काठमाडौं– कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप पुरा गर्न नपाएका सन् २०१५ ब्याचका मेडिकल विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।
सरकारद्वारा सुझाव पेश गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको हो।
सो कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप लगायतका कोर्ष बाँकी रहेका विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा मन्त्रालय अन्तर्गतका अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्रालयमा लेखि पाउने निर्णय गरेको छ।
उक्त निर्णयका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको छ। शिक्षा मन्त्रालयको सचिवस्तरिय निर्णय अनुसार कार्यदलको निर्णयको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराइएको शिक्षा मन्त्रालयका कर्मचारीले जानकारी दिए।
शिक्षा मन्त्रालयले स्वास्थ्यखबरलाई उपलब्ध गराएको उक्त निर्णय अनुसार मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यरत शाखा अधिकृत बंशी सापकोटाको हस्ताक्षरमा स्वास्थ्य मन्त्रालयमा कार्यदलको निर्णयसहितको पत्र पठाइएको छ।
सन् २०१५ ब्याचमा भर्ना भइ आवेदन गर्न बाँकी विद्यार्थीहरुलाई इन्टर्नसिपका लागि शिक्षा मन्त्रालय मार्फत आवेदन माग गर्ने निर्णय समेत कार्यदलले गरेको छ।
यस्तै सन् २०१६ ब्याचमा भर्ना भइ अध्ययन पूरा गर्न नसकेका विद्यार्थीहरुलाई नेपालमा अध्ययन अनुमति प्रदान गर्नका लागि के कस्तो व्यवस्था गर्न सकिन्छ सो विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने निर्णय समेत कार्यदलले गरेको छ।
चीनमा एमबिबिएस अध्ययन गरिरहेका नेपाली मेडिकल विद्यार्थीहरु कोरोना महामारीका कारण अध्ययन पुरा गर्न सकेका छैनन्। उनीहरुले इन्टर्नसिप गर्न नपाउँदा समस्या परिरहेको छ।
कोभिडका कारण नेपालमै बस्न बाध्य रहेका उनीहरुलाई नेपालमै इन्टर्नसिप गराउने व्यवस्था मिलाउन सरकारले कार्यदल गठन गरेको थियो।
मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा भएको बैठकले गत भदौ २३ गते प्राडा दिलिप शर्माको संयोजकत्वमा सो कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलमा संयोजक प्राडा शर्मासँगै सदस्याहरुमा प्राडा दिव्यासिंह शाह, प्राडा राजेन्द्र कोजु, डा लोचन कार्की, डा हरि प्रसाद लम्साल, डा मदन कुमार उपाध्याय र डा कृष्ण प्रसाद अधिकारी सदस्य छन्।
यसअघि सन् २०१४ ब्याचका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने निर्णय भइसकेको छ। सो निर्णयअनुसार प्रक्रिया अगाडि समेत बढीसकेको छ।
नेपालमा इन्टर्नसिपको माग गर्दै विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छन्। सोमबार पनि नेपाल मेडिकल काउन्सिल परिसरमा विद्यार्थीले धर्ना दिएका थिए।