काठमाडौं– सामेबार बिहान ११ बजे। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको खोप केन्द्रमा मानिसहरु लाइनमा थिए। अस्पतालका प्रमुख, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लाइन व्यवस्थापन गर्न दौडधुप गर्दै थिए।
खोप केन्द्रमा खोप कार्यक्रम कसरी सञ्चालन भइरहेको छ भनेर निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आउन लागेकाले पनि अस्पताल प्रशासन खोप लगाउनेहरुको भिडलाई सम्भव भएसम्म व्यवस्थित गर्ने प्रयात्नमा जुटेका थिए।
अस्पतालका निर्देशक डा दिनेश काफ्ले, डा सन्त कुमार दास, सुचना अधिकारी रामविक्रम अधिकारी लगायत खोप केन्द्रमै प्रधानमन्त्रीको पर्खाइमा थिए।
करिब साढे ११ बजे प्रधानमन्त्री देउवा खोप केन्द्रमा आइपुगे। अस्पतालका निर्देशक डा काफ्लेले प्रधानमन्त्री देउवालाई खोप कक्षतर्फ लगे। प्रधानमन्त्री देउवाले निर्देशक काफ्लेसँग खोप कार्यक्रम कसरी सञ्चालन भइरहेको छ भन्ने जानकारी लिए। खोप केन्द्रको निरीक्षण गरेर केही जानकारी लिएपछि प्रधानमन्त्री देउवा नेपाल प्रहरी अस्पतालको खोप केन्द्र तर्फ लागे।
प्रधानमन्त्री देउवा सोमबार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा खोप केन्द्रको निरीक्षणमा निस्किएका थिए। उनले नेपाल अर्थोपेडिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, राधास्वामी केन्द्र लगायतका खोप केन्द्रहरुको निरिक्षण गरेका थिए।
निरीक्षणपछि प्रधानमन्त्री देउवाले खोप केन्द्रलाई थप व्यवस्थित र भिडभाड नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिए।
कोभ्याक्स फ्यासिलिटी मार्फत नेपाललाई अमेरिकाबाट जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार खोप प्राप्त भएको थियो। सरकारले सोही खोपलाई विभिन्न केन्द्र मार्फत लगाउन शुरु गरेको हो।
खोप कार्यक्रम सोमबारदेखि बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा सुरु भएको छ। यस्तै गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका अन्य जिल्लाहरुमा पनि जोन्सन एण्ड जोन्सनको खोप अभियान शुरु भएको छ।
प्रधानमन्त्री देउवाले केही दिन अघि पनि खोप केन्द्रहरुमा अव्यवस्थित भिडभाड भएको जानकारी पाएपछि खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन दिएका थिए। सोमबार निरीक्षणपछि पनि उनले सहज रुपमा खोप लगाउने वातावरण मिलाउन निर्देशन दिए।
प्रधानमन्त्री देउवा सोमबार पुगेका खोप केन्द्रहरुमा प्रधानमन्त्री देउवा पुग्ने समयमा व्यवस्थित देखिएपनि दिनभर सञ्चालिन खोप केन्द्रहरु पूर्ण रुपमा व्यवस्थित भने थिएन।
प्रधानमन्त्री बाहिरीएसँगै त्रिवि शिक्षण अस्पतालको खोपकेन्द्रमा फेरि अव्यवस्थित भिड बढ्यो। खोप केन्द्रलाई व्यवस्थित बनाउन खटिएका सुरक्षाकर्मीले माइकिङ गर्दै थिए।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीका अनुसार सोमबार ४०० जनाले जोन्सन एण्ड जोन्सन खोप लगाए। तर त्रिवि शिक्षण अस्पतालमा खोप लगाउने पुग्नेको भिड भने ४०० भन्दा बढी नै थियो।
खोप केन्द्रमा किन भिड बढी भएको भन्ने प्रश्नमा अधिकारी भन्छन् – ‘खोप कार्यक्रम अन्तर्गत कुन उमेर समूह र लक्षित वर्गका लागि लगाउने हो भन्ने जानकारी राम्रोसँग नपाउँदा पनि धेरै मानिसहरु खोप केन्द्रमा पुगेर खोप नलगाइ फर्कनुपर्ने अवस्था आएको हो।’
