काठमाडौं– २०७७ साल जेठ ४ गते नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भयो। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी थिइन्। सुत्केरी भएको १० दिनमा उनको मृत्यु भएको थियो। कोभिड संक्रमणका कारण श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। तर, उनको उपचारकै क्रममा मृत्यु भयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको कारणमा कोभिड संक्रमणसँगै ‘पोष्ट पार्टम निमोनिया’ भनेर राखेको छ। प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा संगीता मिश्राका अनुसार ‘पोष्ट पार्टम निमोनिया’ भनेको सुत्केरी अवस्थामा भएको निमोनियाको समस्या हो।
मन्त्रालयका अनुसार सुत्केरी अवस्थामा उनलाई कोभिडका कारण निमोनिया भएको थियो। चिकित्सकहरूका अनुसार सुत्केरी अवस्थामा महिलाको शारीरिक अवस्था कमजोर हुन्छ। उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ। यस्तो अवस्थामा कोरोना संक्रमित भएकी ती महिला सिकिस्त भइन्। ‘कोभिड निमोनियाकै कारण ती सुत्केरीको मृत्यु भयो,’ स्वास्थ्य मन्त्रालयले संकलन गरेको विवरणमा भनिएको छ।
यस्तै, २०७७ साल जेठ १० गते नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भयो। ती व्यक्ति थिए, ललितपुरका ५७ वर्षीय पुरुष। कोभिड संक्रमित ती पुरुषमा कलेजको समस्या पनि थियो। कोभिड संक्रमण हुनुभन्दा पहिले नै उनमा ‘लिभर सिरोसिस’को समस्या थियो। कलेजो रोग विशेषज्ञ डा रविन हमालका अनुसार लिभर सिरोसिस भनेको कलेजो खराब भइसकेको अवस्था हो। सिरोसिस भएकाहरूमा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले कुनै पनि किसिमको संक्रमण हुँदा मृत्युको जोखिम उच्च रहन्छ।
‘पहिलेदेखि नै कलेजो खराब भएका ती पुरुषमा कोरोना भाइरसको संक्रमण हुँदा जोखिम बढेकाले मृत्यु भएको देखिन्छ,’ मन्त्रालयले संकलन गरेको विवरणमा उल्लेख छ।
नेपालमा कोभिड संक्रमणपछि मृत्यु भएको तेस्रो व्यक्ति हुन् बाराका ७० वर्षीय पुरुष। उनको २०७७ साल जेठ १२ गते मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ती व्यक्तिमा एकभन्दा धेरै रोग तथा समस्या थियो। उनमा स्वासप्रश्वास सम्बन्धी दीर्घ रोग सीओपीडी, उच्च रक्तचाप र दीर्घ मिर्गौला सम्बन्धी रोग थियो। चिकित्सकहरूका अनुसार यस्ता रोग भएका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। यस्तो अवस्थामा कोभिड संक्रमण भएमा मृत्युको उच्च जोखिम रहन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार नेपालमा २०७८ भदौ ३१ गतेसम्म ११ हजार २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरूमा अन्य के के स्वास्थ्य समस्या थियो ? स्वास्थ्य खबरपत्रिकाले यो विषयमा खोजी गरेको छ। सो क्रममा २०७७ जेठ २ गतेदेखि २०७८ भदौ ३१ गतेसम्मको तथ्यांक विश्लेषण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणलाई विश्लेषण गर्दा मृत्यु भएका ११ हजार २ जना संक्रमितमध्ये ३ हजार ४१९ जनामा कुनै न कुनै रोग तथा समस्या रहेको पाइएको छ। त्यसो भए संक्रमणका कारण मृत्यु भएका थप ७ हजार ५८३ जनामा कुनै रोग तथा समस्या थिएन त?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार मृत्यु भएका ती व्यक्तिहरूमध्ये धेरैमा कुनै न कुनै रोग तथा समस्या हुनसक्छ। तर, अस्पताल तथा नेपाली सेना र घरमा मृत्यु भएका संक्रमितको विवरण संकलनका क्रममा विवरण उल्लेख नगर्दा उनीहरूमा के–के रोग तथा समस्या थियो भन्ने छुट्न गएको हो।
‘मृत्युको सबै विवरण हामीहरूले अस्पताल, नेपाली सेना र स्थानीय तहबाट संकलन गरेका हौं,’ उनले भने, ‘सो क्रममा अस्पतालहरूले पठाएका धेरै तथ्यांकमा मृत्युसँगै अन्य रोग तथा समस्याका विवरण पनि उल्लेख थियो भने नेपाली सेनाले संकलन गरेर व्यवस्थापन गरेको शव तथा घरमै मृत्यु भएका व्यक्तिहरूमा कोरोना संक्रमण बाहेक अन्य रोग थियो वा थिएन भन्ने जानकारी प्राप्त भएन।’
संक्रमित मृतकमा कुन रोग तथा समस्या थियो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु भएकामध्ये एक जना व्यक्तिमा एकदेखि बढीमा ७ वटासम्म रोग तथा समस्या थियो। हामीले रोग अनुसार उनीहरूको विवरण केलाएका छौं। जसमध्ये मृत्यु भएकामध्ये सबैभन्दा धेरैमा मुटुसँग सम्बन्धित रोग रहेको पाइएको छ।
