कोरोना भाइरस संक्रमणले महामारीको रुप लिँदा विश्वले नै आर्थिक, सामाजिक संकट सामना गर्नुपर्यो। नेपाल लगायत सबै देशहरुलाई कोरोना संक्रमतिको उपचार व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो। नेपालमै पनि पहिलो र दोस्रो लहरको महामारीमा लाखौँ संक्रमित भए। ११ हजार भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमणको बढ्दो दरका कारण सरकारको ध्यान पनि कोरोना संक्रमतिको उपचार व्यवस्थापनमै बढी गयो। जसले गर्दा कोरोना महामारीको अपत्यक्ष असरको रुपमा अन्य रोगमा देखिन थालेको छ।
कोरोना महामारीको समयमा अन्य स्वास्थ्य सेवा प्रभावित हुँदा अहिले अन्य रोग तथा संक्रमण नियन्त्रण तथा न्युनिकरणको विषयमा चुनौती थपिएको छ।
कोरोना महामारीले क्यान्सरका बिरामीहरुमा पनि प्रत्यक्ष प्रभाव पारेको क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति बताउँछन्। कोरोना महामारीले क्यान्सर रोगको क्षेत्रमा पारेको प्रभाव, महामारीको समयमा क्यान्सरका बिरामीले भोग्नुपरेको समस्या तथा क्यान्सर रोगको हालको अवस्थाकाबारे स्वास्थ्यखबरकी रिता लम्सालले क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापतिसँग कुराकानी गरेकी छिन्ः
कोरोना महामारीका कारण क्यान्सर रोगका बिरामी तथा यो क्षेत्रमा कस्तो प्रभाव पारेको छ?
मानिसहरुले सोच्दै नसोचेको रुपमा कोरोना भाइरसको महामारी फैलियो। यसले स्वास्थ्य क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रलाई तहसनस पारेको छ। सुरुमा कोरोना लाग्दा सबैजना आत्तिएका थियौं। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थियो। किनकी क्यान्सर भएकाहरुमा पनि कसमा कोरोना छ, कसमा छैन भनेर थाहा पाउन गाह्रो हुन्थ्यो। त्यतिबेला हामीले काठमाडौं उपत्यकाबाट आउनेलाई ‘रेडजोन’ भनेर छुट्याएका थियौ। कतिलाई आइपुग्न नै गाह्रो थियो। तर उपचारका लागि आइसकेका क्यान्सरका बिरामीलाई कहाँ कसरी राख्ने? यही उपचाररत बिरामीसँगै राख्ने वा छुट्टै राख्ने भन्ने अन्यौलता थियो। हामीले उनीहरुलाई सहज रुपमा व्यवस्थापन गर्यौँ।
सबैभन्दा ठूलो असर चाँही महामारीको समयमा कोरोनाको डरले गर्दा जचाउन जानै छाडे। क्यान्सर पत्ता लागेपछि किमोथेरापी, रोडियोथेरापी गराइरहेका बिरामीहरु समेत काठमाडौं आउन धेरै डराए त्यतिबेला। कतिले बीचमा उपचार छाडे। कोरोनाले पनि भयावह रुप लिन थाल्यो। अब अहिले कोरोना महामारी अलि कम हुँदै गएको छ। त्यसपछि अहिले क्यान्सरका बिरामी उपचारका लागि आउन थाले तर उनीहरुमा क्यान्सरको स्टेज ३,४ तथा रोग बल्झिएको अवस्थामा आउन थाले। संक्रमण कम हुँदै गएका कारण बाहिर हिँडडुल गर्न अहिले धेरै सहज भइसकेको छ। क्यान्सरका बिरामीहरु सुरुवाती अवस्थामा पनि आउन थालेका छन्। तर, हामीले कोरोना महामारीको समयमा पनि भक्तपुर क्यान्सर अस्पताललाई एकदिन पनि सेवा बन्द हुन भने दिएनौँ। हामी सबै चिकित्सक कर्मचारीहरु मिलेर पूर्ण रुपमा सेवा सञ्चालन गरेका थियौँ। क्यान्सरका बिरामीहरु जो कोरोना संक्रमित पनि छन्। उनीहरुलाई लक्षित गरेर विशेष कोरोना वार्ड पनि सञ्चालन गर्यौँ।
लकडाउन तथा निशेधाज्ञाका कारण क्यान्सरका बिरामीले उपचारमा कस्ता समस्या भोग्नु परेको देख्नु भयो?
