काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका ९ वटा विभाग र ३ वटा युनिटसहित थप ३१ जना डाक्टरले यथास्थितिमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि स्वीकार्य नभएको बताएका छन्। उनीहरुले उक्त जानकारी लिखित रुपमा नै अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेललाई बुझाएका छन्।
विभागीय र युनिट प्रमुखसहित अन्य चिकित्सकले बुझाएको पत्रमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम राम्रो भए पनि त्यसको कार्यान्वयनका लागि ल्याएको कार्यविधिले सम्पूर्ण चिकित्सकहरुको अपमान र मानमर्दन गरेको उल्लेख छ। पत्रमा नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघले कार्यविधि अस्वीकार गरिसकेको भन्दै ट्रमा सेन्टरका सम्पूर्ण चिकित्सकहरुलाई पनि उक्त कार्यविधि यथास्थितिमा स्वीकार्य नभएको उल्लेख छ।
'हामी यस अस्पपतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरुलाई पनि उक्त कार्यविधि यथास्थितिमा स्वीकार्य छैन' पत्रमा भनिएको छ, 'विस्तारित स्वास्थ्य कार्यक्रम र हाल सञ्चालित अस्पतालका सम्पूर्ण नियमित सेवाहरुलाई हामी अझै बढी सहज र प्रभावकारी रुपमा सञ्चालन गर्न तयार छौं तर यो कार्यविधि यथास्थितिमा हामीले पनि कार्यान्वयन गर्न नसकिने कुरा जानकारी गराउँदै हाललाई उक्त कार्यविधि लागू नगर्नु हुन अनुरोध गर्दछौं।'
अस्पतालका निमित्त मेसु डा सन्तोष पौडेलले असार १ गतेबाट कार्यविधि लागू गर्ने तयारी गरेपछि विभागीय र युनिट प्रमुखसहित अन्य चिकित्सकले लिखित रुपमा नै उक्त कार्यविधि लागू नगर्न अनुरोध गरेका हुन्। डा पौडेलले विभागीय प्रमुखहरुलाई २६ गते पत्र काट्दै असार महिनादेखि उक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका थिए। त्यसका लागि उनले स्व:घोषणा फाराम भरी असार १ गतेभत्रि प्रशासन शाखामा बुझाउन भनेका थिए।
निमित्त मेसुको उक्त पत्रपछि ट्रमाका चिकित्सकले सामुहिक रुपमा पत्र पठाउँदै यथास्थितिमा कार्यविधि कार्यान्वयन गर्न नसकिने जानकारी दिएका हुन्।
उक्त कार्यविधिमा नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ र सरकारी सेवामा आवद्ध नर्सहरुको संघले पनि विज्ञप्ति निकाल्दै विगतका सुझाव र सहमित विपरित आएको भन्दै संशोधनको माग राखेका छन्। यी सबै संगठनले कार्यक्रम राम्रो भए पनि कार्यविधिको विरोध गरेका हुन्। कार्यविधिमा धेरै विषय संशोधन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण समेत गरेका छन्।
हेरौं ट्रमा सेन्टरका चिकित्सकले बुझाएको पत्र