काठमाडौं - ‘कोरोना महामारीमा खटिरहँदा तपाईंलाई लागेको सबैभन्दा ठूलो डर के हो?’ कोभिड संक्रमितको उपचार हुने अस्पतालमा जोखिम मालेर काम गरिरहेकी श्वेता भुजेल (३० वर्षीया) लाई प्रश्न सोधियो।
कोरोना महामारीमा खटिदाको अनुभव निकै उत्साहका साथ सुनाइरहेकी उनी एकाएक भावुक भइन्।
मौनतासहितको भावुकतालाई तोड्दै उनले एक शब्दमै उत्तर दिइन्, ‘छोरीको...।’
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उनी हाउस किपिङ सुपरभाइरजकी रुपमा कार्यरत छिन्।
उनको २२ महिनाको सानो छोरी छ। अस्पतालमा काम गरिरहँदा उनलाई लाग्ने सबैभन्दा ठूलो डर भनेकै सानी छोरीको मात्र हो।
आफूबाट छोरीलाई कोरोना सरिहाल्छ की भन्ने ठूलो डर अनि चिन्ता अहिले पनि उनको मनमा छ।
उनी भन्छिन्, ‘मेरो सानो बच्चा छ। ठूलो मान्छेसँग जस्तो बच्चामा रोगसँग लड्ने क्षमता हुँदैन। उनीहरुलाई रुघा लाग्यो, घाँटी दुख्यो भनेपनि भन्न सक्दैन। आफ्नो कारणले बच्चालाई कोरोना सर्छ की भन्ने डर हुन्छ। त्यो डर भइरहने रहेछ।’
ड्युटी गर्न उनी बिहान ७ बजे अस्पताल पुग्छिन्। लगातारको सात घण्टापछि दिउँसो २ बजे उनको छुट्टी हुन्छ। सबै सफाईकर्मी कर्मचारी समयमा आए/नआएको, उनीहरुले कसरी काम गरिरहेका छन्, पिपिई लगाएर काम गरेका छन् कि छैनन् लगायत निगरानीको गर्ने उनको काम हो।
दत्तचित्त भएर नै उनी काममा खट्छिन्। तर पनि उनलाई सानी छोरीकै झल्कोले सताइरहन्छ।
आमाको मन न हो !
‘के गरिरहेकी होला ? के खाइन् होला?’ भन्ने जस्ता प्रश्नहरु उनको मनमा खेलिरहन्छ।
उनी मात्र कहाँ हो र!
ती सानी छोरीले पनि आमा खोज्दा हुन्।
जब श्वेता घर पुग्छिन्, उनको छोरी उनलाई देख्ने बित्तिकै नजिक जान खोज्छिन्। अगाँल्न खोज्छिन्। तर श्वेता भने टाढा भाग्छिन्। घर जाने बित्तिकै छोरीलाई अँगालोमा लिउँ, एकछिन् खेलाउँ भन्ने चाहना उनको मनमा पनि हुन्छ। तर छोरीको सुरक्षाको खातिर उनी चाहेर पनि त्यसो गर्न सक्दिनन्।
घर पुग्ने बित्तिकै पहिला उनी नुहाउँछिन्। कपडा परिवर्तन गर्छिन्। त्यो बेलासम्म उनको छोरीलाई परिवारका अन्य सदस्यले आफूसँगै राख्छन्। केही समयपछि मात्र उनी छोरी नजिक जान्छिन्। खेल्छिन्। त्यो बेला मात्र उनको दिनको पुरा थकाई एकछिनमा हराउँछ।
‘पहिले त घर जाने बित्तिकै छोरीलाई लिन्थें। खेलाउँथे। तर अहिले छुन पनि डर लाग्छ,’ उनले भनिन्, ‘घर जाने बित्तिकै छोरी नजिक आउन खोज्छिन्। तर एक जनाले समात्नु हुन्छ। आफूलाई स्यानिटाइज गरेपछि मात्र छोरीलाई छुन्छु। जाने बित्तिकै कहिल्यै पनि छुँदिन।’
