निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्दा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुको संख्या थपिँदै गइरहेको छ। हरेक दिन ३ हजार भन्दा बढी संक्रमितहरु थपिने गरेका छन्। नेपालमा कोरोना संक्रमणको दर किन कम भएन? अस्पतालहरुमा संक्रमतिको चापको अवस्था के छ? के नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएको हो? लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलासँग रिता लम्सालले गरेको कुराकानीः
शुक्रराज अस्पतालमा कोरोना संक्रमितको चाप कस्तो छ?
प्रत्येक दिन २० देखि ३० जनाको हाराहारीमा संक्रमितहरु उपचारका लागि आकिस्मक कक्षमा आउनुहुन्छ। ती मध्ये ४० देखि ५० प्रतिशत संक्रमितहरु भर्ना हुनुपर्ने अवस्थामा आइपुगेका हुन्छन्। हामीसँग २४ बेडको आइसीयू रहेकोमा २२ देखि २३ जना बिरामीहरु नियमित उपचाररत हुन्छन्।
वार्डमा पनि बिरामीको चाप छ। तर, कहिले भरिन्छ कहिले खाली हुन्छ। कोभिड आइसोलेसनमा पनि बिरामीहरु आइरहेका छन्। निषेधाज्ञा पछिको अवस्थामा पछिल्लो ३,४ हप्तामा बिरामीको संख्या बढ्दै गएको छ। अहिले त्यो अवस्था स्थिर छ।
कोरोना संक्रमितहरु कस्ता अवस्थामा कस्ता लक्षण लिएर अस्पताल आइरहेका छन्?
उपचारका लागि आउने बिरामीहरुमा माइल्ड र मोडे«ड लक्षण भएका धेरै छन्। अक्सिजन चाहिने, आइसीयू चाहिने बिरामीको चाप दोस्रो लहरको पिक आवरमा जस्तो त छैन। तर जति कम हुनुपर्ने हो त्यो पनि भएको छैन। निषेधाज्ञाको पछिको समयमा अक्सिजन चाहिने, आइसीयू चाहिने बिरामीको चाप विस्तारै बढेर गएको छ। अस्पताल आउने बिरामी मध्ये ४० देखि ५० प्रतिशत बिरामी भर्ना हुनुपर्ने अवस्थाका छन् भने बाँकी होम आइसोलेसनमा उपचारका लागि पठाउछौं।
उमेर समूह हेर्दा सबै उमेर समूहका व्यक्तिहरु संक्रमित भएका छन्। खोप लगाएका बिरामीहरु पनि संक्रमित भएर आइरहेका छन्। २० देखि ३० जना बिरामीमध्ये ५ देखि ७ जना बिरामी खोप लगाएका तर संक्रमित भएर आएको भेटिएको छ। उहाँहरुमा माइल्ड (हल्का) खालको लक्षण भएर जाँच गराउदा पिसिआर पोजिटिभ आएको अवस्था छ। सामान्य बिरामी होम आइसोलेसनमै बस्छन्। केही बिरामीहरु भने खोप लगाएपनि कोरोना संक्रमण भएर निमोनिया भएको पनि भेटिएको छ। खोप लगाएका व्यक्तिहरु आइसीयूमा पनि उपचाररत छन् तर यस्ता संख्या धेरै भने छैन। अर्को समूह निमोनिया भएका व्यक्तिहरु छन् तर उहाँहरुसँग एन्टिजेन तथा पिसिआर परीक्षण नभएको देखिएको छ।
यस्तो केसले अहिले पनि मानिसहरु पहिलो र दोस्रो लहरमा जस्तै लक्षण देखिँदा पनि समयमा कोरोना परीक्षण गराउनु भएको छैन भन्ने बुझिन्छ। अझै पनि मानिसहरु परीक्षणको दायरामा आउनु भएको छैन भन्ने बुझिन्छ। उहाँहरु राजधानी र राजधानी बाहिर दुवै ठाउँबाट आएको देखिन्छ।
संक्रमितहरु सिकिस्त हुने दर कति छ? आइसीयू तथा भेन्टिलेटरमा उपचाररत बिरामीहरु कति दिनसम्ममा निको हुने गरेका छन्?
