काठमाडौं– नेपाल मेडिकल कान्सिलको निर्वाचन नजिकिँदै गर्दा उम्मदेवार चिकित्सकहरु चुनावी प्रचार–प्रसार अभियानमा व्यस्त छन्।
काउन्सिलको एक उपाध्यक्षमा ३ जना र आठ जना सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समिति निर्वाचनको तयारीमा छ भने उम्मेदवारहरु चिकित्सकहरुसँग आफ्ना प्रतिवद्धता र योजना लिएर चिकित्सकहरुसँग भोट माग्न जुटेका छन्।
काउन्सिल निर्वाचनको सदस्य पदमा उम्मेदवारी दिएकी डा विना श्रेष्ठ पनि यतिबेला चुनावी प्रचार–प्रसार अभियानमा व्यस्त छिन्।
सन् २००० मा बंगलादेशबाट एमबिबिएस अध्ययन पुरा गरेकी डा विनाले सन् २००६ मा चीनबाट एमडी अध्ययन पुरा गरेकी छन्।
उनले नेदरल्याण्डबाट पब्लिक हेल्थमा समेत स्नातकोत्तर अध्ययन गरिरहेकी छन्।
उनले विगत १३ वर्षदेखि सरकारी तथा निजी क्षेत्रका डाक्टर, नर्स, पारामेडिक्सहरुलाई तालिम समेत दिँदै आएकी छन्।
सरकारले उपलब्ध गराउने तालिमहरु सरकारी चिकित्सकहरुको पहुँचमा पुग्न सकेको भएपनि निजी अस्पतालमा काम गर्ने चिकित्सकहरु माझ तालिमको अवसरहरु पुग्न नसकेको उनले बताइन्।
चिकित्सकहरुलाई समयसापेक्ष तालिमहरु दिनुपर्ने र गुणस्तर कायम गर्न सकिने डा विनाको भनाइ छ।
काउन्सिलले सबै चिकित्सकहरुलाई समान तरिकाले अवसर प्राप्त गर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै उनले आफ्नो उम्मेदवारी मेडिकल शिक्षा र चिकित्सकहरुको गुणस्तर बढाउने कार्यमा हुने बताइन्।
डा विनाको कार्ययोजना र प्रतिवद्धता केके छन्? उनकै शब्दमा:
यसअघि जति पनि चिकित्सकहरु काउन्सिलको सदस्य बन्नुभयो उहाँहरुले पनि केही न केही कार्य गर्ने कोशिस गरि नै राख्नुभएको छ। उहाँहरुले गरिरहेको कार्यक्रमहरुलाई पनि हेरेर अगाडि बढाउन सक्छु।
हामी काउन्सिल सदस्य भएर गर्नुपर्ने भनेको मेडिकल एजुकेसनको स्तर उन्नति नै गर्ने हो। त्यसको लागि प्रोटोकलहरु बनाउने, त्यो कत्तिको कार्यन्वयन भइरहेको छ? अन्तराष्ट्रिय स्तरमा देखिएका कुराहरुलाई म नेपालमा पनि लागू गराउन सक्छु कि त्यो ठाउँमा पुगेपछि भन्ने हो।
देश बाहिर रहेका मेडिकल प्राक्टिस गरिरहेका तथा पढिरहेका डाक्टरहरु देखि सबै डाक्टरहरुको क्वाटिलीको विषयमा मैले देखेर आएको छु। अन्तराष्ट्रिय स्तरमा देखिएका कुराहरु अनुसार आफ्नो पनि स्ट्यान्डर्ड मेन्टेन गर्ने मेरो इच्छा छ।
काउन्सिलको सदस्य भएपछि गर्न सकिन्छ भन्ने लाग्छ। मेरो फोकस क्वालिटीमै हो।
मेडिकल कलेज, प्रोफेसर तथा डाक्टरहरुको अध्ययनका लागि आवश्यक पर्ने विषय, मेडिकल कलेज र अस्पतालहरुको क्वालिटीमा मेरो फोकस हुनेछ।
किल्निकल प्रोटोकलहरु बनेको छ। तर कतिपय चिकित्सकहरुलाई नै यो प्रोटोकलको विषयमा जानकारी नै छैन। त्यसैले सबै चिकित्सकलाई समान तरिकाले तालिमको अवसर दिने, अहिले भएका प्रोटोकलहरुबारे चिकित्सकहरुलाई जानकारी गराउने काम गर्नुपर्ने देखिन्छ।
नोट: स्वास्थ्यखबरले मेडिकल काउन्सिलको निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारहरुको भनाई र योजना प्रकाशित गर्दै जाने छ। कृपया यो इमेल [email protected] मा आफ्ना योजना तथा निर्वाचनमा उठ्नुको कारण पठाउनु होला। धन्यवाद।