज प्रशासनले आयोगको निर्णय विरुद्ध नै अदालत जान तयार रहेको तर आयोगको निर्णय मान्न आफूहरु तयार नभएको जवाफ दिएको एक विद्यार्थीले बताए।
काठमाडौं मेडिकल कलेजले आयोगले शिक्षण शुल्कमै समावेश हुने शिर्षकहरुको समेत शुल्क तिर्नुपर्ने विवरण सहितको सम्झौता पत्र दिएको छ। जसमा भर्ना फारमको ५ हजार, होस्टल बसेको वार्षिक शुल्क १ लाख ४४ हजार र इन्टर्नसीपको शुल्क २ लाख ४० हजार गरी ३ लाख ८९ हजार बुझाउनुपर्ने भनिएको छ।
यस्तै, केयु रजिष्ट्रेसन शुल्क २५ हजार, केयु सम्बन्धन शुल्क ९८ हजार ५७९ र नेपाल मेडिकल काउन्सिलको रजिष्टेसन शुल्क ५ हजार गरी १ लाख २८ हजार ५७९ रुपैयाँ मागिएको छ। यसैगरी, केयु परीक्षा शुल्क शिर्षकमा ११ हजार तोकिएको छ।
बुधबारको बैठकमा काठमाडौं मेडिकल कलेज प्रशासनले आयोगको निर्णय नै नमान्ने भन्दै विद्यार्थी भर्ना नलिएपछि विद्यार्थीहरु थप आन्दोलित भएका छन्। केयु मै पुगेर थप आन्दोलन गर्ने तयारीमा रहेको एक विद्यार्थीले बताए।
यो पनि
मेडिकल कलेजहरुलाई केयूले भन्यो- अतिरिक्त शुल्क नलिनू, आयोगको निर्णय कार्यान्वयन गर्नू
मेडिकल कलेजले विभिन्न शिर्षकमा मागेको अतिरिक्त रकम शिक्षण शुल्क भित्रै पर्ने, विद्यार्थीले थप तिर्नुनपर्ने
विद्यार्थीसँग २५ लाख बढी शुल्क माग्दै केएमसी