काठमाडौं– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको छलफलमा राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानका चार जना पदाधिकारीलाई प्रतिष्ठानको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
मन्त्रालयमा दिउसो २ बजेपछि भएको छलफलमा राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानमा पछिल्ला दिनमा धेरै समस्या देखिएको, छानबिन समितिले समेत पदाधिकारीको कार्यक्षमताका विषयमा प्रश्न उठाएको भन्दै प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, रेक्टर डा गुरु प्रसाद खनाल, रजिष्ट्रार डा मोहन चन्द्र रेग्मी र अस्पताल निर्देशक डा गौरी शंकर शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको राज्यमन्त्री निकट स्रोतले जानकारी दिए।
‘छलफलमा प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको र प्रतिष्ठानमा समस्या बढ्दै गएको भन्दै चौतर्फी आलोचना भएको भन्दै राज्यमन्त्रीले राजिनामा शब्द उच्चारण नगरी मार्ग प्रशस्त गर्न भन्नु भएको छ,’ स्रोतले भन्यो, ‘तपाईंहरुले मार्ग प्रशस्त गर्दा नै अहिलेको समस्या समाधान हुने र काम गर्न पनि सहज हुन्छ भनेर पनि राज्यमन्त्रीले भन्नु भएको हो।’
छलफलका क्रममा राज्यमन्त्री श्रेष्ठले एक हप्ताभित्र सिनेट बैठक डाक्न पनि निर्देशन दिएका छन्। उपकुलपति लगायतका पदाधिकारीलाई हटाउने विषय सहज नभएकाले राज्यमन्त्रीले सिनेट बैठक बोलाएर आवश्यक प्रक्रिया अगाडि बढाउन चाहेको देखिन्छ। ‘सकेसम्म उहाँहरुले नै आफूखुशी राजीनामा दिए सहज हुन्छ भन्ने राज्यमन्त्रीको चाहना छ,’ स्रोतले भन्यो।
राज्यमन्त्रीका स्वकिय सचिव कपिल ढुंगानाले प्रतिष्ठानका पदाधिकारीसँग राज्यमन्त्री श्रेष्ठले वान टु वा वार्ता गरेको तर वार्तामा के कुरा भएको भन्ने जानकारी आफूसँग नरहेको बताए।
‘छलफल भएको हो, मन्त्रीज्यु र उहाँहरुबीच गोप्य छलफल भएको थियो, तर छलफलमा केके भयो जानकारी पाएको छैन’ उनले भने।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानका पदाधिकारीसँग सोमबार मन्त्रालयमा छलफल गरेको तर अन्य विषयमा आफूलाई जानकारी नभएको बताए।
राज्यमन्त्री श्रेष्ठले पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो? भन्ने प्रश्नमा उनले भने, ‘यो विषय त मेरो जानकारीमा छैन।’
उनले पदाधिकारीको राजीनामाको माग प्रतिष्ठानका आन्दोलनरत पक्षले राखेको भए पनि मन्त्रालयको छलफलमा के भयो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताए।
‘प्रतिष्ठानका आन्दोलनकारीको माग त चार जना नै पदाधिकारीको वहिर्गमन नै हो,’ उनले भने, ‘मन्त्रीज्यु, सचिवज्युले आज चारै जानसँग छलफल गर्नुभयो, तर सिनेटको बैठक आब्हान नगरेसम्म पदाधिकारीलाई सोझै हटाउन सम्भव छैन। सिनेटको बैठक बोलाउने निर्णय भने भएको छ। अरु विषयमा भने मलाई जानकारी छैन।’
प्रतिष्ठानका उपकुलपतिसहित चारै जना पदाधिकारीको राजिनामाको माग गर्दै प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले असार १ गतेदेखि आन्दोलन जारी राखेका छन्।
प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग सरकारी वार्ता टोलीले साउन २० गते ६ बुँदे सहमति गरेको थियो। सरकारी वार्ता टोलीका संयोजक डा पौडेल थिए। उक्त सहमति पछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम आंशिक रुपमा फिर्ता लिएका छन्।
प्रतिष्ठानमा आन्दोलन चलिरहेको समयमा गत असार १५ गते प्रतिष्ठानका उपकुलपति डा गिरीले मदिरा सेवन गरेर कार्यालयमा पुगेका थिए। त्यसपछि प्रतिष्ठानको आन्दोलन थप चर्किएको हो। आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिन समिति बनाएका थिए। समितिले १९ गते प्रतिवेदन बुझाइसकेको छ।
आन्दोलनरत पक्षले उक्त समितिमा भएका कुरा कार्यान्वयनमा ल्याउन पनि माग गरेका छन्।