लकडाउन तथा निशेधाज्ञाको समयमा क्यान्सरका बिरामीलाई अस्पतालसम्म आइपुग्न नै समस्या थियो। किमोथेरापी गरिरहेका क्यान्सरका बिरामीले हरेक तीन सातामा किमोथेरापी लिनुपर्छ। तर ती बिरामीलाई आउन यातायातको सहजता थिएन। उहाँहरुलाई उपचार गरौं भन्ने त लाग्थ्यो तर आउन र आएपछि फेरि घर फर्किन समस्या थियो। उहाँहरुले रुट मिलाएर धेरै बिरामी एकैपटक महंगो भाडा तिररे पनि एम्बुलेन्समा जानुहुन्थ्यो। उपचाररत क्यान्सरका बिरामीलाई काठमाडौंमै बस्न पनि समस्या थियो। होटल, लजले पनि सहज रुपमा कोठा दिँदैनथे। बिरामी र बिरामीका आफन्त आवतजावत हुने भएकाले उनीहरुमा कोरोना होला र सर्ला कि भन्ने त्रास पनि थियो। अर्को हामीलाई पनि समस्या हुन्थ्यो। क्यान्सरको उपचार गराइरहेका बिरामीमा सेता रक्तकोष कम हुँदा उहाँहरुलाई ज्वरो आउने गर्छ। आउने वित्तिकै ज्वरो आएका बिरामीलाई उपचार गर्न नि समस्या हुन्थ्यो। कोरोना लागेर ज्वरो आएको हो वा क्यान्सरको उपचारले गर्दा ज्वरो आयो पत्ता लगाउन गाह्रो हुन्थ्यो। यस्तो समस्या हामीले आइसोलेसन वार्ड बनाएर ज्वरो आएका बिरामीलाई राखेर पीसीआर परीक्षण गराएर रिपोर्ट आएपछि मात्र क्यान्सर वार्डमा सार्ने गथ्र्यौं।
बिरामीलाई आउन र जान मात्र होइन, खान, बस्न र अत्य धेरै समस्याहरु थियो। तर, पनि धेरैले उपचार गराए। यस्तै समस्याहरुका कारण धेरैले उपचार नै पुरा नगरी घर फर्किएका घटना पनि हामीलाई याद छ। हामीसँग यकिन तथ्यांक त छैन। पहिला किमोथेरापीका लागि अस्पतालको बेड भरिभराउ हुन्थ्यो, बेड नपाउने अवस्था हुन्थ्यो। तर कोरोनाको समयमा उपचारका लागि आएका बिरामीले सहजै बेड भने पाउथे।
यसरी हेर्दा करिब ३० प्रतिशत बिरामीले उपचारका लागि आउनै नसकेको भन्ने बुझ्न सकिन्छ।
कोरोना महामारी पछि हाल अस्पतालमा आउने क्यान्सरका नयाँ बिरामीहरु कस्तो अवस्थाका बढी भेटिन्छन्?
कोरोना महामारीपछि अलि सहज अवस्था हुँदै गएपछि उपचारका लागि आउने क्यान्सरका बिरामी वृद्धि भएको छ। तथ्यांक हेर्ने हो भने, कोरोना महामारी अघि हरेक वर्ष ४ हजार क्यान्सरका नयाँ बिरामीहरु भक्तपुर क्यान्सर अस्पतालमा आउने गर्थे। तर कोरोना महामारीको सुरु भएको गत वर्ष २८ सय मात्र नयाँ बिरामी आए।
अब अहिले सहज भएपछि बिरामीहरु बढ्न थालेका छन्। अहिले डाइग्नोसिस पनि भइरहेको छ। नयाँ क्यान्सरका बिरामीहरु थपिँदै गइरहेका छन्। क्यान्सरको सुरुवाती अवस्थामै पनि बिरामी आउन थालेका छन्।
हाल उपचारका लागि आउने बिरामीहरुमा कस्तो अवस्था तथा स्टेजको क्यान्सर भेन्टिछ?
लकडाउन खुल्ने बित्तिकै आउने बिरामीहरु अघिकांश स्टेज ३, ४ अवस्थामा आएका थिए। हामीले उहाँहरुलाई सोध्ने गरेका थियौँ, लक्षण देखिसक्दा पनि उपचार गर्न किन नआएको भनेर, उहाँहरुको एउटै उत्तर हुन्थ्यो–‘कोरोना थियो डाक्टर साब’। उहाँहरुमा क्यान्सरले भन्दा पनि कोरोनाले पो नबाँचिने हो कि भनेर डर थियो। दोस्रो कुरा आउन सहज थिएन। स्थानीय स्वास्थ्यसंस्थामा पनि सहज थिएन उपचार गर्न। त्यसले गर्दा कोरोना महामारीमा क्यान्सरको लक्षण देखिएपनि उपचार गर्न कोरोना कम हुने अवस्था कुरेर बसे। जसले गर्दा लकडाउन खुल्ने बित्तिकै आउने बिरामीहरुमा स्टेज ३, ४ अवस्थामा पुगेका बिरामी धेरै भेटिए।
अहिले भने सुरुकै अवस्थामा पनि बिरामी आउन थालेका छन्।
नेपालमा कस्तो क्यान्सरका बिरामीहरु बढी छन्?
