काठमाडौं– नेपाली कलाजगतमा ‘मह जोडी’को नामबाट चर्चित छन्, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य। उनीहरूलाई सहकार्य र मित्रताको पयार्यका रूपमा लिइन्छ। त्यस्तै एउटा जोडी छ, चिकित्सा क्षेत्रमा। उनीहरू हुन् डा मणीन्द्र रञ्जन बराल र डा हेमाङ्गमणि दीक्षित। उनीहरूको मित्रता नजिकबाट देखेकाहरू भन्छन्– चिकित्सा क्षेत्रको महजोडी। संयोगले उनीहरूको नामको अघिल्लो अक्षर ‘म र ह’बाटै सुरु हुन्छ।
वरिष्ठ बाल रोग विशेषज्ञद्वय डा बराल र डा दीक्षित उमेरले ८४ वर्षका भइसकेका छन्। उनीहरूको मित्रता ५५ वर्षदेखि छ। बालरोगमा ख्यातिप्राप्त उनीहरूले आफूलाई ‘मह जोडी’कै नामबाट बेलामौकामा प्रस्तुत गर्छन्। शुरुमा आफ्नो मित्रताको नाम ‘मह’ राख्ने डा बराल हुन्।
‘हास्यकलाकार मदनकृष्ण र हरिवंशको जस्तै हाम्रो नामको पनि अगाडिको अक्षर मिल्छ,’ डा बरालले भने, ‘मणीन्द्रको म अनि हेमाङ्गको ह। त्यही भएर मैले पनि हाम्रो जोडीलाई मह भनेको हो।’
‘बरु गाँस छोड्नु तर साथ नछोड्नु’ मित्रतालाई परिभाषित गर्ने लोकप्रिय भनाइ हो यो। तर, जति नै लोकप्रिय भएपनि यो भनाइ सबैको जीवनमा सधैंभरि लागू भएको देखिँदैन। बाल्यकालमा घर, स्कुल, कलेज वा कार्यालयमा सहपाठी हुँदा वा सहकर्मी हुँदा गहिरो दोस्ती भएका कतिपय मित्रहरू समयसँगै टाढिन्छन्। आ–आफ्नै काम र आफ्नै परिवारको जिम्मेवारीले पनि असल साथी बनेका धेरै व्यक्तिहरू उमेरको उत्तरार्धसम्म सम्पर्कमै रहेको घटना निकै कम सुनिन्छ। मित्रताको ५५ वर्ष लामो यात्रामा उनीहरूबीच भने कहिल्यै मनमुटाव भएन। व्यवसायिक जीवनमा एकअर्कालाई सघाए। एकअर्कासँग हिँडे, घुमे, खाए र रमाए।
उमेरको उकालीका कारण पहिले जस्तै उनीहरू दैनिक भेटघाट गर्न सक्ने अवस्थामा छैनन्। तर, सामाजिक सञ्जालमा उनीहरू नियमित सम्पर्कमा रहन्छन्। एकअर्कासँग ख्यालठट्टा गरिरहन्छन्। जवानीमा बिताएका रमाइला पलहरू स्मरण गरेर रमाइरहेका हुन्छन्।
डा दीक्षित डिल्लीबजार बस्छन् भने डा बराल मुलपानीमा। काठमाडौं मेडिकल कलेजमा सँगै काम गर्दै आएका डा दीक्षित र डा बराल कोरोना संक्रमण देखिन थालेपछि अस्पताल जान छाडेका छन्। डा बराल भने अझै पनि हप्तामा तीन दिन अस्पतालमा बिरामीको उपाचारका लागि पुग्छन्।
‘कोरोना पछि उहाँसँग (डा बराल) सँग भेट भएको छैन,’ डा दीक्षितले भने, ‘फोन तथा अनलाइनमा कुरा हुन्छ, हामी च्याटमार्फत एक अर्कालाई स्टिकर पठाउछौं।’
डा दीक्षितका अनुसार एकअर्काको कुराकानीमा बढी पुस्तक लेखन, प्रकाशन र वितरणकै विषयमा कुराकानी हुन्छ।
‘धेरैजस्तो त पुस्तक लेखनकै विषयमा कुराकानी हुन्छ, मैले जहिले पनि उहाँलाई जिस्काउछु, किताब कति बिक्री भयो? भनेर,’ डा दीक्षितले हाँस्दै भने, ‘एकअर्काको लेखन सम्बन्धी कुराकानी नै धेरैहुन्छ, मेरो लेख उहाँलाई पठाउँछु, उहाँको मलाई पठाउनु हुन्छ।’
