काठमाडौं– ग्राण्डी अस्पतालको स्थापनादेखि नै मेडिकल डाइरेक्टरको रुपमा रहेका डा चक्रराज पाण्डेले ग्राण्डी अस्पताल छाड्ने निर्णय गरेका छन्। अस्पतालको बोर्ड सदस्य समेत रहेका डा पाण्डेले आइतबारको बार्षिक साधारण सभामा मेडिकल डाइरेक्टर र बोर्ड सदस्यमा बस्न नचाहेको जानकारी गराइसकेका छन्।
अस्पतालका परिकल्पनाकार समेत रहेका डा पाण्डेको अस्पतालमा सेयर समेत रहेको छ। डा पाण्डेको अस्पतालमा साढे तीन प्रतिशत सेयर रहेको छ।
डा पाण्डे र अस्पतालका बोर्ड सदस्यबीच केही समययता विवाद हुँदै आएको थियो। विवादकै कारण डा पाण्डेले अस्पतालको मेडिकल डाइरेक्टर र बोर्ड सदस्य छाड्ने निर्णय गरेका हुन्।
डा पाण्डेले अस्पतालमा आफूमाथि अनावश्यक राजनीति गर्नुका साथै झुटा आरोप लगाउने काम भएपछि छाड्ने निर्णय गरेको बताए।
‘अस्पतालका अन्य बोर्ड मेम्बरहरुले राजनीति गरेर म माथि झूटा आरोपहरु लगाएपछि ग्राण्डीबाट बाहिरिन चाहेको हुँ,’ डा पाण्डेले स्वास्थ्यखबरसँग भने, ‘मेरा सोचहरु मिलेनन् अनि केही विवाद पनि देखियो। त्यही भएर म यो निर्णयमा पुगेको हुँ।’
उनले अस्पतालमा आफ्नो सेयर समेत रहेका कारण बैंक र अन्य कानुनी प्रक्रिया पूरा भएपछि मात्र अस्पतालको मेडिकल डाइरेक्टर र बोर्ड सदस्य छाडेको भन्न मिल्ने जानकारी दिए।
ग्राण्डी अस्पतालको मेडिकल डाइरेक्टर र बोर्ड सदस्य छाड्ने निर्णयमा पुग्नुको कारणबारे डा पाण्डेले स्वास्थ्यखबरलाई दिएको जानकारी उनकै शब्दमा:
ग्राण्डीको बोर्ड सदस्य र मेडिकल डाइरेक्टरको जिम्मेवारीमा मैले आफ्नो इन्टे«स्ट नदेखाएको हो। यसबाट म बाहिरिन चाहेको हो। मैले अस्पताल नै छोडेको भने छैन। मेडिकल डाइरेक्टर र बोर्ड मेम्बर छोड्नका लागि मैले बोर्ड सदस्यहरु र व्यवस्थापनलाई भनिसकेको छु। उनीहरुले मलाई चिठ्ठी दिएको छैन।
अस्पतालको सेयर सदस्यसमेत रहेका कारण मैले यत्तिकै राजिनामा दिन मिल्दैन। ग्राण्डीका अन्य बोर्ड मेम्बरहरुले बैंकसँग कुरा गरेर मिलाउनुपर्छ। तर यसमा बस्ने मेरो इच्छा भने छैन। मैले यत्तिकै राजिनामा दिँदा बैंकमा ऋणको कुराहरु पनि छ। बैंकको ऋण ‘पे’ नभएसम्म मले अस्पतालमा निरन्तर काम गरिदिए हुन्थ्यो भन्ने बैंकको इच्छा छ। बैंकको कामको प्रक्रिया लगायत अन्य कानुनी कुराहरु भएका कारण मैले त्यतिकै राजिनामा दिएर पाउँदिन। यो विषयमा बोर्डका अन्य सदस्य र व्यवस्थापनले बैंकसँग मिलाउनुपर्ने हुन्छ। अहिलेको म्यानेजमेन्ट टिम, बोर्ड मेम्बरहरुले बैंकहरुसँग कुरा गरेर मेरो पर्सनल ग्यारेन्टिहरु सबै रिडिङ गरेपछि मात्रै उनीहरुले म बाहिरिने कुरा स्वीकृत गर्न पाउँछन्। त्यतिकै स्वीकृत हुँदैन। बैंकले पनि मान्नुपर्छ।
मेरो सोचाई तथा परिकल्पना अनुसार अस्पताल चलेन। म एउटा सोचका साथ अगाडि बढ्न चाहन्छु तर त्यसअनुसार यहाँ काम हुन दिइएन। मैले जुन हिसाबले अस्पतालको परिकल्पना गरेको थिएँ, त्यो भन्दा धेरै फरक भयो। मेरो फिलोसोफी मिलेन। सबै कुरा नमिल्ने भएपछि यस्तो अस्पतालमा बसेर मैले थप अगाडि बढाउन सक्ने अवस्था देखिँन।
ग्राण्डी अस्पतालमा मैले एउटा सोच गरेको थिएँ– मल्टिस्पेसेलिटी हस्पिटल, इथिकल्लि ड्रिभन, सबै डाक्टरहरु एकजुट भएर स्टाफहरु मिलेर एकअर्काको खुट्टा नतानिकन् सबैलाई सपोर्ट गर्ने। तर त्यो परिकल्पना अनुसार काम गर्न दिइएन। देशको हेल्थलाई लिड गर्ने भनेर परिकल्पना गरेको ठाउँमा धेरै खालको राजनीति भयो, झूटको काम भयो, विवाद ल्याउने काम भयो, धेरैखालको कुरा भएपछि त्यो मेरो लागि ठिक भएन।
म बोर्ड मेम्बर र मेडिकल डाइरेक्टरको जिम्मेवारीमा नरहेपछि मलाई अप्ठ्यारो पारेनन् भने अस्पतालमा काम त गर्छु। तर मलाई अप्ठ्यरो पार्ने, मेरो कामहरुलाई बिगार्ने गर्यो भने त छोड्छु।
अस्पतालमा मेरो आफ्नै सेयर पनि छ। मेरो सेयर साढे ३ प्रतिशत छ तर मैले लिएर आएका साथीहरुको पनि त यसमा सेयरहरु छन्। तिनीहरुको जिम्मेवारी पनि मेरो काँधमा छ नि।
मेरो सेयर, मेरा डाक्टरहरु, मेरो ड्रिम, त्यसपछि आफ्नो १०,११ वर्षको मेहनत भयो धेरै कुरा छ नि। मैले आफ्नो सबै सम्पति यहीँ लगानी गरेको हो नि त। कुरा यही हो। मैले छोड्न चाहेको हो। तर कानुनी प्रक्रियाहरु छन्। उनीहरुले मैले छोडेको हो भन्ने पत्र दिएका छैनन्।
अरुहरुले नै लिड गरुन् भन्ने हो तर, सेयर होल्डरहरु सबैले त्यही खालको कुरा गर्नुभयो भने मेरो सपोर्ट रहन्छ। आफूले बनाएको संस्थामा माया भइहाल्छ नि। यसको प्रगति होस् भन्ने भइहाल्छ नि। आफूले नै बनाएको संस्थालाई बिगार्ने इच्छा त कहिल्यै पनि हुँदैन।