तथ्यांक अनुसार ३ हजार ४१९ जना मृतकमध्ये १ हजार ४९९ जनामा मुटुसँग सम्बन्धित रोग, उच्च रक्तचाप तथा हृदयघातको समस्या पहिलादेखि नै थियो।
स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्दा ९१४ जना मधुमेहका बिरामीहरूको कोरोना संक्रमण भएर मृत्यु भएको देखिन्छ।
यस्तै, ६ सय १५ जनामा मिर्गौला सम्बन्धी रोग, ११५ जनामा हाइपोथाइरोडिजम र ४ जनामा हाइपरथाइरोडिजमको समस्या समेत रहेको पाइएको छ।
यसैगरी, ९२ जनामा कलेजोसँग सम्बन्धित रोग र ५८ जना क्यान्सरका बिरामीमा संक्रमणपछि मृत्यु भएको पाइएको छ।
श्वासप्रश्वास र फोक्सोसँग सम्बन्धित रोग भएका कोरोना संक्रमित मृतकको संख्या एक हजार १७८ जना रहेको छ। यीमध्ये सबैभन्दा धेरै दम र दीर्घ श्वासप्रश्वास तथा श्वासप्रश्वास सम्बन्धी अन्य समस्या भएकाहरू छन्। स्वास्थ्य मन्त्रालयका अनुसार श्वासप्रश्वास र फोक्सोसँग सम्बन्धित बिरामीको यो तथ्यांकमा कतिपयमा कोरोना संक्रमणका कारण भएको समस्या पनि उल्लेख छ।
यीबाहेक सेप्टिक सक, स्पाइनसँग सम्बन्धित, रगतको संक्रमण तथा रगतसँग सम्बन्धित समस्या, पक्षघात तथा मष्तिष्कका बिरामी र केही एचआईभी संक्रमितहरूको पनि कोरोना संक्रमण पछि मृत्यु भएको देखिन्छ।
पहिलो लहरमा कस्ता व्यक्तिको मृत्यु?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालमा २०७६ माघ देखि २०७७ साल चैत १ गतेसम्मलाई पहिलो लहरको कोरोना संक्रमण र २०७७ चैत २ गतेदेखि हालसम्मलाई दोस्रो लहर भन्ने गरिएको छ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको तथ्यांकलाई केलाउँदा पहिलो लहर र दोस्रो लहरको अवस्था फरक छ।
डा अधिकारीका अनुसार पहिलो लहरको कोरोना महामारीमा संक्रमित हुने, सिकिस्त अवस्थामा पुग्ने तथा मृत्यु हुने व्यक्तिहरू अघिकांश ४० वर्ष माथिका व्यक्तिहरू थिए। तीमध्ये पनि कुनै नै कुनै किसिमका दीर्घरोग भएका व्यक्तिहरूको बढी मृत्यु भएको थियो।
तर, दोस्रो लहरको संक्रमणमा भने फरक अवस्था देखियो। सबै उमेर समूहका व्यक्तिहरू संक्रमित भए। विशेषगरी एउटा घरमा एकजनामा संक्रमण भएमा सो घरका सबै व्यक्तिमा संक्रमण फैलिएको अवस्था दोस्रो लहरको महामारीमा देखियो। दोस्रो लहरमा नयाँ प्रजातीको कोरोना भाइरस फैलिएको हुनाले पनि रोग संक्रामक देखिएको डा अधिकारीको भनाइ छ।
दोस्रो लहरमा रुप परविर्तन भएर फैलिएको संक्रामक भाइरसले सबै उमेर समूह, दीर्घरोग तथा बिरामी व्यक्ति वा कुनै रोग नभएका व्यक्तिहरूलाई संक्रमण गराउनुका साथै धेरैलाई गम्भीर समेत बनायो। जसका कारण मृत्यु संख्या पनि बढी देखिएको डा अधिकारीले जानकारी दिए।
‘पहिलो लहरमा ४० काटेका व्यक्तिहरू त्यसमा पनि कुनै न कुनै रोग भएका व्यक्तिहरू बढी संक्रमित भए, मृत्यु हुनेमा पनि यही अवस्थाका संक्रमित बढी थिए,’ डा अधिकारीले भने, ‘दोस्रो लहरमा संक्रामक भाइरस भएकाले सबै उमेरका व्यक्तिहरू संक्रमित भए, सिकिस्त भए, दीर्घरोगीहरू झनै प्रभावित भए।’
डा अधिकारीले कोरोना संक्रमणको पहिलो लहरमा विभिन्न किसिमका दीर्घरोग भएका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूको बढी मृत्यु भएको जानकारी दिए।
यस्तै, सरकारी तथ्यांकमा यकिन विवरण नभएपनि पोष्ट कोभिडको कारणले समेत केही मानिसहरूको मृत्यु भएको डा अधिकारीले जानकारी दिए।
‘कोरोना संक्रमणपछि पोष्ट कोभिडको समस्या भएर सिकिस्त भएका बिरामीहरूको पनि मृत्यु भएको हामीले पाएका छौं,’ डा अधिकारीले भने, ‘तर, यसको यकिन तथ्यांक भने संकलन गरिएको छैन।’
नेपालमा कोभिड संक्रमण सुरु भएको २०७६ माघ ९ गतेदेखि २०७७ चैत १ गतेसम्मको पहिलो लहरमा २ लाख ७५ हजार २३१ जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएकोमध्ये ३ हजार १४ जनाको मृत्यु भएको थियो। पहिलो लहरमा कुल संक्रमितमध्ये १ दशमलव १० प्रतिशतको मृत्यु भएको थियो।
दोस्रो लहरमा मृत्यु किन बढी ?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा २०७७ चैत २ गतेबाट कोरोनाको दोस्रो लहर सुरु भएको हो। मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पहिलो र दोस्रो लहर गरी २०७८ भदौ ३१ गतेसम्म ८ लाख ७० हजार १७६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको २०७७ चैत २ गतेदेखि भदौ ३१ गते सम्ममा मात्र ५ लाख ९४ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
