काठमाडौं– नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा रुपक बिक घिमिरे अहिले चुनावी प्रचार–प्रसार अभियानमा सक्रिय छन्। चिकित्सकमाझ पुगिरहेका उनी काउन्सिलमा सदस्य पदामा उम्मेदवारी दिनुको कारण, योजना र प्रतिवद्धता सुनाउनमा व्यस्त छन्।
डा रुपकले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसबाट एमबिबिएस अध्ययन गरेका हुन् भने एमडी चितवन मेडिकल कलेज चितवनबाट गरेका हुन्। उनले ७ वर्ष काठमाडौं मेडिकल कलेजमा असिस्टेन्ट प्रोफेसरको रुपमा काम गरे।
डा रुपकको उम्मेदवारी किन? के छन् उनका योजना र प्रतिवद्धता डा रुपकको भनाइ उनकै शब्दमा:
म काठमाडौं मेडिकल कलेजमा कार्यरत थिएँ। अहिले आफ्नै क्लिनिक पनि चलाएको छु।
खासगरी मेडिकल प्रोफेसनलाई अलिकति मर्यादित बनाउँ, सबै चिकित्सकको हित हुने गरी काम गरौं भन्ने सोचले मैले उम्मेदवारी दिएको हो।
मेरो मुख्य एजेण्डा भनेको अहिलेको जल्दोबल्दो समस्या ‘माल प्राक्टिस’लाई रोक्नुपर्छ भन्ने नै हो। मानिसहरुमा सचेतना पनि आवश्यक पर्छ, बिरामी भएपछि चिकित्सककोमा जानुपर्छ भन्ने सचेतना जगाउन पनि आवश्यक छ। अर्को कुरा सेतो कोट लगाएर बसेको व्यक्ति डाक्टर नै हो भन्ने खालको भ्रम छ र ‘माल प्राक्टिस’ गर्नेहरुले पनि सेतो कोट लगाएर आफू डाक्टर भएको दाबी गरेर गलत प्राक्टिस गरिरहेको अवस्था छ। त्यसैले यो माल प्राक्टिसलाई रोक्न नेपाल मेडिकल काउन्सिलमा गएर नयाँ योजनाहरु ल्याउन सकिन्छ।
जस्तो डाक्टरहरुको कार्डहरु मार्फत यो व्यक्ति डाक्टर हो भनेर छुट्याउने गरी व्यवस्था गरिनुपर्छ। अर्को कुरा नेपालीहरुको बुझाइ नै छ– सरकारी कार्यालयमा कुनै काम नपरे हुन्थ्यो, धेरै ढिलासुस्ती हुन्छ भन्ने खालको कुरा।
हुन त काउन्सिल पनि सरकारी निकाय नै हो। र काउन्सिलको कामहरुमा पनि यस्तै अवस्था छ। सेवाहरु लिन सहज छैन। सानो कामको लागि पनि हप्तौं पर्खिनुपर्ने अवस्था छ। काउन्सिलमा पुगेपछि झ्यालबाट सेवा लिनुपर्ने जुन अवस्था छ त्यसलाई अब ‘वुइन्डो टु वुइन्डोज’ भनेको छु। अर्थात अब झ्यालबाट हुने काम डिजिटलाइज गरेर अब मोवाइल एप लगायत अनलाइन मार्फत बनाउन सकिन्छ। डाक्टरको विषयमा डाक्टरलाई मात्र नभइ जनतालाई पनि जानकारी हुनुपर्छ।
काउन्सिलको एप वा वेभसाइड मार्फत डाक्टरको विषयमा पनि जानकारी दिन सकिने व्यवस्था गर्नुपर्छ। जस्तो कतिपय सर्वसाधारणलाई जानकारी नै छैन। डाक्टरको विषयमा कुनै कम्प्लेन गर्नुपर्दा काउन्सिलमा जानुपर्छ भन्ने विषयमा। डाक्टरको विषयमा कम्प्लेन गर्न सर्वसाधारण प्रहरीचौकी पुगिरहेका हुन्छन्।
खासमा डाक्टरको विषयमा कुनै गुनासो छ भने प्रहरी भन्दा पनि नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्ने हो। तर यो विषयमा धेरैलाई जानकारी नै छैन। जानकारी भएपनि एउटा धनगढीमा भएको बिरामीले कहाँ कसरी काउन्सिललाई उजुरी गर्ने? काउन्सिल त काठमाडौं बाहिर छैन।
त्यसैले काउन्सिलको कामलाई डिजिटलाइज गरेर काउन्सिलको सेवालाई थप प्रभावकारी बनाउन सकिन्छ। यस्तो भएमा बिरामीहरुले डाक्टरको विषयमा उजुरी गर्नुपरे उनीहरुले वेभसाइड वा एप मार्फत काउन्सिलमा सहज रुपमा उजुरी दिनसक्छन्। र काउन्सिलमा परेका उजुरीहरुमाथि के कारबाही भयो वा छानबिन कसरी भइरहेको छ भनेर जानकारी दिने व्यवस्थालाई पनि डिजिटलाइज गर्नुपर्छ भन्ने लक्ष्य मैले लिएको छु।
अर्को भनेको हामी नेपाली डाक्टरहरु काउन्सिलबाट लाइसेन्स पास गरिरहेका छौं। डाक्टरहरु थपिदै जाँदा रोजगारीहरु भने कम हुँदै गएको छ। अस्पतालहरुमा दरबन्दी सिर्जना गरिएको छैन। विदेशमा काम गर्न जान खोज्ने पनि धेरै छन्। विकशित देश मात्र होइन साउदी, दुवई लगायतका देशहरुमा जान इच्छा देखाइरहेका छन्। तर, नेपालको काउन्सिलको लाइसेन्सले विदेशको काउन्सिलमा मान्यता नपाएको अवस्था छ।
