काठमाडौं– ‘भोट माग्न कहिले आउने?’ नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा अमृत भुसाललाई चिकित्सकहरु आफैंले सोध्ने गर्छन्।
‘दाइ चुनावको प्रचार–प्रसारमा लाग्ने हैन?’ नयाँ चिकित्सकहरुले हौसाउदा उनी सम्झाउछन्, ‘भड्किलो प्रचार नगर है।’
नेपाल मेडिकल काउन्सिलको निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवार चिकित्सकहरु चुनावी प्रचार–प्रसारका लागि देश दौडाहमा लागेका छन्। आफ्नो पक्षमा मत माग्दै उम्मेदवार चिकित्सकहरु बिरामी जाँच समेत छाडेर चिकित्सक नै भेट्न व्यस्त बनेका छन्। सदस्य पदमा उम्मेदवारी दिएका डा भुसाल भने फरक शैलीका छन्।
लोकन्थलीमा रहेको समिट हस्पिटलमा कार्यरत डा भुसाल बिहान १० देखि बेलुका ४ बजेसम्म अस्पतालमा बिरामी जाँच्न नै व्यस्त हुन्छन्। त्यसपछि फुर्सद भएमा चिकित्सक साथी तथा आफ्ना सुभचिन्तक र निकट रहेकाहरुसँग छलफल गर्छन्।
उनले चुनावका लागि धेरै खर्च गरेर कुनै पर्चा, पम्पप्लेट, स्टिकर, फ्लेक्स वा ब्यानर बनाएका छैनन्। तर नजिक रहेका चिकित्सकहरुसँग भेटघाट गर्ने योजनामा छन्। आफू धेरै झड्किलो प्रचार–प्रसारमा नलागेका उनी आफ्ना समर्थकलाई पनि खर्चिलो र भड्किलो प्रचारमा लाग्न नहुने भन्दै सम्झाउँछन्।
डा भुसालले चीनबाट एमबिबिएस अध्ययन गरेका हुन्। बंगलादेशमा एमडी अध्ययनका लागि गएपनि उनले आफ्नो पारिवारिक समस्याका कारण एमडी अध्ययन भने पुरा गर्न सकेनन्।
आफुले अध्ययन गर्ने क्रममा चीन र बंगलादेशमा आफुले पनि समस्या भोगेकाले नयाँ चिकित्सकहरुलाई कुनै समस्या पर्दा उनी सहयोग गर्ने गर्छन्।
डा भुसालले किन दिए सदस्य पदमा उम्मेदवारी ? केके छन् उनका योजना? डा भुसालको भनाइ उनकै शब्दमा:
चिकित्सकहरुाई समस्या पर्दा ती समस्याहरुलाई कसरी समाधान गर्ने भनेर भिडभाडमा भन्दापनि भित्रबाट मैले काम गरिरहेको नै हो। विशेष गरी नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोग तथा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर समस्याहरुको कुटनीतिक तरिकाले कसरी समाधान गर्न सकिन्छ भनेर मैले समन्वय गर्ने काम त गरिरहेको थिएँ।
काउन्सिलको चुनाव आएपछि मैले उम्मेवदारी दिउँ कि नदिउँ भन्ने अन्यौलता थियो। चिकित्सा शिक्षा आयोग गठन भएपछि काउन्सिलको काम धेरै कटौती भएको अवस्था छ। काउन्सिलमा अहिले जाने वित्तिकै नयाँ व्यापक परिवर्तनहरु गर्छु भन्नु त गफै लगाएको जस्तो हुन्छ। तर मुख्य विषय हामी स्वास्थ्य क्षेत्रमा धेरै पछाडी परेका छौं।
नेपालमा आजभन्दा २०,३० वर्ष पुरानो दरबन्दी जुन थियो आज पनि त्यही दरबन्दीमा हेल्थ सिस्टम चलिरहेको छ। नेपालमा लगभग ३० हजार डाक्टर हुँदा सरकारी आकडामा सरकारी दरबन्दीमा लोकसेवाका १३ सय जना मात्र हुनुहुन्छ। अस्पतालहरुमा चिकित्सक अभाव देखिन्छ। यता चिकित्सकहरु जागिर खोज्दै भौतारिनुपर्ने अवस्था छ।
