काठमाडौं– केही दिन अघिदेखि देशभर वर्षा भइरहेको छ। लगातार वर्षाका कारण देशका विभिन्न ठाउँहरु बाढी, पहिरो तथा डुवानमा समेत परेको छ।
बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटी लगायतका देशका विभिन्न जिल्लाहरु प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ।
यसवर्षको बाढीमा परेका केहीको मृत्यु भइसकेको छ भने कतिपय अझै बेपत्ता समेत भएको गृह मन्त्रालयले जनाएको छ।
यस्तै कतिपय ठाउँहरुमा बाढी पहिरोमा परि मानिसहरु घाइते समेत भए। वर्षाका कारण बाढी पहिरोबाट सबैभन्दा धेरै मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ।
मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकाका नदी तटीय क्षेत्र प्रभावित भएको छ। बाढीका कारण कति क्षति भयो भन्ने विषयमा एकिन तथ्यांक आइसकेको छैन। मेलम्ची नगरपालिकाका मात्र बाढी प्रभावित करिब ४ सयभन्दा बढी व्यक्तिलाई स्थानीय सरकारले इन्द्रेश्वर माविमा राखेको छ।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशका अधिकांश भु–भागमा अविरल वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण आगमी दिनमा पनि बाढी पहिरो र डुवानको घटना बढ्नसक्ने जनाइएको छ।
बाढी तथा पहिरोका कारण विस्थापित भएका व्यक्तिहरु अहिले सामुहिक रुपमा अस्थायी बसोबास गरिरहेका छन्। यस्तो अवस्थामा बाढी र पहिलो प्रभावित क्षेत्रमा बाढी र पहिरोका कारण मात्र नभइ स्वास्थ्य समस्याको जोखिम समेत बढ्ने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन्।
एकातिर कोरोना भाइरस संक्रमणको महामारी छ भने अर्को तर्फ बाढी पहिरो र डुबानको समस्या थपिएको छ। महामारीमा थपिएको विपत्तिले प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग तथा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सचेत रहन विज्ञहरुले सुझाव समेत दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सार्वजनिक रुपमा नै सूचना जारी गर्दै थप सतर्क र सजग रहन भनेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बाढी र पहिरो प्रभावित क्षेत्रमा सरसफाइ र खानपानमा विशेष ध्यान नदिए विभिन्न खालको सरुवा रोगको प्रकोप समेत थपिन सक्ने बताए।
‘वर्षाको समयमा बाढी पहिरोले प्रभावित भएका ठाउँहरुमा विशेषगरी खानेपानी र सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ,’ डा पुनले भने, ‘खानेपानी दुषित छ,सरसरफाइमा ध्यान दिइएको छैन भने त्यहा अर्को सरुवा रोगको प्रकोप समेत थपिन सक्छ।’
डा पुनका अनुसार वर्षाको समयमा विशेषगरी पानीजन्य, किटजन्य तथा खानपानसँग सम्बन्धी रोगहरुको जोखिम हुने गर्छ।
‘सामुहिक रुपमा बस्दा लेप्टोस्पाइरोसिस, झाडापखाला, हैजा, फुड पोइजनिङ, टाइफाइड, डेंगी, जण्डिस, हावाबाट सर्ने रोग तथा समस्याको पनि जोखिम हुनसक्छ,’ डा पुनले भने, ‘यो समयमा टहरा वा अस्थायी ठाउँमा बस्दा किर्नाहरुले टोकेर स्क्रब टाइफस पनि हुनसक्ने जोखिम बाढी पहिरो प्रभावित क्षेत्रमा देखिन हुनसक्छ।’
बाढी पहिरो प्रभावितहरु सामुहिक रुपमा बस्दा सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
‘बाढी प्रभावित क्षेत्रमा शुद्ध, पानी र सफा शौचालयको व्यवस्थापन हुन आवश्यक छ,’ उनले भने, ‘अहिले प्रभावित क्षेत्रका स्थानीयको ध्यान यसमा नहुनपनि सक्छ, उहाँहरु पीडामा हुन सक्नुहुन्छ, विशेषगरी राहात तथा सहयोग गर्न जानेहरुले प्रभावितको स्वास्थ्यको विषयमा पनि ध्यान दिन आवश्यक छ।’
बाढी प्रभावित सिन्धुपाल्चोकमा अहिले विभिन्न व्यक्ति, सामाजिक संघसंस्था तथा युवा समूहहरु बाढीबाट विस्थापित भएकाहरुका लागि राहत सामाग्री लिएर गइरहेका छन्।
नेपालमा कोरोना संक्रमणको दर शून्य भइसकेको अवस्था छैन। यस्तो अवस्थामा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि धेरै मानिसहरुबीच सम्पर्क हुँदा बाढी प्रभावित क्षेत्रमा कोरोना संक्रमणको समेत जोखिम हुने डा पुनले बताए।