अहिले पनि दोस्रो लहरको अवस्था जस्तै अवस्था छ। जो व्यक्तिहरु सिभियर एआरडीयस (गम्भीर श्वासप्रस्वासको समस्या) भएर आउँछन्, जसलाई धेरै अक्सिजनको आवश्यकता पर्छ, जो आइसीयु तथा भेन्टिलेटरमा पुग्नुहुन्छ उहाँहरुको अस्पताल बसाई लामो नै हुने गरेको छ।
पहिलो र दोस्रो लहरमा जस्तै अवस्था छ। र सिकिस्त हुने बिरामीको संख्या हेर्दा दोस्रो लहरको उत्कर्षमा नपुगेको अवस्था हो। चैतको अन्तिम सातादेखि वैशाखको पहिलो दोस्रो साताको जस्तै अवस्था छ। अर्को एउटा पक्ष के छ भने सिकिस्त भएर आकस्मिकमा आएका बिरामीले पहिलेजस्तो आइसीयू भेन्टिलेटर कुर्नुपर्ने अवस्था भने अहिले छैन।
पछिल्लो समय संक्रमितको लक्षण, अवस्था र चापको अवस्थालाई हेर्दा नेपाल कोरोना संक्रमण कस्तो अवस्थामा छ भन्न सकिन्छ?
अहिले हाम्रो समुदायमा कोरोना संक्रमण फैलिरहेकै अवस्था छ। समाजमा संक्रामक भाइरस रहिरहेको छ। किनकी अस्पतालका कोभिड आइसोलेसन वार्ड, एचडीयू, आइसीयू, भन्टिलेटर अहिले पनि भरिभराउ रहिरहेको अवस्था छ।
संक्रमितको भर्ना हुने क्रम हेर्दा अहिले पनि समूदायम संक्रमण फैलिरहेको अवस्थामा छ भनेर बुझ्न जरुरी छ। पहिलो लहरको संक्रमण पुस, माघ फागुनमामा घटेर गएको अवस्था थियो। फेरि चैत, वैशाख र जेठमा बिरामीको संख्या थेग्नै नसक्ने गरी बढ्यो। हामी निषेधाज्ञामा गयौं। त्यसपछि बिरामीको संख्या कम हुँदै गएको थियो। अहिले निषेधाज्ञा खुलेपछि बिरामीको चाप बढ्दै गएको देखिन्छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा पनि देशभर नै निषेधाज्ञा खुकुलो भएपछि संक्रमण दर बढेको देखिन्छ। संक्रमण दर के कारणले बढ्दै गइरहेको छ?
यसको मुख्य कारण भनेको पहिला जो व्यक्तिहरु संक्रमित भएका थिएनन् वा खोप नलगाएका व्यक्ति तथा खोप लगाएपछि स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिहरु संक्रमित भइरहेको देखिन्छ।
पहिलो लहरको संक्रमणमा संक्रमित भएर लक्षण नदेखिएका व्यक्तिहरु रोग प्रतिरोधात्मक क्षमता घटेमा उनीहरु संक्रमणको जोखिममा हुन्छन्। खोप नलगाएका व्यक्तिहरु संक्रमणको जोखिममा हुन्छन्। पहिला संक्रमण नभएका व्यक्तिहरु अहिले संक्रमित भइरहेको हुनसक्छ। अहिले संक्रमणबाट सुरक्षित भएका व्यक्तिहरु भनेको दोस्रो लहरमा संक्रमित भएका तथा खोप लगाएका व्यक्तिहरु छन्।
दोस्रो लहरमा संक्रमित नभएका वा खोप नलगाएका तथा पहिलो लहरमा संक्रमित भएर सिकिस्त नभएका व्यक्तिहरु छन् ती व्यक्तिहरु अहिले पनि जोखिममा छन्। ती व्यक्तिहरुले सरकारले तोकेको मापदण्ड पालना नगर्दा संक्रमण फैलिरहेको अवस्था छ।
खोप लगाएका व्यक्तिहरुमा किन कोरोना संक्रमण देखिएको छ?