२०७७ चैत २ गतेदेखि २०७८ भदौ ३१ गतेसम्ममा मात्र ८ हजार ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। कोरोना संक्रमणको पहिलो लहरदेखि दोस्रो लहरको भदौ ३१ गतेसम्मको कूल मृत्युदर ११ हजार २ जना थियो। यो दर कूल संक्रमण दरको १ दशमलव ४१ प्रतिशत हो।
यो दुवै तथ्यांकलाई विश्लेषण गर्दा नेपालमा पहिलो लहरभन्दा दोस्रो लहरमा बढी व्यक्तिहरू संक्रमित भएको र मृत्यु पनि दोस्रो लहरमा बढी भएको देखिन्छ।
कोरोना संक्रमणको पहिलो लहरमा नयाँ रोग भएकाले पूर्वतयारीका विषयमा अन्योलता नै थियो। पहिलो लहरको संक्रमणको समयमा संक्रमण पुष्टि भएका सबै व्यक्तिलाई अस्पताल वा आइसोलेसन सेन्टरमा १४ दिन अनिवार्य राखियो।
दोस्रो लहरको संक्रमण उच्च विन्दुमा पुग्दासम्म अस्पतालहरूमा एचडीयू, आईसीयू तथा कोभिड वार्डहरू केही थप भएका थिए। तर, दोस्रो लरहको संक्रमण पहिलो लहरको भन्दा संक्रमण देखियो र धेरै फैलियो। जसले गर्दा २०७८ वैशाख र जेठ महिनामा संक्रमितहरू छिट्टै सिकिस्त हुने दर पनि बढी भयो।
कोरोना संक्रमणले सिकिस्त अवस्थामा पुगेका बिरामीले अक्सिजन र आकस्मिक उपचार समेत सहजै पाउन सकेनन्। जसका कारण पनि पहिलो लहर भन्दा दोस्रो लहरमा बढी संक्रमतिको मृत्यु भयो। यस्तै, पहिलादेखि नै अन्य रोग तथा स्वास्थ्य समस्या भएका व्यक्तिहरू पनि दोस्रो लहरमा बढी प्रभावित भए।
उमेर समूह अनुसार मृत्युको अवस्था
नेपालमा कोरोना संक्रमितको मृत्युको तथ्यांकलाई हेर्दा ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरूको मृत्यु बढी छ। भदौ ३१ गतेसम्मको तथ्यांक हेर्दा ० देखि ३९ वर्ष उमेर समूहका १ हजार ३३९ जनाको मृत्यु भएको छ। यस्तै, ४० वर्ष माथिका ९ हजार ६५१ जनाको मृत्यु भएको छ। उमेर समूह नखुलेका १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको विवरणका अनुसार जन्मेदेखि ९ वर्ष सम्मका ४७ जना, ९ देखि १९ वर्षका ५३ जना, २० देखि २९ वर्षसम्मका ३४६ जना र ३० देखि ३९ वर्ष उमेर समूहका ८९३ को मृत्यु भएको छ।
यस्तै, ४० देखि ४९ उमेर समूहका १ हजार ५६९ जना, ५० देखि ५९ उमेर समूहका २ हजार १४६ जनाको मृत्यु भएको तथ्यांक छ।
यसैगरी, ६० देखि ६९ वर्ष उमेर समूहका २ हजार ३२३ जना ज्येष्ठ नागरिकको कोरोना संक्रमणले मृत्यु भएको छ। ७० देखि ७९ उमेर समूहका २ हजार १६४ र ८० वर्षभन्दा माथि उमेरका १ हजार ४४९ जना ज्येष्ठ नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यो तथ्यांकलाई हेर्दा कोरोना संक्रमणबाट मृत्यु हुने ६० वर्ष माथिका ज्येष्ठ नागरिकको संख्या मात्र ५ हजार ९३६ जना छ।
ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेल ज्येष्ठ नागरिकहरूमा रोगसँग लड्ने क्षमता नै कमजोर हुने बताउँछन्। डा कँडेलका अनुसार कोरोना संक्रमण हरेक उमेर समूहका व्यक्तिलाई हुने भएपनि ज्येष्ठ नागरिकहरूमा भएको रोग प्रतिरोधात्मक क्षमताले किटाणुसँग लड्न नसक्ने अवस्था हुनसक्छ।
कोरोनाले रोग प्रतिरोधात्मक क्षमतालाई जित्ने अवस्था हुने भएकाले ज्येष्ठ नागरिकहरू मृत्युको उच्च जोखिममा परेको डा कँडेलको भनाइ छ।
‘उमेर ढल्दै गएपछि शरीरका विभिन्न अंग तथा प्रणालीहरूको क्षमता पनि कमजोर हुँदै जान्छ,’ उनी भन्छन्, ‘त्यसैले जुन हिसाबले बलियो फोक्सोले रोगसँग लड्न सक्छ, त्यही हिसाबले उमेरको कारणले कमजोर भएको फोक्सोले रोगसँग लड्न सक्दैन।’
यस्तै, ज्येष्ठ नागरिकहरूमा अन्य उमेर समूहका व्यक्तिमा भन्दा धेरै नै रोगहरू हुनसक्ने भएकाले नै उनीहरूमा सानो संक्रमण हुँदा पनि गम्भीर असर देखिन सक्ने डा कँडेलले जानकारी दिए।
उनी भन्छन्, ‘यी कारणहरूले गर्दा कोरोना संक्रमणको सिकिस्त र मृत्यु हुने दरमा ज्येष्ठ नागरिकहरू बढी देखिन्छन्।’
मिर्गौला रोग विशेषज्ञ महेश सिग्देल मिर्गौलासँग सम्बन्धित रोग भएका बिरामीहरूको कोरोना संक्रमणपछि मृत्यु हुनुको कारण उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु नै भएको बताउँछन्।
‘कोरोना संक्रमणबाट मृत्यु हुनेमा मिर्गौलाका बिरामीहरू पनि धेरै देखिएको छ,’ डा सिग्देलले भने, ‘मिर्गौलाका रोग भएका व्यक्तिमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुन्छ। उनीहरू धेरै औषधिहरू लिइरहेका हुन्छन्, त्यसैले कोरोनाबाट मात्र होइन, अन्य कुनै पनि रोग तथा संक्रमण हुँदा मिर्गौलाका बिरामीहरूको मृत्यु हुने जोखिम बढी हुन्छ।’
दोस्रो लहरमा भएका धेरै मृत्यु रोक्न सकिन्थ्यो
