काठमाडौं– नेपालमा दोस्रो लहरको कोरोना संक्रमण बैशाख र जेठ महिनामा उच्च विन्दुमा पुग्यो। त्यतिबेला संक्रमितको संख्यासँगै सिकिस्त बिरामीको संख्या पनि उच्च विन्दुमा पुगेको थियो।
वैशाखदेखि लागू भएको निषेधाज्ञापछि संक्रमण दर केही कम हुँदै गयो। कोरोना संक्रमण केही मात्रामा कम हुँदै गएपछि सरकारले निषेधाज्ञा खुकुलो बनाइसकेको छ।
काठमाडौं उपत्यकामा अघिकांश व्यापार व्यवसाय तथा कार्यालयहरु खुलिसकेका छन्। कोरोना संक्रमणको दर बैशाख र जेठ महिनाको तुलनामा कम भएको देखिएपनि संक्रमण दर शून्यमा पुगेको छैन। निषेधाज्ञा खुकुलो हुँदै गएपछि संक्रमण दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
निषेधाज्ञापछि संक्रमण दर केही कम भएपनि सिकिस्त संक्रमितको संख्या भने अझै कम नभएको चिकित्सकहरुले बताएका छन्।
वैशाख, जेठ महिनामा जस्तो बेड नै पाउन मुस्किल अवस्था नभएपनि अस्पतालमा भएका एचडीयू, आइसीयू र भेन्टिलेटरहरुमा संक्रमतिको चाप अझै रहेको चिकित्सकहरुले बताएका छन्।
त्रिवि शिक्षण अस्पतालका डा सन्त कुमार दासका अनुसार अस्पतालमा आउने सिकिस्त बिरामीहरु अझै कम भएका छैनन्।
अस्पतालमा आउने कोरोना संक्रमित मध्ये करिब ६० प्रतिशत सिकिस्त संक्रमित रहेको डा दासको भनाइ छ।
सिकिस्त भएर आउने बिरामीहरुमा धेरैजसो काठमाडौं उपत्यका बाहिरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट रेफर भएका बिरामीहरु रहेको डा दासले बताए।
‘हाम्रोमा अहिले आउने बिरामीमध्ये करिब ८० प्रतिशत त गम्भीर खालका नै छन्,’ डा दासले भने, ‘गम्भीर केस नै बढेको हो वा बाहिर जिल्लाबाट छनोट भएर आएकाहरु मात्र यहाँ आइपुगेका हुन्, त्यो भन्न अलि गाह्रो छ।’
उनका अनुसार अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमध्ये करिब ६० प्रतिशत संक्रमितहरु काठमाडौं उपत्यका बाहिरबाट रेफर भएर आएकाहरु छन्।
डा दासका अनुसार कोरोना संक्रमणको उच्च विन्दुको अवस्थामा बैशाख र जेठ महिनामा करिब ८० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाकै थिए।
रेफर भएर आउनेहरु धेरैजस्तो होम आइसोलेसन, स्थानीय तहले बनाएका संस्थागत आइसोलेसनमा बसेर स्वास्थ्य अवस्था गम्भीर भएर आउनेहरु बढी रहेको उनले सुनाए।
‘वडाको स्थानीय आइसोलेसन सेन्टरमा उपचार त हुँदैन, त्यहाँ निगरानी गर्ने मात्र हो,’ डा दासले भने, ‘ त्यसैले पनि घरमै रहेका तथा वडाको आइसोलेसनमा रहेर गम्भीर भएपछि आउनेहरु पनि छन्।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाले पनि गम्भीर स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितको चाप अझै कम नभएको जानकारी दिए।
उनले भने, ‘कोरोना संक्रमितहरु उपचारका लागि आउने क्रम जारी छ, कतिपय बिरामी सिकिस्त भएर आउँछन्,’ डा बास्तोलाले भने, ‘२४ वटा आइसीयु बेड रहेकोमा भर्ना भएर उपचारत बिरामीको संख्या २२ वा ३३ जना हुन्छन्।’
निषेधाज्ञा खुकुलो भएसँगै अस्पतालको आकस्मिक कक्षमा फेरि बिरामीको संख्या बढ्न थालेको डा बास्तोलाले सुनाए।
उनले भने, ‘संक्रमण अझै समुदायमा छ, निषेधाज्ञा खुकुलो भएपछि मापदण्ड अपनाइएको छैन, जसले गर्दा फेरि संक्रमण बढ्न थालेको हो कि जस्तो देखिन्छ।’
कोभिड युनिफाइड अस्पताल वीर अस्पतालका प्रमुख डा जागेश्वर गौतमले वीर अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक औसत ८० देखि १०० जना रहेको जानकारी दिए।
उनका अनुसार वीर अस्पतालका उपचारका लागि आउने संक्रमितको संख्या घटेपनि जोखिम नघटेको बताए।
‘अस्पतालमा दैनिक २२ जना आइसीयूमा उपचाररत छन्, सामान्य लक्षण भएका सिकिस्त दुवै थरिका बिरामी आइरहेका छन्,’ उनले भने, ‘त्यसमा सिकिस्त बिरामी अलि धेरै आइरहेका छन्।’