पुस्तक लेखनप्रति रुची भएकै कारण दुईजना मिलेर यति जेबी पुस्तक प्रालि स्थापना समेत गरेको डा बराल बताउँछन्। ‘हामीले यती जेबी पुस्तक स्थापना गरी पाठ्यपुस्तक शिशु हेरचाहबारे पुस्तक, पहिलो स्वास्थ्य पत्रिका यती परिवार डाइजेष्टको प्रकाशन शुरु समेत गरेका थियौँ,’ डा बरालले भने। दुई जनाको मित्रता यती जेबी पुस्तक प्रालि स्थापनापछि झाँगिदै गएको उनी बताउँछन्।
पहिलो भेट
डा दीक्षित र डा बरालको पहिलो भेट विसं २०२२ सालमा वीर अस्पतालमा भएको हो। त्यतिबेला डा दीक्षित बेलायतबाट बाल रोग विशेषज्ञ भएर नेपाल फर्किएका थिए। नेपाल फर्किएर उनी वीर अस्पतालमा काम गर्न पुगे। डा बरालको वीर अस्पताल र केन्द्रीय कारागारको अस्पताल गरी दुवैमा ड्युटीमा हुन्थ्यो। एउटै अस्पतालमा काम गर्ने क्रममा डा दीक्षित र डा बरालको पहिलो भेट भयो।
‘डा बराल वीर अस्पतालमा ओपीडीमा पेडियाट्रिक सम्बन्धी बिरामी जाँच्न आउनुभयो। त्यही बेलामा सामान्य चिनजान भयो,’ डा दीक्षितले डा बरालसँग भएको पहिलो भेटबारे बताए।
पहिलो भेट हुँदा डा दीक्षित बेलायतबाट बाल रोग विशेषज्ञको पढाई सकेर फर्किएका थिए। डा बरालले भने एमबीबीएस सेकेर सेवा गरिरहेका थिए।
पहिलो भेटका विषयमा डा बराल स्मरण गर्छन्, ‘म र डा धनञ्जय रिमाल वीर अस्पतालको बाल रोग वहिरङ विभागमा बालबालिकाको उपचारमा खटिएका थियौं। त्यही बेला अस्पतालमा बेलायतबाट बाल रोग विषयमा विशेषज्ञ पढाई सकेर आएका थिए डा हेमाङ्ग। त्यतीबेला म र धनञ्जय एमबीबीएसपछि पुच्छर नजोडेको तर, बाल रोगतर्फ रूची राख्ने चिकित्सक मात्र थियौं। तर, हेमाङ्ग भने बेलायतबाटै एमबीबीएस गर्ने नेपालका पहिला डाक्टर र बाल विशेषज्ञ पनि थिए।’
शुरुमा सामान्य चिनजान भएपनि विस्तारै उनीहरूको मित्रता झाङ्गिदै गयो। डा बरालको दीक्षित परिवारकी छोरीसँग विवाह भएको थियो। डा बरालकी श्रीमती पनि दीक्षित परिवारको भएको थाहा पाएपछि डा दीक्षित र डा बरालको मित्रता अझ अझै प्रगाढ हुँदै गयो।
त्यतिबेला बाल रोग विशेषज्ञ डाक्टर महेन्द्रप्रसाद श्रीवास्तवको निगरानीमा डा दीक्षित र डा बरालले काम गर्थे।
कान्ति बाल अस्पतालको स्थापना भएपछि डा दीक्षित र डा बराल कान्ति अस्पतालमा पुगेर बिरामी जाँच गर्थें। त्यतिबेला उनीहरू दुवैको घर नजिकै थियो। अहिले भने डा बरालको घर मुलपानीमा छ।
स्वास्थ्यखबरले चैतको अन्तिम साता कुराकानीका लागि दुवै जनालाई एकै ठाउँमा ल्याएको थियो। भेट डा दीक्षितको निवासमा भएको थियो। डा दीक्षितका घरमा भेट्दा दुवैले एकआपासमा अंकमाल गरेर विगत सम्झेका थिए।
‘अहो त्यो समयमा कम्ता रमाइलो गथ्र्याैं,’ डा बरालले भने, ‘अहिले त बुढो भइयो। फेसबुक च्याटमा कुराकानी गर्नुपर्ने अवस्था आएको छ।’
२०२२ सालमा डा दीक्षित बाल रोग विशेषज्ञ भइसकेको भएपनि डा बराल भने भइसकेका थिएनन्। डा बराललाई पनि बाल रोगमा विशेष रूची थियो। त्यही भएर उनी पनि बाल रोग विशेषज्ञ बन्न चाहन्थे। आफ्नो इच्छा पूरा गर्न बाल रोग विशेषज्ञता हासिल गर्न बेलायत गए। डा बराल बेलायत गएपछि उनलाई खोज्दै आउने बिरामीलाई डा दीक्षितले नै हेर्न थाले।