कोरोना महामारीको समयमा सरकारले स्वास्थ्य सेवाका जनशक्ति र उपकरणको व्यवस्थापन राम्रोसँग गर्न सकेन। जसका कारण महामारीका बेला देशका धेरै स्थानमा उपकरण तथा दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितले आवश्यक उपचार नपाई ज्यान गुमाएका छन्। उपकरण र जनशक्तिसँगै कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावमा समेत धेरैले ज्यान गुमाउनु परेको थियो।
उपकरण भएका स्थानमा जनशक्ति नहुने र जनशक्ति भएको स्थानमा उपकरण नहुने अवस्था हुँदा काठमाडौं उपत्यका तथा ठूला सहरका ठूला अस्पतालमा संक्रमितको चाप बढेको थियो। नेपालगञ्जस्थित भेरी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, पोखराको पश्चिमाञ्चल अस्पताल, विराटनगरको नोबल मेडिकल कलेज, कोशी अस्पतालमा संक्रमितको चाप बढेको छ। त्यसैगरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धनगढीको सेती अस्पताल र काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण, वीर, पाटन, सशस्त्र प्रहरी, भक्तपुर, नेपाली सेनाको अस्पताल र उपत्यकाकै निजी अस्पतालका निर्देशकहरुले पनि जिल्लामा जनशक्ति र उपकरण नहुँदा संक्रमित उपचारका लागि धेरै रेफर भएर आउनु परेको जानकारी दिए।
यी अस्पतालका निर्देशक र कोभिड फोकल पर्सनहरुको साझा भनाइ छ, ‘यदि जिल्लाका अस्पतालहरुमा नै दक्ष जनशक्ति र उपकरण हुन्थ्यो भने धेरै कोरोना संक्रमित रेफर हुनुपर्दैन थियो, धेरैको बाटोमा नै मृत्यु हुँदैन थियो। गम्भीर अवस्थामा अस्पताल आइपुगेका धेरैको ज्यान सम्भवतः जोगाउन सकिन्थ्यो।’
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणको पहिलो लहर आउनुअघि माघ २०७६ सम्ममा देशभरका अस्पतालमा ९८४ वटा आइसीयू र ४९० वटा भेन्टिलेटर थिए। कोरोना महामारी बढ्दै गएपछि सरकारले अस्पतालहरुमा उपकरण तथा भौतिक पूर्वाधार थप्दै लगेको थियो। पछिल्लो तथ्यांक अनुसार अहिले तीन हजार ८४६ वटा एचडीयू, दुई हजार ७५१ वटा आइसीयू र एक हजार ११५ वटा भेन्टिलेटर छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना महामारी अघि अधिकांश अस्पतालहरुमा एचडीयू थिएनन्।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार यी पूर्वाधार प्रदेशहरुमा रहेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सम्बन्धित अस्पतालसँग समन्वय गरेर तयार पारेको हो।
उपकरण व्यवस्थापनमा मात्र होइन, ती उपकरण चलाउने दक्ष जनशक्ति व्यवस्थापनमा पनि मन्त्रालय चुकेको छ। मन्त्रालयलाई आफू मातहतका र मन्त्रालयसँग सञ्चालन स्वीकृति लिएका निजी अस्पतालहरुसँग कहाँ, कति र के–कस्ता उपकरण सञ्चालनमा छन् तथा ती उपकरण सञ्चालन गर्ने जनशक्ति कहाँ कति छन् भन्ने जानकारी नै छैन।
डा. अधिकारीले अस्पतालहरु संघीय प्रणाली अनुसार सञ्चालन हुन थालेपछि जनशक्ति व्यवस्थापनको जिम्मेवारी प्रदेश र स्थानीय तहमा गएकाले तथ्यांक स्वास्थ्य मन्त्रालयसँग नभएको बताए। प्रदेश र स्थानीय तहले समन्वय गरेर जनशक्तिको अवस्थाबारे मन्त्रालयमा जानकारी नै नदिने गरेकाले एकीकृत तथ्यांक आउन नसकेको उनको भनाइ छ।
‘संघीयतापछि समायोजन भएका स्वास्थ्यका जनशक्ति कहाँ छन् र कति अभाव छ भन्ने यकिन जानकारी छैन,’ उनले भने, ‘संघीयतापछि यस्तो तथ्यांक कसैले एकीकृत गरेर राखेका पनि छैनन्।’ स्थानीय तह र प्रदेशबाट केन्द्रमा सही सूचना तथा तथ्यांक नआउँदा कोरोना व्यवस्थापनमा केन्द्र सरकारलाई चुनौती बढेको डा. अधिकारीको भनाइ छ।
त्रिवि शिक्षण अस्पताल, सघन उपचार कक्षका इन्चार्ज डा. सुवास आचार्य अस्पतालहरुमा भएका आइसीयू र भेन्टिलेटरको संख्या मुलुकको जनसंख्याको अनुपातमा धेरै कम रहेको र जनशक्तिको संख्या पनि न्यून रहेको बताउँछन्। (नेपालमा क्रिटिकल केयर: अधिकांशकोध्यान उपकरणमा मात्र, जनशक्ति खोइ? विषयमा डा सुवास आचार्यसँग गरिएको विस्तृत कुराकानी यही स्टोरीको अन्तिममा छ।)
कोरोना महामारी सुरु भएयता सरकारले एचडीयू, आइसीयू र भेन्टिलेटर थप गरेपनि जनशक्तिको व्यवस्थापन गर्न नसकेको डा आचार्यले बताए।
आइसीयू तथा भेन्टिलेटरमा बिरामीको उपचार तथा हेरचाहका लागि कम्तीमा तीन महिना क्रिटिकल केयरको तालिम प्राप्त नर्सिङ जनशक्ति आवश्यक पर्छ। मुलुकमा भएका दुई हजार ७५१ आइसीयू सञ्चालनका लागि कम्तीमा १३ हजार ७५५ जना क्रिटिकल केयर तालिम लिएका नर्सिङ जनशक्ति आवश्यक पर्छ।