कोरोना अघि उनले छोरीलाई सजिलोका लागि चपाएर खुवाउँथिन्। आफू खाँदै, छोरीलाई खुवाउँथिन्। त्यो प्रेम र त्यो पल उनलाई निकै प्यारो लाग्छ। तर अहिले उनले जुठो खुवाउँदिनन्। न त आफ्नो न अरुको।
जुठो खुवाउँदा विभिन्न रोगको जोखिम हुने भन्दै उनी भन्छिन्, ‘पहिला चपाएर खुवाउँथे। मैले खाँदै गरेको खाना पनि खुवाउँथे। तर अहिले जुठो खुवाउँदिन। मेरो मात्र होइन, कसैको पनि जुठो खुवाउन दिएको छैन।’
श्वेताले प्रसूति गृह अस्पतालमै सुपरभाइजरको रुपमा काम गर्न थालेको तीन वर्ष भयो। यो बीचमा उनले धेरै किमिसको उतारचढावसँग साक्षात्कार गर्ने मौका पाएकी छिन्।
कोरोना अघि र अहिले काम गर्नुमा निकै फरक लाग्छ उनलाई। उनका अनुसार पहिले काम गरिरहँदा त्यति डर र जोखिम थिएन। जति अहिले छ। सानो लापरबाहीले पनि आफू र आफ्नो परिवार नै जोखिममा पर्न सक्ने उनी बताउँछिन्।
‘पहिले त्यति डर लाग्दैनथ्यो। तर अहिले राम्रोसँग मास्क, ग्लोब्स, पिपिई सबै लगाएर काम गर्नुपर्छ। ध्यान दिएर सावधानीपूर्वक काम गर्नुपर्छ,’ उनले भनिन्।
जनस्वास्थ्यका मापदण्ड पालना गरेका कारण हालसम्म आफू कोरोनबाट सुरक्षित रहेको उनी बताउँछिन्। उनको परिवारमा पनि हालसम्म कसैलाई कोरोना भइसकेको छैन। परिवारका अन्य सदस्यले कोभिड–१९ विरुद्धको खोप लगाएपनि उनले भने छोरी सानी भएका कारण खोप लगाइनन्।
सही तरिकाले मास्क लगाए, हात धोए, सामाजिक दूरी कायम गरे कोरोना संक्रमणबाट बच्न सकिने उनको अनुभव छ।
उनी भन्छिन्, ‘सुरक्षित भएको काम गर्यो भने यो रोग नसर्ने रहेछ। जनस्वास्थ्यका मापदण्ड पालना गरेर नै हामीले काम गरिरहेकाले पनि होला अहिलेसम्म सुरक्षित नै छु।’
अस्पतालले आफूहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको उनले बताइन्। प्रसूति गृह अस्पतालमा उनी सहित हाल ९५ जना सरसफाईकर्मी छन्। जसमध्ये ९० जना महिला र बाँकी पुरुष रहेको अस्पतालले जनाएको छ।
परिवारबाट पनि उनलाई साथ नै दिएका छन्। परिवारको चिन्ता र माया त छदैछ। त्यो सँगै डर पनि छ। तर विषम परिस्थितिमा आफूहरु पछि हट्न नमिल्ने श्वेता बताउँछिन्। यही बेला नै आफूहरु सुरक्षित भएर कोरोना विरुद्धको लडाइँमा होमिनुपर्ने उनले बताइन्।
‘हामी स्वास्थ्य क्षेत्रमा काम गरिसकेपछि यस्तो अवस्थामा पछि हट्न मिल्दैन,’ उनले भनिन्, ‘जस्तोसुकै अवस्थामा पनि हामीले लडेर काम गर्नुपर्छ। सुरक्षित भएर काम गरे कोरोना सर्दैन भनेर परिवारलाई पनि बुझाएको छु।’
कोरोनाको पहिलो लहरमा पनि खटिसकेकी उनी सबै एक जुट भएर अघि बढेमा कोरोना विरुद्धको लडाइँ जित्न सकिने उनको आत्मविश्वास पनि छ।