पुस्तक लेखनमा साझा रूची
डा बराल बाल रोगको विशेषज्ञता हासिल गर्न बेलायतमा हुँदा नै डा दीक्षितले ‘शिशु स्याहार’ नामक पुस्तक लेखिसकेका थिए। डा बराल नेपाल आएपछि दुवै जनाले मिलेर चिकित्सा विधामा पुस्तक लेख्ने सोच बताए। त्यसपछि दुवैजनाले यती जेबी पुस्तक प्रालि स्थापना गरे। डा दीक्षित र बरालले संयुक्त रूपमा हाइफाइ (हाइजिन र फिजियोलोजी) पुस्तक निकाले। जुन पुस्तक एसएलसीको पाठ्यक्रममा पनि समावेश भयो।
यती पुस्तक प्रकाशन प्रालिस्थापना भएपछि पत्रिकामार्फत् डा बरालले महिलास्वास्थ्यको विषयमा ‘डाक्टरको पत्र निरालाई’ नामक कोलममा लेख लेख्ने गरेको डा दीक्षित सम्झन्छन्।
‘डा बरालले डाक्टरको पत्र निरालाई नामक महिला स्वास्थ्य समस्याको विषयमा कोलममा नियमित लेख्नुहुन्थ्यो। त्यो समयमा उहाँको त्यो कोलम निकै चर्चित थियो,’दीक्षितले सम्झिए।
डा दीक्षित कान्ति बाल अस्पतालबाट अवकाश पाएपछि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा प्रवेश गरे। त्यतिबेला डा बराल पनि कान्ति बाल अस्पतालको निर्देशक बने।
आइओएमको बाल रोग विशेषज्ञता अध्ययन गर्ने विद्यार्थीहरूलाई कान्ति बाल अस्पतालमै पठाइन्थ्यो। त्यतिबेला पनि डा दीक्षित र डा बरालको दोस्ती र सहकार्य कायमै रह्यो।
कान्ति बाल अस्पतालबाट डा बरालले पनि अवकाश पाए। डा दीक्षितले पनि आइओएमको डिन हुँदै कार्यकाल पनि पूरा गरे।
दुवैजना अवकाशप्राप्त अनुभवी चिकित्सक भएकाले डा बराललाई काठमाडौं मेडिकल कलेजमा काम गर्ने अफर आयो। डा दीक्षितलाई भने नेपाल मेडिकल कलेजबाट। तर, डा बराल काठमाडौं मेडिकल कलेजमा भएकै कारण डा दीक्षित पनि आफ्नो मित्रसँगै काठमाडौं मेडिकल कलेज गए।
‘मलाई त नेपाल मेडिकल कलेजले पनि बोलाएको थियो, तर डा बराल उता भएकाले म पनि उतै गएँ,’ उनले भने, ‘कोरोना अघिसम्म हामी सँगै काम गरेका थियौं।’
डा बरालको झुकाव बाजागाजामा
पाँच दशक लामो दोस्ती निभाएका डा दीक्षितलाई डा बरालको हरेक बानी, व्यवहार र उनका रूचीको विषयमा जानकारी छ।
डा बराल बाजागाजा,संगीत र लेखनमा रूची राख्ने व्यक्ति भएको डा दीक्षितले बताए।
‘उहाँको रूची पहिलादेखि नै बाजाहरूमा थियो,’ डा दीक्षितले भने, ‘हरेक पटक बैंकक जाँदा नयाँ किसिमको बाजा लिएर आउनुहुन्थ्यो। मलाई त्यतातिर त्यति रूची छैन। तर, हामी दुवैको मिल्ने भनेको लेखन नै हो।’
एकअर्काका छोराछोरीका डाक्टर
डा दीक्षितले बेलायतमा पढ्दा आफ्ना प्रोफेसरहरूबाट सिकेका थिए, आफू डाक्टर नै भएपनि सकेसम्म आफ्नो परिवारका सदस्य बिरामी हुँदा आफंैले स्वास्थ्य जाँच र उपचार गर्नु उपयुक्त होइन।