नेपालको मात्र नभइ विश्वभरीको तथ्यांकलाई हेर्दा सन् २०१८ को तथ्यांकलाई हेर्दा विश्वभर फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ। सन् २०२० को तथ्यांकमा भने स्तन क्यान्सरले पहिलो स्थान ओगटेको छ। जब कि फोक्सोको क्यान्सर महिला पुरुष दुवैमा हुन्छ भने स्नत क्यान्सर महिलामा बढी हुन्छ। स्तन क्यान्सरले ११ दशमबल ७ प्रतिशत ओगटेको छ।
नेपालमा नेसनल क्यान्सर रजिस्ट्री स्टाब्लिस भइसकेको छैन। तर इन्टिच्युसन बेसमा हेर्ने हो भने भक्तपुर क्यान्सर अस्पतालमा लगभग १३ प्रतिशत फोक्सोका क्यान्सर भएका बिरामी छन् भने ११ प्रतिशत स्तन क्यान्सरका बिरामी छन्। सबैभन्दा बढी फोक्सोको क्यान्सर छ। त्यसपछि स्तन क्यान्सरका बिरामी छन्। तेस्रो स्थानमा नाक, कान, घाटीको कयान्सर भएका बिरामी बढी छन्।
यी क्यान्सरका बिरामी बढी हुनुको कारण के हो?
क्यान्सर रोगको प्रमुख कारक तत्व भनेको वातावरणीय प्रदूषण, धुम्रपान नै हो। धुम्रपान भन्ने बित्तिकै धुम्रपान गर्ने व्यक्ति मात्र नभइ धुम्रपान गर्ने व्यक्तिको नजिकै जो हुन्छन् उनीहरुलाई हामी प्यासिब स्मोकर भन्ने गर्छौ। उहाँहरु पनि क्यान्सरको जोखिममा हुन्छन्।
अर्को स्तन क्यान्सरको कुरा गरौं। आजभोलिको आधुनिक जीवनशैली, ढिला बच्चा जन्माउने महिलामा पनि क्यान्सरको जोखिम हुन्छ। अर्को कुरा महिनावारी रोकिएपछि पनि एस्ट्रोजेन रिलेटेड हर्मोनहरुका कारण तथा वंशाणुगत कारणले पनि क्यान्सर हुन्छ। यसरी हेर्दा वातावरणीय प्रभाव, वंशाणुगत, भाइरस तथा खानपिनका कारण क्यान्सरको रोग बढ्दै गएको छ।
खानपानका कारण पनि क्यान्सर रोग बढ्दै गएको छ भन्नुभएको छ। खासगरी कस्तो खालको खानपानले क्यान्सर हुने जोखिम बढी हुन्छ?
आजभोली हामीले खाने सागसब्जी, तरकारीहरुमा किटनाशक औषधिको बढी प्रयोग गरिएको पाइन्छ। जसले गर्दा काष्टजिनिक बढी मात्रामा पाइन्छ। अर्को जंक फुडहरु बढी खाने गर्दा पनि क्यान्सर निम्तिएको पाइन्छ।
क्यान्सर रोगको उपचार महंगो छ भन्ने गरिन्छ। कस्ता क्यान्सरको उपचारमा कति देखि कतिसम्म खर्च हुन्छ। राज्यले उपचारमा दिने सहुलियत पर्याप्त छ?
