काठमाडौं– सधैँ बिरामीको उपचारमा व्यस्त रहने डा रिता कुमारी महासेठलाई अहिले नेपाल मेडिकल काउन्सिलको चुनाव लागेको छ।
आगामी मंसिरमा हुने निर्वाचनको सदस्य पदमा उम्मेदवारी दिएकी डा रिता अहिले चिकित्सकहरु माझ आफ्ना योजना र प्रतिवद्धता प्रस्तुत गर्न व्यस्त छिन्।
बंगलादेशबाट एमबीबीएस अध्ययन गरेकी डा रिताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट रेडिएसन अंकोलोजीमा एमडी गरेकी छन्।
डा रिता नेपाल मेडिकल कलेजमा सात वर्षदेखि मेडिकल अंकोलोजी विभागमा कार्यरत छिन्।
डा रिता अहिले भोट माग्न देशभर रहेका चिकित्सकहरुसम्म पुग्दै छिन्।
काउन्सिलको निर्वाचनका लागि आफ्ना योजनासहित चिकित्सकहरु माझ पुग्दा चिकित्सकहरुले उनलाई आफ्ना समस्या, काउन्सिलप्रतिको गुनासो सुनाउने गर्छन्।
डा रिताको चुनावी प्रचारप्रसार अभियान कसरी चलिरहेको छ? चिकित्सकले किन भोट हाल्ने? डा रिताको जवाफ उनकै शब्दमा:
काउन्सिलको आगामी निर्वाचनमा सदस्य पदमा उम्मदेवारी दिएपछि अहिले म चुनावी प्रचार–प्रसार अभियानमा नै व्यस्त छु। अहिले पनि चुनावी अभियानमै हिँडिरहेको छु। आज झापाबाट विराटनगरतिर लागेको छु। चुनावी अभियानकै क्रममा पश्चिमका जिल्लाहरुमा पुगिसकें। अहिले पूर्वतिरका जिल्लाहरुतिर लागेकी छु। चुनावी अभियान भएपछि हरेक जिल्लामा रहेका चिकित्सकहरुलाई भेट्ने काम हुन्छ। चिकित्सक साथीहरुसँग भेटघाटमै व्यस्त छु। उहाँहरुले सोध्नुहुन्छ काउन्सिलको विषयमा काउन्सिलमा तपाईंको उम्मेदवारी किन? तपाईंलाई भोट किन हाल्ने? के फाइदा हुन्छ? भनेर सोध्नु पनि हुन्छ।
कतिपयले काउन्सिलप्रति असन्तुष्टि पनि व्यक्त गर्नुहुन्छ। विदेशमा अध्ययन गर्नेहरुको ‘भेरिफिकेसन’ लगायत विभिन्न विषय वस्तुहरुको विषयमा पनि चिकित्सकहरुले जिज्ञासा राख्नुहुन्छ। अनलाईन रजिस्ट्रेसनको विषयमा पनि गुनासो गर्नहुन्छ।
नेपाल मेडिकल काउन्सिल भनेको हामी चिकित्सकहरुको घर हो। काउन्सिलमा चिकित्सकलाई सुविधा हुने कार्य हुनुपर्छ। काउन्सिलको काम घरको वातावरण जस्तै हुनुपर्छ। हामी काउन्सिलको सदस्य भएर त्यहाँ पुगेपछि हामीले काउन्सिललाई आफ्नो घरजस्तै राम्रो बनाउनुपर्छ। सबै चिकित्सकलाई आफ्नो घर हो भनेर महसुस गराउने वातावरण बनाउनुपर्छ।
काउन्सिलमा भएको काउन्सिलको कानुन अनुसार काम गर्नुपर्छ।
अर्को कुरा नेपालमा ‘माल प्राक्टिस’हरु भइरहेको देखिन्छ। जस्तै की कसैलाई टाउको दुख्यो, पेट दुख्यो भने सिधैं पसलबाट औषधि किनेर खाने बानी छ। चिकित्सकको सिफारिस बिना नै औषधि किनेर खाने धेरैको बानी नै बसेको छ। यस्तो गर्नु राम्रो होइन। हामीले यो विषयमा पनि गम्भीर भएर सोच्नुपर्छ। ‘माल प्राक्टिस’ हुन दिनु हुँदैन।
मेरो प्रतिवद्धता भनेको हामी डाक्टरहरु मिलेर बिरामीलाई कसरी स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ त्यो विषयमा सोच्नुपर्छ। डाक्टर र बिरामीबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने हो।
चिकित्सकहरुले आफुले बिरामीलाई जहिले पनि पहिलो प्राथमिकता दिनुपर्छ भन्ने विषयमा मेरो जोड हुनेछ।
अर्को कुरा काउन्सिलको काममा हरेक पटक डकुमेन्टहरु माग्ने गरिन्छ। यो विषयमा पनि काउन्सिलले सुधार गर्न आवश्यक छ। चिकित्सकहरुले एक पटक डकुमेन्ट बुझाएपछि त्यसलाई व्यवस्थित गरेर अर्को पटक आवश्यक पर्दा सोही प्रयोग गर्न सक्नुपर्छ।
अर्को कुरा नेपाल मेडिकल काउन्सिलले अहिले मृत्यु भइसकेका चिकित्सकहरुलाई दर्ता विवरणबाटै हटाइएको छ।
यो गर्नु सही कुरा होइन। जसरी हाम्रो घरमा हाम्रा पुर्खाहरुको तस्विर राखिएको हुन्छ। त्यसैगरी पुराना दिवंगत भएका चिकित्सकहरुको विवरण काउन्सिलबाटै मेटाउनु हुँदैन। म काउन्सिलको सदस्य भए त्यसमा पनि मेरो ध्यान जानेछ।