खोप लगाएर पनि कोरोनाको लक्षण देखिएका तथा पिसिआर पोजिटिभ आएका व्यक्तिहरु छन्। तर ती व्यक्तिहरु मध्ये केही खोप लगाएको केही दिनपछि लक्षण भएर परीक्षणका लागि आउँदा पोजिटिभ देखिएको छ। भन्नाले खोपले काम गर्नुअघि नै संक्रमण भएको अवस्था देखिएको छ। यस्ता व्यक्तिहरु आइसीयू र भेन्टिलेटरमा पनि पुगेका छन्। अर्को खोप पूर्ण रुपमा लगाएर खोपले काम गर्ने समय सक्किएर संक्रमित भएका तर केही लक्षणविहीन तथा सामान्य लक्षण भएर आइरहेका छन्।
यस्तै खोपको दुई मात्रा पुरा नभएका व्यक्तिहरु संक्रमित भएर निमोनिया भएर पनि आइपुगेका छन्। खोप लगाएका व्यक्तिहरु सिकिस्त हुने क्रम तुलनात्मक रुपमा कम छ तर संक्रमित भने भइरहेका छन्। पहिलो कुरा त खोपले काम गर्नु अघि नै संक्रमित भइरहेको भेटिएको छ।
केही व्यक्ति त कोरोनाको लक्षण हुँदाहुँदै खोप लगाएर पछि निमोनिया भएर आइसीयूमै पुगेको अवस्था पनि देखियो। अर्को पक्ष के छ भन्दा कतिपय व्यक्तिहरुमा खोप लगाएपनि पूर्ण रुपमा रोग प्रतिरोधात्मक क्षमता नबढेको हुनसक्छ। यस्तो अवस्थामा संक्रमित हुनु पनि कारण हो। अर्को खोप केन्द्रहरु अव्यवस्थित नहुँदा त्यहा पनि संक्रमण हुने जोखिम छ। जहाँ भिड हुन्छ त्यहा संक्रमणको जोखिम हुन्छ।
कोरोना संक्रमण दर कम गर्न सबैले कस्तो कस्तो भूमिका निर्वाह गर्न आवश्यक छ?
संक्रमण दर बढ्न नदिन संक्रमणलाई फैलन दिन हुँदैन। त्यसका लागि संक्रमितलाई आइसोलेसनमा राख्नुपर्छ। त्यसका लागि को संक्रमित छ भने परीक्षण गर्न आवश्यक छ। जो संक्रमितको सम्पर्कमा छन् उनीहरुलाई क्वारेन्टाइनमा राख्न आवश्यक छ। अन्य व्यक्तिहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ। अलिहे संक्रमणबाट जोगिने मुख्य उपाय नै खोप र जनस्वास्थ्यको मापदण्ड पालना गर्नु हो। सरकारले खोपको सुनिश्चितता गर्नुपर्छ। खोप उपलब्ध नहुँदासम्म मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्नै लगायतका उपाय अपनाउनु पर्छ। कोरोना संक्रमण रोकथामको उपायहरु पहिलादेखि नै एउटै हो। यही उपायहरु अपनाउनुपर्छ।
कोरोना महामारीमा सुरुवाती अवस्था देखि नै चिकित्सकको रुपमा काम गर्नुभयो। अहिले निर्देशकको रुपमा व्यवस्थापकीय जिम्मेवारीमा पनि हुनुहुन्छ। व्यवस्थापकीय जिम्मेवारीमा रहँदा के कस्ता चुनौती र सहजताहरु हुने रहेछन्?
