काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बालबालिका लक्षित आइसोलेसन तथा आइसीयू बेड सञ्चालनको तयारी गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने र अबका दिनमा बालबालिकाहरु बढी जोखिममा हुने भएकाले सबै अस्पतालहरुलाई बालबालिकाको लागि विशेष उपचार गर्ने बेड तथा वार्डको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशनपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि बालबालिकाको लागि आइसीयू, नियोनेटल बेड तथा एचडीयू र आइसोलेसन बेडको व्यवस्थापनको तयारी गरिसकेको जनाएको छ।
प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले तेस्रो लहरको कोरोना संक्रमणको लागि अस्पतालको उपचारात्मक सेवालाई तयारी अवस्थामा राखिएको जानकारी दिइन्।
‘तेस्रो लहरको संक्रमणको उपचारात्मक सेवाको पूर्व तयारीका लागि १०० बेडको आइसोलेसन छुट्याएका छौं,’ उनले भनिन्, ‘त्यसमा पेडियाट्रिक आइसीयू १० वटा, नियोनेटल ६ वटा, अन्य व्यक्तिका लागि १० वटा आइसीयू र एचडीयू ५० वटा राखेका छौं।’
प्रतिष्ठानले कोरोना संक्रमितमा हाल देखिएको ब्ल्याक फंगस (म्युकरमाइकोसिस) को उपचार तथा शल्यक्रिया सेवा सञ्चालन गर्न विशेषज्ञ चिकित्सकको टोली समेत बनाएको उपकुलपति डा भण्डारीको भनाइ छ।
अस्पतालले हालसम्म कोभिड संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइरहेको पनि उनले जानकारी दिइन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको दोस्रो लहरको समयअवधि अर्थात बैशाख १ गतेदेखि जेठ ३१ गते सम्ममा २९५ जना कोरोना संक्रमित भर्ना भएका थिए।
ती मध्ये २२१ जना निको भएका छन् भने ३३ जनालाई अन्य अस्पतालमा रेफर गरिएको थियो। यस्तै ४१ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो। यस्तै प्रतिष्ठानले सञ्चालन गरेको फिवर क्लिनिकमा ६६ जनाले स्वास्थ्यजाँच गराएका थिए भने ७९ जनालाई अब्जरभेसनमा राखेर सेवा दिइएको थियो। यस्तै ७ हजार १२ जनाले पीसीआर परीक्षण गराएका थिए ।
कोरोना महामारीमा प्रतिष्ठानले कसरी दियो स्वास्थ्य सेवा? उपकुलपति डा भण्डारीको भनाइ उनकै शब्दमा :
सुरुमा हाम्रो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना विशेष अस्पतालमा भनेर तोकिएको थिएन। कोरोना विशेष अस्पतालमा नभएपनि हामीले कोरोना संक्रमितहरुलाई पनि उपचार गर्नका लागि १८ बेड छुट्याएका थियौं।
पहिलो फेजको कोरोनामा हामीकहाँ अन्य बिरामीको चाप निकै बढेको थियो। त्यतिबेला हामीले जनरल स्वास्थ्य सेवा र कोभिड दुवैको सेवालाई सँगसँगै लैजानुपर्ने अवस्था थियो।
नेपालमा कोरोना संक्रमण देखिएको सुरुवाती अवस्थामा हामीकहाँ कोरोना संक्रमितको चाप धेरै थिएन। तर केस विस्तारै बढ्दै जान थाल्यो। त्यसपछि हामीले दाङमा नै पहिलो पटक पिसिआर प्रयोगशाला सञ्चालनमा ल्यायौं। दाङमा अहिले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र पीसीआर प्रयोगशाला छ।
सरकारले हामीले कोरोना विशेष अस्पताल भनेको थिएन, तर बिरामीको चापले गर्दा हामीले कोरोना विशेष अस्पतालले जसरी नै संक्रमितलाई उपचार सेवा दिनुपर्ने अवस्था आयो।
कोभिड र ननकोभिड दुबै सेवालाई सुचारु गर्न चुनौतिपूर्ण कार्य थियो । तर हामीले सेवालाई निरन्तरता दियौं।
कोरोना संक्रमणको दोस्रो लहर आएपछि स्वास्थ्य मन्त्रालयले हामीलाई अस्पतालको कुल शय्याको ५० प्रतिशत शय्या कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको थियो।
जिल्लाहरुमै प्रतिष्ठान बाहेक अन्य ठूला अस्पताल थिएनन्। त्यसैले हामीले ७० देखि ८० प्रतिशत शय्यामा कोरोना संक्रमितलाई राख्नुपर्ने अवस्था आयो। दोस्रो लहरको कोरोना संक्रमणको समयमा संक्रमितको चाप अत्याधिक भयो। त्यतिबेला हामीले बिरामीलाई फर्काउने अवस्था पनि थिएन। उपचारका लागि अस्पतालमा आइपुगेका सबै कोरोना संक्रमितलाई उपचार सेवा दिनुपर्छ भनेर हामीले ट्रायज, अब्जरभेसन र अप्रेसन थिएटरमा समेत बिरामीलाई राखेर उपचार सेवा दियौं।
