काठमाडौं– कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा संक्रमण दर उच्च बिन्दुमा पुग्दा वीर अस्पतालको आकस्मिक सेवा कक्ष अगााडि एम्बुलेन्सको लाइन कहिल्यै टुट्दैन थियो।
एम्बुलेन्सभित्र अक्सिजन सपोर्टमा रहेका बिरामीहरु आकस्मिक सेवा लिन समेत पालो कुरेर बस्नुपर्ने अवस्था थियो।
आकस्मिक सेवा कक्षभित्र पनि केही बिरामी अक्सिजन नपाएर त केही आईसीयू र भेन्टिलेटर नपाएर छट्पटाइरहेका हुन्थ्ये। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बिरामीको श्वास जोगाउन हम्मेहम्मे पर्ने अवस्था थियो।
वीर अस्पतालको पुरानो भवन परिसरमा कोरोना परीक्षण गर्ने तथा उपचारका लागि आउने बिरामीको भिड देखिन्थ्यो। कोरोना संक्रमतिकै चाप बढेकाले अस्पतालमा ननकोभिड सेवा समेत प्रभावित भएको थियो।
तर, अहिले अवस्था फेरिएको छ। सरकारले वीर अस्पताल परिसरमा बनेको नयाँ सर्जिकल भवनसहित वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल बनाएको छ। सुरुमा पुरानै भवनमा कोभिड र ननकोभिडका बिरामीको उपचार गरेको अस्पतालमा अहिले भने फरक व्यवस्था छ।
वीर अस्पतालको पुरानो भवनमा कोभिडका बिरामी प्रवेश गर्दैनन्।
पुरानो भवनलाई ननकोभिड सेवा सञ्चालन गर्नेगरी व्यवस्थापन गरिएको छ भने कोभिडका बिरामी तथा पीसीआर परीक्षण गर्नेहरु अस्पतालको नयाँ सर्जिकल भवनमा पुगेर सहज रुपमा सेवा लिन पाउँछन्।
सर्जिकल भवनमा कोभिडसम्बन्धी सबै सेवा सञ्चालन भएसँगै पुरानो भवनमा ननकोभिडका सेवा प्रवाह भइरहेको कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतले बताए।
डा बस्नेतका अनुसार हाल कोभिडका बिरामीले उपचारका लागि आउँदा पालो कुर्नुपर्ने अवस्था छैन। सर्जिकल भवनमा नै कोभिड संक्रमितका लागि आकस्मिक सेवादेखि आइसोलेसन, एचडीयू र आइसीयू सेवा दिने गरिएको छ।
हाल अस्पतालमा कोभिडका बिरामीको चाप स्थिर छ भने ननकोभिड बिरामीको चाप बढ्दै गइरहेको छ।
ननकोभिडका विशेषज्ञ तथा अति विशेषज्ञ सेवा प्रवाह गर्दै आएको वीर अस्पतालमा हाल कोभिड र ननकोभिड दुवै प्रकारका बिरामीलाई सेवा दिइरहेको डा बस्नेतको भनाइ छ।
‘अहिले हामीले कोभिड र ननकोभिड दुवै खालका बिरामीलाई उत्तिकै महत्वका साथ सेवा दिइरहेका छौं,’ उनले भने, ‘ननकोभिड सर्भिस पुरानो भवनमा छ, कोभिडको सर्भिस सर्जिकल भवनमा चलिरहेको छ।’
ननकोभिड सेवातर्फ भर्ना हुनुपर्ने अवस्थाका विभिन्न रोगका बिरामीहरुलाई भर्ना गर्ने, सर्जरी सेवा सञ्चालन भइरहेको डा बस्नेताको भनाइ छ।
उनका अनुसार हाल दैनिक करिब १५ सय ननकोभिड बिरामीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन्। भर्ना भएर उपचाररत ननकोभिड बिरामीहर २०० भन्दा बढी छन्।
यस्तै, कोभिड सेवातर्फ पुरानो भवनको पछाडि ९ वटा आइसीयू बेड कोरोना संक्रमितकै लागि सञ्चालित छ भने सर्जिकल भवनमा कोभिडको आकस्मिक सेवा, ओपीडी सेवा र पोस्टकोभिड सेवा सञ्चालन भइरहेको छ।
‘कोरोना संक्रमित बिरामी कतै अल्झिन नपरोस् भनेर नयाँ भवनलाई कोभिड आकस्मिक, ओपीडी, पोस्टकोभिड ओपीडी लगायत सबै सेवा सञ्चालन गरेका छौं,’ डा बस्नेतले भने, ‘कोभिड लागेको आशंकामा आउने बिरामीलाई सर्जिकल भवनमै फिवर क्लिनिक र पीसीआर तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था समेत मिलाएका छौं।’
उनले केही दिनमा कोभिडका बिरामीका लागि फार्मेसी सेवा समेत सर्जिकल भवनमै सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिए।