हाल नेपालमा तीन महिने यस्तो तालिम लिएका नर्सिङ जनशक्तिको संख्या निकै कम छ।
‘क्रिटिकल केयर नर्सेस एसोसियन अफ नेपाल’का महासचिव नर्स कविता सिटौलाले देशभरका अस्पतालमा यस्तो तालिम प्राप्त नर्सको संख्या कति छ भन्ने तथ्यांक नै नभएको बताइन्। ‘नर्सिङ काउन्सिलले पनि क्रिटिकल केयर नर्स वा अन्य विशेषज्ञ नर्स भनेर छुट्याएको छैन,’ सिटौलाले भनिन्, ‘यदि डाक्टरहरुको जस्तै नर्सको पनि विशेषज्ञता छुट्याउने हो भने राम्रोसँग सेवा दिन सकिन्छ।’
स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले अझै पनि कोरोना संक्रमितको उपचारका लागि चाहिने जनशक्ति व्यवस्थापनलाई ध्यान नदिए दोस्रो लहरको कोरोना संक्रमणका बेला भोगेको क्षती दोहोरिने बताए। ‘अस्पतालहरुमा उपकरण भएर मात्र बिरामीले सेवा पाउदैनन्,’ डा. प्याकुरेलले भने। उनले केन्द्र सरकारले चाहेमा प्रदेशहरुसँग समन्वय गरेर हरेक अस्पतालमा भएका जनशक्तिको विवरण संकलन गर्न सक्ने बताए।
स्वास्थ्य मन्त्रालयले जनशक्तिको वास्तविक विवरण संकलन गर्न सके आवश्यकता अनुसार जनशक्ति परिचालन गर्न सकिने उनको तर्क छ।
कोरोनाबाट बच्ने अस्त्र जनस्वास्थ्यको मापदण्ड र खोप
कोरोना संक्रमणका कारण मृत्यु भएका अघिकांश दीर्घ रोगका बिरामीहरू छन्। दीर्घ रोगका बिरामीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूलाई रोग कोरोनाबाट हुने मृत्युबाट बचाउन संक्रमण नै हुन दिन नहुने चिकित्सकहरू बताउँछन्।
चिकित्सकहरूको एउटै स्वर छ, ‘कोरोना महामारीबाट हुने मृत्युदर कम गराउने एउटै अस्त्र खोप र जनस्वास्थ्यको मापदण्ड हो।’
वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाका अनुसार दीर्घ दमको रोग, श्वासप्रश्वाससँग सम्बन्धित रोग विशेषगरी सीओपीडी भएका बिरामीहरूको फोक्सोको कार्यक्षमता कमजोर हुन्छ। त्यसैले पनि पहिलादेखि नै यस्ता रोग तथा समस्या भएका व्यक्तिहरूको कोरोना संक्रमणपछि मृत्यु भएको हुनसक्ने डा ढुंगानाले बताए।
‘पहिलादेखि नै फोक्सोमा समस्या भएकाहरूको फोक्सोको कार्य कमजोर हुुने भएकाले सीओपीडी दम भएकाहरूलाई सिभियर कोभिड हुनसक्छ,’ डा ढुंगाना भन्छन्, ‘उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ। यी कारणहरूले गर्दा उनीहरूलाई कोभिड भएमा मृत्यु हुने सम्भावना बढी हुन्छ।’ उनले कोभिड संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप लगाउनू पर्नेमा जोड दिए।
ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा कँडेलको पनि उस्तै धारणा छ। भन्छन् ‘कोरोनाबाट हुने जोखिम र मृत्युबाट ज्येष्ठ नागरिकहरूलाई बचाउन जनस्वास्थ्यका मापदण्ड अर्थात् मास्कको सही प्रयोग र हातको नियमित सरसफाइमा विशेष ध्यान दिन जरुरी छ। अर्को कुरा खोपले कोरोनाको जोखिमबाट बचाउँछ।’
मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा अंशुमाली जोशी कोरोना संक्रमणबाट हुने मृत्युबाट जोगिन मधुमेहका बिरामीले पहिला मधुमेहलाई निन्यत्रण गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप अनिवार्य लगाउनु पर्ने सुझाव दिन्छन्।
‘मधुमेहको समस्या छ भने अनियन्त्रित मधुमेहको समस्यालाई नियन्त्रण गर्नुपर्छ। मधुमेह नियन्त्रण नभएमा संक्रमणको जोखिम र जटिलता हुने सम्भावना बढ्छ’ उनले भने।
कलेजो रोग विशेषज्ञ डा रविन हमाल पनि कलेजोसँग सम्बन्धित रोग भएका बिरामीलाई खोपमा प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन्।
‘स्वस्थ मानिसलाई कोभिड लाग्दा जति जोखिम हुन्छ, त्यो भन्दा बढी जोखिम कलेजोको रोगीलाई कोभिड लाग्दा हुन्छ,’ डा हमालले भने, ‘कलेजोसँग सम्बन्धित रोग भएका बिरामीले सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप तत्काल लगाउनुपर्छ।’
कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गर्दा तेस्रो लहरको संक्रमण देखिने जोखिम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना महामारीको पहिलो र दोस्रो लहरको समयमा भएका कमि कमजोरी केलाउँदै स्वास्थ्य मन्त्रालय तेस्रो लहरको प्रतिकार्यका लागि तयारीमा जुटिसकेको जनाएको छ।
संक्रमितको उपचार तथा व्यवस्थापनको पूर्वतयारीमा स्वास्थ्य मन्त्रालय लागेपनि कोरोना बाट बच्ने अस्त्र जनस्वास्थ्यको मापदण्ड र खोपको कभरेज नै भएको डा समिर अधिकारी बताउँछन्।
नेपालमा क्रिटिकल केयर: अधिकांशको ध्यान उपकरणमा मात्र, जनशक्ति खोई?