यसमा ३ तीनवटा पक्षहरु छन्। बिरामीको सामिप्यतामा रहेर काम गर्दा बिरामीका समस्याबारे थाहा हुन्छ। दोस्रो कुरा हामीले दिने सेवामा कस्तो कुरामा समस्या छ भन्ने थाहा हुन्छ। ती कुरालाई व्यवस्थापन गर्नु अहिलेको चुनौती हो। त्यही कुरालाई व्यवस्थापन गर्न अघि बढीरहेको छु। चिकित्सक भएर काम गर्दा बिरामीको उपचारमा ध्यान जान्छ। निर्देशक भइसकेपछि बिरामीको उपचारसँगै बिरामीलाई कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्ने कुरालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती हुन्छ। त्यसमा आफूले पहिला नै काम गरिरहेको संस्था भएर कहाँ के समस्या छ भन्ने जानकारी पनि हुन्छ।
जस्तै तालिमप्राप्त जनशक्ति आवश्यक हुन्छ भन्ने कुरा मेरो मनमा थियो। आकस्मिक कक्षमा, आइसीयूमा वा वार्डमा बिरामी सिकिस्त हुनसक्छ। जुन दोस्रो लहरमा हामीले देख्यौं। म निर्देशक भएपछि अस्पतालका ८० जना स्वास्थ्यकर्मीलाई क्रिटिकल केयरको तालिम दिएका छौं। दोस्रो लहरमा अक्सिजन सिलिण्डर अभाव भएर तानातान भएको अवस्था थियो। अहिले सबै कोभिड वेडहरुमा अक्सिजन पाइप जडान गर्यौं।
अहिले आकस्मिक र कोभिड वार्डहरुमा अक्सिजन आपूर्ति सहज भइरहेको छ। हामीले कोभिडको उपचार गर्दा बिरामीलाई राम्रो उपचार दिन आवश्यक पर्ने पूर्वाधार, दक्ष जनशक्ति लगायतका मैले बिरामीको उपचार गर्दा भोगेको समस्याहरुलाई अहिले व्यवस्थित गर्दै अघि बढेको छु।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै पूर्व तयारी गर्न निर्देशन दिइसकेको छ। शुक्रराज अस्पतालमा तेस्रो लरहको पूर्वतयारी के छ?
सबै शय्यामा अक्सिजन पाइप जडान भएको छ। स्वास्थ्यकर्मीलाई क्रिटिकल केयरको तालिम दिइसकेका छौं। अक्सिजनको प्लान्ट जडान गर्ने काम भइरहेको छ। हामी हाम्रो क्षमता अनुसार पूर्ण तयारीमा नै छौं। हाम्रो क्षमता अनुसार गुणस्तरिय सेवा दिने प्रयासमा छौं।
स्वास्थ्य मन्त्रालयले यसअघि नै कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएको छ भनिसकेको छ। नेपालमा संक्रमणको तेस्रो लहर सुरु भइसकेको संकेत देखिएकै हो?
पहिलो लहर निस्तेज हुँदै गएको समय पुस, माग र फागुनमा पनि सिकिस्त संक्रमितहरु अस्पतालमा उपचाररत नै थिए। तर बाहिर संख्यात्मक हिसाबमा कम थियो। चैत, वैशाख र जेठमा संक्रमणको अत्याधिक चाप थियो। निषेधाज्ञापछि संक्रमण दर घटेर गयो। वार्डहरुमा बेड खाली हुन लागिसकेको अवस्था थियो। निषेधाज्ञा खुल्दै जाँदा फेरि कोभिड आइसोलेसन, वार्ड र आकस्मिक कक्षमा पनि बिरामीहरु बढ्न थाले। दोस्रो लहरको उच्च विन्दुमा जस्तो बिरामीहरु आइसोलेसन वा आइसीयूको लागि पालो कुर्नुपर्ने अवस्था नभएपनि निषेधाज्ञा पनि संक्रमतिको संख्या बढेर गएको हो। त्यसैले संक्रमित घटेर गएको अवस्थामा फेरि बढ्न थाल्नु भनेको अर्को लहर सुरु भएको हो कि भन्न सकिन्छ।
कोरोना संक्रमणको तेस्रो लहरले महामारीको रुप नलियोस् भन्न कस्ता तयारी गर्नुपर्छ?