सर्जिकल भवनमा हाल २०६ वटा बेड कोरोना संक्रमितका लागि छुट्याइएको छ।
डा बस्नेतका अनुसार उनले जिम्मेवारी पाउनुअघि वीरमा १०३ बेड मात्र कोभिड बिरामीका लागि सञ्चालमा रहेका थिए। जसमध्ये ९ वटा आइसीयू र ९४ वटा जनरल बेड मात्र सञ्चालनमा रहेका थिए।
‘त्यहाँ १०० बेडको आइसीयू, १०० बेडको एचडीयू सञ्चालनमा थियो भन्ने दाबी पनि गरिएको थियो, तर अस्पतालमा बेड राख्दैमा आइसीयू हुने भए काठमाडौं भरिका सबै अस्पतालका बेडलाई आइसीयू भनिदिए हुन्छ,’ डा बस्नेतले भने, ‘बेड हुँदैमा आइसीयू हुँदैन। धेरै कुरा चाहिन्छ।’
आफूले जिम्मेवारी पाएपछि कोभिडका बिरामीका लागि थप बेड तथा सेवा विस्तार र व्यवस्थित गरेको डा बस्नेतको दाबी छ। डा बस्नेतका अनुसार वीर अस्पतालमा हाल २०६ बेड कोरोना संक्रमितका लागि व्यवस्थापन गरिएको छ। जसमा ५० वटा आइसीयू, १०० बेड एचडीयू र ५२ वटा जनरल बेडहरु सञ्चालनमा छन्।
बस्नेतका अनुसार मंगलबारसम्म वीर अस्पतालमा १०८ जना संक्रमित भर्ना भएर उपचाररत थिए भने आइसीयुमा ३० जना बिरामी उपचाररत छन्।
अस्पतालमा सेवा विस्तार भएकाले केही जनरल बेड, एचडीयू र आइसीयू बेड खाली नै रहेको डा बस्नेतले सुनाए। उनले हाल कोरोना संक्रमितको चाप स्थिर अवस्थामा रहेको जानकारी दिए।
‘मैले जिम्मेवारी पाएको एक महिना हुन लाग्यो, यो एक महिनामा बिरामीको चाप स्थिर छ,’ उनले भने, ‘यो एक महिनामा कम बिरामी हुँदा दैनिक ९७ जना भर्ना भएका छन् भने बढीमा १२० जनासम्म थिए, यसले गर्दा अहिले संक्रमितको अवस्था स्थिर छ भन्न सकिन्छ।’
उनले कोरोना संक्रमित बढ्ने अवस्था रहेमा बेड तथा सेवा थप गर्न तयारी अवस्थामा रहेको जानकारी दिए।
बिरामीको आवश्यकताअनुसार केही दिनमा थप ५० बेड आइसीयु सञ्चालन गर्ने योजना रहेको र आवश्यकता पर्दा सर्जिकल भवनमा ५०० बेडको कोभिड सेवा सञ्चालन गर्न सक्ने अवस्था रहेको डा बस्नेतको भनाइ छ।
आफूले जिम्मेवारी पाउनुअघि जिम्मेवारीमा रहेका डा जागेश्वर गौतमले भनेजस्तो १०० बेड आइसीयू सञ्चालनमा नरहेको दाबी बस्नेतले गरे।
‘उहाँ (गौतम)ले १०० वटा बेड त रेडी गर्नु भएको थियो, तर आइसीयू तयार थिएन, मनिटर, भेन्टिलेटर फिट गरिएको थिएन, मनिटर वाल फिट हुने खालको थिएन,’ उनले भने, ‘त्यो वालमा फिट हुने अवस्था नभएकाले हामीले स्ट्यान्ड बनाउन पर्ने भएकाले आइसीयू सेवा विस्तार गर्न केही समय लाग्यो।’
ननकोभिड सेवा व्यवस्थित गरिँदै
डा बस्नेतले वीर अस्पतालमा ननकोभिड सेवालाई पनि व्यवस्थित गर्दै लगिएको जानकारी दिए। वीर अस्पतालमा यसअघि पनि निर्देशकको भूमिका निर्वाह गरिसकेका डा बस्नेतले आफैंले सुरुवात गरेको टिकटमा टोकन सिस्टम पुनः सञ्चालनमा ल्याएको बताए।
‘म यसअघि नै निर्देशकको जिम्मेवारीमा हुँदा बिरामीलाई सजह होस भनेर ओपीडी टिकटमा टोकन सिस्टम राखेको थिएँ,’ उनले भने, ‘पछि फेरि त्यो सिस्टम बन्द भएको थियो, मैले फेरि सुरु गरेको छु।’
कोरोना संक्रमणका कारण रोकिएको मिर्गौला प्रत्यारोपणको सेवा पुनः सुरु गर्न लागिएको पनि डा बस्नेतले बताए।
उनले वीर अस्पतालमा ८३१ दरबन्दी थप भएकाले सो दरबन्दी लोकसेवा आयोगमार्फत परिपूर्ति हुने पनि बस्नेतले जानकारी दिए। उनले कोरोना महामारीमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापनका लागि भने केहीलाई करार सेवामार्फत नियुक्त गरिएको जानकारी दिए।
भिडियो : अनुराग लम्साल