काठमाडौं– ‘बिहान ३ बजेदेखि लाइनमा बसेको अझै पनि काम पुरा भएको छैन। भोक लागिसक्यो।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा रहेको भिडमा भेटिएका एक युवाले सुनाए।
‘विदेश जान कोरोनाको खोप त लगाइयो, खोप लगाएको प्रमाणित गर्न निकै कठिन भयो,’ उनले आफ्नो कागजात हामीलाई देखाउँदै गुनासो गरे।
बिहीबार बिहान ३ नबज्दै शुक्रराज अस्पतालमा पुगेका ती युवाले दिउँसो १ बजेसम्म पनि खोप प्रमाणीकरण गराउने पालो पाएका थिएनन्।
‘बिहान ५ बजे आएर लाइनमा बसेको बल्ल टोकन पाएको छु,’ अस्पताल परिसरमा लाइनमै बसेका अर्का एक युवाले गुनासो गरे, ‘बिहानदेखि खाना पनि खाएको छैन, यहाँ पानी पनि नपाइने रहेछ, बाहिर लिन जाउ भने यता पालो छुट्छ।’
भिडभाडमा सामाजिक दुरी कायम नगरी बस्दा कोरोना संक्रमणको जोखिम छ भन्ने कुरा भिडमा रहेका अघिकांशलाई जानकारी छ। तर, रोजगारीका लागि विदेश जानै पर्ने बाध्यतामा रहेका उनीहरुलाई खोप लिएको प्रमाणीत गर्ने कार्ड लिनुपर्ने अर्को बाध्यता छ।
‘यो भिडमा ८÷१० घण्टासम्म उभिने रहर हामीलाई छैन,’ लाइनमै भएका अर्का एक युवाले भने, ‘यसरी भिडमा उभिँदा कोरोना लाग्यो भने हामी विदेश जान पाउँदैनौं। यो सेवा पनि अनलाइनमार्फत गरिदिए सजिलो हुन्थ्यो, कोरोना महामारीको समयमा यस्तो जोखिम मोल्नुपर्ने थिएन।’
सरकारले कोरोना भाइरस विरुद्धको खोप निशुल्क लगाएदिए पनि ‘खोप लगाएको हो’ भनेर प्रमाणीकरण गर्न ६ सय रुपैयाँ तिर्नुपरेको उनले सुनाए। वैदेशिक रोजगारीका गन्तव्य देशहरुले खोप लगाएको प्रमाण अनिवार्य गरेका छन्।
कतिपय देशमा खोप प्राप्त नगरेकाहरुलाई त्यहाँ पुगेपछि आइसोलेसनमा बस्नुपर्ने बाध्यात्मक व्यवस्था समेत गरिएको छ। विदेश पुगेपछि आइसोलेसनमा बस्दा कम्तीमा पनि १ लाख रुपैयाँभन्दा बढी अतिरिक्त खर्च हुन्छ। त्यसैले युवाहरु अहिले खोप लगाएर खोप लगाएको प्रमाण लिन शुक्रराज अस्पतालमा पुगेका छन्।
शुक्रराज अस्पतालमा सोमबारदेखि खोपकार्ड प्रमाणीकरणको काम भइरहेको छ। बिहीबारसम्म शुक्रराज अस्पतालमा मात्रै खोपकार्ड प्रमाणीकरणको गरिने व्यवस्था थियो। शुक्रबारदेखि टेकुसहित ४ ठाउँबाट प्रमाणीकरण हुने व्यवस्था गरिएपनि प्रमाणीकरण गराउने भिड घटेको छैन। शुक्रबार पनि टेकुमा उस्तै भिड देखिएको छ।
‘रेमिट्यान्सबाट धानिएको देश भन्ने सरकारले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेका युवाहरुलाई गधालाई जस्तो यता र उता कुदाएको छ,’ शुक्रराज अस्पतालको लाइनमा उभिएका एक युवाले आक्रोस पोखे, ‘कोरोना सकिएको हो? यस्तो भिडमा मलाई कोरोना लाग्यो भने म भोलि बिदेश जान पाउँदिन, यसको जिम्मा सरकारले लिन्छ?’
