काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पिसिएल नर्सिङको भर्ना तीनदिन भित्र खुलाउने भएको छ।
शिक्षा मन्त्रालयमा आइतबार बसेको बैठकले सिटिइभिटीको पिसिएल नर्सिङ अध्ययनको भर्ना प्रक्रिया अबको तिनदिन भित्र गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्री देवेन्द्र पौडेलसहित सिटिइभिटीका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षा मन्त्रालयका कर्मचारीहरुसहितको बैठकले अबको तीनदिन भित्र भर्नाका लागि सूचना निकाल्ने निर्णय भएको सिटिइभिटीका सदस्य सचिव जीव नारायण काफ्लेले जानकारी दिए।
उनले भने, ‘अबको तीनदिन भित्रमा भर्ना खुल्छ, आयोगको ऐनमा भएको व्यवस्था अनुसार १०० शय्या (बेड)का आफ्नै अस्पताल भएका नर्सिङ कलेजहरु जति छन् त्यति नै कलेजका लागि भर्ना खुल्छ।’
आइतबार भएको छलफलमा सिटिइभिटीका केही पदाधिकारीले कोभिड महामारीलाई कारण देखाउँदै सबै कलेजहरुले भर्ना पाउनुपर्ने माग समेत गरेका थिए।
तर आयोगको ऐन विपरित १०० वेडको अस्पताल नभएका नर्सिङ कलेजलाई भर्ना गर्न नमिल्ने मत बढी भएपछि यस्तो निचोडमा पुगिएको सदस्य सचिव काफ्लेको भनाइ छ।
उनले हाल आयोगको मापदण्ड पुरा गरेका नर्सिङ कलेज २४ वटा रहेको पनि बताए। २४ वटा कलेजहरुमध्ये १७ वटा निजी कलेज छन् भने ७ वटा सिटिइभिटीका आंगिक क्याम्पस रहेका छन्।
बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलिया, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, सदस्य सचिव जीवनारायण काफ्ले लगायत मन्त्रालय, आयोग र सिटिइभिटीका अन्य सम्बद्ध व्यक्तिहरु थिए।
सिटिइभिटी अन्तर्गतका अन्य विषयको भर्ना प्रक्रिया धेरै अगाडि सुरु भए पनि नर्सिङको भने लामो समयदेखि रोकिएको छ। सिटिइभिटीका उपाध्यक्ष अधिकारीसहित अन्य केही पदाधिकारी नै ऐन विपरित १०० शय्या बेड नभएका कलेजलाई पनि भर्ना दिनुपर्ने अडानमा रहेका कारण भर्ना प्रक्रिया नै रोकिन पुगेको थियो।
उपाध्यक्ष अधिकारी निजी नर्सिङ कलेज निकट हुन्। उनको कलेजले चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुरा गरेको छैन। सोही कारण उनी आफ्नासहित अन्य मापदण्ड पुरा नभएका कलेजका पक्षमा उभिएका हुन्।
सोही कारण कात्तिक १७ गते शिक्षा मन्त्रीकै अध्यक्षतामा बसेको परिषदको बैठकले भर्ना खुलाउने निर्णय गरेपनि उपाध्यक्ष अधिकारीकै अडानका कारण भर्ना खुल्न सकेको थिएन।
नर्सिङ भर्नाका विषयमा सर्वत्र आलोचना र चासो हुनुका साथै उपाध्यक्ष अधिकारीको स्वार्थका विषयमा समाचारहरु बाहिर आउन थालेपछि आइतबार मन्त्रालयमा बैठक बसेको हो। बैठकले मापदण्ड पुरा भएका कलेजमा तत्कालै भर्ना खुलाउने निर्णय गरेपछि यसपटक भने उपाध्यक्ष पछि हटेको छलफलमा सहभागि एक सदस्यले जानकारी दिए।