काठमाडौं– सरकारले असार १ गतेदेखि लागू गर्ने भनेको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रमको कार्यविधिप्रति भरतपुर अस्पतालका चिकित्सकहरुले पनि असन्तुष्टि जनाएका छन्।
सरकारले असार १ गतेदेखि एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न अस्पताललाई निर्देशन दिएको थियो। सोही अनुसार स्वास्थ्य मन्त्रालयले कार्यविधि पनि पठाएको छ। तर अस्पतालमा कार्यरत चिकित्सकहरुले भने कार्यविधिप्रति असन्तुष्टि जनाएका छन्।
सरकारले असार १ गतेदेखि नै भरतपुर अस्पतालमा सो कार्यक्रम लागू गर्ने तयारी गरेपछि अस्पतालका विभागीय प्रमुख सहित ३७ जना चिकित्सकहरुले सो कार्यविधि लागू नगर्न माग गरेका छन्।
उनीहरुले सोमबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेलाई सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त कार्यविधि संशोधनको माग गरेका छन्। कार्यविधि नै संशोधनको आवश्यकता रहेकाले आफूहरु सो कार्यक्रममा तत्कालै सहभागि हुन नसक्ने उनीहरुले बताएका छन्।
कार्यविधिमा सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघले दिएको सल्लाह र सुझावहरुलाई नजरअन्दाज गरी हचुवाको भारमा चिकित्सककै अपमान र मानमर्दन हुने गरी हतारमा लागू गर्न खोजिएको उनीहरुको भनाइ छ।
विस्तारित स्वास्थ्य कार्यक्रम र हाल सञ्चालित अस्पतालका सम्पूर्ण नियमित सेवालाई अझै बढी सहज र प्रभावकारी रुपमा सञ्चालन गर्न आफूहरु तयार रहेको अवस्थामा चिकित्सक र स्वास्थ्यकर्मीलाई सरकारी संयन्त्रको असफलताको दोषी मात्र देखाउन उक्त कार्यविधि अवैज्ञानिक ढंगले ल्याइएको चिकित्सकहरुको गुनासो छ।
अस्पतालका कार्यरत चिकित्सकहरुले उक्त कार्यविधिलाई यथास्थितिमा प्रतिवाद गर्नु बाहेक अन्य विकल्प नै नरहेको समेत बताएका छन्।
अस्पतालमा कार्यरत डा रामप्रसाद सापकोटाले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने पक्षमा रहेका चिकित्सकलाई अवैज्ञानिक कार्यविधि ल्याएर निरुत्साहीत गर्न खोजिएको बताए।
‘हामीले कार्यक्रमको विरोध गरेका होइनौं, अहिले ल्याइएको कार्यविधिलाई मात्र हामीले नमानेको हो,’ डा सापकोटाले भने, ‘हामीले नै यो कार्यक्रम ल्याउनुपर्छ भनेर सरकारी चिकित्सक संघ, नेपाल चिकित्सक संघ लगायतले छलफल गरी सुझाव पनि दिएका थियौं, तर कार्यविधि त्यो सुझाव विपतिर आयो।’
चिकित्सकहरुले दिएको सुझाव अनुसार कार्यविधि परिमार्जन भएर आए मात्रै आफूहरु सो कार्यक्रमलाई मान्न तयार रहेको डा सापकोटाले बताए।
‘अहिलेको कार्यविधि मात्र ठिक भएन भन्ने कुरा हो हाम्रो,’ उनले भने, ‘यो कार्यविधि परिमार्जन भएर पहिला हामीले दिएको सुझाव अनुसार आएमा हामी यो कार्यक्रममा सरिक हुन्छौं।’
डा सापकोटाले गत वर्षको नीति तथा कार्यक्रममा सो कार्यक्रम समावेश भएपछि चिकित्सकहरुसँग छलफल गरेर स्वास्थ्य मन्त्रालयले कार्यविधिको मस्यौदा तयार पारेको थियो । तर कार्यविधि पास हुँदा चिकित्सकहरुले दिएको सुझाव नै परिमार्जन भएर अवैज्ञानिक ढंगले कार्यविधि आएको डा सापकोटाको तर्क छ।
‘अहिले आएको कार्यविधि नै अवैज्ञानिक छ, डाक्टरहरुलाई दिने सेवा, दुर्गममा बसेकालाई कस्तो सेवा सुविधा दिने लगायत धेरै कुरा छुटाइएको छ,’ उनले भने, ‘अहिले आएको कार्यविधि सामान्य खाकामा मात्रै तयार गरिएको छ, यसमा धेरै त्रुटीहरु छन्।’
डा सापकोटाले सरकारी अस्पताललाई सुधार गर्न एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम भने राम्रो कार्यक्रम भएको पनि बताए।
तर अहिले आएको कार्यविधि अनुसार नै कार्यक्रम लागू गर्न खोजिए कार्यक्रम नै असफल हुने उनको भनाइ छ।
‘सरकारी अस्पताललाई सुधार गर्न यो कार्यक्रम एकदमै राम्रो हो, एक चिकित्सक एक स्वास्थ्य संस्था हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ डा सापकोटाले भने, ‘तर स्वास्थ्य मन्त्रालयबाट तयार भएको मस्यौदा विपरित कार्यविधि ल्याएर कार्यक्रम लागू गर्न खोज्दा कार्यक्रम पनि सफल हुन सक्दैन, सरकारी अस्पतालको अवस्था कोल्याप्स हुनसक्छ। राम्रा डाक्टरहरु यो कार्यविधि अनुसार बस्दैनन्।’
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेले चिकित्सकहरुले कार्यक्रमको कार्यविधि प्रति नै असन्तुष्टि जनाएकाले कार्यक्रम असार १ गतेदेखि लागू हुन सम्भव नभएको बताए।
चिकित्सकहरुले कार्यविधि परिमार्जनको माग गर्दै सुझावहरु दिएको र सो सुझावलाई आफूले स्वास्थ्य मन्त्रालयमा पठाउन लागेको डा न्यौपानेको भनाइ छ।
‘अहिले विभागीय प्रमुखहरुको चिठ्ठी प्राप्त भएको छ, कार्यविधि परिमार्जन हुनुपर्ने भनेर। अहिलेको अवस्थामा डाक्टरहरुको सुझावलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी गरेका छौं,’ डा न्यौपानेले भने, ‘असार १ गतेदेखि नै कार्यक्रम लागू गर्न होमवर्क नै पुगेको छैन, हामी अझैपनि कोभिडका बिरामी व्यवस्थापनमै केन्द्रित पनि छौं। डाक्टरहरुको सुझावलाई पनि समेट्नुपर्ने छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम चालु आर्थिक वर्षदेखि नै लागू गर्ने भन्दै १० वटा अस्पतालहरुलाई कार्यक्रम लागू गर्ने तयारी गर्न निर्देशन दिएको थियो । तर कार्यक्रम लागू हुने भनिएका अघिकांश अस्पतालका चिकित्सकहरुले कार्यक्रमको कार्यविधिप्रति असन्तुष्टि जनाउदै आएका छन्।
यसअघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सहरुले पनि सो कार्यक्रमको कार्यविधिलाई कार्यविधिको मस्यौदा तयार पर्दा चिकित्सकले दिएको सुझावको आधारमा संशोधन गरेर मात्र कार्यन्वयन गर्नुपर्ने माग गरेका थिए।