काठमाडौं - नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको दुई महिनापछि २०७६ चैत ११ गते देशव्यापी रुपमा लकडाउन भयो। कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले लकडाउन त गर्यो। तर त्यसको प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा पर्न गयो। परिणाम स्वरुप उक्त अवधिमा ज्यान गुमाउने आमा र शिशुको संख्यामा दोब्बरले वृद्धि भएको छ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने पहिलो व्यक्ति पनि सुत्केरी नै थिइन्। २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीले शिशुलाई जन्म दिएको ९ दिनपछि कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको थियो।
स्वास्थ्यखबरले कोरोना महामारी र लकडाउनको समयमा मृत्यु भएका आमाहरु र नवजात शिशुको तथ्यांक केलाएको छ। यो अवधिमा विगतका वर्षहरुको तुलनामा नवजात शिशु र आमाहरुको मृत्यु झन् बढेको तथ्यांकले देखाएको छ।
लकडाउनमा २९७ आमाको मृत्यु
गर्भास्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ। लकडाउनको समयमा बढेको मातृ मृत्युदर चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
लकडाउन अघि र पछिको संख्या तुलना गर्दा मातृ तथा शिशु मृत्युदर दोब्बरले वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ।
नेपालमा २०७७ सालमा मात्र २९७ जना आमाको मृत्यु भएको छ। जबकी लकडाउन हुनुअघि २०७६ सालको यही समयमा ज्यान गुमाउने आमाको संख्या मात्र १९७ थियो।
यो हिसाबले २०७६ सालको तुलनामा २०७७ सालमा मात्र ज्यान गुमाउने आमाको संख्या एक सयले वृद्धि भएको छ।
कुन महिनामा कति मातृ मृत्युदर
लकडाउनमा दोब्बरले बढे नवजात शिशु मृत्युदर
लकडाउनको अवधिमा मातृ मृत्युदर मात्र नभई नवजात शिशु मृत्युदर पनि बढेको छ। त्यो पनि दुई गुणाले। गएको एक वर्षमा भएको नवजात शिशु मृत्युदरको संख्या अवश्य पनि सामान्य छैन।
लकडाउन अघि नेपालमा २ हजार १० जना नवजात शिशुको मृत्यु भएको थियो। लकडाउनको समयमा यो संख्या दोब्बरले बढ्दै ३ हजार ८३९ पुगेको छ। सबैभन्दा धेरै गएको चैतमा मात्र ७६० जना नवजात शिशुको मृत्यु भएको महाशाखाको तथ्यांक छ।
कुन महिनामा कति नवजात शिशुको मृत्यु ?
लकडाउनमा अधिकांश सुत्केरीको मृत्युको मुख्य कारण थियो, ‘स्वास्थ्य संस्था पुग्नमा भएको ढिलाई।’ यो निचोड परिवार कल्याण महाशाखाको हो।
महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा पुण्या पौडेल अधिकांश सुत्केरीको मृत्यु स्वास्थ्य संस्थामा पुग्नमा भएको ढिलाई बताउँछिन्। जसका विभिन्न कारणहरु छन्।
तीमध्ये, प्रमुख कारण हुन्, ‘यातायातको अभाव तथा समस्या, कोरोनाको डर, सुत्केरी पश्चात हुने रक्तश्राव र समयमै उपचार सेवा पाउन नसक्नु।’
दोस्रो लहरको महामारीमा भने कोरोना संक्रमणका कारण नै धेरैजसो सुत्केरीको मृत्यु भएको डा पौडेलले बताइन्। मातृ मृत्युदर बढेपछि स्वाभाविक रुपमा नवजात शिशु मृत्युदर पनि बढ्ने उनले बताइन्।
उनले भनिन्, ‘आमाको मृत्यु भएपछि नवजात शिशुलाई असर त पर्छ नै। स्तनपान हुँदैन। स्याहार गर्ने हुँदैन। संक्रमण हुने सक्ने जोखिम उच्च हुन्छ।’
कोरोना महामारी तथा लकडाउनमा मातृ शिशु स्वास्थ्य कार्यक्रम नै प्रभावित भएको छ। कोरोना महामारीले सुरक्षित गर्भपतन घटाउनुका साथै मातृ मृत्यु बढाएको, आमा सुरक्षा कार्यक्रम, यौन तथा प्रजनन् स्वास्थ्य, खोप, परिवार नियोजन, किशोर स्वास्थ्य लगायत कार्यक्रममा असर गरेको छ।
स्वास्थ्य सेवा सहज रुपमा सञ्चालन गर्न ‘प्रजनन् मातृ नवजात, बाल, किशोर किशोरी स्वास्थ्य सेवा अन्तरिम मार्ग निर्देशन’ बनाएर काम गरिएको उनले बताइन्।
उक्त मार्ग निर्देशनमा सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सेवा लिन कसरी जाने, सामान्य र शंकास्पद बिरामीलाई कसरी व्यवस्थापन गर्ने, मातृ शिशु स्वास्थ्य लगायतका विषय उल्लेख गरिएका छन्। तेस्रो लहरको तयारीका लागि पनि यही मार्ग निर्देशन अनुसार नै अघि बढ्ने उनले बताइन्।
कोरोनाको पहिलो लहरमा आवश्यक पूर्वतयारी गर्न नसक्दा मातृ मृत्युदरमा वृद्धि भएको उनी स्वीकार्छिन्। तेस्रो लहरमा भने मृत्युदरको यो संख्या घट्न सक्ने उनको अपेक्षा छ। कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन भइरहेकाले संक्रमित भएपनि मृत्युदर घट्न सक्ने उनी बताउँछिन्।