डा सुवास आचार्य
आइसीयू इन्चार्ज– त्रिवि शिक्षण अस्पताल
मैले पहिलो लहरको कोरोना आउँदा पनि भनेको थिएँ-एचडीयू, आइसीयू भनेको बेड, मोनिटर, भेन्टिलेटर भनेर बुझिरहेका छौं, वास्तवमा त्यो होइन। तर सबैको फोकस यसमा मात्र केन्द्रीत छ। त्यसको विभिन्न कारण होलान्। त्यो देखिन सक्ने पाटो भएकाले सबैको ध्यान त्यता गएको पनि हुनसक्छ। हामीले ८ सय, १००० बेडको एचडीयू थप्यौं भन्दा देखिने पाटो भयो। देखिने पाटो भएर बेड, मोनिटर र भेन्टिलेटरमा सबैको फोकस भयो। हुन त ८ सय बेड थपिँदा अहिले क्राइसिसमा त्यसले मद्दत पनि गरेको छ। हामीसँग गतवर्षसम्म ५ सय भन्दा भेन्टिलेटर थिएन, त्यसपछि हामी सँग विभिन्न स्रोतबाट कम्तिमा पनि ५ सयवटा भेन्टिलेटरहरु थप भएका छन्। अहिलेको अवस्थामा नेपालमा भेन्टिलेटरको संख्या १००० को हाराहारीमा पुगेको छ।
तर सामान्यतया आइसीयूको बेड रिक्वारमेन्ट गर्दा कसरी क्याल्कुलेट गर्छौं भने, प्रति एक लाख जनसंख्याको आधारमा क्याल्कुलेट गर्छौं। प्रति एक लाख जनसंख्यामा कति आइसीयू बेड आवश्यक पर्छ भनेर हिसाब गर्छौं। विश्व स्वास्थ्य संगठनको मापदण्डका अनुसार प्रति एक लाख जनसंख्यामा ५ देखि २५ आइसीयू बेड आवश्यक पर्छ।
विकसित देशहरुमा प्रति एक लाख जनसंख्यामा २५ वटा सम्म आइसीयू बेड छ। भारतमा समेत प्रति एकलाख जनसंख्यामा ५ वटा पनि आइसीयू बेड छैन।
तर नेपालमा भने प्रति एक लाख जनसंख्यामा १ बेड आइसीयू हिसाब गर्दा पनि छैन। प्रति एक लाख जनसंख्यामा १ बेड आइसीयू हुन पनि तीन हजार आइसीयू बेड आवश्यक पर्छ । एक त हामीसँग भएका आइसीयू , भेन्टिलेटरको संख्या जनसंख्याको अनुपातमा कम हो। त्यसमाथि पनि भएको आइसीयू तथा भेन्टिलेटर चलाउने जनशक्ति अझै कम छन्।
आइसीयू भेन्टिलेटरमा आवश्यक जनशक्ति पहिला देखिनै कम थियो। अहिले महामारीको समयमा आएर आइसीयू आइसीयू भनेर हुँदैन। हामीले ५ वर्ष अघि देखि नै टिचिङ अस्पतालमा आइसीयू थप गर्नुपर्छ भनेर सरकारलाई सुझाव पनि दिने गरेका थियौं। टिचिङ, वीर जस्तो केन्द्रीय अस्पतालमा १०, ११ वटा आइसीयू चलाएर बसेपछि यो समस्या आउनेवाला नै थियो।
नेपालमा आइसीयूमा उपचारत बिरामीको मृत्युदर ३० प्रतिशत हाराहारीमा छ। अहिलेका आइसीयूहरुमा त मृत्युदर २० प्रतिशत मात्रै छ। भनेको १०० जनामा ७० देखि ८० जना त बाँच्छन् । २० जनाको मृत्यु हुने हो। तर आइसीयूको खर्च बढि हुने नर्सहरु धेरै आवश्यक पर्ने भएकाले कसैले पनि आइसीयू थप गर्नुपर्छ भनेर चाहेनन्।
कोभिडको महामारी आयो त्यसपछि भने आइसीयू चाहिने रहेछ भन्ने भयो। तर अन्तिम अवस्थामा आवश्यकता महसुस गर्दा के गर्न सकिन्छ भन्दा कमसेकम बेड, मोनिटर र भेन्टिलेटर भएपनि थप गरौं न भन्ने देखियो। सरकार पनि त्यही हिसाबले मात्र लाग्यो।
आइसीयू बेड थप हुनु राम्रो कुरा हो। तर त्यही अनुसार जनशक्ति खोई त? बेड र उपकरणले मात्र त हुँदैन? उपचार सेवा दिने जनशक्ति त चाहिन्छ नि! यतातिर भने ध्यान गएको देखिँदैन।
कोनोरा संक्रणमको पहिलो लहरपछि ७०० देखि ८०० बेडहरु थप भए। त्यसले गर्दा दोस्रो लहरको संक्रमणमा केही सजिलो भयो। तर समस्या के भइरहेको छ भन्दा जनशक्तिको व्यवस्थापन भएन।
