काठमाडौं - सिजनल इन्फ्लूएन्जा अर्थात् मौसमी फ्लू। नेपालीलाई वर्षेनी सताउने सरुवा रोगमध्ये मौसमी फ्लू पनि एक हो।
यो इन्फ्लूएन्जा भाइरसको कारणले लाग्छ। इन्फ्लूएन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन्। यीमध्ये इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ले मानिसको स्वास्थ्यलाई असर गर्छ।
मौसमी फ्लूको समस्या विशेषगरी वर्षको दुई पटक देखापर्छ। फेब्रुअरीदेखि मार्च (फागुन-चैत) र अगस्ट (साउन-भदौ) महिनामा यो समस्या बढेर जान्छ। यो श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ।
कोरोना भाइरस र मौसमी फ्लूको लक्षणहरु लगभग उस्तै हुन्छ। त्यसैले कोरोना र मौसमी फ्लू बीचको भिन्नता छुट्याउनु त्यति सहज छैन। गत वर्ष मौसमी फ्लूका धेरैजसो बिरामी कोरोनाका डरले अस्पताल पुग्ने गरेका थिए। यो क्रम अहिले पनि देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
मौसमी फ्लू र कोरोना बीच के भिन्नता छन्? कसरी पहिचान गर्ने लगायत विषयमा हामीले डा पुनसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
मौसमी रुघाखोकी (फ्लू) भनेको के हो ?
– मौसमी रुघाखोकी भनेको इन्फ्लूएन्जा भाइरस हो।
– इन्फ्लूएन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुन्छ।
– इन्फ्लूएन्जा ‘ए’ र ‘बी’ले विशेष गरी मानिसको स्वास्थ्यमा समस्या निम्त्याउँछ।
– नेपालमा हरेक सिजनमा देखिने इन्फ्लूएन्जा भनेको प्रायजसो ‘ए’ र ‘बी’ हो।
– यो फ्लू सहजै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ।
– व्यक्ति संक्रमित भएको औसतमा दुई दिनमा लक्षणहरु देखिन सुरु गर्छ।
कतिपय व्यक्तिहरुले हाल देखिएको मौसमी फ्लू कोरोनाभन्दा पनि कडा खालको भएको अनुभव बताउने गरेका छन्? के यो सत्य हो?
– शुक्रराज अस्पतालमा आएका केही व्यक्तिले पनि मौसमी फ्लूले कोरोनाभन्दा बढी दुख दिएको बताएका थिए।
– केही व्यक्तिमा मौसमी फ्लूले स्वास्थ्यमा कठिनाई ल्याएको पाएका छौँ।
– कोरोना र फ्लूबीच हुने भिन्नतालाई पहिचान गर्न आवश्यक छ।
गतवर्ष शुक्रराज अस्तालमै कोरोनाको डरले मौसमी फ्लूका बिरामीहरु अस्पताल पुग्ने गरेका थिए। त्यो क्रम अहिले पनि छ ?
– कोरोनाको डरले मौसीम फ्लूका बिरामीहरु अस्पताल पुग्नु स्वाभाविक हो।
– कोरोनाका कारण मौसमी फ्लूलाई धेरैले बिर्सिए जस्तो लाग्छ।
– नेपालले कोरोनासँगै इन्फ्लूएन्जाको सामना गर्नु परिरहेको छ। त्यसैले म यसलाई ट्वीन्डामिक भन्न पनि रुचाउँछु।
मौसमी फ्लू र कोरोनाबीच कसरी फरक छुट्याउन सकिन्छ ? भिन्नताहरु के के छन् ?
– मौसमी फ्लू र कोरोना भाइरसको लक्षण लगभग मिल्दोजुल्दो हुन्छ।
– तर कोरोना संक्रमण हुँदा स्वाद र गन्ध थाहा पाउने क्षमतामा ह्रास आउँछ।
– फ्लूको लक्षण दुई दिन र कोरोनाको पाँच दिनपछि लक्षण देखिन सक्छ।
मौसमी फ्लूबाट कसरी बच्न सकिन्छ ?
– मौसमी फ्लू लाग्ने बित्तिकै अस्पताल जानु पर्दैन।
– घरमा आराम गर्ने, तातो झोलिलो पदार्थ खाने गर्नुपर्छ।
– एक सातासम्म पनि मौसमी फ्लू ठिक नभए अस्पताल जानुपर्छ।
– फ्लूले निम्त्याउने जटिलताले मानिसको मृत्यु हुने भएकाले यसलाई बेवास्ता गर्नु हुँदैन।