काउन्सिलमा म सदस्य हुन चाहनुको कारण भनेको काउन्सिलको ऐन नियम कार्यन्वयन गर्न दवाब दिन पनि हो। त्यसका लागि सबै काउन्सिलसँग समन्वय गरेर छाता काउन्सिल बनाउनुपर्छ। छाता काउन्सिल बनाएर सबैको काम कर्तव्य र अधिकार विभाजन गर्ने, दर्ता गर्ने काम सम्बन्धित विभागहरुले गर्ने गर्नुपर्छ। अहिले स्वास्थ्य शिक्षाको सम्पूर्ण अधिकार चिकित्सा शिक्षा आयोगमा गएको छ।
अब छाता काउन्सिल बनाएर स्वास्थ्य सेवाका अधिकारलाई त्यहाँ ल्याउनुपर्छ भन्ने मेरो धारणा हो। पहिला पनि नेपाल मेडिकल काउन्सिलले सिट बाडफाँड गर्दा कलेजहरुसँग कमिसन लिएका विषय नउठेको होइन। त्यो कुरा चिकित्सक शिक्षा आयोगमा पनि नहोला भन्न सकिँदैन। त्यसलाई ब्यालेन्स गर्न स्वास्थ्य सेवातर्फको विषय काउन्सिलले हेर्ने, स्वास्थ्य शिक्षाको विषय आयोगले हेर्ने गर्नुपर्छ। यो अस्पताल ठिक छ, यो अस्पतालमा पूर्वाधार पुगेको छ भनेर काउन्सिलले भनेपछि आयोगले पनि अनुगमन गरेर मात्र ब्यालेन्स हुन्छ भन्ने लाग्छ।
अर्को एमबिबिएस अध्ययन गरेर मास्टर्स पढ्न पर्याप्त सिट छैन। जसले गर्दा पढ्नकै लागि नेपाली डाक्टरहरु बाहिर गएर पढ्नुपर्ने बाध्यता छ। विदेशमा चिकित्सा शास्त्र अध्ययन गरेर आएअनुसार मान्यता पनि दिनुपर्छ।
नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुलाई नियमन गर्छ, गलत गरेमा कारबाही गर्ने व्यवस्था छ। तर पारामेडिक्स, नर्सिङको हकमा यस्तो व्यवस्था छैन। लाइसेन्स प्राप्त चिकित्सकका लागि मात्र होइन, अन्य पारामेडिक्स, नर्स लगायत हेल्थ प्रोफेसनलका लागि के गर्न पाउने के गर्न नपाउने नियम बनाएर गल्ती गरेमा कारबाहीको दायरामा ल्याउनुपर्छ।
त्यसैले स्वास्थ्य तर्फको एउटै काउन्सिल बनाएर स्वास्थ्य सेवालाई काउन्सिल मार्फत अनुगमन गर्ने व्यवस्था गरियो भने स्वास्थ्य सेवामा सुधार हुन्छ। एउटा अस्पताल अनुगमन गर्दा त्यहाँ स्वास्थ्यकर्मीमा डाक्टर, नर्सिङ स्टाफ, हेल्थ असिस्टेन्ट सबै स्टाफहरु हुन्छन्। अनुगमनमा पनि सोही अनुसारको टोली भएमा कुन अस्पतालमा कति स्वास्थ्यकर्मीहरु छन्? अस्पतालको बेड क्षमता अनुसार छ वा छैन? हेर्न आवश्यक छ।
कुनै अस्पतालमा राम्रो काम भएन भने त्यसको जवाफदेहिता त स्वास्थ्यकर्मीदेखि प्रशासनसम्मकै हुन्छ। अर्को कुरा कोभिडकै सिनारियोमा हेर्दा देख्न सकिन्छ। सरकारी अस्पतालमा सरकारले एकजना डाक्टरलाई एक महिनाको अस्थायी करार सेवामा चिकित्सक माग गर्नुपरेको थियो। नर्सिङ स्टाफलाई ९० दिन, ३० दिनका लागि जागिर खान आउ भनेर बोलाइएको थियो। सरकारले पर्याप्त दरबन्दी खोल्न नसक्दा यस्तो अवस्था भएको हो। स्वास्थ्यकर्मीलाई निजामति कर्मचारी अनुसार होइन, काउन्सिल अन्तर्गत काउन्सिलले प्रयास गरेर सबैको रेकर्ड राखेर स्वास्थ्य सेवा आयोग मार्फत स्वास्थ्यकर्मी कहाँ कति छन् इभ्यालुएसन गर्नुपर्छ। स्वास्थ्यकर्मीको उत्पादन र बजारमा खपत हुने अनुपात मिलेको छैन।