आइसीयूमा एकजना बिरामीलाई एकजना नर्स २४ घण्टा नै चाहिन्छ। सिकिस्त बिरामीलाई वान इज टु वान नर्स आवश्यक पर्छ । तर त्यो कुरालाई कसैले स्वीकार गर्नै तयार छैनन्।
हामी आफू बिरामी भएर आइसीयू बस्दा चाँही २४ घण्टा नै कसैले केयर गरोस् भन्ने चाहन्छौं। तर अस्पतालको आइसीयूमा रहेको बिरामीलाई एकजना नर्स २४ घण्टा नै चाहिन्छ भन्दा न अस्पताल व्यवस्थापक मान्न तयार छ, न अस्पताल प्रशासन मान्छ, न स्वास्थ्य मन्त्रालयले मान्छ। कहाँ हुन्छ यस्तो त अमेरिकामा पनि हुँदैन भन्ने जवाफ आउँछ।
उदाहरका लागि आइसीयू बेड १० वटा छ जम्मा २ जना नर्स राखिएको छ। त्यस्तो नि आइसीयू हुन्छ ?
आइसीयूको न्युनतम मापदण्डमा पनि हरेक सिफ्टमा एकजना नर्स पर बेडलाई आवश्यक पर्छ। यसको मतलब २४ घण्टामा एक बिरामीलाई तीन जना नर्स चाहिन्छ।
सबै अंग फेल भएको बिरामीलाई आइसीयूमा राख्ने अनि एकजना नर्सले ४ जना बिरामी हेर्नुपर्ने अवस्था भयो भने बिरामीको मृत्यु हुने बाहेक अरु कुनै अप्सन नै छैन। त्यसैले आइसीयूको लागि सबैभन्दा पहिला वान इज टु वान नर्स चाहियो।
२ नम्बरमा एकजना इनहाउस मेडिकल अफिसर वा रेजिडेन्ट डाक्टर २४ घण्टा नै आइसीयू वार्डमा बस्ने आवश्यक पर्छ।
सबै अस्पतालको आइसीयूमा के छ अवस्था भन्दा आइसीयूको ड्यूटी डाक्टर खै भन्दा आकस्मिकमा जानु भएको छ, वार्डमा जानुभएको छ भन्छन्। त्यसरी आइसीयू हुँदैन।
आइसीयू भनेको सिकिस्त बिरामीको उपचार गर्ने ठाउँ हो। त्यहाँ हरेक समय चिकित्सकको आवश्यकता हुनसक्छ। बिरामीको एक्कासी मुटुको चाल गडबड हुनसक्छ, रक्तचाप घटबड हुनसक्छ, अक्सिजनको कम हुनसक्छ। त्यसलाई तुरुन्तै हेर्नुपर्ने हुन्छ। त्यसैले एकजना मेडिकल अफिसर वा रेजिडेन्ट डाक्टर इनहाउस हुनुपर्छ।
तेस्रो लेवलको म्यानपावर भनेको कन्सल्टेन्ट चिकित्सक हुन्। जसमा एनेस्थेसियामा एमडी गरेको चिकित्सक, जसले क्रिटिकल केयरमा तालिम लिएका डाक्टरहरु चाहिन्छ। क्रिटिकल केयरमा काम गरेका डाक्टरहरु चाहिन्छ।
एमडी गरेका चिकित्सकलाई हामी रजिस्ट्रार भन्छौं। त्यो जनशक्ती पनि प्रति १० वेड एकजना आवश्यक पर्छ।
मेडिकल अफिसर पनि वान इज टु टेन हो। अर्थात एकजना डाक्टरले १० वटा बेडभन्दा बढी बिरामी हेर्न सक्दैन।
यदी कुनै अस्पतालमा १० बेडको आइसीयू छ भने २४ घण्टा खटिने हरेक बेडमा एकजना नर्स, एकजना एमडी गरेको रजिष्ट्रार र एकजना मेडिकल अफिसर २४ घण्टा नै हुनुपर्छ। त्यसपछि कन्सल्टेन्ट चिकित्सक आवश्यक पर्छ। कन्सल्टेन्ट चिकित्सकले सबै आइसीयूमा भिजिट गरी व्यवस्थापनको काम गर्छ।
यदी अस्पतालमा ३० बेडको आइसीयू छ भने त्यहाँ ३ जना रजिष्टार आवश्यक पर्छ। कन्सलटेन्ट कति जना हुनुपर्छ भन्ने चाँही उल्लेख छैन। कन्सलटेन्टले २० बेडसम्म हेर्न सक्छ। त्यो भन्दा धेरै आइसीयू बेड र बिरामी छन् भने गाह्रो हुन्छ।
कन्सलटेन्टले बिरामीको अवस्था बुझ्ने उनका आफन्तलाई भेट्ने काउन्सिलिङ गर्ने बिरामीको उपचारका लागि योजना बनाउने काम गर्छन्।
रजिस्ट्रार लेवलको चिकित्सकले बिरामीको दैनिक गतिविधिको काम गर्छन्। मेडिकल अफिसरले तुरुन्तै आउने स्वास्थ्य समस्यालाई समाधन गर्ने काम गर्छन्।
