कोरोना संक्रमणका कारण भएको लकडाउन तथा निषेधाज्ञाका कारण समग्र स्वास्थ्य सेवा प्रभावित भए। जसले गर्दा आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप समस्याहरु बढ्न सक्ने विज्ञहरुले बताउँदै आएका छन्। कोरोना संक्रमणकै कारण नभएपनि यसको प्रभावले आँखा स्वास्थ्यका क्षेत्रका पनि असर पारेको छ। कोरोना संक्रमणका कारण आजभोलि गाउँगाउँमा आँखा शिविरका कार्यक्रम सञ्चालन भएको छैन। जसले गर्दा भोलिका दिनमा अन्धोपन तथा आँखासँग सम्बन्धित रोग तथा समस्याहरु बढ्न सक्ने तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले बताइन्। कोरोना संक्रमणको समयमा आँखा स्वास्थ्यका कार्यक्रमहरु कसरी सञ्चालन भयो? कोरोना प्रभावले आँखा स्वास्थ्यमा कस्तो असर परेको छ? लगायतका विषयमा डा गुरुङसँग स्वास्थ्यखबरका लागि रिता लम्सालले गरेको कुराकानी :
तिलगंगा आँखा प्रतिष्ठानले कोरोना संक्रमणको समयमा आँखासँग सम्बधित रोग तथा समस्या भएका बिरामीलाई कसरी सेवा प्रवाह गर्यो?
कोरोना संक्रमणको पहिलो लहरको उच्च विन्दुमा पुगेको अवस्थामा हामी सबै नै ‘प्यानिक’को अवस्थामा थियौं। हामी सबैलाई डर लाग्थ्यो। एकजना बिरामी कोरोना पोजिटिभ भयो भने उहाँसँग सम्पर्कमा रहेका ६०–७० जनाको समूह नै लिएर पिसिआर गर्न जानेगर्थ्यौं।
दोस्रो लहरको संक्रमणको समयमा भने त्यस्तो धेरै त्रासको अवस्था भने भएन। हामीले संक्रमणको सुरुवाती अवस्थादेखि नै हाम्रो स्टाफलाई कसरी बचाउने, बिरामीलाई कसरी बचाउने भनेर ध्यान दियौं। काम गर्ने चिकित्सक तथा कर्मचारीलाई पिपिई दिने, कोरोना संक्रमित बिरामीसँग सम्पर्क भएमा कोरोना परीक्षण गर्ने काम गर्यौं।
कोरोना संक्रमणको समयमा बिरामी उपचारका लागि आउँदा पहिला त्यो बिरामी कहाँबाट आएको हो सोधपुछ गरेर सोही अनुसार कोरोना संक्रमणको रेडजोन क्षेत्रबाट आएका बिरामीलाई त्यही अनुसार सुरक्षित हुने गरी काम गर्यौं। पहिलो लहरको कोरोना संक्रमणको समयमा स्टाफहरुको ड्युटी सिफ्ट पालैपालो गरी मिलाउने र फेरि होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गर्यौं। स्टाफहरुलाई तीन भागमा बाडेर सोही अनुसार ड्युटीमा खटायौं।
दोस्रो लहरको संक्रमणको समयमा भने अलि फरक गर्यौं। पिपिई लिने, संक्रमित बिरामीको सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्ने र कोरोना पोजिटिभ भएमा १४ दिनसम्म तलबी बिदा दिने गर्यौं। दोस्रो लहरको संक्रमणको समयमा हामी धेरै त्रासमा थिएनौं। जनस्वास्थ्यको मापदण्डलाई पालना गरेर सेवालाई कसरी निरन्तर राख्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित थियो। किनकी यो गाह्रो समयमा स्टाफलाई तलब नदिइ पनि भएन, उपचारका लागि आएका बिरामीलाई सेवा पनि दिनपर्यो। सरकारले हाम्रो जस्तो अस्पतालहरुलाई कोरोना महामारीमा आर्थिक सहायता नगरेको हुनाले स्टाफको तलब सुविधा लगायत सबै जिम्मेवारी हाम्रो नै थियो।
कोरोना संक्रमण देखिनुअघि, संक्रमणको समयमा र अहिले आँखाका बिरामीको चापको अवस्था कस्तो छ?