उनका अनुसार तोकिएको उमेर समूह र लक्षित वर्गभन्दा बाहिरका धेरै मानिस आउँदा भिड बढेको थियो। सोमबार अस्पतालमा खोप लगाउन करिब १३ जना आएका थिए। तर लक्षित समूह अन्तर्गत परेका ४ सय जनाले मात्र खोप लगाउन पाएका थिए।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, निजामती अस्पताल, वीर अस्पताल, लगायतका खोप केन्द्रमा पनि तोकिएको समूह र वर्गभन्दा बढी मानिस आउँदा भिडभाड बढेको थियो।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री खड्काका अनुसार काठमाडौं जिल्लामा मात्र ५५ वटा खोप केन्द्र तोकिएको छ। सोमबार साँझ ८ बजेसम्मको तथ्यांकका अनुसार ५५ मध्ये ४६ वटा खोपकेन्द्रमा १६ हजार ८९८ जनाले खोप लगाएका छन्। ९ वटा खोप केन्द्रको रिपोर्ट भने आउन बाँकी रहेको खड्काले जानकारी दिए।
जोन्सन एण्ड जोन्सनको खोप काठमाडौं उपत्यकामा मात्रै १ लाख ४६ हजार ५२४ जनालाई लगाउने लक्ष्य छ। काठमाडौंका लागि हाल २७ हजार ८४० भाइल खोप प्राप्त भएको थियो। जान्सनको खोप एक भाइलमा पाँच जनासम्म लगाउन मिल्छ।
प्रधानमन्त्रीले निर्देशन दिँदा पनि खोप केन्द्रहरुमा किन भिडभाड र अव्यवस्थित देखियो?
खड्काका अनुसार केही केन्द्रमा लक्षित समूहभन्दा बाहिरबाट खोप लगाउन आएका कारण भिडभाड देखिए पनि अव्यवस्थित भने थिएन।
‘मानिसहरुमा खोपका विषयमा पर्याप्त जानकारी नभएर हो वा खोप लगाउन पाइन्छ भनेर केन्द्रमा लक्षित समूह र वर्गभन्दा बाहिरका मानिसहरु आएका थिए,’ उनले भने, ‘त्यसले गर्दा केही केन्द्रमा भिडभाड बढी देखिएको हो। तर खोप केन्द्रहरुमा राम्रै व्यवस्थापन थियो।’
खोप केन्द्रहरुको निरीक्षणमा समेत पुगेका खड्काले खोप लगाउने लक्षित समूह भित्र नपरेका व्यक्तिहरु पनि खोप लगाउन केन्द्रमा पुगेको आफैंले भेटेको जानकारी दिए।
लक्षित वर्गमा को को?
उनका अनुसार काठमाडौंमा आज ५३ र ५४ वर्ष उमेर समूहको व्यक्तिहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मी तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर खोप कार्यक्रम सुरु गरिएको थियो।
तर लक्षित समूह बाहेकका व्यक्तिहरु पनि खोप लगाउन जाँदा खोप केन्द्रमा भिडभाड भएको उनको भनाइ छ।
‘आज नै सबैका लागि खोप अभियान थिएन, ५३–५४ वर्ष उमेर समूहको व्यक्तिहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइ कर्मी तथा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरिएको थियो,’ उनले भने, ‘तर विदेश जाने व्यक्तिहरु र ५०, ५१ र ५२ वर्षका तथा अन्य लक्षित समूह बाहेकका व्यक्तिहरु पनि खोप केन्द्रमा पुगेर भिडभाड भएको हो।’
मंगलबार र बुधबार कसले लगाउन पाउँछन्?
खड्काका अनुसार साउन ५ गते भोलि ५१–५२ वर्ष उमेर समूह, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मी तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र शरणार्थीहरुलाई खोप लगाउने कार्यतालिका रहेको छ।
यस्तै साउन ६ गते ५० वर्ष उमेर समूहका व्यक्ति र यसअघि छुट भएका ५१ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ। यस्तै, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मी, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा शरणार्थीहरुलाई खोप लगाउने कार्यतालिका रहेको छ।