‘बाढी प्रभावित क्षेत्रका स्थानीय समुहिक रुपमा बस्दा उहाँहरुमा पनि कोरोनाको जोखिम हुनसक्छ, यस्तै राहत वितरणका लागि जानेहरुबाट पनि कोरोना सर्ने जोखिम हुनसक्छ,’ डा पुनले भने, ‘त्यसैले प्रभावित क्षेत्रमा जाँदा जानेहरुले पनि सावधानी अपनाउन पर्छ, सामुहिक रुपमा राख्दा उनीहरुलाई गाँस, बाससँगै कोरोनाबाट जोगिन मास्क, स्यानिटाइजरको व्यवस्था गरि जनस्वास्थ्यको मापदण्डलाई पनि पालना गराउने प्रयास गर्नुपर्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले पनि बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याहरु देखिन सक्ने भएकाले सवाधानी अपनाउन आग्रह गरिएको जानकारी दिए।
डा पौडेलका अनुसार वर्षाको समयमा पानीको स्रोत दुषित हुनसक्ने भएकाले फोहोर पानीले झाडापखला, आँउ, हैजा, टाइफाइड, जण्डिस लगायत भाइरस तथा ब्याक्टेरियाका कारण लाग्ने रोगहरुको जोखिम हुने गर्छ। यस्तै लामखुट्ट, भुसुना तथा अन्य किराका कारण हुने किटजन्य रोगहरु हुने सम्भावना पनि उत्तिकै रहन्छ।
बाढी पहिरोका घटना पछि स्वास्थ्य सम्बन्धी रोग तथा समस्याको जोखिम बढ्नसक्ने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहमा र्यापिड रेस्पोन्स समूह बनाएको र स्थानीय स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीहरु त्यसमा संलग्न रहेको डा पौडेलको भनाइ छ।
यो वर्ष हालसम्म कुनै पनि क्षेत्रमा बाढी पहिरोपछि पानीजन्य तथा अन्य रोग तथा संक्रमणको प्रकोप नदेखिएको डा पौडेलले जानकारी दिए।
तर लगातारको वर्षाका कारण यो समयमा यी रोगहरुको जोखिम भएकाले स्वास्थ्य सम्बन्धि जोखिम प्रतिकार्यका लागि विभागले विज्ञ चिकित्सकहरुलाई तयारी अवस्थामा राखिएको डा पौडेलले बताए।
‘स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रमा बाढी पहिरोपछि हुनसक्ने स्वास्थ्य समस्या समाधानका लागि र्यापिड रेस्पोन्स टिम बनाइएको छ,’ डा पौडेलले भने, ‘हामीले जीवनजल, लगायत अत्यावश्यक औषधिको भावन हुन नदिने, पानी सफा गर्ने क्लोरिङहरु सप्लाइ गर्ने विषय तथा आवश्यकता अनुसार उपचारात्मक सहयोगका लागि हामी तयारी अवस्थामै छौं।’
डा पौडेलले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सिन्धुपाल्चोकमा आवश्यक परे भिडभाड कम गर्ने र एन्टिजेट विधिबाट कोरोना परीक्षण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
‘सिन्धुपाल्चोकको बाढी प्रभावितहरुमा कोरोना भाइरसको पनि जोखिम हुने भएकाले हामीले जिल्लासँग समन्वय गरिरहेका छौं, सामुहिक रुपमा राख्दा जनस्वास्थ्यको मापदण्ड पालना गराउने विषयलाई पनि ध्यान दिन भनेका छौं,’ डा पौडेलले भने, ‘आवश्यक परेमा हामीले एन्टिजिन विधिबाट कोरोना परीक्षण पनि गर्नेछौं।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले पनि बाढी पहिरो प्रभावित क्षेत्रमा कोरोना संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाई सम्बन्धि जनस्वास्थ्यको समस्या बढ्ने भएकाले सजक हुनुपर्ने बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा राहात तथा उद्दारका लागि खटिदा कोरोना संक्रमणबाट जोगिन जनस्वास्थ्यको मापदण्ड पालन गर्न पनि डा अधिकारीको सुझाव छ।
‘उद्दार तथा राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्धको जनस्वास्थ्यको मापदण्डको ख्याल गरी पालना गर्न गराउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयक्त गाँस र बासको प्रवन्धसँगै सरसफाई तथा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरुमा ध्यान दिनुहुन अनुरोध छ’ डा अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्।
प्रभावितहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरणहरु, स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालयहरु, प्रदेशका सम्बन्धि निकायहरु मार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरुले समन्वयको व्यवस्था गरिरहेको पनि डा अधिकारीले जानकारी दिए।
-तस्बिरहरु : निमेष जंग राई