डा गौतमका अनुसार नेपालमा संक्रमण कम भएपनि सिकिस्त बिरामीको संख्या कम भएको छैन।
संक्रमितमध्ये केही प्रतिशत बिरामी सिकिस्त हुने, फरक खालको प्रजातिको भाइरस, लक्षण देखिएपनि अस्पताल समयमा नजाने, घरमै बसेर ढिला अस्पताल पुग्ने जस्ता कारणले गम्भीर खालका संक्रमितहरु कम नभएको डा गौतमको बुझाइ छ।
उनले सिकिस्त अवस्थामा आउने बिरामीहरु अघिकांश काठमाडौं उपत्यका बाहिरका रहेको जानकारी दिए।
बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा पनि गम्भीर किसिमका कोरोना संक्रमितहरु धेरै भएको अस्पतालका प्रहरी उपरीक्षक डा प्रविण नेपालले जानकारी दिए।
उनले भने, ‘अहिले पनि धेरै छन् सिभियर केसहरु, हाम्रोमा हाई केयरमा उपचारत बिरामीहरु पनि धेरैजस्तो आइसीयू नै चाहिने खालका छन्।’
दोस्रो लहरको समयमा नेपालमा एकै दिन ९ हजार संक्रमित भेटिँदा आइसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या २ हजारभन्दा माथि पुगेको थियो। अहिले दैनिक २ हजार ५ सय संक्रमित भेटिँदा पनि आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या ७ सय हाराहारीमा हुने गरेको तथ्यांकले देखाउँछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पनि संक्रमणको दर कम भएजस्तो गम्भीर अवस्थाका संक्रमित भने कम नभएको बताए।
पहिला नै संक्रमित भएर सिकिस्त भएकाहरु निको नभइसकेकाले आइसीयू भेन्टिलेटरमा उपचाररत रहेका, रिपोर्टिङमै समस्या, जटिलता भएपछि मात्र अस्पताल जाने क्रम रहेकाले पनि गम्भीर संक्रमित नघटेको उनको भनाइ छ।
नेपालमा कोरोना संक्रमण कम हुँदै गएको केही सातामा अस्पताल भर्ना हुनेको संख्या पनि कम हुँदै जाने भएपनि नेपालमा कोरोना संक्रमणको दर नै कम नभइसकेको डा अधिकारीले जानकारी दिए।
कति छन् देशभर सिकिस्त संक्रमित?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकका अनुसार देशभर होम आइसोलेसनमा २४ हजार २७४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ५५३ जना छन्।
यस्तै सातै प्रदेशका विभिन्न अस्पतालमा ५७८ जना आइसीयू र १७४ जना भेन्टिलेटरमा उपचाररत छन्। आइसीयू र भेन्टिलेटरमा उपचार हुनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ११४ जना आइसीयू र ५० जना भेन्टिलेटरमा, प्रदेश २ मा ११ जना आइसीयूमा, बागमती प्रदेशमा ३२३ जना आइसीयू र १०३ जना भेन्टिलेटरमा उपचाररत छन्।
यस्तै गण्डकी प्रदेशमा ५९ जना आइसीयू र ७ जना भेन्टिलेरमा, लुम्बिनी प्रदेशमा ५० जना आइसीयू र ९ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १६ जना आइसीयू र २ जना भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा ५ जना आइसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन्।
काठमाडौं उपत्यकाका ११ अस्पतालमा एचडीयू, आइसीयू र भेन्टिलेटरमा कति छन्?
स्वास्थ्य मन्त्रालयले काभ्रेको धुलिखेल अस्पताललाई पनि उपत्यका अन्तर्गतको अस्पतालको सूचीमा राखेर तथ्यांक सार्वजनिक गर्दै आइरहेको छ। जसअनुसार धुलिखेल अस्पताल सहित काठमाडौं उपत्यकाका ११ वटा सरकारी अस्पतालमा एचडीयू, आइसीयू र भेन्टिलेटरमा मात्र ८१२ जना संक्रमित उपचाररत छन्।
एचडीयू, आइसीयू र भेन्टिलेटरमा विशेषगरी गम्भीर अवस्थाका कोरोना संक्रमितहरुलाई विशेषज्ञ चिकित्सकको निगरानीमा राखेर उपचार गरिन्छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अपताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र धुलिखेल अस्पतालमा ५८० जना एचडीयू, १६४ जना आइसीयू र ६८ जना भेन्टिलेटरमा उपचाररत छन्।