काठमाडौं- सिन्धुपाल्चोक फलाँटेका ६० वर्षीय एक पुरुष ज्वरो आएको भन्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे। उनलाई एक सातादेखि ज्वरो आएको थियो। ज्वरोसँगै आँखा रातो हुने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, शरीर दुख्ने लक्षण पनि उनमा देखिएको थियो।
स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ती बिरामीलाई शरीरमा किराले टाकेको घाउजस्तो छ भनेर प्रश्न गरे। उनको शरीरमा किर्नाले टोकेको भागमा चिलाएर घाउको कालो दाग नै बसिसकेको थियो।
सबै चेकजाँचपछि स्क्रब टाइफस भए/नभएको पुष्टि गर्न परीक्षण गरियो। रिपोर्टले पनि उनलाई स्क्रब टाइफस भएको देखायो।
उनी जस्तै दैनिक बिरामी स्क्रब टाइफसको समस्या दैनिक शुक्रराज अस्पताल पुग्ने गर्छन्। स्क्रब टाइफसको समस्या हाल बढ्दै गइरहेको डा पुनले बताए। उनका अनुसार स्क्रब टाइफसको समस्या धेरैजसो साउन र भदौ महिनामा देखिन्छ।
मुसामा लाग्ने किर्नाजस्तो किराले टोक्दा यसको संक्रमण हुन्छ। विशेषगरी कृषक समूह यसको जोखिममा पर्छन्। ज्वरो आउनु, टाउको दुख्नु, आँखा रातो हुनु लगायत यसको लक्षण हुन्। यो एक प्रकारको ब्याक्टेरियल संक्रमण हो।
यो रोग सामान्य भएपनि हेलचक्याई गर्दा जटिल रुप लिइ बिरामीको मृत्यु समेत हुने डा पुन बताउँछन्। मुसाको वृद्धि विकास रोक्नु र समयमै उपचार गर्नु नै यसबाट बच्ने उपाय हुन्।