‘खोप अभियान जति द्रुत गतिमा अघि बढ्छ। त्यति नै मृत्युदर पनि कम हुन सक्छ।’ उनले भनिन्, ‘सुत्केरी तथा गर्भवतीले पहिले खोप लगाउन हुँदैन भन्ने थियो। तर अहिले लगाउन मिल्छ भनिएको छ। त्यसैले मृत्युदर घट्ने बढ्ने खोपमा भर पर्छ। खोप कतिको पहुँचमा पुग्न त्यसले पनि निर्भर गर्छ।’
जनस्वास्थ्यविद भन्छन्- पहिलो र दोस्रो लहरबाट पाठ सिक्न जरुरी
लकडाउन र कोरोना महामारीको समयमा मातृ तथा नवजात शिशु मृत्युदर बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद् अरुण उप्रेती बताउँछिन्। समयमै स्वास्थ्य उपचार नपाउँदा नै अधिकांश सुत्केरी र नवजात शिशुको लकडाउनको समयमा मृत्यु भएको उनले बताइन्।
सरकारले पहिलो र दोस्रो लहरबाट सिक्दै अघि बढे कोरोनाको तेस्रो लहरबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाई छ।
उनले भनिन्, ‘पहिलो लहरमा कोरोना धेरैका लागि नयाँ थियो। त्यसैले क्षति पनि धेरै नै भयो। तर अब सरकारले ती सबैबाट सिक्दै अघि बढ्यो भने क्षति न्यूनीकरण हुनबाट रोक्न सकिन्छ।’
लकडाउनमा ज्यान गुमाउने अधिकांश सुत्केरीहरु आर्थिक अवस्था कमजोर भएकाहरु रहेको उनी सुनाउँछिन्। सरकारले लकडाउनमा विशेष किसिमको व्यवस्था गरेपनि उनीहरुको पहुँचमा पुग्न नसकेको उनले बताइन्।
‘यो बेलामा मृत्यु भएका अधिकांशजसो महिला गरीब, आर्थिक अभाव तथा पहुँच नभएका महिलाहरु बढी छन्।’ उनले भनिन्, ‘जसलाई विशेष किसिमको व्यवस्था गर्नुपर्ने थियो। उनीहरुका लागि नभएको स्पष्ट छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यक्रम ल्याउनु भन्दा पनि भएकै कार्यक्रमलाई व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ।
उनी भन्छिन्, ‘नयाँ कार्यक्रम चाँहिदैन। भएकै कार्यक्रम र स्वास्थ्य संस्थालाई व्यवस्थित गरे मात्र पनि उनीहरुलाई बचाउन सकिने संभावना बढ्छ। राम्रो व्यवस्थापनको मात्र आवश्यकता छ।’
लक्ष्य प्राप्तिमा चुनौती
सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा प्रतिलाख २३९ सुत्केरीले ज्यान गुमाउने गरेका छन्। यो संख्या सन् २०३० सम्ममा प्रतिलाखमा ७० मा झार्ने सरकारको दिगो विकास लक्ष्य छ।
नेपालमा मातृ मृत्युदर घटाउने विभिन्न प्रसास भएपनि घट्न सकेको छैन। असुरक्षित गर्भपतन, बालविवाह, कलिलो उमेरमा हुने गर्भधारण, सुत्केरी जटिलता लक्ष्य प्राप्तिमा ठूलो चुनौती हो। यी चुनौतीहरुको चाङमा कोरोना महामारी पनि थपिएको छ।
बढ्दो मातृ मृत्युदर सरकारका लागि चुनौतीको विषय बनेको डा पौडेल बताउँछिन्। उनी भन्छिन्, ‘लकडाउन र कोरोना महामारीका कारण यो लक्ष्य प्राप्न गर्न नसक्ने संभावना बढेर गएको छ।’
कोरोना यसरी नै बढ्दै गए मृत्युदर बढ्ने संभावना पनि झनै बढेर जाने उनको आँकलन छ।
मातृ मृत्युदरमा सरकारले हासिल गरेको उपलब्धि समेत गुम्ने खतरा बढेको जनस्वास्थ्यविद डा उप्रेती बताउँछिन्।
तत्काल कोरोना खोप उपलब्ध गराउन नेसोगको माग
कोरोना महामारीको सुरुवाती दिनमा गर्भवती, सुत्केरी र स्तनपान गराइरहेका महिलाले कोरोनाको खोप लगाउन नमिल्ने भनिन्थ्यो। तर हाल प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुले नै उनीहरुलाई खोप लगाउन सुझाव दिइरहेका छन्।
सझुाव मात्र होइन, गर्भवती र स्तनपान गराइरहेका महिला कोरोनाको उच्च जोखिममा रहेको भन्दै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले तत्काल खोप उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन्।
कोभिड १९ विरुद्धको खोपले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा र्कीतिपाल सुवेदी बताउँछन्।
भारत, अमेरिका, बेलायतका प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुले पनि गर्भवतीलाई कोरोना विरुद्धको खोप दिन मिल्ने निष्कर्ष निकोलेको उनले बताए।
उनले भने, ‘सुरुवाती दिनमा गर्भवतीलाई खोप दिन मिल्ने/नमिल्ने विषयमा अध्ययन हुन बाँकी थियो। हाल भइरहेका अध्ययनले उनीहरुलाई पनि लगाउन मिल्ने देखाएको छ।
कोरोनाबाट बच्ने एक मात्र विकल्प खोप भएकाले गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाउनैपर्नेमा उनी जोड दिन्छन्।’