सामान्य अवस्थामा कोरोना संक्रमणअघि हाम्रो अस्पतालमा दिन करिब ८ सय देखि ९ सय बिरामी आउथे। कोरोना संक्रमणको पहिलो लहरमा बढिमा ५० देखि ६० जना मात्र थिए। दोस्रो लहरको संक्रमणको पिक आवरमा बढिमा दैनिक २५० जना मात्र बिरामी हुन्थ्यो। निषेधाज्ञा खुकुलो भएपछि अहिले दैनिक ७ सयजना बिरामी आइरहेका छन्।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा प्रतिष्ठानको कुनै पनि सेवा बन्द भएनन्?
पहिलो लहरको कोरोना संक्रमणको समयमा हामीले गर्नेपर्ने आकस्मिक अप्रेसन, आकस्मिक उपचार सेवा मात्र सञ्चालन गर्यौं। तर यो वर्ष भने अप्रेसन गर्नुपर्ने सबै बिरामीलाई पिसिआर गरायौं। सबैको सर्जरी नर्मल तरिकाले नै गरायौं। तर सर्जरी गराउनुपर्ने बिरामीको चाप भने कम थियो। किनकी निषेधाज्ञाको समय भएकाले बिरामीलाई उपचारका लागि आउन सहज पनि थिएन। तर पनि जो बिरामी आए उनीहरुलाई कुनै पनि सेवा बन्द गरेनौं।
तिलगंगामा आँखाका बिरामीको उपचारसँगै लेन्स उत्पादन, गाउँगाउँमा आँखा शिविर लगायतका कार्यक्रमहरु पनि सञ्चालन भइरहेको हुन्थ्यो। कोरोना संक्रमणले यी कार्यक्रम कति प्रभावित भयो?
तिलगंगामा विभिन्न युनिट छ। उपचार सेवासँगै हामीले मोतिबिन्दुको उपचार पछि आँखामा चाहिने लेन्स उत्पादन गर्छौं। हाम्रो एकेडेमिक प्रोगाम तथा तालिम, आँखा बैंक, लगायतका विभिन्न कार्यक्रम छ। अहिले कोरोनाले प्रत्यक्ष असर गरेको कार्यक्रम भनेको आँखा शिविरको कार्यक्रम हो। आँखा शिविर सञ्चालन गर्न उपत्यका बाहिर जान सक्ने अवस्था त छ तर शिविर सञ्चालन गर्न मानिसहरु जम्मा गर्नुपर्छ। भिडभाड हुनसक्छ र कोरोनाको जोखिम हुनसक्छ। त्यसैले अहिले शिविर सञ्चालन गर्न सक्ने अवस्था छैन। अर्को कुरा कोरोना संक्रमणका कारण अस्पतालको आम्दानिमा पनि असर परेको छ। त्यसैले हामी अहिले आफैंले खर्च गरेर शिविर सञ्चालन गर्न सक्ने अवस्था पनि छैन। त्यसका लागि दाताहरुको भर पर्नुपर्ने हुन्छ। हामी बाहिर जान नसकेपछि कुनै पनि गाउँठाउँबाट काठमाडौंसम्म आइपुगेका गरिब विपन्न परिवार छन् भने उनीहरुलाई दातासँग कुरा गरेर निःशुल्क सेवा दिन थालेका छौं।
कोरोना संक्रमणको समयमा अस्पतालहरुमा बिरामीको चाप घटेको भन्नुभयो। बिरामी नै घटेको अवस्था त होइन होला? कोरोना संक्रणको प्रभावले भोलिका दिनमा आँखा स्वास्थ्यमा कस्तो प्रभाव पर्न सक्छ?
