काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा आइतबार बिहान अस्पतालका स्वास्थ्यकर्मीको बाक्लो उपस्थिति थियो। कोहीले छाता ओडेका थिए। कोही पानीमा भिज्दै उभिएका थिए।
उनीहरुसँग हातमा ब्यानर समेत थिए। ब्यानरमा विभिन्न माग उल्लेख छ।
कोरोना महामारीको समयमा अस्पताल परिसर भित्रै स्वास्थ्यकर्मीको बाक्लो भिड देखेर उपचारका लागि पुग्ने बिरामीका आफन्तहरु पनि उनीहरुलाई नियालिरहेका थिए।
प्रतिष्ठानका स्वास्थ्यकर्मीको यो उपस्थितिको कारण थियो– प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका घटना र स्वास्थ्यकर्मीको प्रोत्साहन र मागप्रति प्रतिष्ठानका पदाधिकारीको चरम वेवास्ता।
प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरु प्रतिष्ठानको शाख जोगाउन र प्रतिष्ठानमा भइरहेका अनियमितता तथा वेथिति सुधारका लागि एकजुट भएका हुन्। उनीहरुको मुख्य चासो नै कुनै समय गौरवमय इतिहास बोकेको प्रतिष्ठानको त्यही शाख र गौरव फर्काउनुमा केन्द्रित छ।
प्रतिष्ठानमा भइरहेका अनियमितताको अन्त्यसँगै प्रतिष्ठानको विकास र विस्तार हुनुपर्ने उनीहरुको मुख्य माग रहेको बताइएको छ। यसका साथै कर्मचारीलाई उचित प्रोत्साहन हुनुपर्ने माग पनि उनीहरुले राख्दै आइरहेका छन्। प्रतिष्ठानको शुद्धिकरणका लागि भन्दै उनीहरुले असार १ गतेदेखि आन्दोलनमा होमिएका छन्।
उनीहरुले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान– संयुक्त संघर्ष समिति नै बनाएर अस्पताल परिसरमा दैनिक धर्ना दिएर आन्दोलन गरिरहेका छन्।
उक्त आन्दोलनमा मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरु एक भएर प्रतिष्ठानमा भइरहेको वेथिति विरुद्ध जुटेका छन्।
असार १ गतेदेखि हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म प्रतिष्ठानको पदाधिकारीको कक्ष बाहिर धर्ना दिँदै आएका छन्। आइतबार पनि त्यही कार्यक्रम अन्तर्गत उनीहरु पदाधिकारी कार्यालय अगाडि धर्नामा बसेका हुन्।
आफ्ना मागहरु सुनुवाइमा ध्यान नदिएको भन्दै आइतबार उनीहरुले प्रतिष्ठानका रेक्टर, रजिस्ट्रार, अस्पताल निर्देशकले चढ्ने सवारी साधनको चाबी समेत नियन्त्रणमा लिएका छन्।
उनीहरुले प्रतिष्ठान डुबाउनेलाई संस्थाको गाडी चड्ने अधिकार नभएको भन्दै प्रतिष्ठान सुधार गर्ने योजना सहित शुद्धिकरणको मुद्दामा सम्बोधन गरेमा मात्र चाबी फिर्ता गरिने समेत बताएका छन्।
प्रतिष्ठानमा अनियमितता तथा भ्रष्टाचारका घटनाहरु बढ्दै गएको भन्दै उनीहरु एक भएर प्रतिष्ठानमा भएको बेथिति तत्काल रोकिनुपर्ने, प्रतिष्ठानका हरेक दिनको आयव्यय लगायतको कोरोबारको विस्तृत विवरण वेवसाइट मार्फत सार्वजनिक गर्नुपर्ने, प्रतिष्ठानका सबै स्टोरहरु एकद्वार प्रणालीबाट संचालन गर्नुपर्ने, प्रतिष्ठानका ल्याबहरुको क्षमता, गुणस्तर र प्रविधिको विकास गर्नुपर्ने लगायतका माग गरेका छन्।