यसको वार्षिक रुपमा समिक्षा गरेर आगमी वर्षमा कति डाक्टर, नर्स, पारामेडिक आवश्यक पर्छ भनेर इभ्यालुएसन गरेर काउन्सिलले कति स्वास्थ्यकर्मी आवश्यक पर्छ भनेर सिफारिस गर्नुपर्छ।
काउन्सिलले सिफारिस गरेको आधारमा मेडिकल कलेजको सिटसंख्या निर्धारण गर्नुपर्छ। विदेशी विद्यार्थीहरु आउछन् पढ्छन् यसमा कुनै समस्या हुदैन।
मैले यो उम्मेदवारी किन दिएको हुँ भने काउन्सिलले यस्तो काम गर्नुपर्छ उस्तो काम गर्नुपर्छ भनेर बाहिर बसेर धेरै आवाज उठायौं। हाम्रो युवा चिकित्सकहरुसँग छलफल गरेर नै मैले उम्मेदवारी दिएको हुँ। अहिलेकै विद्यमान काउन्सिलका ऐनमा रहेर परिवर्तनको ठूलो आसा राख्न सकिँदैन। तर म निर्वाचित भएर गएको खण्डमा मेरो पहल काउन्सिलको क्षेत्राधिकार विस्तार गर्ने, काउन्सिहरुबीच समन्वय गरी छाता काउन्सिल र विभागीय जिम्मेवारी प्रदान गर्ने, सबै शिक्षा चिकित्सा शिक्षा आयोगमा गएपछि स्वास्थ्य सेवा तर्फको नियमनको जिम्मेवारी काउन्सिलमा ल्याउन पालह गर्ने योजना छ।
अहिले ठेकेदारी, दैनिक ज्यालादारी दिएर काममा खटाउने परिपाटी हटाई धेरै भन्दा धेरैलाई रोजगारीको सुनिश्चितता गराउन सकिन्छ।
नेपाल स्वास्थ्य सेवा ऐन र स्वास्थ्य किताब खानको स्थापना गरी आवश्यकता अनुरुप स्वास्थ्यकर्मी उत्पादन गर्नुपर्छ। स्वास्थ्यसेवा तर्फका हाल कायम रहेका प्रशासनिक सेवा तर्फका कर्मचारीलाई हटाइ स्वास्थ्य सेवा अन्तर्गतकै कर्मचारीलाई जिम्मेवारी दिने गरि काउन्सिल मार्फत सरकारलाई सिफारिस गराउन पहल गर्नेछु।
काउन्सिलमा चुनिने वा मनोनित हुने कुनै पनि पदाधिकारीलाई कुनै पनि इन्ट्रान्स, लाइसेन्स प्रिपेसन क्लास, एजुकेसन कन्सलटेन्सी खोल्न बन्देज लगाउनुपर्छ भन्ने कुरामा दृढतापूर्वक आवाज उठाउनेछु।
म अरु उम्मेदवार भन्दा भिन्न किन छु भन्दा अन्य उम्मेदवार चिकित्सकहरु चुनाव प्रचारप्रसारका लागि देश दौडाहमा हुनुहुन्छ। तर म १० देखि ४ बजेसम्म अस्पतालमा बिरामी जाँच्ने काम नै गरिरहेको छु। त्यसपछि घर गएर अन्य काम हुन्छ। पूर्व मेची देखि पश्चिम महाकालीसम्म रहेका चिकित्सक साथीहरुसँग छलफल गरेर नै उम्मेदवारी दिएको हुँ। त्यसैले म काउन्सिलमा सिस्टम चेन्जलाई जाने हो।
चुनाव जित्न देशदौडाहमै जानुपर्छ भन्ने पुरानो सिस्टम छ। यसलाई चिरेर अगाडी बढ्नुपर्छ भनेर नै अगाडि बढेको छु। म अहिलेपनि बिरामी जाँच्ने काममै बढी फोकस छु। मेरो यो शैलीलाई धेरै चिकित्सकहरुले प्रोत्साहन पनि गर्नुभएको छ।
'धेरै खर्च गरेर देशदौडहा गरेर त्यसको असुल गर्ने नियत तपाईंमा छैन। हामी तपाईंलाई भोट हाल्छौं' भन्दै चिकित्सकहरु आफैंले पनि सम्झनुहुन्छ। तर अरु चिकित्सकहरुको आफ्नो शैली हो। उहाँहरुले भोट माग्न गएको प्रति मलाई कुनै समस्या छैन।