कोरोनाको डरका कारण समयमा नै उपचारको दायरामा आउन नसकेका बिरामी धेरै नै छन्। यसले भोलिका दिनमा दृष्टिविहीनको संख्या बढ्ने खतरा बढेको छ। जो मान्छेहरु पहिला नै आएर उपचार गर्दा अन्धोपनबाट बच्न सक्नुहुन्थ्यो, तर उहाँहरु समयमा उपचारका लागि आउन सक्नुभएन। त्यसले गर्दा अन्धोपनको समस्या बढ्छ। आँखका बिरामीहरुले चाहेको समयमा सेवा पाउन् भनेर हामीले अर्को पनि कार्यक्रम ल्याउन लागेका छौं। भदौ १६ गतेदेखि सेवा विस्तार गर्ने योजना छ। हाम्रो स्टाफलाई दुई सिफ्टमा काम गर्ने गरी मिलाएर बेलुका साढे ६ बजेसम्म सेवा दिने व्यवस्था मिलाउन लागेका छौं। यसले गर्दा मानिसहरुको बिहान मात्र भिडभाड हुने अवस्था पनि हुँदैन। कामकाजी मानिसहरु पनि कार्यालय समय सकेर पनि आँखा परीक्षण तथा उपचारका लागि आउन सक्छन्। त्यसका लागि फोनबाट, इसेवा, वेवसाइड मार्फत नाम टिपाउन सक्छन्।
नेपालमा आँखासँग सम्बन्धित कस्ता रोग तथा समस्या बढी छ?
नेपालमा मोतिबिन्दुको कारण हुने अन्धोपनको समस्या नै बढी छ। अन्धोपनको मुख्य कारण मोतिबिन्दु नै हो। ५० देखि ६० प्रतिशत व्यक्तिमा मोतिबिन्दुकै कारण अन्धोपनको समस्या भएको देखिन्छ। अहिले उच्च रक्तचाप, मधुमेहको समस्या बढ्दै गर्दा आँखाको पर्दा सम्बन्धि रोगहरु पनि बढेर गएको छ। यस्ता रोगको समयमा उपचार नहुँदा पैसा पनि धेरै खर्च हुने ढिला हुँदा अन्धोपना नियन्त्रण गर्न पनि नसक्ने अवस्था हुनसक्छ। अर्को कुरा जलविन्दुको समस्या पनि बढेको छ।
यी रोग तथा समस्याको समयमै पहिचान र निदानका लागि के गर्न सकिन्छ? आँखा स्वास्थ्यका समस्या समाधानका लागि सरकारले पनि के गर्न आवश्यक छ?
कोरोनाकै त्रास मानेर सधै घरभित्र नै बसेर मात्र पनि हुँदैन। स्वास्थ्य मापदण्ड पालना गर्दै काम गर्नुपर्छ। कोरोना संक्रमण कहिलेसम्म रहन्छ थाहा छैन। त्यसैले स्टाफ र बिरामी सबैले जनस्वास्थ्यको मापदण्ड पालना गरेर सेवा सञ्चालन गर्नुपर्छ। हामीले स्वास्थ्यको मापदण्ड अपनाएर काम गर्दा असजिलो पनि छैन।
हामीजस्तो गैरसरकारी अस्पतालहरुले पनि महामारीमा आफ्नो भुमिका निभाएका छौं। महामारीको समयमा हामीलाई आर्थिक समस्याको सामना गर्नुपर्यो। कतिपय स्टाफहरुलाई बिदामा बसिदिनुस् भन्नुपर्ने अवस्था समेत आयो। यस्तो अवस्थामा सरकारले केही सहयोग गरिदिए सहज हुने थियो। असम्भव कुरा छैन, बिरामीको शुल्क तिर्न सक्ने क्षमता घटेको हुँनाले सोही अनुसार सेवा हुन आवश्यक छ। नेपालमा प्राय सबै आँखा अस्पतालहरु गैर सरकारी अस्पताल हुन्। त्यसैले यी सबै अस्पतालहरुलाई अहिले आर्थिक संकट परेको छ। तिलगंगा मात्र होइन, सबै आँखा अस्पतालको तर्फबाट म भन्न चाहन्छु सरकारले केही सहयोग गर्नुपर्छ।
कोरोना संक्रमणबाट जोगिन अस्पतालमा आउने बिरामीलाई कस्तो नियम बनाइएको छ?
