काठमाडौं– चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा केही विषयमा सिटसंख्या भन्दा कम विद्यार्थी उत्तीर्ण भए।
बिएससी नर्सिङ, बिएससी एमएलटी, बिएससी एमआइटी, बिपिटी, बि फर्मा र बिपीएचमा आयोगले नै निर्धारण गरेको सिट संख्याभन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या कम छ।
प्रवेश परीक्षाको नजिता र पुनर्याेगको नतिजा समेत सार्वजनिक भइसकेकाले उत्तीर्ण भएका विद्यार्थीले मात्र भर्ना पाउने आयोगले जनाएको छ।
आयोगले लिएको प्रवेश परीक्षामा कम विद्यार्थी उत्तीर्ण हुनुले माध्यमिक तहको शैक्षिक गुणस्तर र सिकाइको अवस्था कमजोर भएको हो वा विद्यार्थी कमजोर हुन्? कि आयोगले लिएको प्रवेश परीक्षाको प्रणालीमा समस्या छ? यी विषयमा अहिले बहस चलिरहेको छ।
तर कलेज सञ्चालकहरुलाई भने गुणस्तरीय शिक्षाको बहसप्रति चासो भन्दा पनि आफ्नो भागमा विद्यार्थी नै नपर्ने हो की भन्ने चिन्ता बढी देखिएको छ।
प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थी सिटसंख्या भन्दा कम भएपछि विद्यार्थी नै भागमा नआउने हो कि भन्ने चिन्तामा कलेज सञ्चालकहरुले नाजायज माग राख्न थालेका छन्।
चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न विद्यार्थी भर्ना प्रक्रिया महत्वपूर्ण पूर्वशर्त हो। यसका लागि चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिएको छ। प्रवेश परीक्षामा ५० प्रतिशत नम्बर ल्याउन सक्ने विद्यार्थी मात्र पढ्न पाउँछन्।
तर कलेज सञ्चालकहरुले भने आयोगको प्रवेश परीक्षाको उत्तीर्ण हुने प्रतिशत नै घटाउनु पर्ने माग गरेका छन्। उनीहरुले ५० प्रतिशतबाट घटाएर ३५ प्रतिशत मात्र आए पनि चिकित्सा शिक्षामा अध्ययन गर्न पाउनु पर्ने नाजायज माग राखेको आयोगका पदाधिकारी र विज्ञहरुले बताएका छन्।
चिकित्सा शिक्षाको क्षेत्र निकै संवेदनशील क्षेत्र भएकाले गुणस्तरमा सम्झौता गर्न नहुने साथै दक्ष जनशक्ति उत्पादनका लागि प्रवेश परीक्षामा ५० प्रतिशत भन्दा पनि बढी राख्न माथेमा कार्यदलले सरकारलाई सुझाब दिएको थियो। माथेमा प्रतिवेदनमा चिकित्सा शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रवेश परीक्षामा ६० प्रतिशत नम्बर ल्याउनु पर्ने सुझाव छ।
तर कलेज सञ्चालकहरुले भने गुणस्तर र दक्ष जनशक्ति उत्पादन तर्फभन्दा पनि आफ्नो व्यापारका लागि नाजायज माग राखेको माथेमा कार्यदलका एक सदस्यले बताए।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालकहरुले विद्यार्थी नहुँदा आफ्ना कलेज बन्द हुने अवस्थामा पुग्ने भन्दै प्रवेश परीक्षाको प्राप्तांक ३५ प्रतिशतमा झार्न माग गरे। प्रवेश परीक्षाको प्राप्तांक ३५ मा झार्न दबाव दिँदै मंगलबार कलेज सञ्चालकहरु चाबी बोकेर आयोगमै पुगेका छन्।
उनीहरुले आफ्नो माग पुरा गर्न दबाव दिन कलेजको चाबी नै आयोगलाई बुझाएका छन्।
स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) का अध्यक्ष यमप्रसाद अधिकारी र नोबेल कलेजका सञ्चालक एवं पोखरा विश्वविद्यालय अन्तर्गतका नर्सिङ तथा पारामेडिक्स कलेजहरुको संगठनका अध्यक्ष नवराज पाण्डेको नेतृत्वमा कलेज सञ्चालकहरु नाजायज माग लिएर हिँडिरहेका हुन्।
चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरुले भने कलेज सञ्चालकहरुले यस्तो माग राख्नुलाई मेडिकल शिक्षाको गुणस्तर बढाउने भन्दा खस्काउने नियत भएको तर्क गर्छन्।
चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन प्राडा जगदीश अग्रवालले प्रवेश परीक्षामा ३५ प्रतिशत अंकलाई उत्तीर्ण मान्नुपर्ने माग राख्नु गलत भएको बताए।
उनले उत्तीर्ण प्राप्तांक ५० प्रतिशत हुनु पनि कम भएको जानकारी दिए।
‘गुणस्तर नै कायम गर्नु छैन भने प्रवेश परीक्षा किन लिने? जसलाई पनि भर्ना गर्ने भए प्रवेश परीक्षाको उद्देश्य के हो?’ प्राडा अग्रवालले भने, ‘कुल १०० अंकमा ५० प्रतिशत ल्याए पास हुन्छ भन्ने राखिएको छ, त्यो पनि त एभरेज नम्बर ल्याउनेले पनि पढ्न पाउछ भनिएको हो नि।’
उनले कलेजको सिट मात्र भर्ने तर गुणस्तरलाई वेवास्ता गर्ने हो भने प्रवेश परीक्षा लिनुको कुनै अर्थ नभएको बताए।
प्राडा अग्रवालले विद्यार्थीको शैक्षिक अवस्था कमजोर भएकै कारण प्रवेश परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै शैक्षिक गुणस्तर कायम गराउन ध्यान दिनुपर्ने बताए।
उनले स्वास्थ्य शिक्षा अध्ययनका लागि प्रवेश परीक्षामा ५० प्रतिशत अंक ल्याए पुग्ने व्यवस्थालाई संशोधन गर्दै ६० प्रतिशत पुर्याउनु पर्ने आवश्यकता रहेको समेत बताए।
पहिलादेखि नै सबै विश्वविद्यालयहरुमा ५० प्रतिशत प्राप्तांकलाई मान्यता दिँदै आएको आधारमा आयोगले पनि सोही अनुसार उत्तीर्ण प्राप्तांक निर्धारण गरेको हुनसक्ने प्राडा अग्रवालको भनाइ छ।
गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको वौद्धिकतासँगै पाठ्याक्रम, परीक्षा प्रणाली, पढाउने शिक्षक लगायत सबै विषयमा ध्यान दिनुपर्ने उनले बताए।
सिट संख्या अनुसार विद्यार्थी कम हुन्छ भनेर शैक्षिक गुणस्तर कमजोर भएका विद्यार्थीलाई भर्ना गर्न नहुने उनको तर्क छ।
उनले प्रवेश परीक्षा उत्तीर्ण हुने प्राप्तांक नै घटाउनु भन्दा पनि सबैले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘शिक्षण संस्था, नियमनकारी निकाय तथा हामी सबैको उद्देश्य के हुनुपर्छ भने क्वालिटी एजुकेसन हुनुपर्छ, कमले पढोस् तर राम्रो पढोस्।’
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले मेडिकल कलेज सञ्चालकहरुको माग अनुसार प्रवेश परीक्षा उत्तीर्ण प्राप्तांक ३५ प्रतिशत बनाउन नमिल्ने बताए।
‘उत्तीर्ण प्राप्तांक ५० प्रतिशत तोकेर नै परीक्षा सञ्चालन भएको हो, यो परिवर्तन हुदैन,’ उनले भने, ‘उहाँहरुले माग राख्न पाउनुहुन्छ, उहाँहरुको मागलाई आगामी दिनमा के गर्ने भनेर सुझावको रुपमा लिन्छ आयोगले तर अहिलेको प्रावधान परिवर्तन हुँदैन।’
उनले एकीकृत प्रवेश परीक्षामा ५० प्रतिशत अंकलाई उत्तीर्ण भएको मान्ने व्यवस्था नियम अनुसार नै व्यवस्था गरिएको जानकारी दिए।
यी विषयमा भएका थिए, सिटसंख्या भन्दा कम विद्यार्थी उत्तीर्ण
बिएससी नर्सिङ
परीक्षार्थी ३९८२
सिट ११००
पास ५०४
खाली हुने सिट ५९६
बिएससी एमएलटी
परीक्षार्थी १०००
सिट ४२५
पास ११८
खाली हुने सिट ३०७
बिएससी एमआइटी
परीक्षार्थी २८६
सिट ७१
पास ३५
बिपिटी
परीक्षार्थी ५३७
सिट १५०
पास ११४
खाली हुने सिट ३६
बि फर्मा
परीक्षार्थी ३१३६
सिट ९०२
पास ५४७
खाली हुने सिट ३५५
बिपीएच
परीक्षार्थी २६२२
सिट १४२०
पास ५६५
खाली हुने सिट ८५५