मोरङका करण मगर वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने तय भइसकेको छ। जुलाई भित्र नै उनले त्यहाँ पुग्नुपर्ने छ। तर, साउदी अरेबियाको टिकट काट्नु अगाडि खोप लगाउनुपर्ने शर्त छ। खोप नलगाइ टिकट पनि नपाइने भएपछि उनले ४ दिनअघि खोप लगाए। तर, बिहीबारसम्म उनको खोपकार्ड प्रमाणीकरण भएको थिएन। खोपकार्ड प्रमाणीकरणका लागि उनी ४ दिनदेखि शुक्रराज अस्पतालमा धाइरहेका छन्। बिहीबार बिहान ६ बजेदेखि अस्पताल परिसरमा लाइनमा बसेका उनले दिउँसो ३ बजेसम्म पनि पालो पाइसकेका थिएनन्। खोपकेन्द्रमै खोपकार्ड प्रमाणीकरण गर्ने व्यवस्था भइदिएको भए दुःख नपाइने थियो कि भन्ने उनलाई लाग्छ।
उनीसँगै लाइनमा रहेका अर्का एक युवा बिहान ४ बजेदेखि खोपकार्ड प्रमाणीकरण गर्ने लाइनमा थिए। ५ दिनपछि वैदेशिक यात्रा तय भइसकेका उनले बिहीबार दिउँसो ३ बजेसम्म खाना समेत नखाइ लाइनमा उभिएको सुनाए। अस्पतालमा खोपकार्ड बनाउने लाइन समेत व्यवस्थित नभएको उनले गुनासो गरे।
‘म पोखराबाट आएको हुँ, आज बिहान ४ बजेदेखि खोपकार्ड प्रमाणीकरण गर्न लाइनमा छु, खाना खाएको छैन,’ उनले सुनाए, ‘यहाँ केही व्यवस्थित छैन, टोकन सिस्टम व्यवस्थित छैन, एउटा काममा लाइन बसेपछि फेरि अर्को ठाउँमा पनि उति नै समय लाइन बस्नुपर्ने अवस्था छ, स्वदेशमै केही गर्न सक्ने अवस्था छैन, विदेश नगइ पनि विकल्प छैन।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाले खोपकार्ड प्रमाणीकरण गर्नेको संख्या धान्न नसक्ने अवस्था रहेकाले सेवाप्रवाह व्यवस्थित हुन नसकेको स्वीकार गरे। विदेश जाने तयारीमा रहेकाहरु युवाहरु एकैपटक सेवा लिन भिड लाग्दा समस्या देखिएको डा बास्तोलाले सुनाए।
‘वैदेशिक रोजगारीमा जानेहरुलाई खोपकार्डको विवरण अंग्रेजीमा उल्था गर्न र प्रमाणीकरण गर्न स्वास्थ्य मन्त्रालयले हामीलाई जिम्मा दियो,’ उनले भने, ‘देशभरका युवाहरुको चाप निकै बढ्यो, हजारौं विदेश जाने दाजुभाइ दिदीबहिनी आउँदा थाम्नै नसक्ने भिडभाड भयो।’
कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल भएकाले मानिसको चापअनुसार खोपकार्ड प्रमाणीकरणको सेवा विस्तार गर्न सक्ने अवस्था पनि नभएको उनले बताए।
खोप प्रमाणीकरण गर्ने अस्पताल थपिए
सरुवा रोग अस्पतालमा खोप प्रमाणीकरण गर्नेको चाप अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका चार वटा अस्पतालमा प्रमाणीकरण गर्न मिल्ने व्यवस्था गरेको छ। तर यो संख्या निकै कम भएको जनस्वास्थ्य विज्ञहरु बताउँछन्।
विज्ञहरुले सम्भव भएसम्म खोप लगाउने केन्द्रहरुमा नै प्रमाणीकरणको काम हुनुपर्नेमा जोड दिइरहेका छन्। सबै खोप केन्द्रमा प्रमाणीकरणको काम गर्न नसकेमा जिल्ला तथा प्रदेशका अस्पतालहरुमा अनिवार्य रुपमा खोप कार्ड प्रमाणीकरणको काम हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।
यो पनि