बिरामी तथा जो कोही व्यक्ति मास्क नलगाइ अस्पतालभित्र प्रवेश गर्न पाउनुहुन्न। अस्पतालभित्र ठाउँ ठाउँमा स्यानिटाइजर राखेका छौं। तर पनि हामीले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सकिरहेका छैनौं। बिरामीहरु ढोकामै झुम्मिनुहुन्छ। पालो आएपछि मात्र जाने बानी गर्नुपर्ने हो। जनस्वास्थ्यको मापदण्ड पालना गराउन कठिन नै भइरहेको अवस्था छ।
अर्को कुरा अप्रेसन गर्नुपर्ने सबै बिरामीलाई पिसिआर अनिवार्य गरेका छौं। किनकी हामीले लक्षण नभएका व्यक्तिलाई अप्रेसन गर्नुअघि पिसिआर पोजिटिभ आएर अप्रेसन रोक्नु परेको अवस्था पनि धेरै भोगेका छौं। अहिले लक्षण बिहीन कोरोना संक्रमित यत्रतत्र घुमिरहेका छन्। त्यसैले कोरोना संक्रमणको जोखिममा हामी अझैपनि छौं।
कोरोना संक्रमित आँखाका बिरामीलाई कसरी सेवा दिने गर्नुभएको छ?
कोरोना संक्रमित आँखाका बिरामीलाई आकस्मिक उपचार तथा अप्रेसन गर्नुपर्ने अवस्थामा उपचार गर्ने गरेका छौं। त्यस्ता बिरामीलाई छुट्टै अप्रेसन गर्ने स्थान नै बनाएका छौं। तर कोरोना पोजिटिभ भएको बिरामीलाई आकस्मिक उपचार बाहेक जस्तो मोतिबिन्दु लगायत पछि गरेपनि हुने सर्जरी तथा उपचारलाई भने कोरोना निको भएपछि मात्र गर्ने गरेका छौं। तर आँखा पाकेर आएको, फुटेर आएको, चोट लागेको बिरामी छ भने उनीहरुलाई चाँही उपचार सेवा दिने गरेका छौं।
आजभोलि आँखासँग सम्बन्धि कस्ता समस्या भएका बिरामी बढी छन्?
आजभोलि आँखा नदेख्ने समस्या भएर आएका बिरामी मोतिबिन्दु भएर आउने गर्छन्। कतिको चस्मा लगाउनुपर्ने अवस्था भएर आउछन्। अहिले अर्को समस्या पनि बढेर गएको छ। कोरोनाको अप्रत्यक्ष असर के छ भने कोरोनाले गर्दा धेरै बालबालिका घरभित्रै सिमित छन्। उनीहरु पढ्ने र खेल्ने माध्यम मोबाइल, ल्यापटप, कम्प्युटर बनेको छ। जसले गर्दा लामो समयसम्म मोवाइल, कम्प्युटर ल्यापटपमा हेरिरहने बानीले उनीहरुको आँखामा असर परेको छ। धेरै अभिभावक आउनुहुन्छ मेरो बच्चाले टाढाको कुरा नै देख्दिन भन्छ भन्दै।
अध्ययन अनुसन्धानहरुले पनि भनेको छ। मानिस जति नजिकको कुरामा ध्यान दिएर हेर्नुपर्ने हुन्छ त्यति नै पावरवाला चस्मा लगाउनुपर्ने हुन्छ।
बालबालिकाले पढ्दै नपढ्ने होइन। तर हरेक विषयको अनलाइन क्लास हुँदा ४५ मिनेटपछि १५ मिनेट ब्रेक हुन्छ। त्यो ब्रेकको समयमा पनि बालबालिका कम्प्युटर, ल्यापटप, मोबाइलमा नै खेलिरहेका हुन्छन्। त्यो समयमा यस्तो गर्नु भएर मोबाइल, ल्यापटप, कम्प्युटरमा खेल्ने बानी कम गराउनु पर्छ। त्यो भयो भने समस्या केही कम गर्न सकिन्छ।
कोरोना संक्रमणपछि विभिन्न स्वास्थ्य समस्या देखिएको गुनासोहरु पनि आइरहेको छ। कोरोना लागेर निको भएपछि आँखाको दृष्टि कमजोर भएको वा आँखामा समस्या देखिएका बिरामी उपचारका लागि आएको पाइन्छ?