समुदायमा संक्रमण फैलिरहेको अवस्था छ। आम सर्वसाधारणले परिवार र समाजलाई कसरी संक्रमणबाट जोगाउने भनेर बुझ्न जरुरी छ। अब त डेढ वर्ष भइसक्यो कोरोना संक्रमण देखिएको यसको विषयमा सचेतनाका कार्यक्रमहरु भइरहेको छ। सबैभन्दा पहिला प्रिभेन्सनको पाटो महत्वपूर्ण हुन्छ। हामीले संक्रमितको पहिचान गर्ने आइसोलेसन गर्ने, शंकास्पद व्यक्ति तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न आवश्यक छ।
संक्रमित भएर सिकिस्त भएका आएका तथा निमोनिया भएर आएका बिरामीलाई उपचार गर्न आइसीयू, एचडीयू लगायतका स्वास्थ्य सामाग्री तथा उपकरणको तयारी एक हिसाबले भइरहेको छ।
अहिले भने कसरी संक्रमण दर घटाउने भन्ने तर्फ नै सबैले ध्यान दिनुपर्छ। त्यसका लागि मास्कको क्याम्पियन, मानिसहरुको भिडभाडलाई रोक्ने, खोप कार्यक्रम विस्तार लगायतका कामलाई प्राथमिकता दिन जरुरी छ।
पोष्ट कोभिडका बिरामी कति आइरहेका छन्? कस्तो अवस्थामा आइरहेका छन्? उनीहरुको उपचार कसरी हुन्छ?
पोष्ट कोभिडका बिरामी तथा फलोअपका लागि आउने बिरामीहरु अहिले पनि छन्। छाती दुख्ने, स्वाद गन्ध हराउने, थकान महशुस हुने समस्या लिएर आइरहेका छन्।
मुख्य कुरा कोभिड निमोनिया भइसकेका व्यक्तिहरुमा एक्कासी ज्वरो आउने, खोकी लाग्ने, हातगोडा नचल्ने, छाती दुख्ने समस्या देखियो भने तुरुन्त अस्पताल आउनुपर्ने हुन्छ। कोरोना लागेर अस्पतालमा भर्ना भएर घर फर्किएका व्यक्तिहरु स्वास्थ्यकर खानेकुरा खाने, व्यायाम गर्ने, चिकित्सकले बोलाएको समयमा फलोअपमा आउने, मानसिक समस्या कम गर्न मनोचिकित्सकको परामर्श लिने परिवारमा घुलमिल हुने गर्नुपर्छ।
अन्त्यमा, कोरोना संक्रमित तथा संक्रमित नभएका सबै व्यक्तिलाई के सुझाव दिनुहुन्छ?
खोप लगाएका व्यक्ति हुन् वा नलगाएको व्यक्ति नै सबैले सचेत हुन आवश्यक छ। अहिलेको अवस्था भनेको हामी संक्रमणको जोखिमकै अवस्थामा हो। त्यसैले आफूलाई परिवारलाई र समाजलाई संक्रमणबाट जोगाउन पर्छ। त्यसका लागि मास्क लगाउने सामाजिक दुरी कायम गर्ने लगायतका मापदण्डहरु पालना गर्नुपर्छ।
होम आइसोलेसनमा भएका व्यक्तिहरुले तनाव तथा चिन्ता लिनु हुँदैन। कुनै पनि लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ। संक्रमण भएको ५ दिनसम्म पनि लक्षण कम भएन, श्वासप्रश्वासमा समस्या भयो भने चिकित्सकको परामर्श लिन अस्पताल जानुपर्छ। अन्य अवस्थामा १० दिन आइसोलेसनमा बसेर आइसोलेसन मुक्त हुन सकिन्छ।