यसका लागि विदेशका काउन्सिलहरुसँग पनि समन्वय गरेर नेपालका चिकित्सकहरु पनि गुणस्तरिय छन् भन्ने सन्देश दिन पनि सकिन्छ।
अर्को कुरा पहिला– पहिला विदेशमा अध्ययन गरेका नेपाली विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्न दिइन्थ्यो। अहिले यो रोक्का भएको मलाई चित्त बुझेको छैन। विदेशमा अध्ययन गर्ने हाम्रै नेपाली दाजुभाई दिदीबहिनीहरुले नेपालको उपचार पद्धती कस्तो छ? त्यो कुरा बुझ्न पनि त बाहिर इन्टर्नसिप गरेर आएपछि यहाँ सिधैं मेडिकल प्राक्टिस गर्न त अप्ठ्यारो हुन्छ नि। त्यसैले विदेशमा अध्ययन गरेका डाक्टरहरुलाई इन्टर्नसिप वा इन्टर्नसिप पोष्टिङहरुका लागि सहजिकरण गर्ने मेरो लक्ष्य छ।
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४५ प्रतिशत सम्म चिकित्सकहरु फेल भएको कुरा आइरहेको हुन्छ। फेल नै भएको छ भने पनि एमबिबिएस पास गरेको चिकित्सकले काउन्सिलको परीक्षाको एन्सरसिट हेर्न पाउनुपर्छ। जसले गर्दा काउन्सिलको परीक्षामा फेल हुनेलाई जानकारी हुन्छ आफ्नो कमजोरी कुन विषयमा छ, के मा सुधार गर्न आवश्यक छ भन्ने कुरा।
मैले थाहा पाएको छु, काउन्सिलमा ५ पटक, ६ पटक सम्म फेल भएका चिकित्सकहरु छन् जसलाई आफ्नो गल्ती कहाँ भयो भनेर अझै थाहा छैन। यदी एन्सरसिट दिने हो भने उसले आफ्नो कमजोरी सुधार गरेर पास गर्न सक्छ।
त्यसैले काउन्सिलको परीक्षा प्रणालीलाई पारदर्शी बनाउनुपर्छ।
अर्को भनेको काउन्सिलको दायरामा नपर्ने तर काउन्सिलको सदस्य र डाक्टरहरुको लिडर भएर गर्नुपर्ने काम तथा एड्भोकेसी गर्नुपर्ने विषयहरु छन्। जस्तो डाक्टरहरुको स्वास्थ्य बिमाको कुरा छ। कोरोनाकै समयमा र अन्य समयमा पनि डाक्टरहरुकै उपचारमा आर्थिक समस्या भएको कुराहरु सुनिरहेका हुन्छौं। डाक्टरका परिवारको स्वास्थ्य उपचारको विषयहरु छन्। जुन काउन्सिलले आफैंले लागु गर्ने विषय नभएपनि यसमा आवाज उठाउन सकिन्छ।
यसैगरी, सबै अस्पतालहरुमा फुल टाइम डाक्टरहरुको राख्ने व्यवस्था गरियो भने डाक्टरहरुको उत्पादन र माग बीच सन्तुलन हुन्छ। हाम्रो समाजमा दुई चार जना उच्च तहका डाक्टरलाई हेरेर डाक्टरहरुको तलब जीवनशैली राम्रो छ भन्ने सोचाइ राखिन्छ। तर वास्तविकतामा यस्तो छैन। डाक्टरहरुको बेसिक तलब एकदमै न्युन छ। पेसा मर्यादित भएजस्तै जीविकोपार्जन पनि मर्यादित त हुनुपर्छ भन्ने विषयमा आजावहरु उठाउने लक्ष्य लिएको छु।
यो पनि:
डा कुम्भ जोशीलाई प्रश्न– काउन्सिलमा तपाईंको उम्मेदवारी किन? तपाईंलाई किन भोट हाल्ने?
काउन्सिल निर्वाचनः डा प्रकाशको जोड चिकित्सकको तालिम, तलब, कार्यसमय र सुरक्षामा
काउन्सिल निर्वाचनः डा सुधिरको योजना– पहिला काउन्सिलकै कार्यशैलीमा सुधार गर्ने
काउन्सिल निर्वाचनः डा सुर्य भन्छन्– जागिर छाडेँ, अब काउन्सिललाई पर्याप्त समय दिएर काम गर्छु
काउन्सिल निर्वाचनः डा भुसाल भन्छन्–बिरामीको उपचार छाडेर चुनावी प्रचारमा लागेको छैन
काउन्सिल निर्वाचनः डा रिता भन्छिन्– मेडिकल काउन्सिल चिकित्सकको घर हो, घर जस्तै वातावरण बनाउँछु
काउन्सिल निर्वाचनः डा लवको लबिइङ चिकित्सकलाई तालिम र स्वास्थ्य सेवाको गुणस्तरमा
काउन्सिल निर्वाचनः डा विनाको जोड मेडिकल शिक्षाको गुणस्तर बढाउन
काउन्सिल निर्वाचन : सदस्यका उम्मेदवार डा सन्दिपको जोड काउन्सिलको न्यायिक कार्यमा
काउन्सिल निर्वाचनः डा निर्मलप्रसाद साहलाई प्रश्न–तपाईंको उम्मेदवारी किन?