कोरोना लागेकै कारण आँखामा समस्या देखियो भनेर आउने बिरामी खासै आएको देखिएको छैन। एक महिना अगाडि कोरोना संक्रमणपछि ‘ब्ल्याक फंगस’को बिरामीहरु देखिएको कुरा भने आएको थियो। म्युकरमाइकोसिसले हुने ब्ल्याक फंगस एकदमै सिकिस्त भएपछि हुने समस्या हो र यो रोग नाकबाट सुरु भएर आँखासम्म फैलिने गरेको पाइन्छ। हाम्रो अस्पतालमा कोरोनाका सिकिस्त बिरामीलाई उपचार सेवा नदिने अस्पताल भएकाले ब्ल्याक फंगसका बिरामीको उपचार हामीले गर्नु परेन। सायद यस्ता बिरामी टिचिङ, वीरमा उपचार गराएकाले पनि हामीले यस्ता बिरामी हेर्न परेन।
तिलगंगाले सञ्चालन गर्ने आँखा शिविरका कार्यक्रम कहिलेदेखि सुरु होला?
अहिले नै भन्न सकिने अवस्था छैन। पहिलो लहरको संक्रमण कम भएपछि हामीले धादिङमा शिविर सञ्चालन गरेका थियौं। हामी जिल्ला जिल्लामा गएर शिविर सञ्चालन गर्न सक्छौं । तर त्यहाँ अहिले भिडभाड गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले अहिले नै शिविर सञ्चालन गर्न सक्ने अवस्था छैन। शिविर गर्न नसकेपनि शिविर सञ्चालन गर्ने योजना भएका जिल्लाबाट आएका बिरामी जो पैसा तिरेर उपचार गराउन सक्दैनन् उनीहरुलाई निःशुल्क सेवा दिन्छौं।
कोरोना संक्रमणको त्रासमा उपचार गर्न अस्पताल जान नचाहेका व्यक्तिहरुलाई के सुझाव दिन चाहनुहुन्छ?
जो व्यक्तिमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्याहर पहिलादेखि नै छ। क्यान्सरका बिरामीहरु छन्। उनीहरुमा रोगसँग लड्ने क्षमता कम हुन्छ। उहाँहरु सकेसम्म भिडभाडमा जानु उपयुक्त हुँदैन। अहिले लक्षण नभएका संक्रमित पनि हिँडिरहेका छन्। तर जो स्वस्थ व्यक्तिहरु छन् उनीहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेर अस्पतालमा आउदा त्यति धेरै खतरा छैन। उनीहरु आउन सक्छन्। जस्तो चस्मा लगाउनुपर्ने बालबालिकाले देख्न छाडेको छ र चस्मा लगाइदिएका छैनौं भने उनीहरुले पढ्न तथा अन्य क्रियाकलाप गर्न पनि त सक्दैनन्। त्यसकारण सुरक्षाका मापदण्ड अपनाएर सेवा लिन आउन सकिन्छ। वा फोन तथा अन्य भर्चुअल माध्यमबाट पनि परामर्श लिन सकिन्छ।
अन्त्यमा आँखा स्वास्थ्यका ख्याल गर्न के–के सुझाव दिन चाहनुहुन्छ?
अमेरिकाको अमेरिकन एकेडेमी अफ अफ्थाल्मोजोलीले २०,२०,२० को अवधारण ल्याएको छ। यसको अर्थ तपाईं २० मिनेट नजिकको वस्तु वा कम्प्युटरमा हेर्नु हुन्छ भने २० सेकेन्ड २० फिटको दुरीमा हेर्नुपर्छ। जसले तपाईंको आँखालाई आराम मिल्छ। आँखालाई बेलाबेलामा आराम दिनुपर्छ।
त्यो भयो भने आँखा थाक्दैन, धेरै सुख्खा हुँदैन। आँखालाई सफा राख्नुस्। आँखामा चोट लाग्दा सानो चोट हो भनेर नबस्नुस्। धेरैको बानी हुन्छ मकैको पातले पाछेको त हो भनेर उपचार नगराइ बस्ने जसले गर्दा पाछेको ठाउँमा संक्रमण भएर ठूलो समस्या निम्तिन सक्छ। त्यसैले आँखामा चोट लाग्दा आँखा अस्पतालमा उपचार गराउन जानुपर्छ।