उनीहरुको रिपोर्ट तयार गर्ने, रगतहरु तानेर परीक्षण गर्न पठाउने कामहरु मेडिकल अफिसरले गर्नुपर्ने हुन्छ।
तर नेपालको क्रिटिकल केयरमा यस अनुसारको जनशक्ति खोई? यहाँ त सबैको ध्यान उपकरणमा मात्र केन्द्रीत हुँदा समस्या आयो।
टिचिङ अस्पतालको हकमा चिकित्सकको रेसियो पुग्छ। क्रिटिकल केयरमा हामी ४ जना कन्सलटेन्ट छौं। डिएम गरेको ३ जना हुनुहुन्छ। मेडिकल आइसीयूमा पनि कन्सलटेन्ट लेवलको जनशक्ति छ। त्यसपछि रजिष्ट्रारको रुपमा डिएम गरीरहेको रेजिडेन्टहरु हुन्छन्। हामीसँग डिएम गरेका रेजिडेन्ट नै ४ जना छन्।
यस्तै एमडी एमएसको रेजिडेन्टहरु पनि आइसीयूमा वान टाइममा २,३ जना हुन्छन्। हामीसँग मेडिकल अफिसरहरु पनि छन्। टिचिङ अस्पतालमा एकजना मेडिकल अफिसर र एकजना रेजिडेन्ट चिकित्सक जुनसुकै समयमा पनि हुन्छ।
टिचिङ अस्पतालमा समस्या भनेको नर्सिङ जनशक्तीको हो। टिचिङ अस्पतालमा पनि वान इज टु वान नर्सिङ जनशक्ति आइसीयूमा छैनन्। अस्पताल प्रशासनले मान्दै मान्दैनन्।
टिचिङ अस्पतालमा करारमा नर्स लिँदा अस्पतालले तलब दिनुपर्छ । टियुले नियुक्ती गर्दा स्थायी छन् भने टियुले तलब दिन्छ। तर करारमा लिँदा आर्थिक भार बढ्छ । त्यसैले नर्सिङ जनशक्तीको टिचिङमा समस्या नै छ। कोरोना पछि भने सरकारले केही सपोर्ट गरेको भएर नर्सिङ जनशक्ति करारमा लिएका छौं।
अर्को विषय के हो भने क्रिटिकल केयरको तालिमप्राप्त नर्स हामीसँग थिएनन्। सन् २०१५ देखि हामीले नर्सका लागि तालिम सुरु गर्यौं। क्रिटिकल केयर नर्सिङ एसोसियन अफ नेपाल नामक संस्था मार्फत क्यानडाबाट विज्ञहरु ल्याएर टिचिङ अस्पतालका १० जना नर्सलाई क्रिटिकल केयरको तालिम दियौं।
अरु बाहिरका मुख्य अस्पतालहरुबाट थप २० जना नर्सलाई तालिम दिएर ३० जना क्रिटिकल केयरको तालिम दियौं। यसरी सुरु गरेको तीन महिने तालिम अहिलेसम्ममा २५० भन्दा बढीले पाइसकेका छन्। नेपालमा तीन महिने क्रिटकल केयरको तालिम लिएका नर्सहरुको संख्या भने २५० भन्दा बढी नै छ। तर हामीले उनीहरुलाई खोजेर आइसीयूमा काम लगाउन सकिरहेका छैनौं।
अहिले सरकारले विभिन्न अस्पतालहरुमा एचडीयू, आइसीयू थप गरेको छ । तर टिचिङ अस्पतालमा त आइसीयूमा जनशक्ति व्यवस्थापन गर्न यति धेरै गाह्रो छ। टिचिङ अस्पतालमा नर्सहरुको तलब पनि राम्रो छ तर पनि नर्सहरुको आउने जाने क्रम धेरै चल्छ।
आइसीयूमा काम गर्न कम्तिमा पनि ३ महिनाको क्रिटिकल केयरको तालिम लिएको नर्स आवश्यक पर्छ। अन्तराष्ट्रिय मान्यता के हो भन्दा आइसीयूमा काम गर्न दुईवर्ष अन्य जनरल वार्डमा काम नगरी आइसीयूमा काम गर्न पाइदैन। तर हाम्रोमा नियुक्त हुने वित्तिकै आइसीयूमा काम लगाउने चलन छ।
नर्स भनेको कपाल कोरिदिने, दाँत माझिदिने, औषधि खान दिने मात्र होइनन्। नर्सिङ जनशक्ति स्नातक तह अध्ययन गरेको कम्तिमा पनि एनाटोमि, फिजियोलोजी बारे ज्ञान भएको हुनुपर्छ। बिरामीलाई औषधि खुवाउने नर्सलाई ज्ञान त हुन पर्छ नि त्यो औषधिले कसरी काम गर्छ भनेर। पिसियल नर्सिङ अध्ययन अध्यापनको कन्सेप्ट बन्द नगरेसम्म नर्सिङ केयर इम्प्रुभ हुन सक्दैन। बिएस्सी पास गरेका नर्सहरुलाई मात्र क्लिनिकल प्राक्टिस गर्न दिनुपर्छ।