दोस्रो लहरको कोरोना संक्रमण उच्च विन्दुमा पुगेको अवस्थामा हामीलाई अक्सिजन अभावको समस्या सामना गर्नुपर्यो। हामीले नेपालमा पहिलो लहरको कोरोना संक्रमण देखिएपछि नै अक्सिजन प्लान्ट माग गरेका थियौं। तर अघिल्लो वर्ष अक्सिजन प्लान्टका लागि बजेट नै दिइएन।
अहिले १५ दिनमा अक्सिजन प्लान्ट राख्नुस् भनेर निर्देशन आयो। अक्सिजन प्लान्ट बिरामीकै जीवनरक्षाका लागि हो। त्यसैले १५ दिनमै सम्भव नभएपनि हामीले अक्सिजन प्लान्ट राख्ने योजना बनाएका छौं। हामीले अहिले दुईवटा अक्सिजन प्लान्ट बनाउँदै छौं।
२० बेडको आइसीयू, ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) र ३० बेडको आइसोलेसन गरेर १०० बेड कोरोना संक्रमितका लागि व्यवस्थापन गर्दैछौं।
विगत एक सातादेखि अस्पतालमा कोरोना संक्रमित निको हुने दर बढेको छ। मृत्युदर कम भएको छ। तर अहिले पनि पुराना बिरामीहरु समस्या भएर फेरि आउने गरेका छन्।
हामीले अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामीलाई घरमै पनि टेलिमेडिसिन सेवा १४ दिनसम्म दिइरहेका छौं। त्यसका लागि ४ जना चिकित्सकको टोली खटाएर फोन मार्फत बिहान र बेलुका फोन गरेर घरमै रहेका बिरामीलाई पनि निगरानी गर्ने काम गरेका छौं।
१४ दिनसम्म निरन्तर निगरानी गरेपछि बिरामीलाई कुनै स्वास्थ्य समस्या देखिए जानकारी गराउनुस् भन्ने गरेका छौं।
हामीले अबका दिनमा आउनसक्ने तेस्रो लहरको कोरोना संक्रमणका लागि पनि पूर्व तयारीका काम अघि बढाइसकेका छौं। तेस्रो लहरको कोरोना संक्रमणको तयारीका लागि पेडियाट्रिक आइसीयू, नियोनेटल आइसीयू र पेडियाट्रिक विभागका सेवालाई व्यवस्थित र विस्तार गर्न लागेका छौं।
तेस्रो लहरको संक्रमणको उपचारात्मक सेवाको पूर्व तयारीका लागि १०० बेडको आइसोलेसन बेड व्यवस्थापन गर्दैछौं। त्यसमा पेडियाट्रिक आइसीयू १० वटा, नियोनेटल ६ वटा र अन्य व्यक्तिका लागि १० वटा र एचडीयू ५० वटा राख्ने तयारी भइरहेको छ।
जनशक्तिको कुरा गर्नुपर्दा हामीसँग एनेस्थेसियाका चिकित्सक ३ जना हुनुहुन्छ, मेडिसिनका ३ जना हुनुहुन्छ। यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हामीलाई आइसीयू सञ्चालन गर्नका लागि २ जना नर्सहरु तीन महिनादेखि सहयोग गर्नुभएको छ।
उहाँहरुले हाम्रा नर्सहरुलाई एक महिनादेखि तालिम दिइरहनु भएको छ।
दोस्रो लहरको संक्रमण देखिन थालेपछि केही चिकित्सक तथा नर्सहरु थप पनि गरेका थियौं। यस्तै, फार्मेसी तथा प्रयोगशालाहरुमा पनि आवश्यकता अनुसार जनशक्तिको व्यवस्थापन गरेका छौं।
अहिलेलाई हामीसँग जनशक्तिको समस्या छैन।
कोरोना संक्रमितमा अहिले देखिएको समस्या ब्ल्याक फंगस (म्युकरमाइकोसिस) को पहिचान र बिरामीको उपचारका लागि पनि चिकित्सकको टोली बनाएर उपचारको तयारी गरेका छौं।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचारमा खटिएका सबै कर्मचारीले कोभिड भत्ता पाएका छन्।
स्वास्थ्य मन्त्रालयले आइसीयू, आइसोलेसन बेड थप गर्न निर्देशन दिन्छ। बजेटको पनि समस्या छैन। तर, समस्या के छ भने १०, २० वटा आइसीयू बेड थप गर्न स्थान नै अभाव छ।
स्वास्थ्य मन्त्रालयले बेडहरुको थप गर्न निर्देशन दिँदा, बेड थप गर्न भवन आवश्यक पर्ने भएकाले त्यसको लागि पनि बजेटको व्यवस्थापन गरिदिए हामीलाई सहज हुने थियो।
कतिपय ठाउँमा अक्सिजन पाइपलाइन जोड्न समस्या हुन्छ। त्यसैले मर्मत सम्भार लगायतका कार्यमा पनि बजेट व्यवस्थापन भए राम्रो हुने थियो।
फिवर क्लिनिक सञ्चालन गरिएको स्थानमा पनि जाडोयाममा जस्तो सहज अहिले छैन। बर्खाको समय छ, टिनको छाना नै भएपनि बनाउनै पर्छ । यस्ता कुरामा पनि खर्च भइरहेको हुन्छ।
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक विषयहरु के छन् केके समस्या छन् सोधेर ती समस्याको समाधानको लागि पनि सहयोग गर्न आवश्यक छ।
हामी तेस्रो लहरको कोरोना संक्रमणको लागि पनि उपचारात्मक सेवा दिन तयारी अवस्थामा छौं।