नेपाल सरकारले दिने एकलाख रुपैयाँ छ। यस्तै बागमती प्रदेश सरकारले थप ५० हजार दिने गर्छ। यसले क्यान्सरको उपचारमा बिरामीले १ लाख ५० हजार रुपैयाँ सहुलियत पाउछन्। यो उपचार सहुलियत केही क्यान्सरको सुरुवाती अवस्थामै उपचारका लागि आउने बिरामीलाई पुग्न सक्छ। तर क्यान्सरको उपचारमा यति नै खर्च लाग्छ भनेर पहिला नै भन्न सकिने अवस्था हुँदैन। कतिपय क्यान्सरको उपचार ५,१० हजारले पनि पुगिरहेको हुन्छ। यो रोगको अवस्था हेरेर हुन्छ। कतिपय क्यान्सरको उपचारमा प्रयोग हुने औषधि एक साइकलको २०,३० वा ४० हजारले हुन्छ भने कुनै औषधिहरु लाखौँ रुपैया पर्ने पनि छन्। त्यसैले गर्दा क्यान्सरको उपचार यति नै लाग्छ भनेर भन्न सकिने अवस्था छैन।
क्यान्सरमा किमोथेरापी मात्र होइन, रेडियोथेरापी, सर्जरी सेवा पनि छ। यो सबै गर्नुपर्दा सरकारले दिने एक लाख रुपैयाँ सहुलियत पर्याप्त छैन।
घरखेत नै बेचेर क्यान्सरको उपचार गराएका बिरामीहरु पनि भेन्टिछन् भन्ने सुनिन्छ। यस्तो घटना पनि भेट्नुभएको छ?
हामीलाई बिरामीले सुरुमै त सुनाउँदैनन्। तर बिरामी आउँदाखेरी हामीले पहिलो कुरा बिरामी र बिरामीको आफन्तलाई रोगको अवस्थाको बारेमा बुझाउनुपर्छ। सुरुवाती अवस्थामै क्यान्सर पत्ता लाग्दा सरकारले दिने सहुलियतले पनि उपचार गर्न पुग्छ । तर अन्तिम अवस्थामा उपचारका लागि आउने बिरामीहरुमा कति साइकल किमोथेरापी गर्नुपर्छ भन्ने टुंगो नै हुँदैन। उनीहरुको लागि किमोथेरापी शरीरले धान्न सकेसम्म बाचुन्जेल नै गर्नुपर्ने हुन्छ। यस्तो अवस्थाबारे बिरामीलाई वा बिरामीका आफन्तलाई सुरुमै भन्नुपर्ने हुन्छ।
क्यान्सर पत्ता लागेका व्यक्तिहरु क्यान्सर हो भन्ने एकिन भइसकेपछि उपचार नै नगराइ घर फर्किनछन् भन्ने पनि सुनिन्छ। यो कुरा सत्य हो?
यस्ता धेरै बिरामीहरु छन्। केही समय अघिकै घटना सुनाउछु। भक्तपुर क्यान्सर अस्पतालमा एकजना ३२ वर्षीया महिलामा क्यान्सर पत्ता लाग्यो। अप्रेसन गरियो। त्यसपछि किमोथेरापी गर्नुपर्ने थियो। किमोथेरापी गरेपछि उहाँ निको हुनसक्नुहुन्थ्यो। तर बिरामी एकैपटक ९ महिनापछि सास फेर्न गाह्रो भएर आउनुभयो। यतिका समय किन नआउनुभएको भन्दा उहाँहरुले किमोथेरापीले झन् गाह्रो हुन्छ, कमजोर हुन्छ भन्ने सुनेर भन्नुभयो। जनमानसमा किमोथेरापीले मान्छे बाँच्दैन, झन् कमजोर हुन्छ भन्ने गलत बुझाइ छ। तर, त्यो होइन। किमोथेरापी गराएर बाँचेका धेरै मान्छेहरु छन्। २० वर्ष, ३० वर्ष बाँचेकाहरु पनि छन्।
क्यान्सर भन्ने बित्तिकै परिवार डराउने, आफन्तहरुले किमोथेरापी गर्न हुन्न, आयुर्वेद तिर जानुपर्छ भन्ने सुझाव दिने र उहाँहरु आयुर्वेदिक उपचार तिर पनि जाने गरेको र पछि आउँदा स्टेज ४ मा पुगेका बिरामीहरु पनि हुन्छन्।
कस्तो अवस्थामा क्यान्सर निको हुनै नसक्ने वा मृत्यु हुने जोखिम रहन्छ?
क्यान्सर लागेर मृत्यु हुनेको एकिन तथ्यांक छैन। तर क्यान्सर लागेर स्टेज ४ मा आउने बिरामीहरुलाई निको पार्न सकिँदैन। तर कुनै कुनै क्यान्सरमा भने स्टेज ४ मा पनि निको भएका छन्।
खासमा क्यान्सरको उपचारमा रहेका बिरामीले पनि खानपानमा विशेष ध्यान दिनुपर्छ होला? उपचारको क्रममा रहेका बिरामीले खानपानमा कसरी ध्यान दिने?
