काठमाडौं– कोरोना महामारीको यो समयमा शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा को आउँछन् भन्ने चासो सर्वत्र थियो। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा स्वास्थ्य मन्त्रालयमा पटक पटक नेतृत्व फेरिएको र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषय बाहिर आएको थियो।
त्यसकारण पनि महामारीको यो समयमा गठित नयाँ सरकारले स्वास्थ्य मन्त्रालयमा जिम्मेवार र अनुभवी मन्त्री नियुक्त गर्छ भन्ने आशा धेरैको थियो।
तर आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शिक्षा र स्वास्थ्य क्षेत्रका व्यापारी उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका छन्। महामारीको समयमा व्यापारीलाई राज्यमन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री देउवा आफैं आलोचित भएका छन्।
सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको उक्त निर्णयको विरोधमा चर्को आलोचना सुरु भइसकेको छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना महामारीको समयमा नयाँ सरकारले पनि स्वास्थ्य संवेदनशीलतालाई नबुझेको टिप्पणी गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्व प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले कोरोना महामारीले आक्रान्त भइरहेको यो समयमा जनस्वास्थ्यको गम्भीरतालाई नबुझी निजी विद्यालयका सञ्चालकलाई राज्यमन्त्री नियुक्त गर्नु स्वास्थ्य क्षेत्रका लागि दुःखद कुरा रहेको बताए।
‘स्वास्थ्य सेवामा मान्छेहरु कि सेवामुखी कि पैसामुखी हुन्छन्, अहिले स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका व्यक्ति सेवामुखी भन्दापनि पैसामुखी हुन् भन्ने कुरा अहिलेको सरकारले ख्याल गर्नुपर्छ’ डा प्याकुरेलले भने, ‘एउटा स्कुल चलाएको व्यापारीलाई मन्त्री बनाउनु दुभाग्र्यपूर्ण कुरा हो।’
उनले स्वास्थ्य राज्यमन्त्रीमा निजी क्षेत्रका व्यापारीको प्रवेश हुनुले स्वास्थ्य सेवा पैसामुखी हुने संकेत देखिएको समेत बताए।
कोभिड महामारीको समय कायमै रहेकाले पनि अहिले परिपक्क मन्त्रीको आवश्यकता स्वास्थ्य मन्त्रालयलाई भएको डा प्याकुरेलको भनाइ छ।
‘अहिलेको अवस्थामा जिम्मेवार र परिपक्क मन्त्री चाहिने बेला हो, सरकारले राजनीतिक नियुक्ती नै गर्दापनि अनुभव भएका यसअघिका स्वास्थ्यमन्त्री गगन थापा, उमाकान्त चौधरी, डा शसांक कोइराला, उपेन्द्र यादवलाई बनाएको भए हुन्थ्यो, उनीहरुसँग अनुभव थियो,’ डा प्याकुरेलले भने, ‘तर अहिलेको राज्यमन्त्रीमा त्यो कार्यक्षमता मैले देखेको छैन।’
उनले निजी मेडिकल कलेज तथा अस्पतालहरुको अनुमति स्वीकृतीका लागि मात्र राज्यमन्त्री नियुक्त गरिएको हुनसक्ने आशंका समेत व्यक्त गरे।
स्वास्थ्य क्षेत्रका विषयमा आवज उठाउदै आएका विज्ञहरुपनि सरकारले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री मात्र नियुक्त गरेर स्वास्थ्य मन्त्रालयको जिम्मेवारी र गम्भीरतालाई सरकारले बुझ्न नसकेको बताएका छन्।
विज्ञ प्राडा शरद वन्तले अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयलाई इमान्दारीताका साथ प्रतिवद्धतापूर्ण र चुस्त नेतृत्वको आवश्यकता रहेको बताए।
‘स्वास्थ्य मन्त्रालयको अगाडि अहिले धेरै खालका चुनौतीहरु छ,’ डा वन्तले भने, ‘त्यो चुनौतीहरु सामना गर्नका लागि काम चलाउ नेतृत्वले सम्बोधन गर्न सक्छ जस्तो मलाई लाग्दैन।’
राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ यसअघि स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्ति नभएकाले उनीप्रति केही आशावादी भएपनि धेरै अपेक्षा गर्न नसकिने उनले बताए।
‘स्वास्थ्यको मामिलामा चुनौतीहरु सामना गरिसकेका, अनुभवहरु लिइसकेका, त्यहाँभित्रको जटिलताहरुलाई आत्मसाथ गरिसकेका नेतृत्वको अपेक्षा थियो,’ उनले भने।
उनले स्वास्थ्य राज्यमन्त्री नियुक्त भएसँगै भोलिका दिनमा स्वास्थ्य मन्त्रालयले गर्ने कार्यसम्पादनबाट जानकारी हुने बताए।
डा समीरमणि दीक्षितले अहिले महामारीको समयमा स्वास्थ्य क्षेत्रमा अनुभव नभएको व्यक्ति नियुक्त हुनु गलत भएको बताए।
‘निजी क्षेत्रमा लगानी गर्ने व्यक्ति स्वास्थ्य क्षेत्रको विज्ञ त होइन नि, हामीलाई अहिले राज्यमन्त्री होइन, मन्त्री नै चाहिने अवस्था हो,’ डा दीक्षितले भने, ‘सरकारले मन्त्री त दिन सकेन नै राज्यमन्त्री पनि स्वास्थ्यमा राम्रो बुझ्न नै नसक्ने व्यक्ति नियुक्त गरिनु दुःखद र दुभाग्यपूर्ण निर्णय हो।’
उनले अहिलको सरकारसँग स्वास्थ्य मन्त्रालय पहिला नै चलाएका व्यक्तिहरु भएपनि सरकारले उनीहरुलाई नियुक्त नगर्नु गलत भएको बताए।
जनस्वास्थ्यविज्ञ डा अरुणा उप्रेतीले स्वास्थ्य राज्यमन्त्री मात्र नियुक्त गरेर सरकारले स्वास्थ्य क्षेत्रलाई महत्वहिन सोचेको बताइन्।
‘सरकारले स्वास्थ्य क्षेत्र खासै महत्वपूर्ण विषय होइन भन्ने सोचाइ राखेको देखियो,’ डा उप्रेतीले भनिन्, ‘स्वास्थ्य मन्त्री बन्नु भनेको केही काम नभएको मान्छे स्वास्थ्यमन्त्री बन्छन्, भन्ने सरकारको सोच भयो, स्वास्थ्य मन्त्रालयमा उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएर सरकारले झारा टार्ने काम मात्र गरेको हो।’