काठमाडौं– स्वास्थ्य क्षेत्रका विभिन्न विषय तथा रोगहरुमा अनुसन्धान गर्ने, अनुसन्धानका लागि स्वीकृति दिने, नियमन गर्ने तथा नीति नियम बनाउने सरकारी निकाय हो, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्। परिषद्ले कोरोना महामारी सुरु भएपछि कोरोनासँग जोडिएका विविध विषयमा अनुसन्धानहरु गरेको परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवाली बताउँछन्।
तर परिषद्ले गर्ने अनुसन्धान र अध्ययन अझै पर्याप्त नभएको डा ज्ञवालीको भनाइ छ।
उनका अनुसार स्वास्थ्य क्षेत्रका अनुसन्धानका लागि परिषदमा पर्याप्त बजेट अझै छैन। तर सिमित स्रोत साधनमा पनि परिषद्ले अनुसन्धानात्मक कार्यहरुलाई निरन्तरता दिएको डा ज्ञवाली बताउछन्।
परिषद्ले गरेका अनुसन्धानबाट निस्कन निष्कर्षलाई परिषद्ले सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव पनि दिने गरेको डा ज्ञवालीले बताए।
तर, परिषदभन्दा माथिल्लो निकायका कतिपय व्यक्तिले अझै पनि स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने अनुसन्धानका विषय र भएका अनुसन्धानका आधारमा नीति कार्यक्रम बनाउनुपर्छ भन्ने विषयमा बुझ्न बाँकी रहेको डा ज्ञवालीले बताए।
नेपालमा स्वास्थ्य क्षेत्रका विषयमा सरकारी संस्थाले भन्दा गैर सरकारी निकायले बढी अनुसन्धान गरीरहेको तर तीनको निगरानी भने आफूहरुले गरेको डा ज्ञवालीले बताए। उनका अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा हुने ८० प्रतिशत भन्दा बढी अनुसन्धान व्यक्ति वा गैर सरकारी निकायले गर्ने गरेका छन्।
कतिपय अनुसन्धानहरु पेपर पब्लिकेसनमा मात्र सिमित भइरहेको भन्दै उनले अनुसन्धानमा सरकारी लगानी र दायरा बढाउन आवश्यक गहेको जानकारी दिए।
परिषद्ले आगामी दिनमा सबै मेडिकल पर्सनलाई प्रत्यक्ष सहभागि गराएर हस्पिटल बेसमा अनुसन्धान गर्न आवश्यक रहेको र त्यसका लागि उनीहरुलाई अनुसन्धानात्मक कार्यमा प्रोत्साहित गर्नुपर्ने उनले बताए।
परिषदले कोरोना भाइरससँग सम्बन्धित के कस्ता अनुसन्धानका काम अगाडि बढाइरहेको छ? यसरी भएका अनुसन्धानको नतिजा कस्तो देखिएको छ? खोपको ट्रायल, परिषद्ले गरेको अनुसन्धानका आधारमा बनेका स्वास्थ्यका नीति तथा कार्यक्रम लगायतका विषयमा केन्द्रीत भएर परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीसँग स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
हेरौं डा ज्ञवालीसँगको भिडियो वार्ता