काठमाडौं- जनकपुरकी अंकिता मण्डल बिएससी नर्सिङ अध्ययनको तयारीमा थिइन्। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उनी उत्तीर्ण भइन्। त्यसपछि आयोगले गरेको म्याचिङमा उनले नर्भिक कलेजमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने गरि कलेजको नाम तोकियो।
छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएपछि मण्डल खुसी थिइन्। नर्स बन्ने सपनाको नजिक पुगेको उनलाई लागेको थियो।
तर नर्भिक कलेजमा पुगेपछि उनको मन खिन्न भयो। नर्भिकले विश्वविद्यालयबाट नै छात्रवृत्तिका विद्यार्थीलाई अध्ययन नगराउनु भनेकाले भर्ना लिन नमिल्ने जवाफ दियो।
काठमाडौंकी विद्या पौडेलको पनि बिएससी नर्सिङ अध्ययन गर्ने सपना छ। उनले पनि आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा छात्रवृत्तिमै अध्ययन गर्न पाउने गरी नाम निकालेकी छिन्।
आयोगको म्याचिङ प्रक्रियामा उनी बिएन्डबी अस्पतालको कलेजमा अध्ययन गर्न मिल्ने गरी कलेज तोकियो। उनी अध्ययनका लागि उक्त कलेजमा पनि पुगिन्। तर बिएन्डबीले आफूहरुले पढाउन चाहेपनि पूर्वाञ्चल विश्वविद्यालयले भने विश्वविद्यालयको सेन्टरमै पढ्नुपर्ने भनेर दवाब दिइरहेको उनले गुनासो गरिन्।
यो समस्या अंकिता र विद्याको मात्र होइन। पूर्वाञ्चल विश्वविद्यालयले आफू अन्तर्गतका कलेजहरुमा छात्रवृतिमा अध्ययनको लागि कोटा पाएका विद्यार्थीलाई पढाउनै मानेको छैन।
अंकिता र विद्याको जस्तै समस्या भएका बिएससी नर्सिङ, फार्मेसी र बिपिएचका गरी करिब डेढ सय जना विद्यार्थीहरु छन्।
अन्य विश्वविद्यालय अन्तर्गत नाम निस्केका विद्यार्थीहरुले अध्ययन सुरु गरिसकेको भएपनि आफूहरुले भने पढ्न नपाएको विद्यार्थीहरुको गुनासो छ।
विश्वविद्यालयका कारण अध्ययनमा अवरोध सिर्जना भएपछि विद्यार्थीहरु न्यायको माग गर्दै चिकित्सा शिक्षा आयोगमा पुगेका छन्। उनीहरुले आयोग परिसरमा धर्ना दिँदै न्यायको माग गरेको छन्।
‘कति मेहनत गरेर आयोगको परीक्षा पास गरियो, आफूले रोजेको कलेजमा छात्रवृत्तिमा नाम निस्कियो भनेर खुसी थियौं,’ आयोगमा पुगेकी एक विद्यार्थीले गुनासो गरिन्, ‘अहिले आएर विश्वविद्यालयले हामीले रोजेको कलेजमा पढ्न नदिने भन्छ, हामीलाई सेन्टर कलेजमै बोलाएको छ।’
आफूहरुको अध्ययन नै अन्यौलमा परेपछि उनीहरु एकसातादेखि चिकित्सा शिक्षा आयोग धाइरहेका छन्। तर आयोग भने जवाफ विहिन बनेको विद्यार्थीहरुले गुनासो गरे।
‘हामीले आयोगको उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई भेटेर हाम्रो समस्या सुनायौं,’ अर्का एक विद्यार्थीले भने, ‘तर उहाँहरु एक्सन लिने काम त परको कुरा हामीलाई दिने जवाफ पनि उहाँहरुसँग छैन, केही भन्नुहुन्न, केही दिनमा सूचना निकाल्छौं मात्र भन्नुहुन्छ।’
कक्षा सञ्चालन हुनुपर्ने समयमा कलेजले नपढाउने मनासाय देखाएपछि पिडित बनेका विद्यार्थीहरु अहिले चिकित्सा शिक्षा आयोगको कार्यलयमा धर्ना दिएर बसेका छन्।
विद्यार्थीहरुले मंगलबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई कार्यालय पस्नुअघि नै घेराबन्दी गरेका थिए।
उनीहरुले आफूहरुको समस्या सुनुवाइ गर्न नसक्ने भए राजिनामा दिन समेत माग गरे।
‘हाम्रो एउटै समस्या हो, आयोगले नै छात्रवृत्तिमा नाम निस्किएको भनेर तोकेको कलेजमा हामीले पढ्न पाएनौं, आयागले भनेको कलेजमा पढ्न नपाएपछि यो समस्या आयोगले समाधान गर्नुपर्छ,’ डा गिरीलाई घेराबन्दी गर्दै विद्यार्थीहरुले भने, ‘यति समस्या समाधान गर्न नसक्ने भए राजिनामा दिनुस्।’
आयोगका उपाध्यक्ष डा गिरीले भने यी विषयहरुमा सिट संख्या भन्दा कम विद्यार्थीले एकिकृत प्रवेश परीक्षा उत्तीर्ण गरेकाले शुल्क तिर्ने विद्यार्थी कम हुँदा समस्या उत्पन्न भएको बताए।
‘हामीले उत्तीर्ण भएका विद्यार्थीहरुको आधारमा छात्रवृत्तिको सिट र अन्य सिट निर्धारण गर्यौं,’ डा गिरीले भने, ‘विद्यार्थी कम भएपछि पेइङका विद्यार्थी कम भए, विश्वविद्यालयले थोरै विद्यार्थी भयो, पढाउन सक्दैनौं भन्यो, त्यही भएर समस्या आयो।’
विद्यार्थीहरुको गुनासो आएपछि छलफलका लागि विश्वविद्यालयका पदाधिकारीलाई आयोगमा बोलाइएको र उनीहरु आएपछि छलफल गरिने डा गिरीले जानकारी दिए।
मेडिकल विद्यार्थीहरुको अनेकौ समस्याहरु देखिएपछि विद्यार्थीहरुले आफूलाई घेराबन्दी नै गरेको डा गिरीले बताए।