क्यान्सर लाग्ने कारक तत्वमध्ये आधुनिक जीवनशैली पनि हो। प्राकृतिक जीवनशैली र आधुनिक जीवनशैलीमा फरक हुन्छ। पहिला पहिला घरमा पकाउने घरमा खाने र शौच गर्न बाहिर जाने चलन थियो। अहिले बाहिर खाने घरमा शौच गर्न जाने चलन छ। हामीले खाने कुराहरुमा सकेसम्म जंकफुडहरु नखाने, किटनाशक औषधिहरु प्रयोग गरिएका तरकारी तथा फलफुल नखाने, व्यायाम गर्ने, धुम्रपान गर्नु हुँदैन। प्राकृतिक खानेकुरा खाने गर्दा क्यान्सरबाट बच्न सकिन्छ। भने क्यान्सर लागेर उपचार गराइरहेका बिरामीले पनि यही कुरालाई फलो गर्नुपर्छ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना दिवसको रुपमा पनि लिइन्छ। यसवर्ष मुख्य कस्ता कुरालाई प्राथमिकता दिइएको छ?
अक्टोबर महिनालाई पिंक महिना भन्छौं। यो महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइन्छ। यसमा स्नत क्यान्सरलाई बढी जोड दिनुको कारण स्नत क्यान्सर एकदमै बढीरहेको छ।
विश्वको तथ्यांक हेर्दा स्तन क्यान्सर हुने दर पहिलो नम्बरमा छ भने स्तन क्यान्सरबाट हुने मृत्युदर ५ औं नम्बरमा पर्छ। यसको अर्थ स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सक्यौ भने पूर्ण रुपमा निको पार्न पनि सकिन्छ, त्यसले गर्दा सर्वसाधारणमा स्तन क्यान्सरबारे सचेतना जगाउन यो महिनालाई पिंक अक्टोबरको रुपमा मनाइएको हो। महिलाहरुमा बढी हुने भएकाले पिंक अक्टोबर भनिएको हो। यो १९८५ मा युएस बाट सुरु भएको हो।
यस्तै पुरुषमा पनि स्तन क्यान्सर हुनसक्ने भएकाले अक्टोबर महिनाको तेस्रो सातालाई मेल ब्रेस्ट क्यान्सर अवरनेस वीक भनेर मनाउने गर्छौं। यसको उद्देश्य क्यान्सर रोगको समयमै पहिचान र उपचार गरी मृत्युदरलाई घटाउनु हो।
क्यान्सर रोगको क्षेत्रमा सरकारले दिने सहुलियत तथा यसको सचेतना तथा नियन्त्रणका लागि बनाइएका नीति योजना तथा कार्यक्रम कस्तो छ। अझै के गर्नुपर्छ?
पहिलो कुरा त क्यान्सर रोगको बारेमा सचेतना जगाउन पाठ्यक्रममा नै क्यान्सर रोगबारे उल्लेख हुनुपर्छ। जब क्यान्सरको लक्षण थाहा हुन्छ तर मान्छेले जचाउन जान्छ। दोस्रो कुरा जनमानसमा सचेतना बढाउन आवश्यक छ। क्यान्सरबारे जानकारी नहुदा पनि बिरामीहरु तेस्रो स्टेजमा मात्र आइपुग्ने गरेका छन्।
सुरुमा सचेतना हुँदा बिरामी सुरुवाती अवस्थामै आउछन् र समयमै उपचार हुन्छ मृत्युदर घटाउन सकिन्छ। जसले गर्दा क्यान्सरको उपचारमा खर्च पनि कम हुन्छ। सरकारले गाउँघरमा सचेतना पुर्याउन योजना तथा कार्यक्रम ल्याउन सकेको छैन।
क्यान्सरको शंका लाग्दा जचाउन जाने स्वास्थ्यसंस्था नजिक छैन। कहाँ जाने भन्ने जानकारी नै छैन। उनीहरुका लागि सरकारले हरेक जिल्लामा डाइग्नोष्टिक सेन्टर बनाउनपर्छ।
अन्त्यमा क्यान्सर रोग लाग्नै नदिन केके सुझाव दिन चाहनुहुन्छ?
क्यानसर रोगबाट बच्न पहिला त क्यान्सर सचेतना महिनामा बात्र नभइ वर्षभरी नै क्यान्सरबाट सचेत हुनुपर्छ। क्यान्सरको लक्षणबारे जानकारी राख्ने र समुदायलाई पनि सिकाउनुपर्छ। क्यान्सरको लक्षण देखिएमा वा क्यान्सर हो भन्ने शंका लागेका क्यान्सर जाँच गराउनुपर्छ।