बिरामी उपचार सम्बन्धि सम्पूर्ण सेवाहरु अनलाइन मार्फत हुनेगरी व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानसँग गाँसिएका अनियमितता र भ्रष्टाचारको मुद्दाहरुलाई छिटो टुंग्याउन प्रतिष्ठान, आन्दोलनर पक्ष र सहकुलपति लगायतले अपिल गर्ने, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नका लागि प्रतिष्ठानमा आवश्यक उपकरणहरु, डेन्टल चेयर, डिजिटल एक्सरे, सिटिस्क्यान, एमआरआई लगायतका अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणको तत्काल व्यवस्था हुनुपर्ने माग समेत उनीहरुले राखेका छन्।
यस्तै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मिलाई गत वर्षको जोखिम भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, वर्षौदेखि रोकिएको बढुवालाई नियमावली संशोधनपछि समायोजन हुने गरी तत्काल बढुवा गर्नुपर्ने र आवासीय चिकित्सकहरु र विद्यार्थीको छात्राबास निर्माण, छात्राबासको शुल्क, इन्टरनेट सर्भिस, बिद्युत, पानी लगायत समस्या तत्काल समाधान गर्नुपर्ने माग पनि गरेका छन्।
यसैगरी, प्रतिष्ठानमा बिग्रिएका सबै उपकरणहरुको विषयमा अध्ययन हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत सम्पूर्ण जनशक्तिले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरे नगरेको प्रत्येक ३ महिनामा मुल्यांकन गर्न समिति बनाइ काम नगर्ने कर्मचारीलाई कारबाही वा निष्कासन गर्नुपर्ने, हरेक विभाग तथा शाखाहरुले मासिक प्रगति विवरणको रेकर्ड राख्नुपर्ने माग पनि छ।
यी १२ बुंदे माग राख्दै १३ दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीको माग र आन्दोलन प्रति प्रतिष्ठानका पदाधिकारीहरु भने मौन छन्।
प्रतिष्ठानको सुधारको माग गर्दै आन्दोलन गरेको १३ दिनसम्म पनि प्रशासनले आफ्नो मागहरुको सुनुवाइमा ध्यान नदिएको संयुक्त संघर्ष समितिका संयोजक डा सुर्य रिमालले जानकारी दिए।
‘हाम्रो आन्दोलन सुरु भएको १३ दिनभइसक्यो, हाम्रो आन्दोलनको मुख्य दुईवटा कारण छ,’ डा रिमालले भने, ‘एउटा नियमित हुने प्रक्रिया (तलब, भत्त बढुवा) को विषय सुनुवाइ नभएकाले आन्दोलन गर्नै पर्ने अवस्था आयो, अर्को भनेको स्वास्थ्य र शिक्षासँग सम्बन्धित प्राज्ञिक संस्थामा अनियमितताको कुरा पटक पटक उठ्दा प्रतिष्ठानका पदाधिकारी पारदर्शी, उत्तरदायी भएनन्। त्यसैले आन्दोलन गरिरहेका छौं।’
उनले प्रतिष्ठानमा सरकारले हालै लागू गरेको एक चिकित्सक÷स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था २७ वर्षअघि देखि नियमित रुपमा भइरहेको पुरानो संस्था भएको जानकारी दिए।
तर पछिल्लो समयमा प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचारको विषयले प्रतिष्ठानको गरिमामा आँच आइरहेको भन्दै आफूहरुले प्रतिष्ठानमा हुने अनियमितताको विरुद्ध एक भएर आवज उठाउन परेको डा रिमालको भनाइ छ।
उनले प्रतिष्ठानका सबै चिकित्सक, नर्स, विद्यार्थी तथा कर्मचारी आन्दोलनमा भएपनि अस्पतालको सेवा प्रवाहमा भने असर नपारेको पनि जानकारी दिए।
आफ्ना मागहरु पुरा हुनुपर्ने भन्दै भोलिदेखि रिले अनसनको तयारी समेत गरिएको डा रिमालले बताए।