काठमाडौं– दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्ने ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
डाक्टरमाथि कुटपीट गर्ने दोलखाको तामाकोसी गाउँपालिका–५ का २८ वर्षीय रोशन पोखरेल, तामाकोसी गाउँपालिका–४ का ३२ वर्षका गोपाल तिमिल्सीना, ५० वर्षका बिजुले नेपाली र ४० वर्षका कुमार श्रेष्ठविरुद्ध पीडित डाक्टर रोविस कार्कीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको कसूरमा कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन्।
पीडित चिकित्सकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ को दफा ३ को खण्ड (ग) विपरीतको कसूर गरेको भन्दै किटानी जाहेरी दिएका हुन्। जाहेरीमा ४ जनालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यको सुरक्षासम्बन्धी ऐन, २०६६ को संशोधित (अध्यादेशबाट) दफा १५ को उपदफा (२) को खण्ड (ख) अनुसार सजायको माग गरिएको छ।
अध्यादेशबाट संशोधित व्यवस्थाअनुसार दफा १५ को उपदफा (२) को खण्ड (ख)मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा चोट पुर्याउनेलाई ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
शनिबार राति मदिरा सेवन गरेर अस्पतालमा प्रवेश गरी उनीहरुले डा कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारमाथि कुटपिट गरेका थिए। घटनापछि तिमल्सिना, पोखरेल र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पर्खाल नाघेर अस्पताल भित्र प्रवेश गरेर आफूमाथि कुटपिट गरेको भन्दै डा काकीले जिल्ला प्रहरी कार्यालय दोलखामा आइतबार ४ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन्। प्रहरीले पक्राउ परेका ३ जनाविरुद्ध १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ।
के भएको थियो घटना? पीडित डाक्टरको भनाइ उनकै शब्दमा–
हाम्रो यहाँ कोभिड अस्पताल हो। त्यसैले कोरोना संक्रमितको मात्र उपचार हुन्छ। अहिले हामीसँग २ जना कोरोना संक्रमित भर्ना भएर उपचार गराइरहनु भएको छ।अस्पतालमा २ जना नर्स र चिकित्सक म मात्र छु। हाम्रो क्वार्टर (आवास) अस्पतालभित्र नै भएकाले हामी २४ घण्टा नै यहाँ हुन्छौं।शनिबार राति १२ बजेतिर मदिरा सेवन गरेर एकआपसमा झगडा गरेका ४ जना व्यक्तिहरु खुट्टा सुन्निएको अवस्थामा आइपुगेका थिए। मैले उनीहरुसँग के भएको भनेर सोधपुछ गरे। उनीहरु अस्पताल भित्र प्रवेश गर्न खोजे। मैले यो कोरोना विशेष अस्पताल हो। यहाँ कोरोना संक्रमित उपचाररत छन् त्यसैले भित्र नआउनुस् म बाहिर नै हेर्छु भने।त्यसपछि उनीहरुले मलाई तँ को होस्? हामीले बनाएको अस्पताल हो यो भनेर थर्काए।हामीलाई थर्काउने नियतले आएको थाहा पाएपछि म गेट लगाएर भित्र आए। उनीहरु पर्खाल नाघेर अस्पताल भित्र आए।अस्पताल भित्र आएपछि रोशन पोखरेलले हाम्रो कार्यालय सहयोगीको घाँटी समाते। गोपाल तिमल्सिनाले मलाई थप्पड हान्न खोजे। मैले प्रतिकार गर्दा उनको हात मेरो छातीमा लाग्यो। त्यसपछि हामी दुवैजना भाग्यौं। काठाभित्र पसेर ढोका लगायौं।त्यसपछि उनीहरुले मारिदिन्छौं, कालोमोसो दलेर जागिरबाटै निकाल्छौं भन्नेसम्मको धम्की दिए।अपस्पतालमा आगो लगाइदिन्छौं भनेर करिब आधा घण्टासम्म गाली गरे। त्यसपछि उनीहरु गए।१२ बजेतिर यस्तो घटना भएपछि हामीले प्रहरीलाई खबर गर्यौं। तीनबजेतिर प्रहरीले ३ जनालाई पक्राउ गर्यो। |