काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को तेस्रो लहरको संकेत देखिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएको बताएका हुन्।
पछिल्लो समय बढ्दै गएको संक्रमण दर र अस्पतालमा भर्ना हुने संक्रमितको चापले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको संकेत गरेको उनको भनाइ छ।
‘कोभिड १९ को दैनिक रुपममा संक्रमण बढ्दै गएको अस्पतालमा भर्ना हुने संख्या त्योभन्दा तुलनात्मक रुपमा बढी भएको छ,’ डा अधिकारीले भने, ‘यी सबै कुराहरुले अब हामी तेस्रो लहरतिर अगाडी बढ्न थालेको हो कि भन्ने संकेत गरिरहेको हामीले देखिरहेका छौं।’
उनले पछिल्लो समय धेरै व्यक्तिहरु अस्पतालमा टाउको दुखेर वा सामान्य ज्वरो आएर वा गाह्रो भएर भर्ना हुन आइरहेको तथा कतिपय व्यक्तिहरु स्वास्थ्य जटिलता भएरै अस्पताल आइरहेको पनि जानकारी दिए। गत २४ घण्टामा देशभरको तथ्याङ्कका अनुसार कूल परीक्षण दरको २६ दशमलब २ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
पिसिआर विधिबाट ११ हजार ३५४ र एन्टिजेन विधिबाट ४ हजार ९४४ नमूना गरी कूल १६ हजार २९८ परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो दर राष्ट्रिय औषत दरभन्दा धेरै माथि रहेको उनको भनाइ छ।
यस्तै कर्णाली, गण्डकी र प्रदेश १ मा संक्रमण दर उच्च रहेको डा अधिकारीको भनाइ छ। कर्णाली प्रदेशमा ५७ दशलमब ३ प्रतिशत, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश १ मा ३२ प्रतिशत नमूनामा संक्रमण पुष्टि भएको छ। हाल देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित छन्।
कोरोना संक्रमितको चाप बढ्दै गएकाले अस्पतालहरुमा चाप धान्न गाह्रो हुन थालिसकेकाले भोलिका दिनमा फेरि बेड पाउन मुस्किल हुने अवस्था समेत आउनसक्ने उनले बताए।
सरकारले कोरोना परीक्षण निःशुल्क गरेको भन्दै कोरोना आशंका लागेका व्यक्तिहरु छिट्टै परीक्षणका लागि आउन पनि डा अधिकारीले आग्रह गरेका छन्।
उनले समयमै कोरोना परीक्षण गर्दा समयमै आइसोलेट भएर बस्न सकिने र अन्य व्यक्तिका कोरोना फैलन रोक्न सकिने बताए।
डा अधिकारीले कोरोना संक्रमणको अवस्थामा कमी ल्याउन अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, एक व्यक्ति अर्को व्यक्तिबाट कम्तीमा २ मिटर टाढा बस्ने र बेलाबेलामा साबुनपानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन्।