बेलायती प्रोफेसरको सल्लाहलाई उनले आफ्नो जीवनमा पनि लागू गर्ने सोच बनाए। डा दीक्षितको सोचाइमा डा बरालले साथ दिए। त्यसपछि डा दीक्षितका छोराछोरीको स्वास्थ्य जाँच र उपचार डा बरालले गर्ने र डा बरालका छोराछोरीको स्वस्थ्य जाँच र उपचार डा दीक्षितले गर्न थाले।
एकअर्काको छोराछोरीको स्वास्थ्य उपचार गर्ने भएपछि उनीहरूको मित्रता अझै झांगिदै गयो।
‘हाम्रा केटाकेटी सानै हुँदादेखि मैले उहाँका बच्चाहरू उपचार गरें, उहाँले मेरो बच्चाहरूको उपचार गर्नुभयो’, डा दीक्षितले भने, ‘उहाँका छोराछोरीले मलाई अझै पनि अंकल भन्दै सम्झिन्छन्। मेरा छोराछोरी पनि डा बरालसँग नजिक छन्।’
डा दीक्षित र बरालको मित्रता उनीहरू दुईमा मात्र सीमित रहेन। दुवैको परिवारका सदस्यहरू पनि एकअर्काको मित्र बनेका छन्।
सधैं दोस्ती, परेन कुस्ती
दुवैको विशेषज्ञता एउटै भएपनि उनीहरूबीच कहिल्यै मनमुटाव भएन। डा बरालले डा दीक्षितसँगको दोस्ती र सहकार्यको यात्राका अनुभवहरू पनि लेखेका छन्।
साढे ५ दशक लामो सहयात्रामा आफूहरूको कहिल्यै झगडा नपरेको डा दीक्षित बताउँछन्। ‘अस्पतालमा पनि सँगै काम गरें। शैक्षिक कार्यक्रममा पनि सहकार्य गरियो, सँगै पुस्तकहरू पनि लेखियो,’ डा दीक्षितले भने, ‘हामीहरूबीच बोलचाल नै बन्द हुने किसिमको झगडा कहिल्यै परेन।’
डा बरालका अनुसार पेशागत रूपमा दुवैजनाको एउटै विशेषता भएपनि दुईजनामा कटुता आएन। भन्छन्, ‘हाम्रो दोस्ती शुरु भएको ५ दशक बितिसक्दा पनि अशल मित्रको रूपमा हामी झन्–झन् नजिक भएका छौं।’
मन पर्ने र नपर्ने बानी
डा दीक्षितको नजरमा डा बरालको विशेषता कुरा गर्न सिपालु र संगीतमा पनि पोख्त छन्। डा बरालको गीत गाउने, बाजा बजाउने बानी डा दीक्षितलाई मनपर्छ।
डा बराल कुनै कुरामा लागेपछि त्यो पूरा गर्नैपर्छ भन्ने सोच राख्ने मान्छे हुन्। त्यो बानी राम्रो हो वा नराम्रो डा दीक्षितले अझै छुट्याउन सकेका छैनन्।
‘केही कुरा उहाँलाई गर्नुपर्छ भन्ने लाग्यो भने उहाँ त्यो काम पूरा गर्न लागेको लाग्यै गर्नुहुन्छ,’ डा दीक्षितले सुनाए, ‘त्यो बानीलाई चाहिँ राम्रो भनौं कि नराम्रो? त्यो बानीले कहिले राम्रो हुन्छ कहिले नराम्रो पनि।तर, उहाँलाई नगरौं भनेर मनाउनै सकिँदैन।’
डा बराललाई भने डा दीक्षितको मिलनसार व्यवहार असाध्यै मन पर्छ। ‘उहाँको सबै बानी राम्रो छ। उहाँले सबैलाई माया गर्नुभयो। एकदमै मिलनसार र सहयोगी हुनुहुन्छ,’ डा बरालले भने, ‘डा दीक्षितको नराम्रो बानी अहिलेसम्म थाहा पाउन सकिनँ। मलाई त उहाँको सबै बानी मनपर्छ।’
जीवनको अन्तिम घडीसम्म पनि दोस्ती अटुट रहनेमा डा दीक्षित र बराल विश्वस्त छन्। ‘यति लामो समय सँगै काम गरियो, कहिलेपनि एकअर्कासँग मनमुटाव भएन,’ डा दीक्षितले भने, ‘हामी दुवैका छोराछोरीहरू पनि एकअर्कासँग साथी बनेका छन्, हामीदुईबीचको दोस्ती सँधैभरी उस्तै रहनेछ।’
संगीतका पारखी डा बरालले कुराकानीको अन्त्यमा हिन्दी फिल्म ‘सोले’को दुई लाइन गीत गुनगुनाए:
‘ए दोस्ती हम नहीँ तोडेगें,
तोडेगें दम मगर तेरा साथ ना छोडेंगे।’